खुसी कसरी बन्ने ? एक रोचक कथा सहित – Janata Live
  • Sunday, August 14, 2022

खुसी कसरी बन्ने ? एक रोचक कथा सहित

  • जनता लाइभ
  • असार ०५, २०७८

खुसी कसरी बन्ने ? एक रोचक कथा सहित

काठमाडौं – खुसी अमुर्त कुरा हो । यसलाई देख्न सकिदैन । यसलाई केवल अनुभुति गरिने मात्रै हो । यो के कारणले हुन्छ भन्ने पनि यकिन हुदैन । व्यक्ति अनुसार खुसी हुने कारण फरक हुन्छ र त्यहि व्यक्ति पनि समय अनुसार फरक फरक कुराले खुसी हुन सक्छ भने एक पल्ट खुसी भएको कुराले उसलाई फेरि खुसी नबनाउन सक्छ । यसरी हेर्ने हो भने खुसी अमुर्त त हुन्छ नै, खुसी क्षणभङ्गुर पनि हुन्छ ।

खुसी कसरी बन्ने भन्ने कुराको खोजी मान्छेले होस सम्हाले देखि गर्न थाल्छ । मानव समाजमा खुसीको खोजी कहिले देखि भयो भन्ने यकिन तथ्यांक छैन तर जो सुकैले सहजै भन्न सकिने कुरा हो कि खुसी मानिसले इतिहासले भेट्नु भन्दा अगाडीदेखि खोजिरहेको छ ।

कुनै ठाउँको एउटा घरमा कताबाट कोइलीले कागको बच्चा झारेछ । सानो प्वाँख पनि नउम्रिएको चरोको बच्चो देखेर घरधनीलाई माया लागेछ । हुन त, हम्मेसी मानिसले काग पाल्दैनन् तर उसलाई यो के हो भन्ने यकिन नभएकाले उसले पाल्न थालेछ । बच्चो हुर्किदै गयो र पछि पुर्णरुपमा काग भयो । सानै देखि पालेकोले घरधनीलाई पनि कागसँग खासै गुनासो भएन भने काग सानै देखि कोठा भित्र पिँजडामा रहेकाले उसलाई बाहिरी संसारमा थाहा भएनछ । घरधनीले बेला बेला खाना दिएकै थियो । उ सँधै टन्नै अघाएको हुन्थ्यो । काग त्यही घरको एउटा कोठा भित्रको पिंजडामा खुसी भएर जीवन बिताइरहेको थियो ।

एकदिन कताकताबाट त्यो कोठामा हाँस छिरेछ । हाँसलाई देखेर काग छक्कै पर्यो । यति सेतो रंगको चरोलाई उसले पहिले कहिलै देखेको थिएन । आफ्नो शरिरको एकनासको रंग देखिरहेको उसलाई हाँसलाई देखेर इर्ष्या पनि भयो । उसले सोच्यो, मेरो हाँसको जस्तो सेतो रंग हुनु भने त म कति खुसी हुन्थे होला हासँ कति खुसी होला ? म त बेकारमा आफुसँग खुसी रहेछु ।

“यस्तो राम्रो रंग रहेछ तिम्रो ।” कागले भन्यो, “तिमी त कति खुसी छौ होला ।”

कागको कुरा सुनेर हाँसले दिक्क मान्दै भन्यो, “म पहिले खुसी थिएँ तर जब सुगालाई देखेँ, मलाई आफुलाई हेरेर खुसी लाग्न छोड्यो । मेरो प्वाँखमा त एउटा मात्रै रंग छ । सुगाको त घाँटीमा अर्को रंग पनि हुन्छ । चुच्चो पनि फरक । असाध्यै राम्रो छ सुगा ।”

कागलाई के चाहिन्थ्यो, यति राम्रो हाँस पनि नराम्रो हुने गरि अर्को कुनै चरो छ भन्ने थाहा पाए पछि उसलाई आश्चर्य लाग्यो । म भन्दा राम्रा यति धेरै चराहरु रहेछन् भन्ने सम्झेर उसलाई झन् ग्लानी भयो । उ पिंजडामा बिरहका गीत गाउँन थाल्यो । उसको कर्कस काँकाँ आवाजले वाक्क भएर घरधनीले पिंजडा खोलिदियो र काग हावाको वेगमा उड्यो । केहि दिन पछि उसले साँच्चै नै सुगालाई भेट्यो । कागले सुगासँग पनि त्यहि प्रश्न गर्यो तर सुगाको जवाफ सुनेर उ झन् आश्चर्यमा पर्यो ।

सुगाले भन्यो, “म त के राम्रो छु र ? तिमीले मयुरलाई देख्यौ भने थाहा पाउँछौ कि चराहरु कति सम्म राम्रा हुन सक्छन् ।”

त्यसपछि काग निराश भयो । उसले सुगालाई मयुरको गुँड कता पर्छ भनेर सोध्यो र मयुरलाई भेट्न उड्यो । मयुरलाई भेट्ने बित्तिकै उसले मयुरका प्वाँखबाट आँखै नहटाइ सोध्यो, “यति राम्रो प्वाँख भएको तपाई त संसारकै सबै भन्दा खुसी चरो हुनु पर्छ । होइन त ?”

मयुरका लागि यो प्रश्न नयाँ थिएन तर कागले जे जवाफ पायो, त्यो जवाफ कागका लागि भने झाँगाबाट खसेको अनुभव गराउँने किसिमको थियो । मयुरले निराश भएर भन्यो, “सुन्दर भएर खुसी कसरी हुन सकिने रहेछ र ? म त सुन्दर भएकै कारण दुखी छु ।”

“लौ कसरी नि ?” कागले छक्क परेर सोध्यो ।

“सुन्दर भएकै कारण मेरा कयौँ आफन्तहरु चिडियाखानामा थुनिएर बसेका छन् ।” मयुरले रुँलारुँला जस्तो गरेर आफ्ना तमाम् आफन्तहरु सम्झियो, “म आफै पनि कहिले कसको फन्दामा पर्छु भन्न सक्दिन । यस्तो सुन्दरता हुनु भन्दा त नभएकै राम्रो । कम्तिमा ढुक्कले आफ्नो जिन्दगी बाँच्न त पाइन्थ्यो ।”

अब कागले सम्पुर्ण कुरा बुझिसकेको थियो । उसलाई थाहा भयो, विशेषताहरुले नै कहिलेकाँही दुख दिने रहेछन् र कोही पनि सम्पुर्णरुपमा खुसी हुन नसक्ने रहेछ । आफुसँग भएकै कुरामा खुसी भइयो भने चै खुसी हुन पाइने रहेछ ।

हामी धेरै पनि काग जस्तै छौँ । र, आश्चर्य लाग्दो कुरा के छ भने हामी धेरैलाई सैद्धान्तिकरुपमा थाहा छ कि अरुको देखासिकी गरेर नै हामीले दुख पाउँने हो । अरुको जस्तो सम्पति, प्रसिद्धी र वैभव खोज्दा खोज्दै हामीले आफ्नो जिन्दगी बाँच्न चै छुटाउँछौँ । तर यति जान्दा जान्दै पनि हामी हरेक दिन त्यहि जीवन भोग्छौ ।

किन त ? जवाफ हो, हामीले व्यवहारिक रुपमा त्यसको पालना गर्न सक्दैनौँ । हामीलाई यी कुरा केवल सुन्नका लागि मात्रै हो भन्ने लाग्छ । आममानिसको बिडम्बना नै यहि हो । हामी सैद्धान्तिक ज्ञानलाई केवल बुद्धिविलासको साधनमात्रै सम्झिन्छौ र जीवनमा लागू गर्न हिच्किचाउँछौँ । यसैको कारणले हामी जुन कुरामा खुसी हुनु पर्ने हो, त्यहीबाट टाढिएका हुन्छौँ ।

Loading...
Loading...
Loading...