हिमाल नाघेर तिब्बतमा यसरी फैलियो बौद्ध धर्म – Janata Live
  • Sunday, June 26, 2022

हिमाल नाघेर तिब्बतमा यसरी फैलियो बौद्ध धर्म

  • विजय देवकोटा
  • असार ०१, २०७८

हिमाल नाघेर तिब्बतमा यसरी फैलियो बौद्ध धर्म

बज्रयानदेखि कालुग्पासम्मको यात्रा

काठमाडौं – बौद्ध धर्म सबैभन्दा ढिला पुगेको ठाउँ तिब्बत हो।​ तिब्बतमा बौद्ध धर्म कसरी विस्तार भयो भन्नेबारे बुझ्न इस्वी संवत्‌को ७ औं शताब्दीदेखिका घटनाक्रम अध्ययन गर्नुपर्छ।

७ औं शताब्दीमा नेपालमा राजा अंशुवर्माले शासन गर्थे। हिमाल पारीका सबैभन्दा बलिया राजा श्रोङचेन गाम्पो थिए। उनले विभिन्न टुक्रामा रहेको तिब्बतलाई एकीकरण गरी ठूलो साम्राज्य खडा गरे।

गाम्पो हिमाल काटेर दक्षिणतिर आए भने नेपाललाई पनि सुरक्षा खतरा छ भन्ने विश्लेषण गरी अंशुवर्माले उनीसँग वैवाहिक सम्बन्ध गाँस्ने योजना बनाए।

गाम्पोसँग भृकुटीको विवाह

उत्तरमा शक्तिशाली बन्दै गएको राज्यबाट हुनसक्ने सुरक्षा खतरा कम गर्न नेपाली राजकुमारी भृकुटीको विवाह उनै राजा गाम्पोसँग गरियो।

विवाह गरी काठमाडौंबाट तिब्बत जाँदा राजकुमारी भृकुटीले साथमा बुद्धका मूर्ति, पुस्तकहरू र गुरुहरू पनि लगिन्। यसरी, नेपालबाट बौद्ध धर्मका विभिन्न सामग्री र बुद्ध गुरुहरूसमेत तिब्बत गएपछि राजा श्रोङचेन गाम्पो प्रभावित भए। संस्कृत भाषाका पुस्तकहरू समेत लगेकाले नेपालमा लेख्ने भाषा पनि रहेको गाम्पोले थाहा पाए।

यसै समयमा उनले तिब्बतमा चीनबाट अर्की रानी केञ्जो भित्र्याए। केञ्जोले पनि चीनबाट यस्तै मूर्ति र पुस्तकहरू ल्याइन्।

पहिलो इच्छा गाम्पोकै

उत्तर-पूर्वतिरको चीनमा पनि बौद्ध धर्म चरम सीमामा विकास भइसकेको र दक्षिण-पश्चिमको नेपाल त उद्‌गमस्थल नै भएको जानकारी पाएपछि उनले तिब्बतमा पनि यसलाई विस्तार गर्ने योजना बनाए।

तिब्बतमा ठूलो संख्यामा सेना र राज्य भइकन पनि लेख्ने अक्षरसमेत नभएको, किताब र पूरा गर्ने मन्दिर पनि नभएको अवस्था थियो। त्यसपछि उनले आफ्नो मन्त्रिमण्डलका सबैभन्दा बुद्धिमान मन्त्री खन्मी (नेपाल आएपछि उनलाई सम्बोटा भनियो) लाई नेपाल पठाए।

यहाँका अक्षरहरू हेर्न, पढ्न र तिब्बती अक्षरहरू डिजाइन गर्ने जिम्मा खन्मीलाई दिइएको थियो। उनले नेपालमा आएर अंशुवर्मा, मानदेव, शिवदेव आदिका शिलालेखहरू हेरेर लिच्छवी लिपि सिके।

३१ वटा अक्षर डिजाइन

भाषिक ज्ञान अझै बढाउन नालन्द विश्वविद्यालयतिर जाने क्रममा सम्बोटाले गुप्ताहरूका अक्षर पनि पढे। त्यसपछि तिब्बत फर्केर खन्मीले अक्षर डिजाइन गरे।

तिब्बती क्षेत्रमा चलेका अहिलेका अक्षरहरू अर्थात लिपि बनाउने व्यक्ति खन्मी सम्बोटा हुन्। उनले ती अक्षरहरू नेपालकै अक्षरहरू हेरेर बनाएका हुन्। त्यसैले, त्यतिबेलाका नेपाली अक्षरहरूभन्दा हालका तिब्बती अक्षरहरू त्यति फरक छैनन्।

यो लिपिलाई तिब्बतीहरूले सम्बोटा लिपि भन्छन्। अहिलेका तामाङ, शेर्पा, गुरुङ, मनाङे, मुस्ताङे र भुटानी भाषाका अक्षरहरू यही फन्टमा छन्। ​खन्मीले ३१ वटा अक्षरहरू डिजाइन गरेका थिए।

नेपालमा हातले लेखेर राख्ने चलन भयो भने तिब्बतीहरूले विभिन्न सामग्रीमा अक्षर खोपेर राख्न थाले। गाम्पोलाई अक्षर देखाइसकेपछि सम्बोटाले २१ वटा सामग्रीहरू अनुवाद समेत गरिदिए। यी अनुवादहरू अवलिकितेश्वर र करूणामयसँग सम्बन्धित थिए। यी पुस्तकहरू संस्कृतबाट अनुवाद गरिएको थियो।

अहिले तिब्बतीहरूले का, खा, घा, ङा उच्चारण गर्छन्। उनीहरूको ‘क’ हुँदैन, एकैपटक ‘का’ हुन्छ। ‘अ’ नभएको भाषा नै तिब्बती हो। लेख्दा शुद्ध लेखेपनि जिब्रोले साथ नदिएको हुनाले मणि लेखेपनि माणी उच्चारण गर्छन्। आधा अक्षरलाई पनि उनीहरू एकार उच्चारण गर्छन्।

त्यसैले तिब्बती उच्चारण (एक्सेन्ट) मा मणि-‘माणी’ र पद्म-‘पेमा’ भएको हो। निर्वाणलाई निप्पाना र प्रेमलाई पिरेम भनेजस्तै हो। नेपालीले पनि पद्मलाई पदम बनाएका छन्।

सबै तिब्बती राजा अवलोकितेश्वरका ‘अवतार’

यसरी, ७औं शताब्दीमा राजा श्रोङचङ गाम्पोको पालामा तिब्बतभित्र लिपि बन्यो। किताबहरू अनुवाद भयो, राजा गुफा बस्न थाले, राजाले ध्यान गरेको दरबारलाई पोतलक दरबार भनियो।

पोतलक संस्कृत शब्द हो। गाम्पो राजाले पहिलोपटक जपेको मन्त्र ॐमणी पद्मे हुङ हो।

उनले अवलिकितेश्वरको साधना गरेको हुनाले उनलाई साक्षात अवलिकितेश्वरकै अवतारका रूपमा लिइन थालियो। त्यसैले, गाम्पोदेखि आजसम्मका सबै तिब्बती राजाहरूलाई अवलोकितेश्वरको अवतार मान्ने गर्छन्।

स्वयम्भूमा भएका तीन ठूला मन्दिरहरूमध्ये बालाजुतर्फको मूर्ति नै अवलोकितेश्वरको मूर्ति हो। यो मूर्तिको चित्र बनाउँदा चार हात भएको, सेतो बनाउनुपर्ने हो।

मूर्तिमा ढाल्दा भने यो नियम लागु हुँदैन। किनकी मूर्ति धातुबाट बनाउनुपर्छ। मूर्ति बनाउने धातु सेतो नहुने र त्यसमा रङ्ग लगाउँदा पानीले बगाउने हुनाले पहेँलो भएको हो।

सेतो कलरको, चार हात भएको, तलको दुई हातले मणि बोकेको, एउटा हातमा जपमाला बोकेको, एउटा हातमा पदम अर्थात कमलको फूल लिएको लोकेश्वर अर्थात करुणामयलाई नेवारहरूले फलाश्वेरी महादेव र तिब्बतीहरूले ‘च्याङ्ग्रेसी’ भन्छन्।

जन्माइएको नयाँ कथा

तिब्बतमा बौद्ध धर्मको विकाससँगै उनीहरूले नयाँ कथा पनि बनाए।

कथा यस्तो छ :

तिब्बतको पहिलेको जमिन पानीमुनि रहेको र अवलोकितेश्वरले नै त्यसलाई पानीबाट बाहिर निकालेका हुन, उनी आफैँ चाहिँ एउटा मानवको रूपमा प्रकट भए, आर्यतारा महिलाको रूपमा प्रकट भइन्। उनीहरूको विवाह भएर ६ वटा छोरा जन्मिए।

तिनीहरूकै सन्तान नै अहिलेका तिब्बतीयनहरू हुन भन्ने कथा तिब्बतमा चल्यो। यसबाट के बुझिन्छ भने तिब्बतमा शाक्यमुनि बुद्धभन्दा पहिला अवलोकितेश्वर अर्थात च्याङ्ग्रेसीका प्रवेश भयो। तिब्बतको जताततै ॐमणि पद्यमे हुँ मन्त्र प्रचार हुनुको कारण चाहिँ राजाले पहिलोपटक जपेको मन्त्र भएकाले हो।

पछि तिब्बती अभिभावकहरूले आफ्ना बालबच्चालाई पहिलोपटक यही मन्त्र उच्चारण गर्न लगाउने कोशिस गर्न थाले। ६ वटा मन्त्र भएको अक्षर अवलोकितेश्वरले उच्चारण गरेको हुनाले यसलाई षडाक्षेरी पनि भनिन्छ।

राजा गान्पोले भृकुटीले लगेको मूर्तिलाई राख्न जोखान नाम गरेको मन्दिर बनाए। अहिले पनि त्यो मन्दिर छ। जोखान नै तिब्बतको सबैभन्दा पुरानो मन्दिर हो। रानी केन्जोले ल्याएको मूर्ति चाहिँ रामाक्षेरीमा राखिएको छ।

गाम्पोले बौद्ध धर्मका १३ वटा मन्दिर बनाएका थिए। ती मध्ये एउटा मन्दिर नेपालको सिमाना नजिकै केरुङमा छ। त्यो मन्दिर पूरै नेवारी शैलीमा काठको छाना हाली बनाइएको छ। कैलाश जाँदा त्यो मन्दिर हेर्न सकिन्छ।

भुटानमा पनि गाम्पोले बनाएका दुईवटा मन्दिर छन्। बाँकी मन्दिरहरू भने तिब्बतमै छन्। यीमध्ये सबैभन्दा चर्चित मन्दिर जोखान नै हो।

अहिले पनि गोरखापत्रमा सम्बोटा लिपिका झन्डै आधादर्जन भाषाका परिशिष्टांकहरू प्रकाशित हुने गर्छन्।

फेरि १०० वर्षसम्म गायब

तिब्बतमा गाम्पोको पालामा बौद्ध धर्म प्रवेश गरेपनि उनका छोराहरूले यसलाई निरन्तरता दिन सकेनन्।

उनकी तिब्बती रानी बोन्पो धर्मावलम्बी भएकीले बौद्ध धर्म अंगाल्न सकिनन्।

चीनियाँ र नेपाली रानीबाट बच्चा जन्मिएनन्‌।

​त्यसैले गान्पोको निधनपछि चारपुस्तासम्म बुद्धिज्म निस्तेज जस्तै भयो।

पद्मसम्भवको प्रवेश

तिब्बतका ३३औं बाट ३७औं राजामा पुगेपछि मात्रै फेरि बौद्ध धर्म निकै फस्टायो। झन्डै १०० वर्षपछि अर्थात आठौं शताब्दीमा मात्रै यस्तो अवस्था देखियो।

गुरु रिन्पोक्ष अर्थात पद्मसम्भवले तिब्बती जनताको तहमै बौद्ध धर्म पुर्‍याउने काम गरे। त्यतिखेर गान्पोकै वंशका थिसोङ देचेन राजा थिए।

यी राजा पनि गान्पोजत्तिकै प्रतापी मानिन्छन्। यिनले पनि तिब्बतलाई विस्तार गर्ने क्रममा धेरै ठूलो भूभाग जितेका थिए।

यी राजाले तिब्बतमा बिहार र गुम्बा बनाउन चाहे। तर, यी राजाले बोन्पो धर्मावलम्बी रानीहरूको सहयोग पाएनन्। सबै मन्त्रीहरू पनि यिनको पक्षमा थिएनन्।

त्यसकारण पद्मसम्भवलाई उनले बोलाउनुपर्ने परिस्थिति आयो।

पद्मसम्भवअघि शान्तरक्षितको प्रयास

पद्मसम्भवअघि उनले भारतबाट शान्तरक्षित नामका नालन्दा विश्वविद्यालयका भिक्षु बोलाएका थिए।

तिब्बत पुगेर ​शान्तरक्षितले विहार बनाउन शुरू गरे। तर, त्यहाँका मन्त्री र जनताहरूले यो काममा सहयोग गरेनन्। ​​बोन्पो धर्मका पुरोहितहरूसँग शान्तरक्षितको सबैभन्दा ठूलो तनाव भयो।

यति हुँदाहुँदै पनि उनले तिब्बतमा बौद्ध धर्मका लागि निरन्तर प्रयास गरेकाले पद्मसम्भवको मूर्ति राखिएको स्थानमा अनिवार्य रूपमा शान्तरक्षितको मूर्ति पनि राखिन्छ।

थाङ्का चित्रमा पनि अनिवार्य रूपमा बीचमा पद्मसम्भव (स्वयम्भूमा रहेको कलंकीतर्फको मूर्ति) र तल राजा थिचोङ देचेन, अर्कातर्फ भिक्षु शान्तरक्षितको चित्र राखिन्छ। त्यसैले, थाङ्कामा जहिले पनि एउटा राजा, अर्को भिक्षु र अर्को तान्त्रिक गुरुको चित्र कोरिएको हुन्छ।

पछि शान्तरक्षितले नै पद्मसम्‍भवलाई बोलाउन थिचोङ देचेनसँग आग्रह गरे। तिब्बतजस्तो तान्त्रिक ठाउँमा शान्तविधिले बौद्ध धर्म प्रचार गर्न नसकिने शान्तरक्षितको सल्लाह थियो।

जादु र टुनामुनाकै सहारा

जादु, टुनामुना गर्न सक्ने मानिसले मात्रै तिब्बतमा बौद्ध धर्म प्रचार गर्नसक्ने शान्तरक्षितको निष्कर्ष थियो।

त्यसपछि राजा देचेनले पद्मसम्भवलाई बोलाउन आफ्ना दूतहरू पठाए।

त्यतिखेर पद्मसम्भव फर्पिङको असुरगुफामा थिए। पद्मसम्भवले यही स्थानमा महामुद्रासिद्धी (इन्लाइटमेन्ट) प्राप्त गरेका थिए।

खादाको चलन

तिब्बती राजाहरूको दूतले पद्मसम्भवलाई भव्य स्वागत गरी नुवाकोट, रसुवा हुँदै केरुङको बाटोबाट ल्हासा लगे। ल्हासामा राजा देचेनले निकै लामो र सेतो खादा लगाएर पद्मसम्भवलाई भव्य स्वागत गरे।

त्यसैको सम्झनामा अहिले पनि तिब्बत र हिमाली क्षेत्रका बासिन्दाले महत्वपूर्ण धार्मिक/सांस्कृतिक कार्यहरूमा शुभ संकेतका रूपमा खादा चढाइन्छ। त्यसैले, खादाको चलन नै राजा थिचेन देचोङले पद्मसम्भवलाई स्वागत गरेपछि शुरू भएको हो भनिन्छ।

मरुभूमि भएकाले तिब्बतमा फूल नफुल्ने र रुखहरू पनि धेरै हुँदैन। त्यसैले, तिब्बतमा मालाको रूपमा खादा चढाउने गरिएको हो।

बोन्पोसँग पद्मसम्भवको संघर्ष

पद्मसम्भव तिब्बत पुग्नेबित्तिकै त्यहाँ खैलाबैला मच्चियो।​ बोन्पोसँग पद्मसम्भवको संघर्ष शुरू भयो।

बोन्पोहरू त्यहाँका राजाका पुरोहितहरू थिए। उनीहरू पद्मसम्भवसँग सजिलै तर्सिने अवस्था थिएन। उनीहरूले पनि आफ्नो शक्ति देखाउन थाले।

त्यसपछि तिब्बतमा भोन्पो भर्सेज पद्मसम्भवको स्थितिका कारण धार्मिक तनावको अवस्था बन्यो। पद्मसम्भवको बज्रयानको मन्त्र भोन्पोको मन्त्रभन्दा शक्तिशाली देखियो।

जसले गर्दा भोन्पोहरू परास्त भए, धेरै भोन्पोहरू बुद्धमार्गी भए, केही भोन्पोहरू त्यहाँ बस्न असुरक्षित ठानेर दक्षिणतिर लागे।

तिब्बतका राजगुरु, नेपालका झाँक्री

अहिले नेपालका गाउँघरमा जुन झाँक्रीहरू भेटिन्छन्-तिनीहरूको पुस्ता पहिलेका तिब्बतका राजगुरुहरू हुन्, जो तिब्बतमा पद्मसम्भवको प्रवेशसँगै त्यहाँबाट बाहिरिएका थिए।

उनीहरू नेपालको डाँडाकाँडामा आएर बसेकाले अहिले पनि त्यस क्षेत्रका झाँक्रीहरूले कालोबोको आदि काटेर पूरा गरिरहेका भोन्पो/लामागुरुहरू भेटिन्छन्।

धर्म अभ्यास गर्ने पृष्ठभूमि बल्लतल्ल तयार, राक्षसको लपेटाइ

यसरी, तिब्बती भूमिमा बौद्ध धर्म अभ्यास गर्ने पृष्ठभूमि (ब्याकग्राउन्ड) तयार भयो।

पहिलेका राजाले मन्दिर मात्रै बनाएको र बौद्ध धर्म अभ्यास गर्न गुम्बा आवश्यक परेपछि पद्मसम्भवकै सल्लाहबमोजिम राजा देचेनले गुम्बा बनाउन लगाए।

शान्तरक्षितको पालादेखि साम्मे गुम्बा बनाउन थालिएको थियो। यो गुम्बा तिब्बतको ब्रह्मपुत्र नदीको छेउमा छ। पहिले मानिसले दु:ख दिने गरेकोमा पछि भूतप्रेत र राक्षसहरू आउनथाले भनिन्छ।

पद्मसम्भवले त्यहाँको राक्षसलाई लखेट्दै अपर मुस्ताङको लो गेगार गाउँपालिकामा ल्याएर मारिदिए। यही स्थानमा घारगुम्बा बनाइयो। यो गुम्बा अपर मुस्ताङकै महत्वपूर्ण तीर्थ हो।

यो गुम्बा बनाइसकेपछि पद्मसम्भव तिब्बत फर्केर बनाएको दोस्रो गुम्बा साम्य गुम्बा हो। राजाले नै बनाउन लगाएको हुनाले यो गुम्बा निकै प्रख्यात भयो। ल्हासा नजिकैको, तिब्बती बौद्ध धर्मको सभ्यताको शुरूवात नै यहीँबाट शुरू भएकाले यो गुम्बा चर्चित भएको हो।

तर, त्यहाँ पनि राक्षस्नीले गुम्बा बनाउन नदिएको हुनाले उसलाई लखेट्दै जोमसोम ल्याएर, त्यहाँबाट पनि लखेट्दै चैलेको उकालोबाट माथि लगेर घमीको पारिपट्टि पुर्‍याएर फुर्वाले हानेर मारेको तिब्बती बौद्ध धर्मावलम्बीहरू विश्वास गर्छन्‌।

राक्षस्नीको आन्द्रो निस्केको र त्यसैलाई छोपेर बनाएको भनिएको १५०० मिटर लामो मानी वाल छ। यो संसारकै सबैभन्दा लामो मानी वाल हो। यो घामी भन्ने ठाउँमा छ। राक्षस्नीको रगत लत्पतिएकाले त्यहाँमाथिको डाँडाको रङ नै रातो भएको भनिन्छ।

मुस्ताङको घारगुम्बा अर्थात सबैभन्दा पुरानो लिभिङ मोनास्ट्री

त्यहाँ ढागमार भन्ने गाउँ नै छ। त्यसै पहाडको भित्तोमा ला गेगार अर्थात घारगुम्बा बनाइएको छ।

यो गुम्बा १४०० वर्ष पुरानो तथा अहिलेसम्मकै लिभिङ मोनास्ट्री –कसैले नभत्काएको) हो। अहिले यस क्षेत्रसम्म मोटरबाटो समेत पुगिसकेको छ।

मुस्ताङको मुख्य आकर्षण भनेकै लो गेगार हो। तिब्बतीहरू पनि यो गुम्बामा आउने गर्छन्। कोराला नाका नियमित खुलेपछि पूर्वतिर हलेसीजस्तै पश्चिममा लो गेगारको विकास हुनसक्ने अपेक्षा गरिएको छ।

फेरि शान्तरक्षितलाई मन्त्रणा, भिक्षु-भिक्षुणीको चलन

तिब्बतमा साम्ये गुम्बा बनाएपछि शान्तरक्षितलाई फेरि त्यहीँ बोलाइयो। त्यहाँ सातजना तिब्बतीलाई ल्याएर भिक्षु बनाइयो। तिब्बतको हावापानी भिक्षुहरूका लागि उपयुक्त रहेको पुष्टि भएपछि अरूलाई पनि भिक्षु बनाइयो।

त्यसपछि राजा देचोङले हरेक २० घरबराबर एक गुम्बा, तीनजना छोरा भएका घरबाट एकजना अनिवार्य रूपमा भिक्षु बन्नुपर्ने र तीन छोरी भएकाले एक छोरीलाई भिक्षुणी बनाउनुपर्ने पद्धतीको शुरूवात गराए। जुन परम्परा आजसम्म पनि हाम्रा हिमाली क्षेत्रमा कायमै छ।

तिब्बतमा सन् १९५९ सम्म यो चलन व्यापक रूपमा थियो। चीनले तिब्बत आफ्नो अधिनमा लिएपछि त्यहाँ अहिले यो परम्परा अहिले खासै प्रचलनमा छैन। नेपालमा चाहिँ तिब्बती बौद्ध धर्मको प्रभाव रहेका हिमाली जिल्लाहरू यो चलन कायमै छ। तीनवटा छोरा हुनेबित्तिकै माइलोलाई गुम्बा पठाउनैपर्ने धार्मिक अधिनमा उनीहरू कटिबद्ध देखिन्छन्।

हिमाली क्षेत्रमा पहिले छोरा पाउने, त्यसपछि मात्रै बिहे गर्ने चलन छ। उनीहरूका अनुसार छोरा पाउन सक्नेले मात्रै बिहे गर्न सक्छन् भन्ने मान्यता छ। महिलालाई गर्भवती बनाउन सक्ने पुरुषमात्रै बहादुर हुने र बच्चा भइसकेपछि मात्रै बिहे गरिदिने चलन छ।

त्यसरी दु:ख गरेर पाएको छोरो बाबुले गुम्बामा राख्न दिँदैनन्। जेठो छोरो बाबुको हुने र त्यसले परिवार धान्नुपर्ने जिम्मा लिनुपर्छ। कान्छो कहिले जन्मिन्छ भन्ने एकीन हुँदैन।

बहुपति प्रथाका कारण कम जनसंख्या

बहुपति प्रथा (पोलिगामी) भएकाले परिवारमा जति दाजुभाई भएपनि उनीहरूले एउटै महिलासँग विवाह गर्नुपर्छ। त्यसैले, जनसंख्या पनि खासै बढ्दैन। अहिले पनि हुम्लाको लिमी गाउँको जनसंख्या आजभन्दा ५०० वर्ष अघिकै जति छ।

त्यसैले, जेठो छोरो परिवार धान्ने र कान्छो छोरो जन्मिने एकीन नहुने भएको माइलो छोरो गुम्बा पठाउन उनीहरू सहज मान्छन्। छोरीमा पनि जेठीलाई उनीहरू ‘भुठी’ भन्छन्। त्यस शब्दले लच्छिनी छोरी भन्ने जनाउँछ। त्यसैले, जेठी छोरीलाई पनि गुम्बामा पठाउँदैनन्।

यसरी १४०० वर्षदेखि लगातार गुम्बा बस्ने प्रचलन स्थापित गर्ने व्यक्ति पद्मसम्भव हुन्।

गुफाबास चलन

तेस्रोमा, पद्मसम्भवले गुफाबासको चलन ल्याए।

मानिसलाई भिक्षु/भिक्षुणी बनाएर मात्रै नहुने र उनीहरूलाई रिट्रीट (छाम्बोसे) मा राख्ने व्यवस्था मिलाइयो। लामा हुन कम्तिमा ३ वर्ष ३ महिना ३ हप्ता ३ दिन छाम्बोसेमा बस्नैपर्छ।

एउटै ओढारमा, एउटै आसनमा यसरी बसी ध्यान गर्ने कार्यलाई लोसुम दासुक भनिन्छ। यति समय व्यतित गरेपछि मात्रै उनीहरू तान्त्रिक लामागुरु बन्न पाउँछन्।

यसरी गुफा बस्नेलाई खाना दिने, गुरुले उपदेश दिने, अरू बाहिरी मानिससँग नभेट्ने, दाह्री/नङ नकाट्ने, ननुहाउने, कपाल नकाट्ने आदि नियम हुन्छन्। अहिले पनि फर्पिङ, गोदावरीतिर यस्ता लामाहरू ध्यान गरिरहेको भेटिन्छन्।

पुस्तक अनुवाद

चौथोमा, पद्मसम्भवले पुस्तकहरू अनुवाद गर्ने काम गरिदिए।

तिब्बतभित्र सो समयमा जति पनि पुस्तकहरू अनुवाद भए, राजा श्रोङचोन गान्पोका मन्त्री सम्बोटापछि पद्मसम्भवले नै यी काम गरिदिए। त्रिपिटकको अनुवाद गरिएका काङ्युर र तेन्ग्युरहरू सबै पुस्तकको अनुवाद गर्ने काम आठौं शताब्दीदेखि नै शुरू भयो।

यसरी तिब्बतमा पद्मसम्भवको आक्रामक उपस्थितिसँगै बोन्पोहरू कमजोर भए। संस्कृत भाषाबाट बोन्पोहरूले पढ्ने पुस्तक व्यापक रूपमा उल्था हुन थाल्यो। त्यसैले, पद्मसम्भवलाई सम्मान गर्दै तिब्बतीहरूले गुरु रिन्पोक्ष भन्ने टाइटल दिए।

स्वयम्भूमा, फर्पिङमा १४२ फिट अग्लो मूर्ति, बौद्धको शेर्पा वा तामाङ गुम्बाका मूर्तिहरू पद्मसम्भवकै हुन्। उनलाई हिमाली मुलका मानिसले गुरु रिम्पोक्ष भन्छन्, अन्यत्रकाले पद्मसम्भव भनिन्छ।

पद्मसम्भव : पाकिस्तानको स्वाटबाट काठमाडौंको फर्पिङ हुँदै तिब्बतसम्म

पद्मसम्भवले तिब्बतमा बौद्ध धर्म फैलाएपनि उनी पाकिस्तानको स्वाट भ्यालीमा जन्मिएका थिए।

उनले नेपालमा महामुद्रासिद्धी प्राप्त गरे। हलेसीमा दीर्घजीवन प्राप्त गरे। उनले भारत र नेपालमा मेडिटेटिभ नलेज प्राप्त गरे।

तर, तिब्बतमा ५५ वर्ष बिताए। ५५ वर्षपछि उनलाई तिब्बती राजा र जनताले केरुङ र रसुवाको माङ्युर भन्ने डाँडाबाट बिदाइ गरे। त्यतिखेर उनले तिब्बतीहरूलाई हरेक शुक्लपक्षको दशमी तिथिको दिन आफू भेट्न आउने बताएका थिए।

त्यसैले, अहिले पनि हिमाली क्षेत्रबा बौद्धमार्गीहरू दशमी तिथिका दिन गुम्बा खोल्छन् र पूरा गर्छन्। लद्दाखको हिमिस गुम्बाको नाच होस् या तेङ्बोचे या बौद्धका गुम्बाहरूको नाच–यी सबै नाचहरू शुक्लपक्षको दशमीका दिन नाचिन्छ।

यो दिन तिब्बती बौद्ध तीर्थस्थलहरूमा कुनै न कुनै फेस्टिबलहरू भएको हुन्छ। भुटान, सिक्किम, लद्दाख र नेपालको हिमाली क्षेत्रमा पद्मसम्भवलाई अत्यन्त श्रद्धाका साथ पूरा गरिन्छ र उनको मन्त्र जप गरिन्छ।

सिक्किमको नाम्चीबजारमा अहिले पद्मसम्भवको निकै ठूलो मूर्ति बनाइएको छ, जुन दार्जिलिङ्गबाटै देखिन्छ। फर्पिङ बजारदेखि कुलेखानी ड्यामसम्म पुग्ने सडकलाई पद्मसम्भव मार्ग नामाकरण समेत गरिएको छ। फर्पिङका सम्बन्धमा पद्मसम्भवले अन्त एकवर्ष ध्यान गर्नु र फर्पिङमा एकदिन ध्यान गर्दा फर्पिङकै ध्यान प्रभावकारी हुने बताएका छन्।

फर्पिङमा ध्यान : पद्मसम्भवकै देन

त्यसैले, बौद्धमार्गीहरूको ध्यान केन्द्रको रूपमा फर्पिङ विकास भएको छ।

मेलम्ची गाउँको भित्तामा आफैँ उत्पति भएका भनिएका भनिएका चन्द्र सूर्य आकृतिहरू छन्। दामनको खोलामा पद्मसम्भवको आकृति नै देखिन्छ। ल्होसारको आठौं दिनमा त्यो मूर्ति अझै स्पष्ट देखिन्छ भनिन्छ। तिब्बती मुलका मानिसहरू दामनमा पनि गइरहेका हुन्छन्।

नुवाकोटको कविलासमा पद्मसम्भवको तीर्थस्थल नै छ। त्यसैले, पद्मसम्भव धार्मिक हिसाबले तिब्बतको इतिहासमा सबैभन्दा महत्वपूर्ण र उच्चस्थानका गुरुको रूपमा सम्मानित छन्। उनलाई मात्र गुरु रिम्पोक्ष भनिन्छ।

केहीअघि बौद्धको एक लामाले पनि आफूलाई गुरु रिम्पोक्ष भन्दा त्यहाँ ठूलो हुलदंगा भएको थियो। किनकी तिब्बती बौद्ध धर्मावलम्बीहरू पद्मसम्भवलाई मात्र गुरु रिम्पोक्ष मान्छन्। गुफा बसेर आएको लामालाई रिम्पोक्ष भन्न सकिएपनि त्यो टाइटल भने पद्मसम्भवलाई मात्र दिइने गरिन्छ।

गुरु रिम्पोक्षको मूर्तिको त्रिशुलमा तीनवटा टाउको हुन्छन्। खड्बाङ्गमा एउटा नाङ्गो, एउटा गहना लगाएको र एउटा मासुसहितको टाउको हुन्छन्। बौद्ध धर्ममा यसलाई धर्मकाया, सम्भोगकाया र निर्वाणकाया भनिन्छ। खड्बाङ्गोको माथिल्लो भाग केही त्रिशुलजस्तो देखिन्छ।

तिब्बती बौद्ध धर्ममै विभिन्न समुदाय

अहिले तिब्बतमा पद्मसम्भवको अनुशरण गर्दै एउटा स्कुल नै स्थापना भएको छ। पद्मसम्भवको आदर्शअनुसार चल्न चाहने लामाहरूको समूहलाई त्यहाँ निङ्‌मापा भनिन्छ।

हिमालमा लामाहरूको चारवटा समूह हुन्छ, तीनै समूहमध्येको एक पुरानो समूह निङ्‌मापा हो। यी निङ्‌मापाहरूले मादक पदार्थ सेवन समेत गर्दछन्। यी लामाहरूलाई किन मादक पदार्थ सेवन गरेको भनि सोध्दा उनीहरू आफू निङ्‌मापा भएको र पुरानो परम्परा (निङ्मा भनेको पुरानो परम्परा र पा भनेको वाला) मा विश्वास गर्ने लामा भएको बताउँछन्।

पद्मसम्भवको आदर्श अबलम्बन गरी बढी भिक्षु नहुने, गृहस्थमा जाने, सेतो लुगा लगाउने र लामा कपाल पालेका लामाहरूको समूहलाई नै निङ्‌मापा भनिन्छ।

थाङ्कामै हेर्दा पनि पद्मसम्भवको इन्डियन कन्सोर्ट मन्दोरामा, अर्कातर्फ तिब्बती कन्सोर्ट ग्यालोम हुन्छन्। यी दुवै डाकिनीहरू हुन्। यसको मतलब निङ्‌मापा परम्परामा लामाहरूले विवाह गर्नैपर्ने हुन्छ।

पहिले गुफा बस्ने, ध्यानबाट सिद्धि प्राप्त गरेपछि लक्षणयुक्त महिलाहरूसँग औपचारिक रूपमा तान्त्रिक विधिअनुसार विवाह गर्छन्। यस्ता लामाका कन्सोर्टहरूलाई डाकिनी भनिन्छ। तिब्बतीयनहरूले चाहिँ खान्डोमा भन्छन्।

– रिम्पोक्षको श्रीमती हुन पाउनु गौरव !

रिम्पोक्षको श्रीमती हुन पाउनुलाई तिब्बती बौद्धधर्म मान्ने महिलाहरूले गौरवको विषय ठान्छन्।

नेपालको हिमाली भेगका ९५% लामाहरू निङ्‌मापा नै हुन्। तिब्बतमा बौद्ध धर्म विस्तार गर्ने क्रममा पद्मसम्भवले बोन्पोहरूको काटमार ठ्याक्कै रोकिदिएपनि रक्सीको विषयमा बोलेका थिए।

तिब्बतीयनहरू पहिलेदेखि नै डाँडामा गएर ‘ल्हा ग्यालो’ भन्दै देवतालाई रक्सी चढाउने गर्थे, त्यहाँ गएर बौद्ध धर्मको पञ्चशीलका कुरा गर्दा तिनीहरूले बौद्ध धर्म नै मान्दैनन् भन्ने पद्मसम्भवलाई थाहा थियो। त्यसैले, तिब्बतमा रक्सीको विषयमा पद्मसम्भव मौन बसेका मानिन्छ।

ध्यान गर्दा पद्मसम्भवले पनि रक्सी पिएको प्रसंग आउँछन्। त्यसैले, तिब्बतीहरूमा पूरामा रक्सी राखेर प्रसादको रूपमा ग्रहण गर्ने चलन हुन्छ। प्रसादका नाममा धेरै खाएर हल्लँदै हिँडेका लामाहरू भेटिए ती निङ्‌मापा हो भनी चिन्नुपर्छ।

काठमाडौंमा बिहे गरेको बज्राचार्यले मात्रै अभिषेक दिन मिल्ने, विवाह गरेको व्यक्तिले मात्रै बज्राचार्यको अभिषेक लिन मिल्ने भनेजस्तै निङ्‌मापाहरूको पनि प्रायः लामाले बिहे गरेका हुन्छन् र प्रायः चेलाहरूलाई पनि बिहे गर्न प्रेरणा दिएका हुन्छन्।

लामो कपाल पालेर लट्टा पारी बाँधेका लामाहरू डोल्पाली हुन्। यी लामाहरू भिक्षु होइनन्‌। यिनीहरूलाई नाक्पा भन्नुपर्छ। मन्त्र गर्नसक्ने लामालाई नाक्पा लामा भनिन्छ। पानी पार्न सक्ने, असिना रोक्ने सक्ने भनी विश्वास गरिएका कारण नाक्पा लामाहरूको गाउँमा ठूलो महिमा हुन्छ।

यिनीहरूको उल्टो घेलोङ लामाहरू चाहिँ भिक्षु हुन्। त्यसैले, नाक्पा र घेलोङहरूका बीचमा मन्त्रधर ठूलो कि भिक्षु ठूलो भनि द्वन्द्व पनि भइरहेको हुन्छ।

– रमाइला निङ्‌मापाहरू क्यानडासम्म

निङ्‌मापाहरूको दलाई लामाहरूसँग पनि कुरा मिल्दैन। किनकी दलाई लामाहरू भिक्षु हुन् र गुम्बामा बस्छन्, आफ्नै नियमहरू हुन्छन्, यिनीहरू थेरावादाहरूसँग नजिक हुन्छन्। निङ्‌मापाहरू चाहिँ काठमाडौंका बज्राचार्यहरूसँग मिल्दाजुल्दा हुन्छन्।

तपस्या गरी सिद्धी प्राप्त गरेको तथा अविश्वसनीय काम गर्न सक्ने भनिने यस्ता निङ्‌मापाहरूको आचरण समेत हेरिँदैन।

जसरी हिन्दु धर्ममा बामाचार अर्थात पाशुपत र कालामुखिहरूको आचरणलाई धेरै ख्याल गरिँदैन, तिब्बती बौद्धधर्मका निङ्‌मापाहरूको आचरणलाई पनि त्यति महत्व दिइँदैन।

निङ्‌मापाहरू बुद्धिज्मको मान्यताभन्दा बाहिर गएको जस्तो पनि देखिन्छ। हातमा माला पनि लिने, माने पेमे पनि भन्ने, तर, रक्सी पिएर खुट्टा लड्खडाउँदै हिड्ने र भुइँमै लडेको अवस्थामा पनि यी निङ्‌मापाहरू भेटिन्छन्।

थेरावादी बुद्धिस्ट र हिन्दु ब्राह्मणहरूमा निङ्मापाहरूप्रति नकारात्मक भाव बढ्नुको कारण रक्सी प्रयोग गर्नु हो। उनीहरूले पूरा गरेको प्रसाद दिए भने मादक पदार्थ सेवन नगर्नेहरूले सुँघेर मात्रै खाने/नखाने निर्णय गर्नु उचित हुन्छ। किनकी, त्यसमा रक्सी समेत मिसाइएको हुनसक्छ। लामाको गुम्बामा जाँदा बुद्धको प्रसाद भनी घ्वाप्पै उनीहरूले दिएको खानेकुरा खानु हुँदैन, तीनपानेजस्तो कडा रक्सी मिसाएर उनीहरूले प्रसाद तयार गर्ने हुनाले त्यो खाँदा कहिल्यै नशा सेवन नगरेका मानिसहरूलाई अप्ठ्यारो हुन सक्छ।

अल्कोहललाई अमृत, महिलालाई देवी र मोनास्टिक लाईफलाई भन्दा बढी हाउसहोल्डर लाइफमा बढी जोड गर्ने, गुफा अत्याधिक बस्ने तान्त्रिक लामाहरूको समूहरूलाई निङ्‌मापा भनिन्छ। यसको जमात नेपालमा अत्याधिक छ, सिक्किममा छन्। भुटानमा भने यस्ता लामाहरू कम छन्।

निङ्‌मापा समूह पश्चिममा पनि निकै लोकप्रिय हुनुको कारण कतिपय युरोपेली देशहरू चिसो हुनु, त्यहाँ पनि रक्सीलाई अपवित्र नमानिनु र निङ्‌मापाहरूसँग कुरा मिल्ने भएर हो।

तल्लो भूभागमा हुर्कनेहरूले रक्सीलाई अलिक नराम्रो ठान्छन्। तर, हिमालतिर भने रक्सी बिना कहिलेकाहीँ ज्यान पनि जान सक्छ भन्ने खालका मानिसहरू हुन्छन्। त्यसैले, हिमाली क्षेत्रका निङ्‌मापा र युरोपका जाडो मुलुकमा बस्ने मानिसहरूको तालमेल मिल्दा त्यहाँ धेरै निङ्मा लामाका केन्द्रहरू छन्। अमेरिका र क्यानडामा पनि छन्।

– यसरी छुट्याउने

पद्मसम्भवको मूर्ति बनाइएको गुम्बा निङ्‌मापाको हो। शेर्पा गुम्बामा सबैभन्दा ठूलो मूर्ति नै पद्मसम्भवको बनाइएको हुन्छ। पद्मसम्भवको मूर्ति नभएको गूम्बा चाहिँ अरू सम्प्रदायको हो।

पद्मसम्भवलाई अमिताभ बुद्धकै निर्वाणकायाका रूपमा जन्मिएको भनिन्छ। उनी पाकिस्तानको स्वात भ्यालीस्थित एक तालमा कमलको फूलमा उत्पति भएको विश्वास गरिन्छ। पाकिस्तानमा जन्मिएपनि हिमाल वरिपरि तिब्बतीयन स्पीकिङ्ग एरियामा उनको धेरै प्रभाव छ।

तिब्बतमा फेरि बोन्पोकै आधिपत्य

पद्मसम्भवको पालामा भएको बौद्ध धर्मको विकास तिब्बतमा धेरै लामो समयसम्म अडेन।

नवौं शताब्दीको बीचतिर एक राजाको पालामा त्यहाँ बौद्ध धर्मको पतन शुरू भयो। बौद्ध धर्म पतन गराउने मुख्य मान्छे लाङ्दार्मा हुन्।

लाङ्दार्मा नै तिब्बतको अन्तिम राजा भए। सन्‌ ८४२ मा सत्तामा आएपछि बोन्पो धर्मावलम्बी यी राजाले बौद्ध धर्म विरुद्ध काम गरे। पद्मसम्भव र थिचेन देचोङले बोन्पो धर्मलाई दमन गरेको यी राजालाई सैह्य भएको थिएन।

पद्मसम्भव तिब्बतबाट गइसकेपछि, राजा देचोङको मृत्यु भएपछि लाङ्दार्मा राजा भए। राजा हुनासाथ यिनले गुम्बालाई दिने सहायता रोके, भिक्षुहरूलाई गृहस्थ बनाउन थाले र बोन्पो धर्मलाई फेरि पुनरुत्थान गर्नतिर लागे।

यो क्रम बढ्दै गएपछि बुद्धिस्टहरूले तिब्बतमा आफूहरूका लागि फेरि अप्ठ्यारा दिन आएको ठाने। यी राजा जीवितै भए तिब्बतबाट सदाका लागि बौद्ध धर्म अन्त्य हुने देखेपछि एक भिक्षुले यिनलाई मार्ने योजना बनाए।

उनले राजाकहाँ गएर आफूले नाटक देखाउने र सो हेर्न राजालाई निमन्त्रणा गरे। नाटक देखाउने चौरको छेउमा कालो घोडा ल्याएर राखी बाहिरबाट कमेरो दले। आफ्नो लुगा खोलेर त्यही घोडाको छेउमा राखे र नाटक देखाउन गए। नाटकमा बाण हान्ने दृश्य थियो। हे महाराज बाण यसरी हानिन्छ भन्दै उनले राजातिरै ताकेर तीर फाले। त्यसले राजालाई लाग्यो। राजा लाङ्दार्मा ढल्ने बित्तिकै सबै मानिसहरू त्यहीँ केन्द्रित भए।

ती भिक्षु त्यहाँबाट फुत्त निस्केर नाटकमा लगाएको लुगा फुकाएर फाले र पहिलेकै लुगा लगाए। घोडालाई नुहाइदिए र कालो घोडा चढेर टाप कसे। त्यही घटनापछि तिब्बतमा राजतन्त्र सधैँका लागि सकियो।

लाङ्दार्माको मृत्युपछि मोनास्ट्री या बोन्पो धर्मलाई सपोर्ट गर्ने व्यवस्था नै भएन। त्यसपछि त्यहाँ अराजकतावाद (एनार्किजम्‌) शुरू भयो। देश समेत टुक्रँदै गयो। सामन्तहरू एकआपसमा भिड्न थाले।

अनि, डार्क पिरियड

लामाहरूले पहिलेकै बोन्पोधर्मका रीतिहरू समेत मिसाउन थाले। त्यस्तो स्थिति झण्डै १५० वर्षसम्म कायम रह्यो। ८३२ देखि १०४० एडीसम्म यही अवस्था रह्यो। यसलाई तिब्बतको डार्क पिरियड पनि भनिन्छ।

यही अवधिमा बौद्ध धर्ममा धेरै लोकल कल्चरल इलिमेन्टहरू मिसिन पुगे। त्यसपछि नेपालबाट तिब्बतमा तान्त्रिकहरू गए। योग भनेको जोड्नु हो, जोड्नु भनेको पुरुष र महिलाको अङ्ग जोड्नु हो भन्दै मङ्क र ननको ड्रेसमा खुला ठाउँमै महिला र पुरुष सम्भोग गर्न थाले। त्यसलाई उनीहरूले योगअभ्यासको संज्ञा दिए।

प्राणी बध र हत्या/हिंसा पनि बढ्न थाल्यो। मार्नुअघि प्राणीको कानमा फुक्ने र त्यसो गर्दा मोक्ष प्राप्त हुने भन्ने चलन पनि उनीहरूले नै शुरू गरे। तान्त्रिक सेक्सका नाममा धर्मकै आवरणमा यौन गतिविधि बढ्न थाल्यो।

दीपंकरको प्रवेश

बौद्ध धर्म पतित हुन थालेपछि पश्चिम तिब्बतका एक शासकले असली बौद्ध धर्म अझै भारतमा रहेकाले त्यसलाई भित्र्याउने योजना बनाए। त्यसक्रममा उनले अतीश दीपंकर नाम गरेका भारतीय विद्वानलाई तिब्बतमा बोलाए। अतीश दीपंकर गएपछि तिब्बतमा फेरि बौद्ध धर्मको रिफर्मेशन शुरू भयो।

अतीश दीपंकर बंगाली थिए र उनले इन्डोनेशियामा गएर बौद्ध धर्मको अभ्यास गरेका थिए। दीपंकरलाई बोलाउन तिब्बतीहरू नालन्द विहारसम्म पुगेका थिए।

काठमाडौंको बाटो हुँदै दीपंकर तिब्बत गएका थिए। ठमेलको भगवानवहालमा दीपंकर ६ महिनासम्म बसेका थिए। अहिले छायासेन्टर भएको भगवान बहालमै उनी बसेका थिए। तराईबाट उनले हात्ती पनि ल्याएका थिए, जुन स्वयम्भूमा उपहार दिएका थिए।

तिब्बतमा पुगेपछि दीपंकरले बौद्ध धर्म के हो? पञ्चशील के हो? बौद्धमार्गीले पालन गर्नुपर्ने नियम के हो? आदि कुराहरू व्यापक रूपमा सिकाउन थाले। धेरै मानिसहरू उनका चेला भए।

कादाम्पा र पञ्चशील

अतीश दीपंकरले तिब्बतमा शुरू गराएको बौद्ध धर्मको अभ्यासलाई कादाम्पा भनिन्छ। कादाम्पा भनेको नयाँ परम्परा हो।

यो परम्पराले भिक्षुको शीलमा रहन उत्प्रेरित गर्छ। गृहस्थ हुन् भने पञ्चशीलमा रहन प्रेरित गर्छ। अल्कोहललाई विषको रूपमा हेर्छ। गृहस्थ जीवनमा सेक्सलाई स्वाभाविक मानेपनि भिक्षुको पोशाक (मोनास्टिक ड्रेस) मा यौनजन्य गतिविधि गर्नुलाई अपराध मान्छ।

११औं शताब्दीपछि यसले तिब्बतमा धेरै ठूलो प्रभाव पार्‍यो। तिब्बतमा यो सम्प्रदाय अन्तर्गत धेरै विद्वानहरू तयार भए। यही परम्पराका चोङ्खापा, जो १४औं शताब्दीका गुरु थिए–उनले अतीश दीपंकरलाई संस्थागत गरे। ल्हासाका अहिलेका ठूला–ठूला गुम्बामा हजारौंका संख्यामा भिक्षुहरू राख्न थाले, भिक्षुहरूलाई मेडिटेशनमा केन्द्रित गर्न थाले।

पहेँलो टोपी लगाउने हुनाले चोङ्खापालाई एल्लो ह्याट लामा भनिन्छ। नेपालको पनि कपन गुम्बामा पहेँलो टोपी लगाएका एकजना लामाको ठूलो मूर्ति छ। बौद्धको साम्तालिङ गुम्बामा पनि यस्तै मूर्ति छ। एल्लो ह्याट लगाएका लामाहरू चोङ्खापाका अनुयायीहरू हुन्। यिनीहरूको संख्या तिब्बतमा अत्याधिक छ।

चोङ्खापाले बनाएका गान्देन, देपुङ, शेराजस्ता गुम्बाका हजारौं लामाहरूले पहेँलो लुगा लगाउने गर्थे। आफूलाई गेलुक्पा भन्थे। गेलुक्पाहरूले धेरै हदसम्म थेरावादीहरूको शील पालना गर्छन्। यिनीहरूले निङ्‌मापाहरूले झैं प्रसादमा लागुपदार्थ प्रयोग गर्दैनन्, त्यसैले, नडराईकन खाँदा हुन्छ। गुम्बामा पनि कडा नियम हुनाले युवायुवतीलाई एकैसाथ जान दिँदैनन्। त्यसैले, कपन गुम्बामा एकैसाथ गएका जोडीहरूलाई पालेले गेटबाटै फर्काइदिने गर्छन्।

मंगोलिया र सेन्टर तिब्बतका गेलुक्पा अर्थात दलाई लामाहरू

तिब्बतको सत्तामा पुगेका र तिब्बतबाट शरणार्थीका रूपमा आएका धेरै मानिसहरू यही गेलुक्पा सम्प्रदायका हुन्। पञ्चेन लामाहरू पनि गेलुक्पा लामाहरू नै हुन्। यिनीहरूको प्रभाव मंगोलिया र सेन्टर तिब्बतमा अत्याधिक छ। ल्हासा र सिगात्सेतिर जाँदा अहिले पनि पहेँलो टोपी लगाउने लामाहरूको ठूलो बर्चस्व छ।

दलाई लामालाई उनीहरूको सिनियर लामा मानिन्छ, जसलाई पछि मंगोलियनहरूले विश्वास गरेर भिक्षु हुँदाहुँदै राजा बनाइदिए, उनीहरू नै दलाई लामाहरू हुन्। उनीहरूको वंश इन्कार्नेशन (पुन:जन्म) मा आधारित हुन्छ।

दलाई लामाको पाँचौं नम्बरका लामा सन् १६६५ मा तिब्बतको राजगद्दीमा बसेका थिए। त्यसपछि अहिलेका दलाई लामा १४औं नम्बरका हुन्। उनी भिक्षुकै ड्रेसमा तिब्बतको राजगद्दीमा बसेका अन्तिम दलाई लामा हुन्। उनीहरू निकै पढेका हुन्छन्‌। यो परम्परामा मिनिमन २१ वर्ष निरन्तर पढेपछि गेसे डिग्री दिइन्छ।

गेसे लामा

गेलुक्पा परम्पराको उच्च सम्मानित पद नै गेसे लामा हो। यो पदवी प्राप्त गर्न न्युनतम २१ वर्षसम्म वादविवाद (डिबेट) गरेर पढ्नुपर्छ। बिहान आएर गुरु खेन्पोले पढाएपछि विद्यार्थीहरूलाई समूह छुट्याइदिन्छन्। एउटा चेला बस्ने र एउटा चेला उठेर हातको मुद्रा बनाई डिबेट गरिरहेका हुन्छन्।

नेपालको कपन गुम्बामा पनि यो दृश्य देख्न सकिन्छ। उठ्नेले प्रश्न गर्छ र बस्नेले उत्तर दिन सक्नुपर्छ। उत्तर दिन नसके उठ्नेले माला घुमाइदिन्छ। त्यो भनेको उसलाई बेइज्जत गरेको हो। फेरि बसिरहेको चेला उठ्छ र प्रश्न सोध्न थाल्छ। यसरी निरन्तर बहसमार्फत अध्ययन गर्दै अन्तिममा टिचरलाई नै पराजित गरेपछि उसलाई गेसे डिग्री दिइन्छ।

त्यसैले, फिलोसोपर स्कलर मङ्क भनेका गेसे लामाहरू हुन्। अहिलेका दलाई लामा पनि गेसे नै हुन्। सन् १९३३ मा अघिल्ला दलाई लामाको मृत्यु भएपछि १९३५ तिर एउटा बच्चा उनीहरूले भेट्टाएर ल्याए। पोतालाको राजगद्दीमा पहिले राज्यरोहण गराए। अनि देपुङ गुम्बामा पढ्न पठाए।

उनले त्यहाँ पढ्दापढ्दै चिनियाँहरूले तिब्बत नियन्त्रणमा लिए। भागेर पुगेको स्थान भारतमै दलाई लामाले बाँकी पढाइ पूरा गरे।

त्यसैले, दलाई लामाको प्रवचन सुन्दा सामान्य मानिसलाई बुझ्न गाह्रै हुन्छ। दर्शन, धर्म आदिबारे उनी गहिरो कुरा गरिरहेका हुन्छन्। ह्वील अफ लाइफका बारेमा उनको पुस्तक नै प्रकाशित छ। यी लामाहरूको तान्त्रिक एक्टीभिटी कम हुन्छ।

निङ्‌मापाहरू बढी तान्त्रिक हुन्छन्, गुफा बसेको समयका आधारमा उनीहरूको मूल्यांकन हुन्छ। पानी पार्न सक्ने, असिना रोक्न सक्ने, फुकेर निको पार्न सक्ने आदि निङ्‌मापाको मूल्यांकन आधार हुन्।

गेलुक्पाले चाहिँ कति वर्ष पढेको छ? डिबेटमा कसलाई पराजित गर्न सक्छ भन्ने आधारमा उनीहरूको मूल्यांकन हुन्छ। प्रश्न सोधेको सोध्यै गर्नेलाई गेलुक्पाकहाँ लगेर भिडाइदिएपछि उनैले जिज्ञासा समाधान गरिदिन्छन्‌ भनिन्छ। किनकी उनीहरू तर्कमा निकै निपुण हुन्छन्।

तर, उनीहरूले फुकफाक या तान्त्रिक काम गर्न सक्दैनन्।

गेलुक्पा र निङ्‌मापा : मिलेपनि नहुने, नमिलेपनि नहुने !

यसबारे एउटा रोचक प्रसंग पनि छ। एकपटक दलाई लामा भएको धर्मशालामा पानी परेन। सो स्थान नजिकका गाउँलेले लामाले पानी पार्न सक्छ भन्ने सुनेका थिए।

धर्मशालाका स्थानीयहरू पानी पारिदिन भन्दै दलाई लामाकहाँ डेलिगेशन आए। दलाई लामा आपतमा परे।

त्यसपछि उनीहरूले मन्त्रीपरिषद्को बैठक राखेर पानी पार्ने तान्त्रिक लामा खोज्ने निर्णय गरे। एकजना निङ्‌मापा लामा खोजेर ल्याई धर्मशालामा पूजा गर्न लगाए। त्यसपछि पानी पर्‍यो भनिन्छ। दलाई लामा खुशी भएर ती निङ्मा लामालाई जग्गा दिएर गुम्बा नै बनाइदिए। त्यसैले, निङ्‌मापा लामालाई रेन मेकर लामा पनि भनिन्छ।

तान्त्रिक गतिविधी गर्नुपरेमा गेसेहरूले पनि निङ्मा लामाको सहयोग लिन्छन्। पढाइका लागि निङ्‌मापाहरूलाई सहयोग गर्न गेसे लामाहरू खटिन्छन्।

फिलोसोपी बुझ्ने, प्रज्ञापारमिता पढ्ने र इम्प्टिनेश बझ्ने लामाहरू गेसे लामा नै हुन्। तिब्बत स्वतन्त्र हुँदै गर्दा सेरामा ७ हजार, तेपुङमा ५ हजार भिक्षु थिए। अहिले पनि दक्षिण भारतमा त्यसका शाखाहरू खोलिएका छन्। कपन गुम्बाका लामाहरूले पनि आफ्नो अध्ययन पूरा गर्न दक्षिण भारत जाने गर्छन्। तिब्बतका लामाहरूमध्येमा गेलुक्पाहरूको काठमाडौंको मुख्य केन्द्र कपन गुम्बा हो।

निङ्‌मापा लामाहरू मृत्युक्षणमा पलेटी मारेर पद्मासनमा बसेर प्राण त्याग गर्छन्। कतिपयको शरीर चाहिँ इन्द्रेणी भएर जान्छ भनिन्छ। यसरी मृत्यु भएकाहरूको उनीहरूको केश र लगाएको कपडा मात्रै भेटिन्छ। ५ रङ्गको इन्द्रेणी नै देखिन्छ भनिन्छ।

दलाई लामाका पनि गुरु पञ्चेन लामा हुन्। धर्ममा उनी दलाई लामाभन्दा ठूला हुन् भनिन्छ। तर, पोलिटिक्समा भने राजा अर्थात दलाई लामा नै ठूला हुन्।

चिनियाँहरू तिब्बत पसेपछि दलाई लामाले चिनियाँ सत्ता स्वीकार गरेनन्। तर, पञ्चेन लामा चाहिँ चिनियाँ कम्युनिष्ट पार्टीकै मेम्बर भए। उनले साम्यवाद नै अपनाए। त्यसैले, तिब्बतका गुम्बाहरूमा अहिले पञ्चेन लामाका मात्रै फोटो पाइन्छन्।

यसबाहेक तिब्बती बौद्ध धर्ममा शाक्यपा र कालुग्पा परम्परा पनि छन्।

बज्रयानदेखि पञ्चेन लामासम्म

शुरूमा तिब्बतमा बज्रयान बुद्धिज्म नै पुगेका हो। चीन अधिनस्थ तिब्बतमा अहिले पञ्चेन लामाको प्रभाव छ। तर, चिनियाँ कम्युनिष्ट पार्टीले पञ्चेन लामालाई पनि बेपत्ता बनाएको आरोप लागेको छ।

तिब्बतको भाषा फरक भएको हुनाले तिब्बतमा विकास भएको बुद्धिज्मलाई तिब्बतियन बुद्धिज्म पनि भनिन्छ। तिब्बतमा अहिले प्रचलित बौद्ध धर्ममा लामाहरूको ठूलो भूमिका हुनाले यसलाई लामा बुद्धिज्म पनि भनिन्छ। तर, यो त्यति राम्रो शब्द होइन। साभार: थाहा खबर/विजय देवकोटा

Loading...
Loading...
Loading...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –विवादास्पद निणर्यमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका निमित्त...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूणर्...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तिगत प्रयोजनमा केही महत्त्वपूणर् समय बित्नसक्छ । सम्बन्धमा फाटो बढ्ने...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय...

‘कवड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी

काठमाडौं– ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –नयाँ लगानी गर्नुहुँदैन, त्यस्तै सामुन्ने देखिएका विवाद र समस्यालाई सकेसम्म...