बौद्ध दर्शन र बुद्धका उपदेशलाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवन उद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै उनले २६ सय वर्षदेखि एसिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको र विश्वका प्रतिष्ठित विश्वविद्यालयले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमका रूपमा समावेश गर्दै गएको उल्लेख गरिन्।
बुद्धकालीन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली, पाठ्यक्रम र पठनपाठनका क्षेत्रमा अवलम्बन गर्न सके लुम्बिनी विश्वविद्यालयको बहुआयामिकता थप अभिवृद्धि हुने उनको विश्वास छ।
‘यसबाट हाम्रो महान् बौद्ध सभ्यताको विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्न सक्छ। प्राज्ञिक विकासको पूर्वसर्त विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता हो, विश्वविद्यालयमा विशुद्ध प्राज्ञिक वातावरण कायम गरी राज्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न पाठ्यक्रमलाई अनुसन्धान केन्द्रित बनाउनुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्।
राष्ट्रपति भण्डारीले बौद्ध विश्वविद्यालयले लिएको आफ्नो लक्ष्य र उद्देश्यलाई ओझेलमा नपारी स्वदेशी तथा विदेशी विद्यार्थी एवं अनुसन्धानकर्तालाई आकर्षित गर्नुपर्नेमा जोड दिइन्।
उनले बुद्धद्वारा प्रवर्तित सामूहिकता र मानव प्रेमको भावना जागृत गराउन सके समाजमा विद्यमान स्वार्थ र द्वन्द्व निवारण गर्दै दिगो शान्ति कायम गर्न मद्दत पुग्ने र बुद्धको जीवनमा प्रकृति तथा प्रेम अभिन्न रूपले जोडिएको प्रसंग उल्लेख गरिन्।
‘उडिरहेको हाँसको पखेटामा तीर लागेर जमिनमा झरेको भेटेपछि बगैँचामा खेलिरहेका सिद्धार्थले जडीबुटीद्वारा त्यसको उपचार गरेको प्रसंग बौद्ध शिक्षामा आउँछ। यसले एकातिर बुद्धमा रहेको दया र करुणाको भाव झल्काउँछ भने अर्कातिर उनमा बाल्यावस्थादेखि नै प्राणी र वनस्पतिसँग सान्निध्य रहेको स्पष्ट पार्छ,’ उनले भनिन्।
राष्ट्रपति भण्डारीले मुलुकको मौलिक परम्पराका रूपमा विकसित भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समयसापेक्ष तुल्याउनुपर्ने बताइन्।
विशेष रूपमा कपिलवस्तु, रूपन्देही र नवलपरासी तथा देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक सांस्कृतिक सम्पदा उत्खनन, संरक्षण तथा सम्वद्र्धन गर्न अग्रसर हुनुपर्नेमा उनले जोड दिइन्।
राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा जमिनमुनि दबिएका कतिपय पुरातात्विक सांस्कृतिक महत्वका वस्तु अझैसम्म फेला परिरहेकाले तिनको थप अन्वेषणमा सम्बद्ध निकायले ध्यान पुर्याउनुपर्ने बताइन्। उनले भनिन्, ‘विश्वसम्पदामा सूचीकृत लुम्बिनीका मूर्त तथा अमूर्त सम्पदा विश्वकै अमूल्य निधि भएकाले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायकोसमेत साथ लिन सकिन्छ।’
समारोहमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुद्धका शिक्षालाई व्यवहारमा उर्तानुपर्नेमा जोड दिएका थिए। बुद्ध शिक्षाले शान्ति र समानतालाई जोड दिएको जनाउँदै विश्वविद्यालयले सैद्धान्तिक र व्यावहारिक शिक्षामा ध्यान दिनुपर्ने उनले बताए।
विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्ध जन्मस्थललाई केन्द्रमा राखेर बौद्ध शिक्षालाई अनुसन्धानमा आधारित बनाउनेतर्फ विश्वविद्यालय लाग्नुपर्ने बताए।
उनले बुद्धका उपदेश र शिक्षालाई समेटेर गुणस्तरीय शिक्षा प्रदान गरी बुद्ध दर्शनसम्बन्धी प्रबै प्रकारका ज्ञान हासिल गर्न सकिने शैक्षिक अनुसन्धानको केन्द्रका रुपमा विश्वविद्यालयलाई स्थापित गर्नुपर्ने बताए। उनले विभिन्न भाषामा प्रकाशित पुस्तक तथा लेखलाई नेपालीसहित विभिन्न भाषामा प्रकाशन गरेर बौद्ध दर्शनको विस्तार र विकास गर्नुपर्नेमा जोड दिए।
मन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गरी शिक्षालाई सीप र संस्कारसँग जोडेर आध्यात्मिक समृद्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताए। उनले बौद्ध दर्शन, साहित्य कलाजस्ता बुहआयामिक विषयमलाई समेटेर शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरे। नेपाल विश्व व्यापार संगठनमा आबद्ध भएकाले विदेशी विद्यार्थीसँग प्रतिस्पर्धा गर्नसक्ने गरी विद्यार्थीको क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो।
थेरवाद, महायान र बज्रायान तीनै क्षेत्रलाई समेटेर बौद्ध शिक्षालाई शिक्षा प्रणालीका हरेक तहमा लैजानुपर्ने र पाठ्यक्रममा समेत समेट्नुपर्ने उनले बताए। समारोहमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको बताए।
उनले लुम्बिनी गुरुयोजनाको कार्यान्वयन प्रभावकारी ढंगले हुन सके लुम्बिनी संसारकै लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुने उल्लेख गरे। उनले बुद्ध जन्मस्थलसँगै यससँग जोडिएका स्थलकोसमेत बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्न सके देशको अर्थतन्त्रमा यसले ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे।
यसअघि लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि आफू अर्थमन्त्री रहेका बेला ७ अर्ब ३३ करोड बजेट विनियोजन गरिएको जनाउँदै यो रकमको सदुपयोग होस् भन्नका लागि सबैको ध्यान जान आवश्यक रहेकामा जोड दिए।
पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीको ९२ बिघा जग्गा अधिग्रहण गरी विश्वविद्यालयका संरचना विस्तार गर्ने काम भइरहेको र अन्य क्षेत्रमा पनि विश्वविद्यालयका संरचना निर्माण गरी शैक्षिक गतिविधि सञ्चालन गरिएको पूर्ववर्ती सरकारले लिएको योजना पूरा गर्ने कामलाई निरन्तरता दिएर अघि बढ्न जरुरी रहेको बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप ५ सय बिघा जग्गा अधिग्रहणसँगै सबै पूर्वाधारका लागि डीपीआरको काम सकिएको जनाउँदै एसियाली विकास बैंक ऋण सम्झौताका लागि तयार रहेकाले विमानस्थलको उद्घाटन हुँदा दोस्रो चरणको काम सुरु गर्ने गरी काम अघि बढाउनुपर्ने बताए।
विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष भीम सुवेदीले बौद्ध धर्म, संस्कृति र कलालाई उन्नयन गर्ने काममा विश्वविद्यालयको सक्रियता प्रशंसनीय रहेको बताए। विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक डा गीतु गिरीले बौद्ध साहित्य, भाषा, शिक्षा तथा संस्कृतिको अध्ययन र अनुसन्धानका लागि अनुसन्धान केन्द्र खोलिएको जनाउँदै सोहीअनुसार काम अघि बढाइएको बताए।
विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले सबैको साथ–सहयोगले विश्वविद्यालयको शैक्षिक विकासले गति लिएको बताए।
आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
२०७९ साउन २४ गते मंगलबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै कुराले मनमा शान्ति...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
२०७९ साउन २३ गते सोमबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा निराशा र शरीरमा...
आज आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज महत्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा...
आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ ।...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न...
आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा...