भिक्षु जीवन र राजनीति – Janata Live
  • Saturday, September 25, 2021

भिक्षु जीवन र राजनीति

  • भिक्षु आनन्द
  • असार ११, २०७८

भिक्षु जीवन र राजनीति

परमार्थ र प्रसंगले भिक्षु जीवन र राजनीति दुई पृथक विषय–क्षेत्रहरु हुन । तर इतिहास, समय र परिस्थितिसँग लामो सहयात्रा गर्दा दुई अलग परिधिभित्र सीमित भएर पनि अन्तरसम्बन्धको साइनो बाँध्ने अनौठो र चमत्कारिक अवस्था जुर्दो रहेछ ।

अपरिचित दुई छिमेकी एउटै स्थानमा वर्षौंदेखि आमनेसामने वा छिमेकीको रुपमा बस्दा अन्तरसम्बन्ध र आत्मियता बढ्दै गएझैँ २५ सय वर्ष देखिको समाज, आर्थिक, राजनीतिक तथा भौगोलिक सहयात्राको २१ औं शताब्दीसम्म पुग्दा भिक्षुजीवन र राजनीतिबीच अन्तरसम्बन्ध कायम रहँदै आएको देखिन्छ ।

इतिहासको हरेक मोडमा एकले अर्कोलाई प्रभाव पार्ने, आपसी सहयोग गर्ने, दुःख साटासाट गर्ने जस्ता प्रवृत्तिहरु विकसित हुँदै आइरहेको देखिन्छ । भलै २५ सय वर्ष अघिको समाज–आर्थिक परिवेशमा बुद्धको ‘दसराज धर्म’ जस्तो सुशासनको राजनीतिक उपदेश ‘सप्तअपहरणीयधर्म’ जस्तो राष्ट्रियता र अखण्डताको मार्गदर्शन, विड्दभको सशस्त्र आक्रमणबाट हुनसक्ने शाक्य–नरसंहार जोगाउन “मातृभूमिको हावा समेत मलाई सुखदायक छ” भन्ने जात्यानुरागी उद्गार, र मातृभूमिप्रतिको प्रेम होस् या २१ औं शताब्दीमा म्यान्मारमा बौद्ध भिक्षुहरुको प्रजातान्त्रिक आन्दोलन नै किन नहोस्– भिक्षुहरुले राजनीति गर्नुहुँदैन भन्नेहरुको मुखमा बुझो लगाइदिएको छ ।

पृथक–पृथक क्षेत्र बीचमा पनि प्रत्यक्ष वा परोक्ष रुपमा चक्रीय सह–सम्बन्ध विद्यमान छ । यसको सरल उदाहरण म मानिस र बनस्पति (वृक्ष/बिरुवा) विच देख्छु । वृक्षले वातावरणलाई अक्सिजन प्रदान गर्छ । मानिस त्यही अक्सिजन लिएर कार्बनडाइअक्साइड फ्याँक्छ, सोही कार्बनडाइअक्साइडलाई तानेर वृक्ष सप्रिन्छ ।

यहाँ मानिस र वृक्ष बिचको अन्तरनिर्भरता राम्रोसँग देखिएको छ । यसरी मानिस र वृक्ष अत्यन्त भिन्न प्रकृतिको भए पनि अन्तरसम्बन्ध प्रगाढ छ । धर्म, भिक्षुजीवन र राजनीतिबीच पनि अदृश्य तथा सूक्ष्म सम्बन्ध गाँसेको देखिन्छ ।

श्रीलंकामा बौद्धधर्म र सिहल बौद्धहरुको जुन जातीय, भासिक, सांस्कृतिक अक्षुण्ण अस्तित्व कायम छ, त्यो श्रीलंकाको राजनीतिक इतिहासमा बेलाबेलामा बौद्ध भिक्षुहरुले नेतृत्वदायी राजनीतिक भूमिका निभाउँदै आएकोले नै हो । महावंशले स्पष्ट रुपमा त्यहाँ भिक्षुहरुले राष्ट्रिय अखण्डता, जातिय उत्थान, सांस्कृतिक सरक्षण, भाषिक अधिकार जोगाउन उल्लेखनीय निभाउँदै आएको बारे स्पष्ट वार्ता गरेको छ ।

प्रथम शताब्दिमा दुट्ठगाभिणी अभय राजाको दक्षिण भारतीय तमिल आक्रमणकारी राजा एलारको विरुद्धमा लडेको युद्धमा होस्, १८१५ मा ब्रिटिश अधिराज्यवादको विरोधमा वारियपोल श्री सुमंगल नामको भिक्षुले आफ्नो देशको झण्डाको सत्ता ब्रिटिश झण्डा गाड्दा निर्भिक भइ अगाडि सरी ब्रिटिश झण्डा हटाइ श्रीलंकाको राष्ट्रिय झण्डा फहराउन पुग्दा प्राण आहुति गरेको घटना होस्, १९५० ताका विद्योदय र विद्यालंकार जस्तो प्रसिद्ध बौद्ध अध्ययन पीठका दुइ भिक्षु संघ ब्रिटिश अधिराज्यवादबाट राष्ट्र जोगाउने र स्वतन्त्रता हासिल गर्ने अभियानमा होस्, समय समयमा महत्वपूर्ण राजनीतिक भूमिका खेल्दै आएका थिए ।

वर्तमानमा पनि श्रीलंकाको भिक्षु संघले राष्ट्रिय, धार्मिक, जातिय हक, अधिकार र अस्तित्व संरक्षणको निमित्त उल्लेखनीय भूमिका निभाउँदै आइरहेका छन् । हाल त्यहाँको संसदीय भूमिकासमेत निर्वाह गर्ने ९ जना बौद्ध भिक्षुहरु सांसदमा छन् ।

भिक्षु जीवन धार्मिक तथा आध्यात्मिक जीवन हो । तर धर्म र अध्यात्मयात्रामा वरिपरीको समाज, आर्थिक, राजनीतिक वातावरण महत्वपूर्ण हुन्छ । यदि वरिपरीको वातावरण प्रतिकूल रह्यो भने अध्यात्मयात्रा असहज र कष्टमय हुन्छ ।

त्यो भन्दा भिक्षु जीवन सामाजिक जीवनकै एक अभिन्न अंग भएकोले धार्मिक, सांस्कृतिक, जातिक, भाषिक, आदि विषय क्षेत्रसँग आत्मियता बढेको जीवन पनि हो । त्यसैले समाज र वातावरणमा घट्ने प्रत्येक घटना परिघटनाले भिक्षु जीवनमा पनि प्रभाव पार्न सक्छ । अर्कोतिर समाजबाट पाउने निरन्तर सहयोगले नै भिक्षु जीवन अगाडि बढ्न सक्ने परिस्थिति छ ।

राष्ट्र र समाज जब संकटग्रस्ट परिस्थितिबाट गुज्रिरहेको हुन्छ तब आफ्नो अध्यात्मयात्राको पाश्र्विय सहयोगी क्षेत्र र समाज उक्त संकटबाट बचाउनु उसको नैतिक जिम्मेवारी हो । मौनव्रत वा निस्कृय रहनु परिस्थिति विरोधी हुनु हो । त्यस्तो परिस्थितिमा जातीयता, धार्मिक आदर्श, सांस्कृतिक पहिचान आदि आदर्शवाद कम सान्दर्भिक र दोस्रो महत्वको हुन्छ ।

श्रीलंकामा मात्र होइन, अन्य बौद्ध देशका वर्तमान र अतीतका राजनीतिज्ञ इतिहासमा बौद्ध भिक्षुहरुको उल्लेखनीय योगदान रहिआएको हामी पाउन सक्छौं ।

थाइल्याण्डमा राजालगायत राष्ट्रका उच्च ओहदाका पदाधिकारीहरु बुद्धधर्म र बौद्ध भिक्षुहरुप्रति जुन विशिष्ट सम्मान र प्रतिष्ठा राख्छन्, इतिहासकालदेखि बौद्ध भिक्षुहरु राष्ट्रको र जनताको हितमा शासकवर्ग (राजालाई) लाई आवश्यक अनुशासन, निर्देशन सल्लाह सुझावहरु दिँदै आइरहेका कारणले नै हुन् । केही वर्ष अघिको कुरा हो, जब थाइल्याण्ड आर्थिक रुपमा संकटग्रस्ट अवस्था भोगिरहेको थियो तब थाइभिक्षुहरुबाट र बिहारस्थानहरुबाट आर्थिक सहयोग जुटाउन अभियान चलाएका थिए । बिहारका कोषहरुको रकमसमेत राज्यलाई सहयोग स्वरुप उपलब्ध गराइएका थिए ।

म्यानमारमा पनि हालसालै भिक्षुहरुको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन चर्केको थियो । वर्षौदेखिको सैनिक शासनको शोषण र उत्पीडनबाट म्यानमार जनतालाई मुक्त गराउन आखिर बौद्ध भिक्षुहरुनै सडकमा उत्रिनुपर्‍यो र आन्दोलनमा होमिनुपर्‍यो । भिक्षुहरुको नेतृत्व गृहस्थी नेतृत्वभन्दा प्रभावशाली, मार्मिक र संवेदनशील हुन्छ किनकि वहाँहरुका आदर्शयुक्त जीवनपद्धति नै त्यसको रहस्य तथा मूलाधार हो । तिब्बतमा भइरहेको हालैको ‘फ्रि–तिब्बत’ को आन्दोलन पनि तिब्बती धार्मिक नेता दलाइ लामा समर्थक तथा चिनको दमन र उत्पीडनबाट उद्वेलित जनताको आक्रोश तथा बिद्रोह हो । यस आन्दोलन पनि तिब्बति भिक्षुहरुले तेतृत्व गरेको देख्न सक्छौँ ।

यसरी भिक्षु जीवन र राजनीति हेर्दा दुई फरक तथा अन्तरसम्बन्ध नभएको जस्तो देखिए पनि इतिहासको कालखण्डमा घटेका विभिन्न परिस्थितिजन्य घटनाहरुबाट एक अर्कालाई परस्पर सम्बन्धता गाँस्न सहयोग गरेको देखिन्छ । समय र विश्व–परिवेशको घटनाक्रमसँगै धर्म र राजनीति एक आपसमा नजिकिँदै आइरहेको प्रतीत हुन्छ ।

धर्मको मूल उद्देश्य मानिसको मानसिक–सुख, आध्यात्मिक–विकास तथा दुःख (समस्या) बाट मुक्त (निर्वाण) अवस्थासँग एकायन मार्गको रुपमा जोडिएको हुन्छ । जीवन र जगत्, सांसारिक मोह र बन्धनबाट छुट्ने आधारको रुपमा मानिसले धर्मलाई अँगालेको देखिन्छ । तर धर्मको संस्थागत विकासको क्रममा देशीय, क्षेत्रीय, भूगोलिय, जातीय, वर्गीय अनन्यता पनि ग्रहण गरेको देखिन्छ ।

केवल आध्यात्मवाद, आदर्शवाद, विज्ञानवाद, परमार्थ–दर्शनको रुपमा मात्र नभइ समयसापेक्ष भौगोलिक पहिचानसँगै ती ती देश र क्षेत्रका हावापानी, जातीय, भेषभुषा, कला, संस्कृति, आर्थिक, सामाजिक, राजनीतिक पहिचान र जीवन शैलीको रुपमा स्थापित हुँदै गए । धर्म अध्यात्म र मोक्षको अलावा मानिसको दैनिक जीवनशैली र उठ्वस समेत हुन पुगे ।

धर्मको प्रचारसँगै संस्कृति, सभ्यता, कला, भाषा, शिष्टाचारयुक्त जीवनपद्धतिको विकास भयो । मानिसको प्रत्येक बोलिमा धर्मको प्रभाव पर्न थाले । नराम्रो मानिसलाई बोलचालमा ‘अधर्मी’, ‘पापी’ ‘असभ्य’, ‘बाल’९यिध०, भन्ने शब्द समेत प्रयोग हुन थाले । यसरी धर्म मानिसको रगत मासुसँग गहिरो सम्बन्ध राख्न पुगेको देखिन्छ ।

धर्मबिना आज मानिस जीवन–जीउन कथिन महसूस गर्छ । मानिस आर्थिक तथा भौतिक रुपमा सुविधासम्पन्न जीवन बिताए पनि धार्मिक–महत्वलाई पनि उत्तिकै स्थान दिएको पाइन्छ ।

यसरी कुनै पनि देशमा धार्मिक व्यक्ति वा संस्था राजनीतिक मामिलामा सक्रिय हुनुको पछाडि आफ्नो मौलिक उद्देश्यबाट पछि हट्नुभन्दा पनि राष्ट्रियता, धर्म र संस्कृति, जातिगत जीवनपद्धति र अस्तित्वको मुद्दा त्यसभित्र लुकेको हुन्छ । नेपालमा विगत पचासौं वर्षदेखि धर्मनिरपेक्षताको सवाल उठिरहेको छ, त्यो जातिगत, भाषगत, क्षेत्रगत, वर्गीय मुद्दा पनि हो ।

बौद्ध संघ–संस्था, समय–समयमा धर्म निरपेक्षताको सवाल उठाउँदै राज्यशक्ति विरुद्ध जुलुस, नारा, विरोध कार्यक्रम गर्नु पछाडि बौद्धहरु आफ्नो धर्मलाई हिन्दुधर्मको तुलनामा राष्ट्रिय–मान्यता, कानूनी–मान्यता, समानात्मताको व्यवहार सुनिश्चित गराउनको लागि नै हो ।

जब कुनैपनि धर्म सम्बन्धित देशमा स्वतन्त्रतापूर्वक अभ्यास गर्नबाट वञ्चित–परिस्थिति भोग्नुपरेको हुन्छ; तब ती धर्मका अनुयायीहरुले आफ्नो धर्मको अस्तित्वको लडाइ लड्नुपर्ने हुन्छ । नेपालको इतिहासमा बेला बेलामा स्वदेशी तथा विदेशी संकटबाट जोगाउन धार्मिक व्यक्तिहरुले उल्लेखनीय भूमिका निभाउँदै आएकाछन् ।

७ औँ शताब्दीतिर शंकराचार्यको आक्रमण र विध्वंश, १३ औं शताब्दीमा, बंगालका समसुद्दीन तुगलुकको आक्रमण, १८ औं शताब्दीमा पृथ्वीनारायाण शाहको आक्रमण, रणबहादुर शाहको धार्मिक उत्पात, जंग बहादुरको अत्याचार, राणाशासनमा हिन्दूधर्मको ज्यादति र बुद्ध धर्मको दमन–शोषण भिक्षुहरुको देश निकाला, पञ्चायतकालमा पोखरामा शान्तिस्तूपको विनाश, लुम्बिनीमा जापानी भिक्षुको षड्यन्त्रपूर्ण हत्या आदि घटनाक्रमबाट भिक्षुहरुलाई प्रत्यक्ष वा परोक्ष तवरले राजनीतिक रुपमा अगाडि बढ्नु परेको बाध्यता थियो ।

यहाँ धर्मको मूल लक्ष्यलाई पछ्याउनु भन्दा अस्तित्व–संकटलाई हल गर्नुपर्ने बाध्यता थियो । दिवंगत आचार्य अम्रतानन्द महास्थविरको तत्कालिन राजपरिवार र सरकारसँग निकटतम, सुसम्बन्ध नभएको भए देशनिकाला गरिएका भिक्षुहरुलाई स्वदेश फिर्ता गराउने अभियान असम्भव थियो । त्रिभुवनको पालामा विश्वबौद्ध सम्मेलन जस्तो महानकार्य असम्भव थियो ।

भिक्षु नारद महास्थविरको नेतृत्वमा श्रीलंकाबाट बौद्ध प्रतिनिधिमण्डल नेपाल आउनु सम्भव थिएन । भिक्षु अमृतानन्द महास्थविरले तत्कालिन परिस्थितिमा टुँडिखेलको खुलामञ्चबाट ‘धर्म निरपेक्षता’ सवालमा सशक्त ढंगले पहिलोपटक सार्वजनिक उद्घोष गर्नुभएको थियो । भिक्षु सुदर्शन महास्थविर भाषिक आन्दोलनमा हिरासतमा समेत पर्नुभएको थियो ।

भिक्षु अश्वघोष महास्थविर तत्कालिन एमाले पार्टीबाट मनोनित भई प्रतिनिधि सभामा पुग्नुभएको थियो र धर्म निरपेक्षता सम्बन्धमा पहिलो पटक सरकारको नीति निर्माण गर्ने तहमा धार्मिक सवालका मुद्दाहरु उठाउन सफल हुनुभएको थियो ।

६२/६३ को जनआन्दोलन पछि स्थापित अन्तरिम सरकारमा माओवादीको तर्पmबाट अन्तरिम विधायकको रुपमा मलाई संसदीय भूमिका निर्वाह गर्ने अवसर पाएको थियो । जीवनशैली भन्दा पृथक क्षेत्र भए पनि आफ्नो सरोकारका क्षेत्रहरु र विषयहरु सम्बन्धमा राज्यसंयन्त्रको भित्री तहसम्म आवाज उठाउने मौका मिलेको थियो ।

मैले आफ्नो संसदीय भूमिका निर्वाह गर्ने क्रममा लुम्बिनीलाई शीघ्र व्यवस्थित विकास गर्नुपर्ने, भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्नुपर्ने, लुम्बिनी बौद्ध विश्व–विद्यालय, सिद्धार्थ विश्वविद्यालयलाई औपचारिक रुपमा शीघ्र कार्यान्वयन गर्नुपर्ने, नेपालका सबै धार्मिक स्थललाई शान्ति क्षेत्र (Peace zone) को रुपमा घोषणा गर्नुपर्ने इत्यादि धार्मिक, सांस्कृतिक तथा शैक्षिक सरोकारका विषयहरु नीतिनिर्माण गर्ने तहमा वकालत गर्ने अवसर मिल्नु बौद्धहरुको आवाज र माग राष्ट्रिय तहमा पुर्‍याउनु सक्नु हो ।

तसर्थ एकजना भिक्षु राजनीतिक रुपमा कुनै भूमिका निभाउनु भनेको आफ्नो सरोकार र विषय क्षेत्रहरु सम्बन्धमा मौलिक हक र अधिकार राज्यसत्ताबाट सुनिश्चित गर्न उदार अभियानमा जुट्नु हो किनभने २१ औं शताब्दिसम्म पुग्दा धर्म र भिक्षु जीवन २५ सय वर्ष अगाडिको समाज–आर्थिक–राजनीतिक परिस्थितिबाट अत्यन्त पृथक, परिष्कृत र परिमार्जित परिस्थितिमा विद्यमान छ ।

इलेक्ट्रोनिक मिडिया, सूचना संसार, इन्टरनेट र वेबसाइटको जमाना एकातिर छ भने पुरातनिक शैलीमा नै धर्मको संस्थागत तथा सामाजिक प्रचार गर्ने हो भने बौद्धहरुलाई अन्य धर्मको तुलनामा शदियौं वर्षपछि पर्नुपर्ने अवस्था सृजना हुन्छ । यहाँनिर उल्लेखनीय कुरा के भने, बौद्ध भिक्षु, संघ वा संस्था यदि समयसापेक्ष आपूmलाई अनुकूल नबनाउने, परिस्थितिको होडमा नचल्ने रुढीवादी धारणा नै बोकेर हिंड्ने हो भने हाम्रो अस्तित्व संकटमा छ ।

वस्तुगत राजनीतिक, सामाजिक, आर्थिक परिस्थितिसँग हातेमालो गर्नुपर्छ भन्ने मेरो धारणा हो । विशेषतः राज्य सहयोग विना कुनै पनि धर्म प्रचार र विकास गर्न कठिनाइ पर्ने भएकोले बौद्धहरुले धर्मको आधिकारिक हक–स्वतन्त्रता, कानूनी–मान्यता, राज्य–सहयोग तथा सहुलियत सुनिश्चित गर्नको लागि उपायशीली भइ समकालिन राज्य शक्तिसँग सम्बन्ध कायम गर्नैपर्छ ।

जनआन्दोलन पछिको लोकतान्त्रिक व्यवस्थामा सबै धर्मलाई न्यायिक समानता दिलाउने ‘धर्म–निरपेक्षता’ वैधानिक रुपमा सम्मत भइसकेको परिस्थितिमा बौद्धहरुले आ–आफ्नो ठाउँबाट अत्यधिक फाइदा लिनु आवश्यक छ । समयमैं यस्तो गर्न नसके बौद्धहरुको तुलनामा अन्य धर्मावलम्बीहरुले बढी फाइदा लिनसक्ने अवस्था सिर्जना हुन सक्ने परिस्थितिलाई रोक्न सक्दैन । खबर हबबाट

Loading...
Loading...
Loading...

किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा

हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख...

हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने...

हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

वि.सं. २०७८ आश्विन ०९ गते शनिवारकाे राशिफल, जय श्री मनकामना माता, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे, चो, ला,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि...

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?

भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः...

गायत्री मन्त्रको अर्थ थाहा छ ?

धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

हेर्नुहाेस् शुक्रबारको तपाईंको राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा काम गर्न सकिने हुनाले समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइमा प्रगति भएर...