बुद्धलाई बुझ्ने कसरी? – Janata Live
  • Saturday, September 25, 2021

बुद्धलाई बुझ्ने कसरी?

  • भिक्षु कश्यप
  • असार ०३, २०७८

बुद्धलाई बुझ्ने कसरी?

बुद्ध पूर्णिमा। ५६३ इसापूर्वमा आजकै दिन बुद्धको जन्म लुम्बिनी वनमा भएको थियो।

बुद्धलाई भगवान मानिन्छ। भगवान शब्दका कारण ‘अनिश्वरवादी’ बुद्धलाई किन भगवान भनियो भनेर शंका उत्पन्न हुन सक्छ। यो पनि पढ्नुस्ः ईश्वरका बारेमा के भन्थे बुद्ध?

खासमा बौद्धकालमा भगवान शब्दको अर्थ ‘सृष्टिकर्ता ईश्वर’ भन्नेमा प्रयोग हुन्थेन।

पाली भाषामा ‘भग्गो ति रागो भगवा, भग्गो ति दोसो भगवा, भग्गो ति मोहो भगवा’ अर्थात् जसले राग, द्वेष र मोह भगाउन वा हराउन सक्यो, त्यो नै भगवान भन्ने अर्थमा यो शब्द प्रयोग हुन्थ्यो। आज पनि बुद्धलाई भगवान भनेर सम्बोधन गरिने यही अर्थमा हो, न कि सृष्टिकर्ता ईश्वर मानेर।

बुद्धको नाम सिद्धार्थ थियो, गौतम गोत्र। सिद्धार्थ गौतमका बुबा शुद्धोधन तथा आमा महामाया थिए, जो कोलीय वंशकी थिइन्। सिद्धार्थ जन्मेको सातौं दिनमै उनकी आमाको स्वर्गवास भयो। उनको पालनपोषण महामायाकी बहिनी तथा शुद्धोधनकी कान्छी रानी प्रजापतिले गरिन्।

सिद्धार्थ गौतमको बिहे १६ वर्षको उमेरमा यशोधरासँग भएको थियो। करिब २९ वर्षमा उनका एक छोरा राहुलको जन्म भयो। त्यही वर्ष सिद्धार्थले गृहत्याग गरे, यो घटनालाई महाभिनिष्क्रमण भनिन्छ। करिब ६ वर्षसम्म अनेक ध्यान-तप गरेर पनि बोधी प्राप्त नभएपछि मध्यममार्ग अपनाए। ३५ वर्षमा भारतको गया (बिहार) को उरुवेलामा पीपलको रूखमुनि बसेका सिद्धार्थलाई वैशाख पूर्णिमाको रात समाधिस्त अवस्थामा ज्ञान प्राप्ती भयो, सम्बोधी जाग्यो।

त्यसपछि उनी बुद्ध नामले चिनिएका हुन्।

बुद्धत्व प्राप्तीको करिब तीन महिनापछि बुद्धले सारनाथमा पाँच भिक्षुलाई आफ्नो प्रथम उपदेश/प्रवचन दिए। यो घटनालाई धर्म चक्रप्रवर्तन भनिन्छ। बुद्धले ४९ वर्षसम्म लगातार धर्म-शिक्षा दिइरहे। उत्तर भारतको गाउँदेखि नगरसम्म जनजनमा धर्मको विजारोपण गरे। भिक्षु-भिक्षुणी संघ बनाएर उनीहरूलाई गहिरो ध्यान-साधना अभ्यासपछि अरूको सेवामा लाग्न प्रेरित गरिरहे।

इसापूर्व ४८३ मा, ८० वर्षको उमेरमा बुद्धले कुशिनारा (उत्तरप्रदेश, भारत) मा अन्तिम सास फेरे। यो संसारबाट उनको मुक्तिलाई महापरिनिर्वाण भनिन्छ।

यी त भए बुद्धबारे सामान्य जानकारी, बुद्धलाई बुझ्ने चाहिँ कसरी त?

बुद्धबारे केही चामत्कारिक कथाहरू नजोडिएका होइनन्। जातक कथा संग्रहमा पनि चामत्कारिक लाग्ने थुप्रै कथा छन्। जस्तै, बुद्धले जन्मनेबित्तिकै सात कदम हिँडे र घोषणा गरे- यो संसरमा म सबभन्दा जेठो र सबभन्दा श्रेष्ठ हुँ। यो मेरो अन्तिम जन्म हो!

बोधी प्राप्त हुनुअगाडि पनि मार सेनासँग चामत्कारिक युद्ध चलेको कथा छ। बुद्ध शरीर नै तावतिम्सलोकमा आफ्नी जन्म दिने आमालाई विपस्यना ध्यान सिकाउन गएको कथा पनि छ।

तर यी चमत्कारका कथाबाट न बुद्धलाई जान्न सकिन्छ, न उनको शिक्षालाई बुझ्न। यस्ता कथाले उल्टो हामीलाई द्विगभ्रमित बनाउन सक्छन्।

बुद्धले आफ्ना भिक्षु-भिक्षुणीलाई पनि ‘बौद्ध’ बन्न सिकाएनन्, बरू बुद्ध बन्न सिकाए। बौद्ध हुनु र बुद्ध बन्नुमा धेरै फरक छ। बुद्धले ‘धम्मी वा धम्मीको’ शब्द प्रयोग गरेका छन् अर्थात धर्मी या धार्मिक बन। बुद्धले अन्धविश्वासी उपासक या प्रार्थी बन्न सिकाएनन्, धर्मका साधक, योगी र तपी (ज्ञानका लागि तप्ने व्यक्ति), श्रमण (निर्वाण मोक्षका लागि श्रम गर्ने व्यक्ति) बन्न भने।

बुद्धलाई चिन्न-बुझ्न उनका व्यावहारिक पक्ष र मूल शिक्षामा ध्यान दिनु आवश्यक छ।

बुद्धले मध्यममार्ग सिकाए- भौतिक भोग र सुख विलासमा रमाउनेले सत्य खोज गर्नै सक्दैन, किनकि ऊ भोग र वासनामा डुबेको हुन्छ, उसको मनोबल दुर्बल हुन्छ, ध्यान तपस्या गर्न सक्दैन। यो भौतिक सुख स्थायी रहन्छ भन्ने भ्रम उसलाई हुन्छ। आफू पनि सधैं सुखी रहन्छु भन्ने हुन्छ जुन सही होइन।

त्यति बेलाका चार्वाक पन्थीहरू ‘यदा जीवेत सुखं जीवेत, ऋणं कृत्वा, घृतं पिबेत्’ अर्थात जबसम्म बाँच्छौ सुखसँग बाँच, उधारो लिएर भए पनि घिउ खाऊ’ भन्थे।

अर्काथरी पन्थीहरू देह दण्डनमा विश्वास गर्थे र रातदिन शरीरलाई कष्ट दिने, शरीर सुकाउने, भोजन पनि कम कम गर्दै लाने। गर्मीमा पञ्चाग्नि ताप्ने, जाडोमा चिसो पानीमा डुबेर बस्ने।

बुद्धले यी दुवैथरी अभ्यासलाई अतिगामी भने जो निर्वाणका लागि सही मार्ग होइनन्। बुद्धले मध्यममार्ग अपनाए- न चरम भोग विलाश, न देह दण्डन। यौन मिथ्याचार नगर्ने, गीत-संगीत लगायत मनोरञ्जनका साधन उपभोग नगर्ने, विलासी घरमा नबस्ने, सामान्य वस्त्र धारण गर्ने, मागेर जे मिल्छ त्यो मात्र खाने, सुखासनमा बसेर ध्यान गर्ने।

यो त साधना सम्बन्धी मध्यममार्ग भयो। बुद्धले दार्शनिक मान्यतामा पनि मध्यममार्ग अपनाएका थिए।

त्यति बेलाका एकथरी पन्थक, जस्तै चार्वाक सिद्धान्तधारीका लागि त्रिपिटकमा ‘लोकायत’ शब्द प्रयोग गरिएको छ। यसको मतलब यस्तो दर्शन प्रणाली जो यो लोकमा मात्र विश्वास गर्छ, परलोकमा विश्वास गर्दैन। उनीहरूका अनुसार स्वर्ग, नर्क वा मुक्ति केही हुँदैन। मृत्युपछि सबै सकिन्छ। आत्मा हुँदैन, पुनर्जन्म त हुने कुरै भएन। उत्छेदवादी थिए उनीहरू। चार्वाकी सिद्धान्तमा यही मात्र एउटै जीवन हुने भएपछि पाप-पूण्य पनि नहुने भयो र पाप-पूण्यका फल पनि नहुने भए।

अनि अर्काथरी पन्थ थिए जो आत्मालाई शाश्वत मान्थे। आत्मा अजर र अमर सत्त-चित्त-आनन्द स्वरूप छ भन्थे शाश्वतवादीहरू।

बुद्ध आत्माको सम्पूर्ण उच्छेद मान्थेननन्। कर्ममा विश्वास गर्थे। कर्मअनुसार निर्वाण नहुन्जेलसम्म, जन्म-मृत्युको सांसारिक चक्रमा घुमिरहनुपर्छ, सुगति-दुर्गति प्राप्त भइरहन्छ भन्थे। ध्यान-भावनाले ब्रह्मलोकहरूमा जन्म हुने, दान-पूण्य, शील पालना जस्ता कर्मले देवलोकहरूमा जन्म हुने, त्यस्तै हत्या-हिंसा लगायत पाप कर्मले नर्क जानुपर्ने कुरा बौद्ध शास्त्रहरूमा उल्लेख छ।

बुद्ध एउटै सतत् स्थायी आत्मा नहुने कुरा गर्छन्। जसलाई हामी ‘म वा आत्मा’ भन्छौं, त्यो क्षण-क्षण परिवर्तन भइरहने चित्तधारा हो, शरीर बदलिए झैं आत्मा बदलिरहन्छ। त्यसैले बुद्धले आत्माको पुनर्जन्मभन्दा चित्त-सन्तान भन्ने शब्दमा बढी रुचाएको छन्।

आमाबुवाको जिन (भौतिक गुण) ले छोराछोरीमा निरन्तरता पाउने हुँदा लौकिक भाषामा छोराछोरीलाई सन्तान भनिन्छ। त्यस्तै आफ्नो कर्मअनुसार मृत्यु क्षणको चित्तबाट नै नयाँ जन्म हुँदा नयाँ चित्तधारले निरन्तरता पाउने भएकाले पुनर्जन्मलाई चित्त-सन्तान भनिएको छ।

उदाहरणका लागि दूधबाट दही बन्छ। दूध दहीभन्दा अलग हो तर पनि त्यही दूधबाट बनेकाले त्यो दही त्यो दूधको निरन्तरता पनि हो। दही दूधको सन्तान पनि हो। जसरी दूधको न त सम्पूर्ण उच्छेद भएको हुन्छ, न दूध सतत चीर स्थायी नै रहन्छ। बरू बदलिरहन्छ। बुद्धले यसरी चित्तको उच्छेद हुने वा शाश्वत हुने दुवै अतिलाई त्यागेर मध्यम धार अँगाले- चित्त सन्तान जो सम्पूर्ण उच्छेद पनि हुँदैन, शाश्वत पनि छैन। बदलिरहन्छ, कर्म अनुसारको गति प्राप्त भइराख्छ।

अनावश्यक दार्शनिक विवादमा बुद्धको असहभागिताः

बुद्धसँग दार्शनिक विवादका लागि धेरैथरी मानिस आउँथे। केही सवालमा उनी सिधा जवाफ दिन्थे, केहीमा प्रति प्रश्न गरेर जवाफ निकाल्थे भने केही प्रश्नमा मौन रहेर। तीमध्ये केही प्रश्नमा बुद्ध सधैं मौन रहे।

के लोक शाश्वत छ? वा के लोक अशाश्वत छ? के लोकको अन्त छ? वा के लोक अनन्त छ?

के आत्मा र शरीर एउटै हो? कि अलग-अलग हो?

के मृत्युपछि तथागत (बुद्धलाई तथागत पनि भनिन्छ) विद्यमान रहन्छन्? कि रहँदैनन्?

मृत्युपछि तथागत विद्यमान र अविद्यमान दुवै रहन्छन्?

बुद्धले यस्ता प्रश्नको उत्तर दिन आवश्यक ठानेका छैनन् किनकि यिनले जीवनमा कुनै फाइदा ल्याउँदैनन्, न आध्यात्मिक उन्नति नै हुन्छ। यी प्रश्नको पक्ष या विपक्षमा दुवैथरी तर्क जुटाउन सकिन्छ। तर्कबाटै सत्य वा असत्य सिद्ध गर्न सकिन्छ तर ठोस प्रमाण दिन सकिँदैन। यस्ता चिन्तन र विवादले मनलाई अल्झाइ मात्र राख्छन्। बुद्धका अनुसार परमार्थिक दृष्टिले यी प्रश्नहरू व्यर्थ छन्।

दैविक चमत्कार निरुत्साहनः बुद्धकालको एक घटना

एकदिन राजगृहको एक प्रतिष्ठित व्यवसायीले चन्दन रूखको ठूलो मुडा फेला पारे। उनको मनमा विचार आयो- म यसबाट एउटा पात्र (भाँडो) बनाउँछु। यसको धूलो र टुक्राटाक्री मलाई काम लाग्ग्छ। भाँडो कुनै भिक्षु या संन्यासीलाई दिन्छु।

उनले सिकर्मीलाई भनेर चन्दनको काठको भाँडो बनाए। त्यसलाई टोकरीमा राखेर अग्लो बाँसको खम्बामा बाँधिदिए र भने, ‘श्रमण, ब्राह्मण, अर्हन्त या ऋद्दिमान (दैवी शक्ति भएको) ले यो पात्र झिकेर लैजानू।’

अनेक भिक्षु र संन्यासीहरू उनीकहाँ गएर भने, ‘म अर्हन्त हुँ, मलाई यो पात्र देऊ।’

व्यवसायीले भने, ‘यदि अर्हन्त भए पात्र दिइसकेकै हो, झिकेर लैजानू।’

त्यही समय बौद्ध भिक्षुहरू मोग्गल्लान र पिंडोल भारद्वाज पनि भिक्षाटनका लागि राजगृहमा जाँदै थिए। त्यही ठाउँमा पुगेका भारद्वाज ऋद्दिमान थिए। उनले आकाशमा उडेर, राजगृह नगरलाई तीन चक्कर लगाई त्यो पात्र बाँसको खम्बाबाट झिकेर लिए। भिक्षाटन सकेर दुवै भिक्षु विहारमा फर्के।

यो कुरा नगरभरि फैलियो। यसबारे बुद्धले पनि सुने। भारद्वाजले चमत्कार देखाएका कुरा थाहा भएपछि बुद्धले भिक्षु संघको बैठक बोलाए। अनि मानिसको शक्तिभन्दा परको कुरा र चामत्कारिक शक्ति प्रदर्शनी अयोग्य, अविधेय र प्रतिकूल भएको भन्दै कुनै पनि भिक्षु-भिक्षुणीले यस्ता चमत्कार देखाउन नहुने भने। कसैले देखाएमा दुष्कृत्य हुने बताए।

बुद्धले चामत्कारिक प्रदर्शनलाई निरुत्साहित गरे। चमत्कारले चेला भेला पार्न र जनतालाई मुर्ख बनाउन सके पनि यसबाट कसैको मुक्ति नहुने भन्दै समाधी र प्रज्ञाको अभ्यासमा बढी ध्यान दिन भने। बुद्धले आफूलाई पनि ईश्वरसँग कहिल्यै जोडेनन्। आफू कल्याण मित्र वा गुरु वा मार्गदर्शक भएको बताएका छन्, ‘म त बाटो देखाउने मात्र हो, मुक्तिको मार्गमा हिँड्नु त तिमीहरूले नै पर्छ।’

दुःखबाट छुटकाराको उपाय नै बुद्धको शिक्षाः

सबै प्राणी दुःखबाट आक्रान्त छन्, सबै प्राणी सुख चाहन्छन्, दुःखबाट मुक्ति चाहन्छन्। बुद्धको मुख्य खोज यही दुःखबाट मुक्तिका लागि भयो। उनी दुःखको कारणसम्म पुगे, मुक्ति पाउन सक्ने कुराको साक्षात अनुभव गरे र मुक्तिका उपाय जनमानसमा उजागर गरे जुन अष्ठांगिक मार्ग भनेर प्रचलित छ। यसमा आठ अंग- शील, समाधी, व्यायाम, जागरुकता, एकाग्रता, प्रज्ञा, दृष्टि, संकल्प समावेश छन्।

बुद्धले सिकाएका मुख्य तीन कुरा पनि यिनैमध्ये हुन्।

शीलः आफ्नो वाचा र कर्मद्वारा कसैको पनि कूभलो नगर्नू। समाधीः अकुशल र चन्चल मन बसमा राखी कुशलतामा लगाउनू। प्रज्ञाः वास्तवमा जे भइरहेको छ त्यसलाई जान्नु अर्थात् यथाभूत ज्ञान दर्शन।

बुद्धले शीलवान बन्न जोड दिएका छन्, आफ्नो वचन र कर्मलाई अकुशल हुन नदिनू भनेका छन्। वचनको धार चक्कुभन्दा धारिलो हुन्छ, रगत नबगाई घाउ लगाइदिन्छ। हजारौं व्यर्थ शब्दहरू बोल्नुभन्दा एक उचित शब्द बोल्नु राम्रो जसले तपाईंको मनमा शान्ति दिन्छ।

बुद्धले ठगीधन्दा नगर्न, जीविकोपार्जनका लागि अनुचित व्यवसाय नगर्न भनेका छन्। हिंसा, रिस, चोरी, यौन मित्थ्याचार नगर्न पनि भनेका छन्। क्रोधमा रहनु भनेको कुनै अर्को मानिसलाई जलाउने उद्देश्यले आगोको कोइला आफ्नो हातले उठाउनुजस्तै हो। यसले सबभन्दा पहिला आफैंलाई जलाउँछ। क्रोधको सजाय (पछि) मिल्ने होइन, स्वयं क्रोध नै तपाईंको सजाय हो (तत्काल)।

दुःखको कारण मनमा निरन्तर उत्पन्न भइरहने तृष्णा हो जो अकुशल कर्मका कारण उत्पन्न भइरहन्छ। बुद्ध भन्छन्- इच्छाहरूको अन्त्य कहिल्यै हुँदैन। एक पूरा हुन नपाउँदै अर्को इच्छा नयाँ जन्मिन्छ। जबसम्म अकुशल कर्म क्षय हुँदैन, तबसम्म दुःखबाट मुक्ति मिल्दैन।

बुद्धको शिक्षाको दोस्रो भाग भनेको अकुशल र चन्चल मनलाई वशमा राख्नु र कुशलतामा लगाउनु हो- सत्यको मार्गमा मानिसले गर्नसक्ने गल्ती दुइटा मात्र छन्। कि ऊ मार्गको आखिरसम्म हिँड्दैन कि मार्गमा हिँड्न सुरू नै गर्दैन। बुद्ध सत्यको मार्गमा चल्न र यात्र पूरा गर्न भन्छन्।

‘न अतीतको सम्झनामा अड्किएर बस, न भविष्यको कल्पनामा, मनलाई त वर्तमानमा एकाग्र राख। हजार युद्ध जित्नुभन्दा आफूलाई जित्नु राम्रो। तब यो जित तिम्रो हुनेछ।’

बुद्ध ध्यानलाई ज्ञानको अपरिहार्य पूर्वशर्त मान्छन्। ध्यानबाट ज्ञान प्रकट हुन्छ। ध्यानको अभाव नै अज्ञानको कारण हो। ध्यानले नै मनमा शान्ति मिल्छ।

बुद्ध शिक्षाको तेस्रो भाग प्रज्ञा हो। मन र पदार्थको हरक्षण निरन्तर भइरहने अन्तर्क्रियालाई यथाभूत जान्ने कार्यले नै प्रज्ञाको उदय हुन्छ, ‘मानिस जस्तो सोच्छ, उस्तै बन्छ। मानिस जस्तो अनुभव गर्छ, उस्तै चिजलाई आफूतिर आकर्षित गर्छ, र जस्तो कल्पना उस्तै चिजहरूको निर्माण गर्छ।’

त्यसकारण संकल्प राम्रो हुनुपर्नेमा जोड छ बुद्धको। बुद्ध भन्छन्, ‘कुनै कुरा शास्त्रमा लेखिएको छ भनेर विश्वास नगर। मैले भनेको हुँ भनेर मात्र पनि विश्वास नगर। तब मात्र विश्वास गर जब तिम्रो तर्क र विवेकले ठीक या उचित ठहर्‍याउँछ।’ सेतोपाटीबाट

Loading...
Loading...
Loading...

किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा

हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख...

हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने...

हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

वि.सं. २०७८ आश्विन ०९ गते शनिवारकाे राशिफल, जय श्री मनकामना माता, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे, चो, ला,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि...

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?

भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः...

गायत्री मन्त्रको अर्थ थाहा छ ?

धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

हेर्नुहाेस् शुक्रबारको तपाईंको राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा काम गर्न सकिने हुनाले समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइमा प्रगति भएर...