ओझेलमा परेका बुद्ध भूमिहरु – Janata Live
  • Saturday, September 25, 2021

ओझेलमा परेका बुद्ध भूमिहरु

  • युवराज कँडेल
  • जेठ १५, २०७८

ओझेलमा परेका बुद्ध भूमिहरु

ईसापूर्व ५६३ वैशाख शुक्लपूर्णिमाको दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । खासगरी चीन र पूर्वी एशियामा बुद्ध धर्मको प्रचार भएपछि बुद्ध जन्मस्थलको बारेमा खोजी भयो । यसैक्रममा घुम्दै आएका यात्री फाहियान बौद्ध तीर्थस्थलको भ्रमण गर्ने क्रममा सन् ४०३ मा लुम्बिनी आइपुगे र उनले कपिलवस्तु नगरदेखि पूर्वतर्फ लुम्बिनी उद्यान रहेको र त्यहीं बुद्धको जन्म भएको ठहर गरे ।

सन् ६३६ मा घुम्दै आएका चिनियाँ यात्री हुएन सांगले आफ्नो यात्रा वृत्तान्तमा लुम्बिनी र त्यहाँको संरचनाको बारेमा उल्लेख गरे । यिनै विद्वान्ले उल्लेख गरे अनुसार लुम्बिनीको खोजी गर्दै जाँदा सन् १८९६ मा पाल्पाका तत्कालीन बडाहाकिम खडक शमशेरको नेतृत्वमा लुम्बिनीको उत्खनन भयो ।

अशोक स्तम्भ लगायत प्राचीन भग्नावशेषहरू भेटिएपछि गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनी यही नै हो भन्ने ठहर भयो । लामो समयसम्म लुम्बिनी गुप्त रहे पनि पछिल्ला ६० वर्षमा कछुवाकै गतिमा भए पनि लुम्बिनीको संरक्षण, विकास र प्रचारप्रसार भएको छ ।

वर्षेनि ठूलो संख्यामा बौद्ध धर्मावलम्बी र पर्यटकहरू लुम्बिनीमा पुगिरहेका छन् । गौतमबुद्धले जीवनका २९ वर्ष विताएको तिलौराकोट र त्यसको वरिपरि रहेका कुदान, निग्लिहवा, गोटिहवाले पनि लुम्बिनीको आड पाएर संरक्षण र प्रचार पाएका छन् । तर, लुम्बिनी पूर्व रहेका बौद्ध स्थलहरू भने सधैं ओझेलमा परिरहेका छन् ।

लुम्बिनीमा सम्पन्न दोस्रो विश्व बौद्ध सम्मेलनले किटान गरेको नेपालका चार बुद्धभूमि लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम हुन् । लुम्बिनीदेखि करीब ३५ कि.मि. उत्तरपूर्व तथा बुटवलदेखि १२ किमी दक्षिणपूर्वमा देवदह पर्दछ ।

प्राचीन कोलिय राज्यको राजधानीको रूपमा रहेको देवदह भगवान गौतम बुद्धको मावली गाउँ र विवाहपछि ससुराली पनि हो । आमा मायादेवी र उनको लालनपालन गर्ने प्रजापति गौतमी दुवै माइती देवदह हो र सिद्धार्थकी पत्नी यशोधराको जन्म पनि यहीं भएको थियो ।

राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गरेको सात वर्षपछि गौतम बुद्धको रूपमा राजकुमार देवदह आएका थिए । ईसापूर्व छैटौं शताब्दीतिर देखा परेका कुशीनगर, बैसाली, कोशल, मगध, पावा, कपिलवस्तु राज्यहरूमध्ये देवदह कोलिय शासकहरूको गणराज्य थियो ।

बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको ब्याघ्रपुर भवानीपुर भएको संस्कृतिविद् प्रा.डा. गीतु गिरी र पुरातत्वविद् पी.सी. मुखर्जीले ठहर गरेका छन् । यही भवानीपुर प्राचीन कोलिय राज्यको राजधानी भएको विश्वास गरिन्छ । भवानीपुरमा अशोक स्तम्भ जस्तै पत्थर निर्मित स्तम्भ, मायादेवी मन्दिर, प्राचीन कुवा लगायत पुरातात्विक सामग्रीहरू रहेका छन् ।

भवानीपुर क्षेत्रमा लामो समयसम्म पुरातात्विक सामग्री यत्रतत्र छरिएकोले त्यसलाई एकैठाउँमा संकलन गरी त्यहाँका जमीनदारले २०२५ सालमा नागर (शिखर) शैलीको मन्दिर बनाएका थिए । त्यही मन्दिरलाई मायादेवी मन्दिरको रूपमा श्रद्धापूर्वक हेर्ने गरिन्छ र हरेक वर्ष चैते दशैंको बेलामा यो ठाउँमा ठूलो मेला लाग्ने गर्दछ ।

भवानीपुरदेखि उत्तर बैरिमाई, कन्यामाई र खयरडाँडा पर्छन् । केही वर्षअघि लुम्बिनी विकास कोष र पुरातत्व विभागको संयुक्त टोलीले कन्यामाई र भवानीपुरमा प्रारम्भिक उत्खनन गरेको थियो । उत्खननबाट त्यहाँ पुराना पर्खाल, ईट्टा, काठ र चाँदीका चुरा, माटोका भाँडा, ढुंंगा लगायत सामग्री फेला परेका थिए । यी ठाउँहरूमा पुरातात्विक सामग्री र भग्नावशेषहरू भेटिएकोले यिनै ठाउँमा प्राचीन कोलिय दरबार हुनसक्ने पुरातत्वविद्हरू बताउँछन् ।

बौद्धग्रन्थहरूका अनुसार भगवान शाक्यमुनि बुद्धको महापरिनिर्माण पश्चात शवलाई दाहसंस्कार गरेपछि बाँकी रहेको अस्थिधातुलाई मगध, बैसाली, कपिलवस्तु, अल्लकप्प, वैप्दिप, पावा, कुशीनगर र कोलिय गणराज्य गरी तत्कालीन ८ वटा गणराज्यलाई बाँडिएको थियो ।

कोलिय गणराज्यले आफ्नो भागमा पाएको अस्थिधातु राखी रामग्राम स्तूप निर्माण गरेको थियो । ईसापूर्व २४९ मा सम्राट अशोकले लुम्बिनी लगायत सबै स्तूपहरूमा भ्रमण गरी त्यहाँ रहेको अस्थिधातु निकालेर ८४ हजार खण्डमा विभाजन गरी ८४ हजार स्तूपहरू निर्माण गर्न सबै ७ वटा स्तूपहरू उत्खनन गरेर अस्थिधातु निकाले पनि कोलिय राजाले रामग्राममा रहेको अस्थिधातु निकाल्न दिएनन् ।

त्यसैले बुद्धका अस्थिधातु रहेका आठ वटा स्तूपहरूमध्ये रामग्राम मात्र जोगिन सकेको थियो । यही कारणले रामग्राम स्तूपलाई बौद्धधर्ममा पवित्र स्थल मानिन्छ । बुद्धकालीन कोलिय गणराज्यमा पर्ने हालको उज्जैनी गाउँ नजिक रहेको अग्लो माटोको ढिस्कोको उत्खनन सन् १८९९ मा एशियाटिक सोसाइटी अफ बंगालका पुरातत्वविद् डा. डब्लु होईले गरेका थिए भने यो ठाउँलाई रामग्राम हो भनेर यकिन गर्ने काम सन् १९६४ मा एस.वि.देवले गरेका थिए ।

वि.सं. २०३८ मा पुरातत्व विभागले रामग्राम स्तूपा क्षेत्रको अध्ययन गरेको थियो । रामग्राम नगरपालिकाको परासी महेशपुर सडकमा पर्ने उज्जैनी गाउँदेखि करीब ५०० मिटर पूर्व झरही खोलाको किनारमा रामग्राम स्तूप रहेको छ । करीब ९ मिटर उँचाइ र २९ मिटर व्यास रहेको यो स्तूप हाल माटोको ढिस्कोको रूपमा रहेको छ ।

स्थानीय बासिन्दाको सक्रियता र लुम्बिनी विकास कोषको सहयोगमा स्तूप क्षेत्रमा तारबार गरिएको छ भने जापानिज बुद्धिस्ट अर्गनाइजेशनले सानो बुद्ध मूर्ति सहितको मन्दिर पनि रामग्राम स्तूप क्षेत्रमा निर्माण गरेको छ । पछिल्लो समयमा लुम्बिनी विकास कोषले आफ्ना प्रचार सामग्रीहरूमा रामग्राम पनि समावेश गरिरहेको छ ।

रामग्राम स्तूप बनाउने कोलिय गणराज्यको राजधानी भएको हुनसक्ने विश्वास गरिने बन्जरियामा रहेको पुरातात्विक स्थल पण्डितपुर भने गुमनाम छ । पुरातात्विक विभागको अध्ययनले पण्डितपुर कोलिय राजधानी भएको हुनसक्ने भने पनि स्थानीय बासिन्दाहरूलाई त्यसको पत्तो छैन । पुरातात्विक स्थल भनिएको ठाउँमा स्थानीय बासिन्दाहरूले खेतीपाती गरिरहेका छन् ।

देवदहवासीले देवदहलाई नै प्राचीन कोलिय राजधानीको रूपमा प्रस्तुत गरिरहँदा पण्डितपुरवासीलाई भने आफ्नो क्षेत्रमा छरिएका भग्नावशेष र पुरातात्विक सामग्री के हुन् भन्ने कुराको पत्तो समेत भएको पाइँदैन । केही वर्ष पहिले आफूलाई पुरातत्व विभागको व्यक्ति भनी पण्डितपुरमा आई स्थानीय बासिन्दाहरूको घरमा रहेका बुद्धमूर्ति लगायत पुरातात्विक वस्तुहरू लिएर गएको स्थानीय बासिन्दा बताउँछन् । तर ती सामग्री के थिए, कसले कहाँ लग्यो भन्ने कुराको जानकारी कसैलाई छैन ।

उत्खनन गरिएको क्षेत्र स्थानीय बासिन्दाहरूको कब्जामा छ । उनीहरूले उपभोग गरिरहे पनि सरकारले आफ्नो जग्गा अधिग्रहण गरेर लगिदिन्छ भन्ने हल्लाले गर्दा घर–गोठ लगायतका भौतिक संरचनाहरू निर्माण गर्न सकेका छैनन् ।

देवदह र रामग्रामलाई तारबार गर्ने, त्यहाँको बारेमा जानकारीमूलक बोर्ड राख्ने काम गरिएको भए पनि पण्डितपुरमा संरक्षण र प्रचारका एउटा पनि काम भएका छैनन् । कतिसम्म भने– पण्डितपुर भनिएको ठाउँमै गएर सोध्दा पनि भग्नावशेष भएको स्थल बताइदिने मान्छे समेत भेटिंदैनन् ।

विश्व पर्यटन बजारमा लुम्बिनी पस्कन थालेको ६० वर्ष वितिसकेको छ । यो अवधिमा स्वदेशी र विदेशी निकायहरूबाट लुम्बिनीको विकास र प्रचारप्रसारमा अर्बौं खर्च भइसकेको छ । लुम्बिनी र कपिलवस्तुको लागि राज्य नै लागिरहेको अवस्थामा लुम्बिनीबाट ४० किमीभित्र रहेका तीन वटा महत्वपूर्ण बौद्धस्थल भने अझैसम्म राज्यको आँखामा पर्न सकेका छैनन् ।

जनस्तरबाट दबाब सिर्जना भएपछि देवदह र रामग्राममा उत्खनन गर्ने र बोर्ड राख्ने काम त भएको छ तर बुद्धभूमिको रूपमा चिनाउने अरू प्रयास भएको छैन । देवदहमा स्थानीय सरकार र स्थानीय बासिन्दाहरू जागरुक भएकोले त्यहाँको प्रचारको प्रयत्न राम्रो छ र सम्पदा संरक्षणका कामहरू भइरहेका छन् । रामग्राममा पनि तारबार र सुरक्षा गर्ने काम भएको छ । तर लुम्बिनीमा पुगेका पर्यटक र बौद्ध धर्मावलम्बीहरू केही सयको संख्यामा रामग्राम पुग्ने गरे पनि देवदहमा पुग्न सकेका छैनन् ।

लुम्बिनी आउने पर्यटकलाई रूपन्देही, नवलपरासी र कपिलवस्तुका सबै बौद्धस्थलमा पु¥याउन सरकारले नौ वर्षअघि बौद्ध परिपथ निर्माण शुरू गरेको थियो । पर्यटन प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण मानिएको यो सडक योजना सरोकारवालाको बेवास्ताका कारण अलपत्र छ ।

भवानीपुरलाई मणिग्रामहुँदै लुम्बिनीसम्म पु¥याउने गरी शुरू भएको निर्माण कार्य कछुवाको गतिमा छ जसले गर्दा मणिग्राम हुँदै भवानीपुर पुग्न निकै कठिन छ । भवानीपुरदेखि पण्डितपुर जोड्ने बाटोको अवस्था पनि दयनीय छ ।

पण्डितपुरदेखि बन्जरिया हुँदै परासी निस्कने बाटो धुलाम्मे भएकोले देवदहबाट रामग्राम जान चाहनेहरूको यात्रा सूचीमा पण्डितपुर पर्न सकेको छैन । वर्षेनि साढे पन्ध्र लाख पर्यटक लुम्बिनी पुगेको तथ्यांक आइरहँदा लुम्बिनी पूर्वका बुद्धभूमि भने सुनसान रहँदै आएका छन् ।

भारतले आफ्नो ठाउँमा भएका बुद्धभूमिलाई जोडेर बुद्ध सर्किट बनाउनको लागि अर्बौं लगानी गरिरहेको छ । नेपालका बुद्ध भूमिहरूलाई जोडेर अन्तर्राष्ट्रिय बुद्ध सर्किट बनाउन प्रस्ताव गरेको सुनिएको छ तर नेपालमा रहेका बुद्धभूमिहरूलाई आपसमा जोडेर आन्तरिक बुद्ध सर्किट बनाउने कुरा भने गफैमा सीमित छन् ।

बुद्धसँग सम्बन्धित स्थानहरू आपसमा सडक सञ्जालले नजोडिंदासम्म यी सधैं ओझेलमा परिरहनेछन् । बुद्ध भूमिलाई संरक्षण, प्रचार गरी सबै बुद्धभूमिमा पर्यटकलाई पु¥याउन कुदान, गोटिहवा, कपिलवस्तु किल्ला, तिलौराकोट दरबारको पश्चिम द्वार, बुद्ध दरबारबाट निस्केको पूर्वी द्वार, निग्लिहवा, कनकमुनि बुद्धको मातृभूमि अरोराकोट, गोटिहवा, लुम्बिनी, मद्रहानी (कुवारवर्ती) देवदह, पण्डितपुर र रामग्रामलाई जोड्ने गरी सीधा र चौडा सडक बनाउनु जरूरी छ ।

ती सडक छेउछाउका बस्तीहरूमा पर्यटकको बसाइ लम्ब्याउनका लागि आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्ने, लुम्बिनी जत्तिकै महत्व दिएर सबै बुद्धभूमिहरूको संरक्षण, उत्खनन, विकास र प्रचारप्रसार गर्ने काम स्थानीय र प्रदेश सरकारले गर्न सकेमा मात्र यो क्षेत्रलाई बौद्ध पर्यटनबाट समृद्ध बनाउन सकिनेछ ।

Loading...
Loading...
Loading...

किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा

हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख...

हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने...

हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

वि.सं. २०७८ आश्विन ०९ गते शनिवारकाे राशिफल, जय श्री मनकामना माता, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे, चो, ला,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि...

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?

भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः...

गायत्री मन्त्रको अर्थ थाहा छ ?

धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

हेर्नुहाेस् शुक्रबारको तपाईंको राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा काम गर्न सकिने हुनाले समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइमा प्रगति भएर...