बुद्धको सच्चा उपदेश – Janata Live
  • Sunday, August 14, 2022

बुद्धको सच्चा उपदेश

  • जनता लाइभ
  • जेठ ३१, २०७८

बुद्धको सच्चा उपदेश

एकपटक महात्मा बुद्ध आश्रममा शिष्य तथा दर्शनार्थीलाई प्रवचन दिँदै थिए । आश्रममा सयौँ शिष्य थिए । उनको दर्शनका लागि त्यहाँ उपस्थित दर्शनार्थीको संख्या पनि कम थिएन । बुद्धले आफ्नो प्रवचन टुंग्याएपछि सबै बिस्तारै त्यहाँबाट बिदा भए । उनका शिष्य पनि आआफ्नो वासस्थानतिर लागे । तीमध्ये एकजना शिष्य उनको अगाडि गए र भने, ‘भगवन्, आज मैले बाटामा एउटा भिखारीलाई भेटेँ । उसलाई आफूनजिक बोलाएर धेरै बेरसम्म उसलाई धर्मको शिक्षा दिएँ, प्रेरक उपदेश दिएँ । तर, त्यस मूर्खले त मेरो कुरामा पटक्कै ध्यान दिएन ।’

शिष्यको कुरा सुनेर बुद्ध मुसुक्क मुस्कुराए । उनले ती शिष्यलाई सो भिखारीलाई बोलाएर आश्रममा ल्याउन अह्राए । ती शिष्यले दौडँदै गएर गाउँमा ती भिखारीको खोजी गरे । एकैछिनमा उनले तिनलाई भेटे । उनी ती भिखारीलाई लिएर बुद्धसामु उपस्थित भए । भिखारी अत्यन्त दीनहीन अवस्थामा थिए । बुद्धले उनलाई देखे । बुद्धले ती भिखारीलाई पेटभरि खाना खुवाए र प्रेमपूर्वक बिदा गरे ।

बुद्धको यस्तो कार्य देख्दा उनका शिष्य आश्चर्यमा परे । उनले अचम्म मान्दै सोधे, ‘भगवन्, तपाईंले त उसलाई कुनै उपदेश दिनुभएन । उसलाई यसरी विनाकुनै उपदेश किन जान दिनुभयो ? उसलाई यसो धर्मोपदेश दिनुभएको भए राम्रो हुन्थ्यो नि !’ शिष्यको जिज्ञासा सुनेपछि मन्द मुस्कान छर्दै बुद्धले भने, ‘आज उसका लागि खाना नै एउटा अमूल्य उपदेश थियो । किनकि, उसलाई प्रवचनभन्दा बढी खानाको आवश्यकता थियो । भोको पेटले प्रवचन वा धर्मोपदेशको अर्थ बुझ्न सक्दैन । त्यसैले आज उसका लागि यो नै साँचो उपदेश हो ।’ यो सुनेर उनका शिष्यको शिर निहुरियो ।

Loading...
Loading...
Loading...