तामाङ र बौद्ध धर्मको आयाम – Janata Live
  • Saturday, September 25, 2021

तामाङ र बौद्ध धर्मको आयाम

  • नविन मोक्तान/आर.के. तामाङ
  • असार ०१, २०७८

तामाङ र बौद्ध धर्मको आयाम

तामाङ प्रथम राष्ट्रले आधुनिक नेपाल निमार्ण हुनु भन्दा हजारौ वर्ष पहिले देखि यो भूमिलाई आवाद गरि रहेको छ । आधुनिक नेपाल निमार्णका दौरान र उक्त युद्ध पश्चात लामो सिमान्तिकरणको सिकार भएता पनि आफ्ना विशिष्ट सांस्कृतिक, धार्मिक, आर्थिक तथा राजनैतिक प्रणालीलाई बचाइ रहनु यो राष्ट्रको मुख्य विशेषता हो । तामाङ प्रथम राष्ट्रको विविध आयामहरु मध्ये यस आलेखमा धार्मिक आयाम र विशेषतः बौद्ध धार्मिक आयामसँग सम्बन्धित रहनेछ ।

तामाङ राष्ट्रमा धर्म

तामाङ प्रथम राष्ट्रले आदिकालदेखि नै बोन सांस्कृतिक अभ्यासलाई अपनाएको पाइन्छ । बोनहरुलाई स्थान अनुसार बोन्बो, पोम्बो, धामी, झाँक्री आदी शब्दहरुबाट पनि चिन्ने गरेको पाइन्छ । बोन सांस्कृतिक अभ्यासका दुई शाखाहरु डेबोन (उपचारक) र लाबोन (फोला पुजारी) अभ्यास आज पर्यान्त रहेको छ ।

तामाङ सभ्यता अनुसार केही स्थानहरुमा लाबोनलाई लाब्ताबा (कुल बोन्बो) भनेर पनि सम्बोधन गरेको पाइन्छ । यो भनेको बिसुद्ध रुपमा तामाङ ह्रुई (थर) अनुसार आफ्नो फोला(कुल)लाई पूजा गर्ने परम्परा हो । यस्तो पूजा गर्नका लागी प्रत्येक ह्रुईहरुको आआफ्नै लाबोनहरु रहेका हुन्छन् । डेबोनहरुले भने समाजमा हुने रोगव्यधीहरुको उपचार गर्ने काम गर्दछन् । डेबोनहरुमा पनि जडिबुटिको उपचार गर्ने र तन्त्र मन्त्र मार्फत् उपचार गर्ने गरी दुई प्रकारका रहेका छन् ।

आदिकालदेखि आफू रहेको ठुङ्सा (उत्पति स्थल) र बाप्सा (आवाद स्थान) वरपरको वनस्पती तथा जीवहरुको सुक्ष्म पहिचान गरेर कुन वनस्पती कस्तो हो र ती वस्तुहरुलाई कहाँ र कसरी उपयोग गर्नु पर्दछ भन्ने विशिष्ट ज्ञान इन्डिजिनिष्टहरुमा रहेको हुन्छ । तामाङ पुर्खाहरुमा पनि यस्तो विशिष्ट ज्ञान रहेको थियो जसलाई उनिहरुले डेबोन मार्फत् पुस्तान्तरण गर्ने गरेको पाइन्छ । आधुनिक चिकित्सा पद्धतीकोे विकास र उपलब्धता भन्दा हजारौ वर्ष पहिलेदेखि समाजमा हुने रोगव्याधी, महामारी तथा सङ्क्रमणहरुको तत् स्थानहरुमा उपलब्ध प्राकृतिक श्रोतहरुलाई उपयोग गरेर बचाउने काम उनिहरुले गरिरहेको पाइन्छ । जडिबुटिले पनि सम्भव नभएका उपचारहरु भने तन्त्रमन्त्रको साधना गरेका सिद्धहरुबाट गर्ने परम्परा आज पर्यान्त रहेको छ । तन्त्रमन्त्रको साधना र अभ्यास इन्डिजिनिष्टहरुको विशिष्ट गुण पनि हो ।

तामाङ राष्ट्रमा बौद्धधर्म

गौतम बुद्धको जन्म आधुनिक नेपाल राज्य भित्र भएता पनि यसको विस्तार तात्कालिन भारत वर्षभरि भएको थियो । केही नेपाली मिथकलाई आधार मान्ने हो भने बुद्ध नेपाल मण्डल (हालको काठमाडौ उपत्यका) आएका थिए तर त्यसको ठोस आधिकारिकता पाइदैन । बुद्ध पछि बौद्धधर्मलाई व्यापक रुपमा फैलाउने राजा अशोकले छोरी नेपाल मण्डल पठाएको मिथक नेवार बुद्धिजममा पाइन्छ । यसमा पनि धेरै अध्ययन बाँकी रहेको छ । तर पछि पहिलो शताब्दीका बौद्ध विद्धान नार्गजुन भने काठमाडौं आएको प्रमाणहरु पाइन्छ । उनले साधना गरेको भनिएको गुफा आज पर्यान्त प्रसिद्ध रहेको छ ।मुलमाध्यमककारिका जस्ता अनगिन्ती पुस्तकहरु रचना गरेका तथा प्रज्ञा पारमितालाई बाहिर ल्याउनु हुने दार्शनिक नार्गजुन शुन्यवादी सिद्धान्तका प्रतिपादक तथा महायान बौद्ध परम्परा अन्तर्गत माध्यमिक दर्शनको सुभारम्भकर्ता हुन् । आज उनकै नाममा काठमाडौंको उत्तरपश्चिममा रहेको डाँडाको नाम नार्गजुन राखिएको छ । उनि पछि अर्का विद्धान वसुवन्धु पनि काठमाडौं आएको इतिहास पाइन्छ । उनको मृत्यु नै नेपाल मण्डलमा भएको विश्वास गरिन्छ । उनको मत्युसम्बन्धी मिथकहरुमा उनले बौद्धभिक्षुले गोरु जोत्दै गरेको देखेपछि आफैले आयुको मन्त्र उल्टो पढेर मृत्यु वरण गरेको पाइन्छ । बौद्ध दर्शन अन्तर्गत वैभाषिक, सौतान्त्रिक र योगचारमा विशेष योगदान गर्नु भएका यि दार्शनिकको मिथकले के जनाउँदछ भने उनकै समयमा नेपाल मण्डलमा बौद्धधर्म अभ्यासमा रहेको देखिन्छ । त्यसयता नेपाल मण्डल बौद्धधर्मको केन्द्रको रुपमा विकास भएको थियो । तात्कालिन तान्त्रिक गुरु तथा महासिद्ध पद्मसम्भव, अर्का दार्शनिक शान्तरक्षिता, त्यसैगरी अतिसा दिपङ्कर श्रिज्ञान लगायत बौद्ध विद्धानहरु तिब्बत जानु पूर्व नेपाल मण्डलमा रहेको इतिहास पाइन्छ । यो क्रम तेह्रौं शताब्दीसम्म कायम रहेको देखिन्छ ।

नेपाल मण्डलमा यसरी समृद्ध भएको बौद्धधर्मलाई यस वरपर रहेका तामाङ राष्ट्रले त्यही समयदेखि अवलम्बन गरेको पाइन्छ । मन्जुश्रीको खड्कले काटेर पानी तारेर काठमाडौंलाई आवादी गर्न योग्य तुल्याएको मिथक तामाङ राष्ट्रमा आज पर्यान्त व्यापक रुपमा प्रभावी रहेको छ । महासिद्ध पद्मशंभव तामाङ आवाद विभिन्न स्थानहरुमा पुगेको तथा उनले नै बोधिचित्तको विज तेमालमा छाडेको जनविश्वास आज पर्यान्त तामाङ समाजमा गहिरो गरी रहेको छ । यसले तामाङ राष्ट्रमा बौद्धधर्मको प्रभावको इतिहासलाई जनाउँदछ । तिब्बतमा बौद्धधर्मको प्रभाव हुनु पूर्वका मिथकहरु हुन या पछिका मिथकहरु हुन यसले बौद्धधर्मसँगको तामाङ राष्ट्रको लामो एतिहासिकताको निरन्तरतालाई इङ्कित गर्दछ । तिव्वतसँग व्यापार गर्ने तथा हिमाल वारिपारीको आपसि सम्बन्धहरुका कारण कालान्तरमा तिब्बती बौद्धधर्म हिमाल वारिका तामाङ वस्तीहरुमा पनि व्यापक रुपमा भएको देखाउँदछ । आठौं शताब्दी पछि तिब्बतमा बौद्धग्रन्थहरुको व्यापक अनुवाद र पठनपाठन हुन थालेसँगै तामाङ राष्ट्रले बौद्धधर्मलाई आफूमा पनि समाहित गर्दै सामाजिक स्थान दिएको देख्न सकिन्छ । तात्कालिन नेपाल मण्डलमा र पछि तिब्बतमा विस्तार भएको बौद्धधर्म बज्रयान परम्परा अन्तर्गतको भएकाले तन्त्रमन्त्रको अभ्यास गरिरहेको तामाङ राष्ट्रमा अझ व्यापक रुपमा फैलिएको बुझन सकिन्छ । अझ तिब्बती भाषामा नै यसको सहज उपलब्धता हुन थालेसँगै भोट-बर्मेली भाषा परिवारका तामाङ राष्ट्रलाई यो अध्ययन, अनुसरण र अभ्यास गर्न अझ सहज भएको बुझन सकिन्छ ।

बहुल नायक परम्परा

तामाङ बहुल नायक परम्परामा आधारित राष्ट्र हो । समाजका हरेक निर्णयहरु समाजमा रहेका चोहो, गान्बा, तम्बा, लाब्ताबा, बोन्बो, लामा लगायतका नायकहरुको संलग्नतामा मात्र हुने गर्दछ । बौद्धधर्मको प्रवेश पूर्वको तामाङ राष्ट्रको बहुल नायकहरु बोन प्रभावी रहेको थियो । तर, बौद्धधर्मलाई तामाङ राष्ट्रले स्वीकार गरेसँगै बहुल नायक मध्येकै एक लामालाई नायकको स्थान दिएको देखिन्छ । यसरी सांस्कृतिक रुपमा अलग अवधारणाहरु भएको बोन र बौद्धधर्मलाई पनि तामाङ राष्ट्रका बहुल नायकहरुले श्रृजनात्मक तरिकाले उचित व्यवस्थापन गर्न सफल भएका थिए । अन्य हिमाली समुदायहरुमा यस्तो बोन र बौद्ध दुवैलाई उचित व्यवस्थापन गरेको ज्यादै कम मात्र पाइन्छ । कि बोनले बौद्धलाई निषेध गरेको पाइन्छ हैन भने बौद्धले बोनलाई आफूमा समाहित गरको पाइन्छ ।

तामाङ राष्ट्रको राजनैतिक अधिकार चोहो र उ मातहतमा संयन्त्रमा रहेको हुन्छ । सांस्कृतिक अधिकार गान्बा, ताम्बा र उनिहरु मातहतका संयन्त्रमा रहेको हुन्छ । धर्मको अधिकार भने बोन, लामा र उनिहरु मातहत संयन्त्रसँग रहेको हुन्छ । तामाङ मिथकलाई आधार मान्ने हो भने बोेनले लोकमा संरक्षण गर्ने र परलोकमा भने लामाले संरक्षण र मार्ग निर्देश गर्ने सहमति भएको जनविश्वास पाइन्छ । यसरी उचित कार्य विभाजन गरेको कारण तामाङ राष्ट्रमा बौद्ध र बोन दुवै रहन सफल भएको पाइन्छ । हाल पर्यान्त पनि तामाङ राष्ट्रको कुनै सांस्कृतिक क्रियाकलापहरुमा बहुल नायकहरुको अनिवार्य उपस्थिती रहनु पर्दछ । ती साक्षीका रुपमा रहनु पर्ने नैतिक जिम्मेवारीका कारण पनि एक अर्काको सहअस्तित्व आज पर्यान्त रहेको छ ।

लामाले बुद्धधर्म र यसका आधारमा विकास भएका ज्ञान तथा नैतिकतालाई तामाङ राष्ट्रमा फैलाउने काम गर्दछ । लामा शब्द संस्कृत शब्द गुरु (श्रद्धेय/सम्माननीय) को तिब्बती अनुवाद हो । ‘ला’ को तिब्बती अर्थ जीवन शक्ति/हंस या व्यक्तिगत या सामुहिक अवयव, उच्च देवता हुन्छ भने ‘मा’ को अर्थ आमा हुन्छ, जसले संयुक्त रुपमा जीवन मार्गनिर्देश गर्ने सर्वाेच्च आमाको अर्थ राख्दछ । यसरी नै तामाङ राष्ट्रमा दर्शनिक मार्गनिर्देश गर्ने र बौद्ध नैतिकताको माध्ययमबाट समाजमा मध्यमार्ग तय गर्ने काम लामाले गर्दछ । स्थान विशेष अनुसार समाजमा बोन परम्परागत अभ्यासहरु रहेता पनि यो राष्ट्र हाल तिब्बती निङ्मा बौद्ध परम्परालाई नै आफ्नो सांस्कृतिक वैभवको रुपमा मान्दछ । तामाङहरू बुद्धधर्मलाई मृत्यु र अन्य सांसारिक सचेतनाको दृष्टिकोणबाट हेर्दछन् । तिब्ब्ती बज्रयान बौद्ध धार्मिक अभ्यास अनुसार गुरु भनेका मार्ग निर्देशक हुन् र उनलाई बुद्धको रूपमा देख्न सक्नु पर्दछ । यस धर्ममा गुरुले मार्गनिर्देश गरेपछि अथवा आँखा खोलीदिए पछि मात्र चेलाले संसार देख्न सक्छ भन्ने मान्यता रहेको छ । तामाङ विश्वास अनुसार गुरुले आँखा खोली दिएपछि मात्र चेलाले बुद्धलाई देख्दछ । यस कारण पहिलो श्रद्धेय लामा हुन् अर्थात गुरु हुन् । त्यसैले लामालाई बुद्धको रूपमा हेर्दछन् । त्यही भएर तामाङहरुले लामा र बौद्ध दर्शनलाई विशेष स्थान र सम्मान दिएका हुन्छन्।

अन्त्यमा

तामाङ राष्ट्र बहुल नायकमा आधारित प्रथम राष्ट्र भएकाले उसको समाज व्यवस्थापनका आयामहरु त्यही अनुरुप संचालन र नियन्त्रण हुने गर्दछ । सामाजिक न्याय तथा समता कायम गर्नको लागि धर्मको विशेष भूमिका रहेको हुन्छ । समाजलाई गतिशिलता प्रदान गर्नको लागि दर्शनको विशेष भूमिका रहेको हुन्छ । तामाङ समाजको सांस्कृतिक आयामहरु इन्डिजिनिष्ट विशेषता सहितको रहेको छ तर यस आयामलाई गति प्रदान गर्ने काम भने बौद्ध दर्शनले गरेको छ ।

यसरी सास्कृतिक जीवनलाई बौद्ध दार्शनिकीको आयामबाट संरक्षित गरेको कारण आज पर्यान्त तामाङ राष्ट्रको रिमठिम (संस्कार/संस्कृति) जीवन्त रहेको छ । बौद्ध दर्शनलाई प्रोत्साहन गर्नकै लागी घरको माइला छोरालाई लामा बनाउने प्रचलन आज पर्यान्त पाइन्छ । तर, आधुनिकताले तामाङ राष्ट्रको यस्तो सांस्कृतिक धरोहरहरु माथि निरन्तर प्रहार गरिरहेको छ । समयसँगै बौद्ध तामाङ सांस्कृतिक धरोहरहरुलाई पुर्नजारगण गर्नु पर्ने टड्कारो रुपमा देखिएको छ । यसका साथै बौद्ध दार्शनिक आयामहरुमा तामाङ लगाएत बौद्ध समुदायको चासो र संलग्नता बढाउन पर्ने देखिन्छ । बौद्ध दार्शनिक ज्ञान माथि नयाँ पुस्तालाई प्रोत्साहन गर्न नसक्ने हो भने यो संस्कारगत रुढीवादमा फस्ने सम्भावना प्रवल रहेको छ ।

(लेखकद्धय एससीआरसीका अध्येताद्वय हुन् ।)

Loading...
Loading...
Loading...

बुद्धको राजनीतिक सन्देश

सिद्धार्थ गौतम (बुद्ध) राजा शुद्धोधन र मायावतीको कोखबाट नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनको दर्शन गर्न आएका ऋषिका अनुसार यी...

भिक्षु जीवन र राजनीति

परमार्थ र प्रसंगले भिक्षु जीवन र राजनीति दुई पृथक विषय–क्षेत्रहरु हुन । तर इतिहास, समय र परिस्थितिसँग लामो सहयात्रा गर्दा...

बुद्धलाई बुझ्ने कसरी?

बुद्ध पूर्णिमा। ५६३ इसापूर्वमा आजकै दिन बुद्धको जन्म लुम्बिनी वनमा भएको थियो। बुद्धलाई भगवान मानिन्छ। भगवान शब्दका कारण 'अनिश्वरवादी' बुद्धलाई...

अध्यात्मका वैज्ञानिकलाई नमन

नेपाल बुद्ध पैदा गर्ने देश । शान्तिका दूत पैदा गर्ने देश । राजकुमार सिद्धार्थ गौतम बुद्ध भए, सम्यक सम्बुद्ध बने...

कोरोनाले उल्ट्याएको मानव जीवनको परिभाषा-भिक्षु आनन्द

मानव जीवनको पारिभाषा २१ औँ शताव्दीसम्म पुग्दा अति-व्यस्त, अति-धावनकारी जीवनशैली अपनाउने आर्थिक मानव, भौतिक मानव, व्यापारिक मानव, यान्त्रिक मानव हुँदै...

ओझेलमा परेका बुद्ध भूमिहरु

ईसापूर्व ५६३ वैशाख शुक्लपूर्णिमाको दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । खासगरी चीन र पूर्वी एशियामा बुद्ध धर्मको प्रचार...

गौतम बुद्ध : विद्रोही कि विधर्मी ?

बौद्धिक आन्दोलनले सत्ताले निर्माण गरेका भाष्यलाई निरन्तर चुनौती दिने र शक्तिको पिरामिडमा सबैभन्दा तल रहेको जनताको पक्षबाट नयाँ भाष्यको रचना...

भगवान् एवं तथागत चेतनाविना कोरोनालाई जित्न सकिन्न

बौद्ध साहित्यहरुमा उल्लेख भए अनुसार वोधि ज्ञान प्राप्त गरेपछि सिद्धार्थ गौतम बुद्धलाई तथागत नामले सम्वोधन गर्ने गरियो । उनी स्वयंले...