कमलको फूलमा मुस्कुराईरहेका बज्रगुरू पद्मसम्भव – Janata Live
  • Wednesday, December 1, 2021

कमलको फूलमा मुस्कुराईरहेका बज्रगुरू पद्मसम्भव

  • तिलस्मी प्रभास
  • असार ०१, २०७८

कमलको फूलमा मुस्कुराईरहेका बज्रगुरू पद्मसम्भव

कमलको फूलमा आठ वर्षका झैं देखिने चामत्कारीक बालक जन्मिए जसलाई पद्मसम्भव भनियो। उनी लासहरूलाई आसन बनाई गम्भीर समाधिमा प्रवेश गरे। उनी मृतकहरूलाई चढाउन ल्याएका खानेकुरा खान्थे र शरीर छोप्न कात्रो प्रयोग गर्थे। समयसँगै उनले विनाशकारी शक्तिमाथि नियन्त्रण गर्न सक्ने ऋद्धिसिद्धि प्राप्त गरे। अनी उनको नाम वज्रगुरु रहन गयो।

रगल भूमिमा उनले सर्वमित्र नाम गरेको पुरूषबाट देवभाषा संस्कृत र अरू भाषा गरी जम्मा ३६० वटा भाषा र ६४ वटा लिपि सिके। त्यसपछि उनले शिल्पविद्या र मृक्तिका शास्त्र पूर्णरुपले सिके र सबै कलामा निपूण भए।

उनी आफूनी सहचरी मन्दारवाका साथमा हलेसी (मारतीका) आएका थिए। जहाँ उनले साधना गरेर अमरत्व प्राप्त गरे। त्यसैले खोटाङको हलेसीको ठूलो महत्व छ।

काठमाडौंको बौद्धमा स्तुप बनाउँदाबनाउँदै झ्याजीमाको मृत्यू भएपछि ‘हामीले उक्त कार्य पूरा गरेका थियौँ’ भनेर तिब्बतमा गुरु पद्मसम्भवले भनेपछि बौद्ध स्तुपको रहस्योद्घाटन भएको थियो।

पद्मसम्भव कि, जय!

उड्डियानमा कमलको फूलमा उत्पन्न भएका अलौकिक एवं चामत्कारिक बालक नै पद्मसम्भव हुन्। उड्डियानका तत्कालीन राजा इन्द्रभूति निकै दानी थिए। उनको राज्य सम्पन्न थयो। दानलाई नै धर्म मान्ने राजा दानवीर थिए। उनको दयालु थियो। फलस्वरुप उनले राज्यका सबै सम्पत्ति गरीब र दुःखीलाई बाँडिदिएका थिए।

बाँडेर सबै राज्यकोष सकिएकाले उनलाई ठूलो पिर पर्‍यो। धनसम्पत्ति सकियो भनेर होइन, अब माग्न आउने गरिबलाई के दिऔं भनेर। खाली हात कसरी पठाऊँ भन्ने चिन्ताले गाँज्यो।

उनी यतिसम्म दानी थिए कि अरुको हितमा आफ्नै आँखा पनि दान गरेका थिए।

उनका पुत्र एवं उत्तराधिकारीको मृत्यु हुँदा उनलाई असैह्य पीडा भयो। राज्यमा खडेरी परेकाले अनिकाल फैलिएर हाहाकार मच्चियो। मानिसहरू अन्न र फलफूल काँचै खान बाध्य भए।

राज्यमा बाँकी भएका धनसम्पत्ति चढाएर राजा र प्रजाले बुद्धहरूको प्रार्थना गरे। सुखावतीबाट यी सब कुरा नियालिरहेका करुणाका प्रतिमूर्ति अवलोकितेश्वरले अमिताभलाई ती जनताको दुःखप्रति करुणायुक्त दृष्टि पुर्‍याउन अनुरोध गरे। तत्कालै अमिताभ बुद्धको जिब्रोबाट एक रातो प्रकाश निस्कियो। त्यो किरण उल्का झै खसेर तल धनकोष सरोवर बीचमा पस्यो जहाँबाट स्वतः स्फूर्तरुपले एक कमलको फूल फुल्यो। त्यो सँगै उनले आफ्नो हृदयबाट एकाक्षरी मन्त्र ह्री प्रकट गरे। त्यो अक्षर एक स्वर्ण वज्रको आकृतिमा कमलको बीच भागमा सबै बुद्धको सार समाहित भएको आठ वर्षको जत्रो बालक विराजमान भएको देखियो। उक्त बालकलाई डाकिनीले घेरिराखेका थिए।

यसरी अत्यन्तै करूणामयी बुद्धको हृदयबाट प्राणीको कल्याणार्थ पद्मसम्भवको पदार्पण भयो। यसैक्रममा शोकमा डुबेका राजा इन्द्रभूतिले समुद्रमा पुगेर बहुमूल्य रत्न र नागको मणि लिएर आउने अठोट गरे। अत्यन्तै जोखिमपूर्ण यात्रा गरी समुन्द्रमा पुगे। त्यहाँ नागहरूले बहुमूल्य रत्न चढाएर राजाको स्वागत गरे। त्यहाँबाट उनले कल्पचिन्तामणि रत्न आदि प्राप्त गरे। यसलाई उनले आफ्नो कपडाभित्र लुकाएर एक प्रणिधान गरे। उनको अन्धो भएको बायाँ आँखा तुरुन्तै खुल्यो।

नागको दरबारबाट फर्किसकेपछि राजाले धनकोष सरोवर वरिपरि इन्द्रेणी लागिरहेको देखे। त्यहाँ एउटा बालकलाई कमल फूलको आसनमा बसिरहेको देखे। बालकको शरीरबाट रश्मी आइरहेको थियो।

यो सपना त हैन भन्ने लागेर बालकलाई सोधे–‘तिमी को हौ? कहाँबाट आएका हौ?’

बालकले जवाफ दिए–‘मेरा मातापिता छैनन् तर म अमिताभ र अवलोकितेश्वरकोे उपज हुँ। बुद्धले भविश्यवाणी गरेअनुसार नै म सर्वसत्व हितार्थ र गुह्य मन्त्रको धर्म प्रकट गर्न आएको हुँ।’

यस्तो सुनेपछि राजकुमारलाई जस्तै आफ्नो उत्तराधिकारी बनाई पद्मसम्भव (पेमाजुङ्ने) भन्ने नामाकरण गरेर सिंहासनमा राखिदिए। त्यस पछि उड्डियान भूमिको समुद्रमा वाष्पिकरण भई आकाशमा बादल बन्यो र वर्षा भयो। पुष्पहरू फुल्न थाले र फल पाक्न थाले।

जनताको मनबाट नैरास्यता र भय हटेर गयो। पद्मसम्भव वयस्क हुँदा राजा बूढो भइसकेका थिए। राजाले पद्मसम्भवको विवाह सिंहलकी एउटी सुन्दर राजकुमारीसँग गरिदिए र उड्डियानको राजापद्मराज (पद्म ग्याल्पो) बनाइदिए। अति गोप्यरुपमा राजाले पद्मसम्भवलाई चिन्तामणि रत्न उपहार दिँदै भने, ‘यसले तिम्रा इच्छाहरू पूरा गर्नेछन्।’

राजकुमारले त्यो चिन्तामणि रत्न फिर्ता दिँदै यस्तो भने, ‘मैले देख्ने सबै चीजहरू मेरा चिन्तामणि रत्न हुन्।’

राजालाई आफ्नो हात खोली अगाडि फैलाउन आग्रह गरे र तत्क्षणमै उनले हातमा अर्को चिन्तामणि रत्न उत्पन्न गरिदिए। पद्मसम्भवसँग त्यति धेरै शक्ति भए पनि उनले सांसारिक भोगविलास त्यागेर मोक्षको बाटोमा लाग्ने निर्णय गरेर भने, ‘जीवन क्षणिक छ। संसारको चर्या अनन्त छ र विछोड अपरिहार्य छ। यो त लोकको रित नै हो। त्यसैले म मोक्ष प्राप्ति गर्नेतर्फ मति स्थिर गर्दछु।’

मुस्ताङको मुक्तिनाथमा रहेका पद्मसम्भव।

पद्मसम्भवको कर्मका कारणले उनलाई मन्त्रीका पत्नी र असुर पुत्रको हत्या गरेको ठहर गरी धन सम्पत्ति केही नदिइकन निर्वासित गरिदिए। त्यसपछि उनले स्वतन्त्रतापूर्वक एक योगीको जीवन अंगाले।

अभ्यासको क्रममा भारतका आठ प्रख्यात मसानमा घुम्दै पद्मसम्भवले धैर्यताकासाथ अभ्यास गरे। त्यसपछि उनी बोधगया नजिकै रहेको शीतवन मसानमा गए। लासहरूलाई आसन बनाई त्यस माथि बसेर अति गम्भीर समाधिमा प्रवेश गरे र पाँच वर्षसम्म ध्यान नै गरिरहे। शान्त स्वभावका डाकिनीहरू उनीकहाँ आएर धेरै अभिषेक तथा मौखिक उपदेश दिएर जान्थे।

शरीर धान्न उनी मृतकहरूलाई चढाउन ल्याएका खानेकुरा खान्थे र शरीर छोप्न शबहरूको कात्रो प्रयोग गर्थे। मसानमा धेरै वर्ष ध्यान गरेपछि पद्मसम्भव आकाशमा उडेर विभिन्न लोकधातुमा जान्थे र ती ठाउँमा गएर गुह्य उपदेशका लागि अनुरोध गर्थे। निरन्तर अभ्यासका कारण उनी विनाशकारी शक्तिमाथि नियन्त्रण गर्न सक्ने ऋद्धिसिद्धि प्राप्त शक्तिशाली गुरु बने। त्यसपछि उनको नाम वज्रगुरु रहन गयो।

पद्मसम्भव बोधगया गएका थिए। उनले शरीरबाट धेरै निर्माणकायहरू निकालेर बहुसंख्यक योगीको समूह देखाए। त्यो दृष्य हेर्ने भीड सबै आश्चर्य चकित भए। जब मानिसले पद्मसम्भवलाई ‘तपाईँ को हुनुहुन्छ र कुन गुरुको अनुयायी हुनुहुन्छ ?’ भनी सोधे तब उनले यस्तो जवाफ दिए, “मेरा गुरु छैनन् म स्वयं उत्पन्न बुद्ध हुँ।”

आउँदो पिँढीका लागि धार्मिक मार्गदर्शन खाँचो पर्ने छ भन्ने अनुभव गरी पद्मसम्भवले आफूलाई काय, वाक र चित्तका तीन योगमा अभ्यस्त पारे।

गोरखाको प्रोक गाउँमा पद्मसम्भव।

मानुष र अमानुष दुवै लोकका गुरुसित अध्ययन गरि नै रहे। किनकि उनी धर्मलाई प्रभावकारी बनाउन चाहन्थे। पद्मावतीको देशमा पुगेर उनले भैषज्यविद्या पूर्णरुपले सिके। उनले रोग निदान र असंख्य उपचार विधि पनि सिके।

रगल भूमिमा उनले सर्वमित्र नाम गरेको पुरुषबाट देवभाषा संस्कृत र अरु भाषा गरी जम्मा ३६० वटा भाषा र ६४ वटा लिपिहरु सिके। त्यसपछि उनले शिल्पविद्या र मृत्तिका शास्त्र पूर्णरुपले सिके र सबै कलामा निपुण भए। यति मात्र नभएर उनी सम्पूर्ण ज्यौतिषविद्या, दर्शन, तर्क भौतिक विषय र सबै अरु लोकधातुका संयुक्त ज्ञानका बारेमा ज्ञाता भए। उनले डाकिनीबाट पनि ज्ञान लिएको पाइन्छ। डाकिनीले विजय प्राप्त गर्न समर्थ बनाइदिइन्।

उनी गुह्य मन्त्रका पनि स्वामी बने। त्यसपछि उनले दुष्करचर्या अभ्यास गरेर दिव्यदृष्टि, दिव्य श्रोत्र, दिव्य घ्राण, दिव्य जिव्हाका ऋद्धिहरू प्राप्त गरे। दुष्कर चर्या (कठोर तपस्या) ले नै उनलाई श्वासप्रश्वास नियन्त्रणमा विकास गर्न मद्दत गर्‍यो जसको फलस्वरुप उनले चण्डाली (आध्यात्मिक ताप)प्राप्त गरे। त्यसपछि उनले डाकिनीहरूलाई महायान तथा वज्रयानका उपदेश दिए। टाढाटाढा धेरै ठाउँमा यात्रा गरिसकेपछि उनी भारतमा निमाहोशेर (सूर्य किरण) र नेपालमा लोडेन छोग्से (वररुचि ) नामले चिनिन थाले।

साहोर भूमिमा पुगेर त्यहाँकी राजकुमारी मन्दारवलाई धर्म उपदेश र मन्त्रयानको शिक्षा दिँदा मानिसले एउटा भिक्षु भएर स्त्रीसित विहार गर्दैछ भन्ने गलत अफवाह फैलाउँदै हिँडे र यो कुरा राजालाई पनि सुनाइयो। राजा क्रुद्ध भएर छोरीलाई काँढैकाँढा भएको खाडलमा थुनियो र पद्मसम्भवलाई जिउँदै जलाउन लगाइयो। तर सबै प्राकृतिक शक्तिहरू आफ्नो पूर्ण नियण्त्रणमा पार्न सक्ने शक्ति विकास भएको हुँदा उनले आफ्नो चितालाई प्रज्वलित खाडल वरिपरि एक विशाल सरोवरमा परिणत गरिदिए।

सरोवरको बीचमा पत्रेलहर भएको कमलले आठवर्षीय बालकलाई टेवा दिइराखेको थियो। बालकको पारदर्शी शरीर सामुद्रिक शंखहरूको वैजनीरंगले चम्किरहेको थियो। आँखा मिच्दै राजाले माथि हेर्दा सम्पूर्ण आकाश नै इन्दे्रणी रङ्गको प्रकाशले भरिएको देखे। त्यसपछि राजाले आफ्नो गल्तीको प्रायश्चित गरे। त्यसपछि पद्मसम्भव र मन्दारवले एउटै गुफामा बसेर ध्यान गरे।

त्यसपछि उनी जन्मभूमि उड्डियानमा फर्कि धर्मपत्नी र अनुयायीका साथमा भिक्षा माग्दै हिँडे। त्यहाँका मन्त्रीले उनलाई हत्याराको संज्ञा दिए र जलाउने काम गरे। त्यहाँ पनि त्यस्तै चमत्कार भयो। उड्डियानका राजाले पनि पश्च्चाताप गर्दै विनयी भएर उपदेशका लागि आग्रह गरे।

पद्मसम्भवले भने, ‘त्रिलोक धातु एक कारागार सरह हो। तपाईँ बुद्धिमान राजा भए पनि, तपाईँसँग भौतिक सुख भए तापनि तपाईँ भौतिक र कामोत्पन्न तृष्णाबाट उम्कन सक्नुहुन्न।’

उनी त्यहाँका जनतालाई वाह्य, भित्री र गुह्य मन्त्रको शिक्षा दिँदै उड्डियान भूमिमा १३ वर्षसम्म बसे। उनका कति चेला पनि सिद्ध बने। यसैक्रममा पद्मसम्भवले भारत र नेपालमा मन्त्रयानका उपदेश दिँदै यात्रा गरे।

उनले दक्षिण भारत, श्रीलंका, इन्डोनिशिया, वर्मा, मध्य एशिया, चीनका केही प्रान्त, अपगानिस्तान, पर्सिया, इजिप्ट र अरु विभिन्न गुह्य भूमिमा भयंकर पहाडका देवता, असभ्य जंगली मांसहारी प्रेत पिशाच र महामारी फैलाउने राक्षसलाई दमन गरे। प्राणीमा सद्भाव, सद्ज्ञानप्रति आस्था र विश्वास जगाउने काम गरे। तत्पश्चात मान्छेको मनबाट नैराश्यता र अकुशल विचार हटेर गए।

उनी ऋद्धिसिद्धि प्राप्त महान् गुरु भएकाले उनीसँग घटेका विभिन्न चामात्कारिक घटना छन्। ती सबै नै रोचक र चामत्कारिक लाग्छन्। हामी जस्ता सामान्य मान्छेले सुन्दाखेरी कतिलाई त पत्याउनै पनि गाह्रो हुनसक्छ।

एकपल्ट नालन्दा विश्वविद्यालयमा ऋद्धिसिद्धि प्रदर्शन गर्ने क्रममा नालन्दाका विद्वानले तिर्थिकहरूसँग सामना गर्न पद्मसम्भवलाई प्रार्थना गरेर बोलाए। भोलिपल्ट पद्मसम्भव टुप्लुक्क त्यहाँ पुगे। अन्ततोगत्वा पद्मसम्भवले ती तिर्थिकलाई तर्कमा र ऋद्धिसिद्धिमा हराइदिए।

नेपालमा पद्मसम्भव

उनी नेपालमा आउँदा त्यसबेला अनेक प्राकृतिक प्रकोप जस्तै–भूकम्प, आँधीवेरी आदि घटनाले भूमिलाई अस्तव्यस्त पारेको थियो। यसले गर्दा पशुपालन र अन्नबाली दुवैलाई क्षति पुर्‍याइराखेको थियो। उनी नेपालका विभिन्न ठाउँमा पुगेर केही न केही विशेष चर्या गरेको पाइन्छ। यसै क्रममा सुरुमा उनी आफ्नी सहचरी मन्दारवका साथमा हलेसी (मारतीका) आएका थिए। जहाँ उनले साधना गरेर अमरत्व प्राप्त गरे।

शैलुङमा उनले सिङ्गे डाडोगको स्वरुप देखाएका थिए। तिमाल यारीनागमा उनले कालो यक्षलाई तह लगाएका थिए। त्यसैगरी दामनको ऋषेश्वरमा त्यहाँका अधिपतिलाई तह लगाएको पाइन्छ। साँखुमा जाँदा सहचरी शाक्यदेवीसँग भेट भएको कुरा पेमा काथाङमा उल्लेख छ।

त्यसैगरी काठमाडौँ उपत्यकामा आउँदा बौद्ध स्तुप परिक्रमा गरेको र स्तुपको इतिहास सुनाएको पाइन्छ। गोदावरीबाट फर्पिङ गएर वज्रकिल, महासन्धी वा अतियोगको अभ्यास गरेको पाइन्छ। पद्मसम्भव फर्पिङ्को याङ्लेशो गुफामा ध्यान गर्दागर्दै उनले वज्रकिल (दोर्जे फुर्वा)को भयंकर क्रोधीरुप धारण गरेर प्रतिकूल शक्तिलाई नेपालमा धर्मको रक्षा गर्न प्रतिबद्ध तुल्याए। आफ्नो आध्यात्मिक चर्याबाट पद्मसम्भवले भ्रान्तिका आवरणयुक्त शक्तिलाई शान्तिपूर्ण जीवनको प्रवाहमा परिवर्तन गरिदिएको र सबै बुद्धको एकता तथा करुणाको रुपमा प्रकट भएको पाइन्छ।

पद्मसम्भवसँग सम्बन्धित गुप्तक्षेत्रहरू अर्थात वेयुलहरू यसप्रकार छन् – १. संङ्खुवासभामा रहेको खेन्पालुङ, २.गौरीशंङकर हिमालको फेदमा रहेको रोल्वालिङ ३. सिन्धुपाल्चोकको योल्मो घाङरा, ४. रसुवाको नाम्गोदागम, ५. गोरखा जिल्लाको किमोलुङ।

पद्मसम्भवको तिब्बत प्रवेश

तिब्बतका राजा स्रोङ्चेन गाम्पोले सातौँ शताब्दिमै आफ्नो देशमा बुद्ध धर्म फैलाउने उद्देश्यले नेपालकी राजकुमारी भृकुटी र उनका साथमा बौद्ध ग्रन्थ अनि बुद्ध मूर्ति मागेका थिए। यस्तै धार्मिक उद्देश्यकै लागि उनले चीनकी राजकुमारी कोङ्जोलाई पनि विवाह गरेका थिए।

नेपालबाट लगेका बौद्धग्रन्थहरू र बुद्ध मूर्ति देखेर राजा स्रोङचेन गाम्पो छक्क परेका थिए। तत्पश्चात उनले आफ्नो एक मन्त्री थोन्मी संभोट र अन्य केही तीक्ष्ण बुद्धि भएकालाई भारतमा संस्कृत सिक्न पठाएका थिए। उनीहरूको समूह तिब्बतमा फर्केपछि लिपि बनाएको पाइन्छ। त्यसपछि संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थको तिब्बती भाषामा अनुवाद गर्न लगाएको पाइन्छ।

आठौँ शताब्दीमा आइपुग्दा तिब्बतको राजगद्दीमा राजा ठ्रिसोङ देउचेन आसिन भएको पाइन्छ। उनले पनि बुद्ध धर्मको पुर्नउत्थान गर्ने विचार गरी भारतीय विद्वान् शान्तरक्षितलाई बोलाउँछन्। यद्यपि तिब्बतमा बोन र धामीझाँक्री प्रथाले जरो गाडेकाले शान्त स्वभावका शान्तरक्षित तिनीहरूसँग सामना गर्न असमर्थ भएपछि पद्मसम्भवलाई बोलाउने सल्लाह दिन्छन्।

शान्तरक्षितको सल्लाहअनुसार पद्मसम्भवलाई तिब्बतमा बोलाइन्छ। त्यस समयमा पद्मसम्भव नेपालमै थिए। उनले धेरै नेपालीलाई उपदेश र ज्ञान दिए। पद्मसम्भवले तिब्बतमा आफ्नो खाँचो भएको भएको कुरा सपनामा देखे। डाकिनीहरूले उनलाई रोक्न खोजेका थिए तैपनि उनी जान तयार भए। तिब्बती दूतहरू निकै लामो बाटोसम्म लिन आए र सुनको धूलो चढाए। त्यो सुन पद्मसम्भवले नेपाल र तिब्बतको सिमानामा पुग्ने गरी हुत्याइदिए। त्यसले गर्दा दूतहरूको मनमा आघात पुग्यो। पद्मसम्भवले त्यो कुरा महशुस गरी उनीहरूको बाहुला थाप्न लगाएर माटो र गेगर राखिदिए र फेरी हेर्न लगाए। त्यहाँ सुन चाँदी र बहुमूल्य रत्न देखियो।

त्यसपछि दूतहरूमा अगाध श्रद्धा उत्पन्न भयो। उनी तिब्बत पुगेर त्यहाँका अमानुष शक्तिलाई दमन गरी बौद्ध धर्मको उत्थान गर्ने बुद्ध शासन फैलाउने क्रममा गोन्पा (गुम्बा)बनाउन लाग्दा अमानुष शक्तिले रातीराती भत्काइ दिन्थे। यसै क्रममा त्यहाँकी राक्षस्नीलाई खेदाउँदै मुस्ताङको लोगेगारसम्म पुर्‍याएर त्यसको शरीरमाथि जग हालेर लोगेगार गोन्पाको निर्माण गरेको पाइन्छ। जुन गोन्पा संसारकै पहिलो र पुरानो मानिन्छ। त्यसपछि फर्केर साम्ये गोन्पाको निमार्ण गरिएको थियो।

काठमाडौंको बौद्ध स्तुप

साम्ये गोन्पाको उद्घाटनका बेला पद्मसम्भवले तत्कालिन राजा ठ्रिचेन देउचेन, मन्त्री यार्लुङ वामी ठ्रिसेर र भिक्षु शान्तरक्षितलाई राखेर हामी चार जना पहिले नेपालमा भ्mयाजीमा (कुखुरा पाल्ने महिला) का चार भाइ छोरा थियौँ। हाम्रा पिता पनि अलगअलग थिए। अर्थात हाम्री आमा भ्रmयाजीमाले चार फरकफरक पुरुषबाट हामीलाई जन्माएकी थिइन्। नेपालको बौद्ध स्तुप बनाउन हाम्री आमाले सुरु गरेको र बनाउँदाबनाउँदै उनको मृत्यु भएपछि हामीले उक्त कार्य पूरा गरेका थियौँ भनेपछि बौद्ध स्तुपको रहस्योद्घाटन भएको पाइन्छ।

पछि बाह्रौँ शताब्दीमा साम्ये गोन्पाको हयगृवको मूर्तिमा राखेको तेर्मा (निधि) न्याङ्राल निमा होशेरलेकाथाङ साङ्लिङ्मा भन्ने ग्रन्थ पाएका थिए। यसमा गेपा, डिङ्पो र द्विपा अर्थात विस्तृत मध्यम र संक्षिप्त गरी तीन भाग छन् जसमा पद्मसम्भवको जीवनी र उनले गरेका भविश्यवाणी छन्।

चौधौँ शताब्दीमा उर्गेन लिङ्पाले पनि पेमाकाथाङ भन्ने ग्रन्थ निधिका रुपमा प्राप्त गरेका थिए। यसैगरी पन्ध्रौँ शताब्दीमा ङाग्छाङ शाक्या साङ्पोले अर्को निधि प्राप्त गरेका थिए जसमा बौद्ध स्तुपका बारेमा लेखिएको थियो। यसको आधारमा तिब्बतीहरू उक्त स्तुपको दर्शन गर्न आउँदा छोपिएको अवस्थामा पाए पछि उत्खनन गरेर पत्ता लगाएको र जीर्णोद्वार गरेको पाइन्छ।

यसर्थः गुरु पद्मसम्भवको नेपाललगायत दक्षिण एसियाका विभिन्न देश तथा तिब्बती भाषी क्षेत्रमा बुद्ध धर्मको विकास र विस्तार गर्नमा अतुलनीय योगदान रहेको पाइन्छ।

(पुरातत्वविद् तिलस्मी प्रभास बौद्ध दर्शनकी विद्ध्वान हुन्।)साभार : सेतोपाटीबाट

Loading...
Loading...
Loading...

दानवीर जिपछिरिङको राजनीतिक यात्रा

जिपछिरिङ लामा शेर्पा, नामै काफी छ। एक महान समाजसेवी, सफल निर्माण व्यवसायी, परोपकारी राजनीतिज्ञ, एक उदाहरणीय माननीय। पिता तेङिमा शेर्पा...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल, वि.सं. २०७८ साल मंसिर १५ गते बुधवार || बुधवार श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष...

बुधबार चम्किँदैछ यी ८ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । जग्गा जमिनको...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफन्त र मित्र वर्गको सहयोग पाइने नै छ । बन्द व्यापार...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल, वि.सं. २०७८ मंसिर १४ गते मङ्गलवार || मंगलवार श्री गणेशकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे,...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ मंसिर १३ गते सोमवार || सोमवार भगवान शिवकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु,...

आज सोमबार, राम्रो छ यी ६ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोबारमा...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल, वि.सं. २०७८ साल मंसिर १२ गते आइतवार || शुक्रवार श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष...