प्रेरक प्रसंग : मनोबलको जित – Janata Live
  • Sunday, August 14, 2022

प्रेरक प्रसंग : मनोबलको जित

  • जनता लाइभ
  • असार ०४, २०७८

प्रेरक प्रसंग : मनोबलको जित

सन् १५३४ मा जन्मेका ओदा नोबुनागा जापानका प्रथम महान् एकीकरणकर्ता मानिन्छन् । उनले लामो समय तत्कालीन जापानी सेनाको नेतृत्व गरेर थुप्रै लडाइँ लडे । उनकै बहादुरीले गर्दा जापानको एकीकरण भएको मानिन्छ । उनी थोरै सैनिक र कम सैन्य संसाधनबाटै आफूभन्दा निकै शक्तिशाली सेनालाई हायलकायल पार्न समर्थ थिए । उनी आफ्ना बहादुर सैनिक साथीहरूको मनोबल बढाउन र उनीहरूलाई बहादुरीसाथ युद्धमा वीरता देखाउन उत्साहित गराउन निकै कुशल सैनिक कमान्डर थिए ।

एकपटक नोबुनागाले आफ्ना सैनिक योद्धाको मनोबल उकास्न फरक तरिका अपनाए । उनले आफ्ना सिपाहीलाई एक मन्दिरमा लगे । त्यहाँ उनले सबैलाई सम्बोधन गर्दै भने– मेरा बहादुर सिपाहीहरू हो ! मलाई थाहा छ, हामीसित भएको सैनिक शक्तिभन्दा शत्रु पक्षसित चारगुना बढी सैनिक शक्ति छ । तर, हामीसित पनि अदम्य साहस र उत्साह छ । सबैभन्दा ठूलो कुरा हामीसित भगवान्को साथ र आशीर्वाद छ । म यहाँ एउटा सिक्का हावामा उफार्छु । यसमा टाउको आयो भने हामीलाई भगवान्ले तिमीहरूको विजय सुनिश्चित छ भनेर आशीर्वाद दिएको मान्नेछौँ र पुच्छर आयो भने भगवान्ले तिमीहरूले जित्न सक्दैनौ भनेको मानेर युद्धभूमि छाडिदिनेछौँ । उनले सिक्का हावामा उफारे । टाउको आयो । फेरि दोस्रो र तेस्रोपटक उफार्दा पनि टाउको नै आएपछि सबै योद्धा जोसिला भए । सबै विजय, विजय, विजय भन्दै चिच्याए ।

युद्ध लडियो । युद्ध घमासान भयो । आखिरमा आफूभन्दा चारगुना बढी सैन्य दस्तालाई नोबुनागको सेनाले छिन्नभिन्न पारिदियो । शत्रुपक्षले हार स्विकार्‍यो । नोबुनागाको टोली विजयीको दुन्दुभि बजाउँदै राजधानी फर्कियो । अभिनन्दन समारोहमा उनले सैनिकको भन्दा उनीहरूको मनोबललाई विजयको कारण बताए । अनि, उनले रहस्य खोल्दै त्यही सिक्का देखाए, जुन उनले मन्दिरमा उफारेका थिए । तर, सिक्काको दुवैतिर टाउको थियो । जसले गर्दा उनले जति उफारे पनि टाउको मात्र आएको थियो ।

Loading...
Loading...
Loading...