दानवीर जिपछिरिङको राजनीतिक यात्रा – Janata Live
  • Saturday, April 1, 2023

दानवीर जिपछिरिङको राजनीतिक यात्रा

  • जनता लाइभ
  • मङि्सर १५, २०७८

दानवीर जिपछिरिङको राजनीतिक यात्रा

जिपछिरिङ लामा शेर्पा, नामै काफी छ। एक महान समाजसेवी, सफल निर्माण व्यवसायी, परोपकारी राजनीतिज्ञ, एक उदाहरणीय माननीय। पिता तेङिमा शेर्पा र माता दाडोमा शेर्पाका छोरा जिपछिरिङ लामाको जन्म दोलखा जिल्लाको साबिक स्यामा गाविस हालको परिवर्तित जिरी नगरपालिका वाड नं. १ मा वि.स. २०१२ साल भाद्र महिनाको ११ गते भएको हो।

नेपाली कांग्रेसका सांसद जिप छिरिङ लामाले आफ्नो गृह जिल्ला दोलखा लगायत मुलुकका विभिन्न गाँउ-ठाउँमा समाजसेवा मार्फत अतुलनीय योगदान दिएका छन्। उनले विद्यालय, गुम्बा, मठ-मन्दिर, स्वास्थ्य चौकी, बाटोघाटो निर्माण लगायत धेरै शिर्षकमा धेरै नै आर्थिक सहयोग गरेका छन्। लामो समय देखि निस्वार्थ भावले समाज सेवा गर्दै आएका मनकारी सांसद लामाले पछिल्लो चरणमा तेङिमा-दाडोमा लामा स्मृति प्रतिष्ठान मार्फत सामाजिक सेवाको परियोजनाहरु सञ्चालन गरिरहेका छन्। सांसद लामाले आफ्ना आमा र बुबाका नाममा तेङिमा-दाडोमा लामा स्मृति प्रतिष्ठान २०७४ सालमा स्थापना गरेको हो।

प्रतिष्ठान मार्फत नेपाली कांग्रेसका नेता एवं समाजसेवी, संघीय सांसद जिप छिरिङ लामाले दोलखाका ९ वटै स्थानीय तहलाई एक-एक थान एम्बुलेन्स सहित २ वटा शव वहान वितरण गरिसकेको छ। सामाजिक काममा लामो समय देखि सहयोग गर्दै आएका सांसद लामाले दोलखाली नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै २ शव वहान र ९ वटा एम्बुलेन्स सहयोग गरेको हो । जिल्लाका दुई ठुला शहरहरुलाई लक्षित गरि भिमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई एक एक वटा शव वहान समेत उपलब्ध गराएको छ ।

दोलखा जिल्लाका सबै स्थानीय तहमा यसरी पुर्‍याईएका एम्वुलेन्सहरु सरकारी सेतो प्लेटमा चल्ने गरि यसको व्यवस्थापन र संचालन स्थानीय तहहरुले नै गरिरहेका छन्। स्रोत साधन बिहिन स्थानीय तहका लागि यस प्रकारको सहयोग उपलव्ध गराउने मनकारी नेता तथा साँसद लामा नै पहिलो समाजसेवी हो।

संघीयता कार्यान्वयनका लागि स्थानीय तहलाई स्रोतसाधनपूर्ण बनाउनु अनिवार्य हुन्छ । तर सरकारले स्थानीय तह तथा वडाहरुको कार्यालय भवन लगायतका भौतिक पूर्वाधारहरु नै जोहो गर्न नसकेका बेला साँसद लामाले उपलव्ध गराएको एम्वुलेन्सले गाउँ–गाउँका जनतालाई समयमै बिरामीको उपचार गर्न नपाउने समस्याबाट मुक्ति मिलेको छ ।

सरकारले विकास र सम्वृद्धिका सपनाहरुलाई कागजी घोषणामा सीमित राखिरहेका बेला एकजना माननीयले उदार ह्दयले यसरी माता पिताको स्मृतिमा खोलेको संस्था मार्फत दूरदराजका गाउँका जनतालाई बिना भेदभाव समान रुपले एम्वुलेन्स सेवा मार्फत परोपकारी काम गर्नु साच्चै उदाहरणीय योगदान हो । नेताले भाषण होईन काम गरे जनजनको मन छुन सकिन्छ भन्ने उदाहरण पनि हो यो साँसद लामाको दानकर्म।

त्यसो त गाउँका जनताका लागि देशमा जुनतन्त्र आए पनि, जुन व्यवस्था आए पनि एम्वुलेन्स ठूलै रहर र सपना थियो तर अब भने यथार्थ भएको छ । यसबाट स्थानीय जनता तथा जनताका प्रतिनिधिलाई सुविधा थपिदा खुसी र हर्षको पनि सीमा छैन ।

साँसद लामा एक जना उदाहरणीय माननीय, जसले गौरीशंकरको काखमा अवस्थित प्राकृतिक रुपले अति सुन्दर दोलखाका उच्च हिमालीदेखि समतल वा भिराला पाखा पखेराका सबै गाँउहरुलाई एम्वुलेन्सको माद्यमबाट एउटै डोरिमा उन्ने काम गरेका छन् ।

सांसद लामाले प्रतिनिधि सभामा प्राकृतिक प्रकोपका पीडितहरुको अवस्थाको बारेमा सरकार र सदनको ध्यानाकर्षण गर्नुको साथै आफ्नै निजि खर्चमा राहत पनि प्रदान गरे। प्रशस्तै दान गर्न सक्ने दानवीर सांसद लामाले २०७२/०७३ को भूकम्प बाट मृत्यु भएका दोलखा जिल्लाका १ सय ७४ परिवारलाई पनि आर्थिक सहयोग गरिसकेको छ भने दोलखाको कालिञ्चोक गाँउपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई चामल, दाल, नुन र तेल जस्ता खाद्य सामाग्री वितरण गरेका छन् ।

जिरी नगरपालिका वडा नम्बर १ मेताङ्गेमा खानेपानीको लागि पाइप, ओर्गेन शेढुब दर्ग्यालिङ गुम्बा, ङग्युर साम्तेन क्षोलिङ गुम्बा, पाङलेमु मणि गुम्बाको पुननिर्माणमा आर्थिक सहयोग गर्नुका साथै पुम्पा स्टोन पार्कमा सार्वजनिक हल र सो हलमा २ सय २० थान कुर्सी, पुम्पामा शिवको मूर्ति र गजुरको स्थापना सांसद लामाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको छ।

जिरीमा सामाजिक सेवा केन्द्र जिरी, भिम बहादुर तामाङ स्मृति प्रतिष्ठानको निर्माणमा सहयोग, बौद्ध तार क्षोर्तेनको निर्माणमा सहयोग र जिरी स्पोर्टस् कल्बको जग्गामा अन्तिम दाहसंस्कार गरे पश्चात काजक्रिया गर्न ट्रष्टको हल निर्माणमा सांसद लामा बाट आर्थिक सहयोग भएको देखिन्छ ।

मुलुकलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरि विश्व रेकर्ड कायम गर्ने गरि केटू हिमाल आरोहण गर्ने कीर्तिमानी आरोहीहरुलाई पनि सांसद लामाले आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक सहयोग गर्नुका साथै सांसद लामाको पहलबाट १ लाख नगद र प्रमाणपत्र नेपाल सरकारको तर्फबाट उपलब्ध गर्ने गराउने व्यवस्था समेत भएको छ।

देशैभरका विभिन्न रोग बाट पीडित भएका, असाहय, आर्थिक अभावले उपचार गर्न कठिनाई भएका, आगोलागी पीडित, बाढीपहिरो पीडित, भूकम्प पीडित जस्ता दिनदुखीहरुलाई जिपछिरिङ लामाले ठुलो संख्यामा सहयोग गरेका छन् ।

जिरीमा प्रहरी चौकी निर्माणमा सहयोग, त्यस्तै जिल्लाका विभिन्न स्थानमा दाहसंस्कार गर्ने घाटहरुमा आवश्यक पूर्वाधार निर्माणका लागि पैसा, सिमेन्ट पनि उनले सहयोग गरेका छन् ।

दोलखाको चरिकोटमा नेपाली कांग्रेसको पार्टी कार्यालयका लागि जग्गा खरिद र निर्माणमा आर्थिक सहयोग गर्नुका साथै रामेछाप, सिन्धुली डडेलधुरा, सल्यान, सोलुखुम्बु लगायत विभिन्न जिल्लामा कांगेसको पार्टी कार्यालय निर्माणमा सांसद लामाले आर्थिक सहयोग गरेका छन्। यसरी विभिन्न जिल्लामा पार्टी कार्यालय निर्माणमा सहयोग गरेका लामाले पार्टीको केन्द्रीय कार्यालय निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। रामशरण महतको संयोजकत्वमा रहेको समितिमा रहेर उनले साथ सहयोग र समय समय खर्चेका छन्। सामाजिक संघ संस्थाहरुको भवन निर्माणमा पनि सांसद लामाले निकै ठुलो आर्थिक सहयोग गरेको पाइन्छ।

उनै नेपाली कांग्रेका सांसद जिप छिरिङ लामा यतिखेर नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लक्षित गरि आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छन्। सांसद लामाले २ मंसिरमा काठमाण्डौको महाराञ्जगन्जमा सम्पर्क कार्यालय स्थापना गरि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उम्मेदवारी घोषणाका क्रममा पनि सांसद लामाले मुगु जिल्लामामा आगोलागी भएर २१ घर पूर्ण रुपमा जलेर ध्वस्त भइ घरबास गुमाएका २२ परिवारलाई १ मंसिरमा कांग्रेस मुगका जिल्ला सभापति ऐनबहादुर शाही मार्फत १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिदै आगामी दिनमा पनि बाढीपहिरो लगायत विभिन्न पीडितहरुलाई सहयोग गर्ने बताए।

पार्टीलाई विधान अनुसार सञ्चालन गर्न, विभागहरुको गठन गरि देशैभर क्रियाशील गर्न गराउन, पार्टीलाई स्थानीय निकाय देखी संघ सम्म जित सुनिश्चित गराउने जस्ता एजेण्डा लिएर उनि महाधिवेशनमा उत्रिदै छन्।

२०६४ मा पहिलो पटक सभासद बनेका लामा दुई पटक सांसद र दुई पटक पार्टीको केन्द्रीय समितिमा केन्द्रीय सदस्य भएको अनुभव छ। निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको पूर्व अध्यक्ष समेत रहेका सांसद लामा १४ ‌औं महाधिवेशनमा जित्ने आधार बलियो भएको नेताको रुपमा रहेको कांग्रेस वृतमा चर्चा छ। सांसद लामाको राजनीतिक यात्रा २०३६ साल बाट सुरु भएको देखिन्छ। कांग्रेसको १० ‌औं महाधिवेशनमा पार्टी बाट मनोनित केन्द्रीय सदस्य र ११ ‌औं महाधिवेशमा निर्वाचित केन्द्रीय सदस्य भएका नेता लामा १२ ‌औं र १३ औं महाधिवेशनमा झिनो मतले पराजित भएको देखिन्छ।

२०५६ सालको मध्यावधि निर्वाचनमा मध्यामञ्चल बाट राष्ट्रिय सभाको उम्मेदवार बनेका लामा अहिले १४ ‍औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। महाधिवेशन सम्पन्न गर्नको लागि सञ्चार मन्त्री ज्ञानेन्द बहादुर कार्की संयोजक रहेको अत्यन्तै महत्वपूर्ण विभाग आर्थिक समितिको सदस्यको रुपमा उनि क्रियाशील छन्।

संघीय सांसद लामाले देशको सिमा भारतले मिचेको विषय, नेपाली भूमि भारत बाट फिर्ता लिनुपर्ने कुरा, जेष्ठ नागरिकको हक अधिकार र सुविधाका विषयमा सदनमा आवाज उठाएर सरकारको ध्यानाकर्षण गर्ने गरेको देखिन्छ। उनले उत्पीडित, गरिब दिन दुखीका कुरा पनि सदनमा जोडतोडले उठाउने गरेका छन्।

मनकारी, दानवीर, परोपकारी, विकासप्रेमी सांसद लामालाई आम कांग्रेसी कार्यकर्ता र नेताहरुले मत दिएर विजयी गराई केन्द्रीय नेतृत्वमा पुर्‍याउनबाट किन चुक्ने ?

Loading...
Loading...
Loading...