भगवान् एवं तथागत चेतनाविना कोरोनालाई जित्न सकिन्न – Janata Live
  • Saturday, September 25, 2021

भगवान् एवं तथागत चेतनाविना कोरोनालाई जित्न सकिन्न

  • तुल्सीदास महर्जन
  • जेठ ०९, २०७८

भगवान् एवं तथागत चेतनाविना कोरोनालाई जित्न सकिन्न

बौद्ध साहित्यहरुमा उल्लेख भए अनुसार वोधि ज्ञान प्राप्त गरेपछि सिद्धार्थ गौतम बुद्धलाई तथागत नामले सम्वोधन गर्ने गरियो । उनी स्वयंले पनि आफूलाई त्यही नामबाट चिनाउँथे । उनलाई भगवान भनेर पनि सम्वोधन गरिन्छ । धेरैले तथागत एवं भगवानजस्ता उपनामहरुले ईश्वरको अर्थ दिने बुझ्ने गरेको पाइन्छ । किनकि, तथागत उपनामले सिद्धार्थ गौतम बुद्धलाई नै चिनाउने गरिए पनि भगवान उपनामबाट हिन्दू देवताहरुलाई समेत सम्वोधन गर्ने गरिएकाले ती दुई वटै उपनामका शब्दहरुले ईश्वरकै अर्थ दिने भ्रम आम मानिसमा रहेको देखिन्छ ।

धेरैलाई के हेक्का नहुन सक्छ भने सिद्धार्थ गौतम बुद्ध अनिश्वरवादी थिए । एक अनिश्वरवादी व्यक्ति स्वयं कसरी ईश्वर हुन सक्छन् त ? हो, उनी आफैले पनि आफूलाई ईश्वर मान्दैनथे र उनका अनुयायीहरु कसैले पनि उनलाई ईश्वर मान्दैनथे । वास्तवमा बौद्ध दर्शन र धर्मले कुनै पनि नामको ईश्वरको कल्पना गरेका छैनन् । तर, यदि गौतम बुद्ध ईश्वर होइनन् भने उनलाई भगवान एवं तथागतको उपनामबाट किन चिनाइन्छ त ?

हिन्दू दर्शन र परम्परा वैदिक सभ्यताबाट आएका हुन् । वेदमा भगवान र तथागतहरु कोही देखिँदैनन् । त्यहाँ ईश्वर एवं देवी देवताहरु उल्लेख भएको पाइन्छ । हिन्दू साहित्य अध्येयताहरुका अनुसार बुद्धपछाडि मात्र हिन्दू ईश्वरहरुलाई भगवान उपनामबाट पनि सम्वोधन गर्ने गरिए । तर, भगवानको वास्तविक अर्थ ईश्वर होइन । हिन्दू साहित्यले भगवान शब्द बौद्ध परम्पराबाट सापटी लिएको देखिन्छ । पाली शब्द ‘भगवान’ दुईवटा शब्दको समास (जोडिएर बनेको) हा, भग्ग + वान । ‘भग्ग’को अर्थ नष्ट गर्नु हो भने ‘वान’को अर्थ तृष्णा अथवा वासना । तसर्थ, भगवान उपनामले त्यस्ता महान व्यक्तिलाई चिनाइन्छ, जसले जीवनमा सबै तृष्णा या वासनालाई नष्ट गरेका हुन्छन् । सिद्धार्थ गौतम बुद्धले सांसारिक जीवनका सबै तृष्णा या वासनालाई नष्ट गरी वोधि ज्ञान प्राप्त गरेर बुद्ध बनेका कारण उनलाई भगवानको उपनामबाट सम्वोधन गर्ने गरिएको हो । ((baudhyoung.org)

भगवान र तथागत दुबैले ईश्वरको अर्थ राख्दैनन् । त्यसैले भगवान गौतम बुद्ध या तथागत गौतम बुद्धलाई ईश्वरको रुपमा बुझ्नु बेठिक हुन्छ । उनी स्वयंले पनि ईश्वर देख्दैनथे ।

तसर्थ, सिद्धार्थ गौतम बुद्ध ईश्वर होइनन्, तर भगवान हुन् । उनी तथागत पनि हुन् । यो उपनामको अर्थ पनि ईश्वर होइन । बौद्ध साहित्यमा तथागतका धेरै अर्थ हुने गरेका छन् । पाँचौं शताव्दीका थेरवादी बौद्ध टिकाकार, अनुवादक एवं दार्शनिक आचार्य बुद्धघोषले बौद्ध ग्रन्थ सुत्त पिटकको दिघ निकायमाथि ‘सुमङ्गलविलासिनी’ नामको टिका ग्रन्थ लेखेका छन् । त्यस ग्रन्थमा उनले तथागतका आठ अर्थ उल्लेख गरेका छन् । ती आठमध्ये तेश्रो, चौथो, पाँचौं र छैठौं स्थानमा रहेका अर्थहरु क्रमशः वस्तुको यथार्थ सारको ज्ञान मार्गबाट आएका, सत्यलाई ग्रहण गरेका, सत्य बुझेका र सत्यको उद्घोष गरेका रहेका छन् । (Chalmers, Robert. The Journal of the Royal Asiatic Society, 1898. pp.103-115)

त्यस्तै गरी पालीमा ‘तथागत’ ले सत्यबारे अवगत भएको अर्थ दिन्छ; तथागत = तथ्य + आगत । अर्थात्, तथ्यको साथमा सत्यको अवगत गर्ने नै तथागत हुन् । ( baudhyoung.org)

तथागत शब्द पाली र संस्कृत दुबैमा छ । विद्वानहरुले तथागतलाई तथा र गत दुई शब्दको समासको रुपमा पनि विश्लेषण गर्ने गर्छन् ; तथा + गत = तथागत । ‘तथा’ को अर्थ ‘यथाभूत’ अर्थात् ‘यथार्थ जस्तो छ त्यस्तै’ भन्ने हो भने ‘गत’ को अर्थ ‘अवगत’ हो । त्यसैले ‘तथागत’ शब्दले वस्तु जस्तो छ त्यस्तै बुझ्ने भन्ने अर्थ पनि दिन्छ । (Bhikkhu Bodhi, In the Buddha’s Words. Wisdom Publications, 2005)

सिद्धार्थ गौतम बुद्धलाई भगवान गौतम बुद्ध भनेर सम्वोधन गरिन्छ । यसको अर्थ हो, गौतम बुद्ध त्यस्ता व्यक्ति हुन् जसले सांसारिक जीवनका सम्पूर्ण तृष्णालाई नष्ट गरिसकेका छन् । त्यस्तै तथागत भनेर सम्वोधनको अर्थ उनी कुनै पनि कुरालाई जस्तो छ त्यस्तै बुझ्न सक्ने या बुझेका व्यक्ति हुन् । भगवान र तथागत दुबैले ईश्वरको अर्थ राख्दैनन् । त्यसैले भगवान गौतम बुद्ध या तथागत गौतम बुद्धलाई ईश्वरको रुपमा बुझ्नु बेठिक हुन्छ । उनी स्वयंले पनि ईश्वर देख्दैनथे । उनी अनिश्वरवादी थिए ।

यथाभूत या जस्तो छ त्यस्तै देख्नु भनेको के हो ?

एउटा उदाहरण लिऊँ । आजभोलि गर्मी याममा घाममा हिँड्दा कैयौं मानिसहरु आँखामा कालो वा गाढा खैरो सिसा भएको चस्मा लाउने गर्छन् । यसरी घाम छेक्ने चस्मा लाउँदा उनीहरु आफू अगाडिका वस्तुलाई अँध्यारो र रङ्गीन देख्छन् । अर्थात्, उनीहरु वस्तु जस्तो हो त्यस्तै देख्दैनन् । यस्तो किन ?

यो प्रश्नको उत्तर धेरै सरल छ जस्तो लाग्न सक्छ । तर, यसैभित्र वस्तुलाई हेर्ने दृष्टिकोण लुकेको छ । त्यो के हो भने जब रङ्गीन चस्मा लगाइन्छ, तब आँखा अगाडिको वस्तु जस्तो छ त्यस्तै देखिँदैन । वस्तु जस्तो छ त्यस्तै देख्नका लागि आँखा र वस्तुबीच कुनै छेकेवार हुन दिनु भएन । आँखा भनेको एक इन्द्रीय हो । वास्तवमा वस्तु देख्नु भनेको चेतनाको एक द्वारको रुपमा रहेको आँखाको माध्यमबाट वस्तु हुनुको सूचना मस्तिष्कसम्म पुग्नु हो ।

वस्तु वा घटना मानव मस्तिष्कभित्र विकसित चेतनाबाट स्वतन्त्र रहेको हुन्छ । कसैको चेतना होस् या नहोस् वस्तु तथा घटना परिघटनाहरु त अस्तित्वमा रहेकै हुन्छन् । वस्तु तथा घटना परिघटनाहरु अस्तित्वमा आउनु नआउनु तिनीहरु बारेका सूचना हाम्रो मस्तिष्कसम्म पुग्नु र नपुग्नुसँग कुनै सम्बन्ध रहन्न । वस्तु तथा घटना परिघटनाहरु प्रकृतिका शाश्वत नियम अनुसार चलायमान भई अस्तित्वमा आएका र गएका हुन्छन् । ती नियम चलायमान हुनुसँग मानव मस्तिष्कमा विकसित चेतनाको साइनो हुन्न ।

सत्य के हो भने मानव मस्तिष्कमा विकसित चेतनासँग प्रकृतिका नियमबाट चलायमान भएका वस्तु तथा घटना परिघटनाहरु निर्भर रहन्नन् । बरु प्रकृतिका नियम अनुसार चलायमान वस्तु तथा घटना परिघटनाहरुसँग सम्पर्कमा आउँदा नै मानव मस्तिष्कले चेतना ग्रहण गर्ने हो ।

मानिसमा हुने तृष्णाले गर्दा वस्तु तथा घटना परिघटनाहरुलाई जस्तो छ त्यस्तै देख्न मानिस असक्षम बन्दछ । तृष्णा हुनु भनेको आँखामा रङ्गीन चस्मा लगाउनु जस्तै हो ।

लाखौं वर्षपहिलेको कुनै कालमा पृथ्वीमा मानव नै थिएन । तर, पृथ्वी चाहिँ थियो । मानवबाहेक अन्य जीवाजन्तुहरु पनि थिए । किराफट्याङ्ग्राहरु पनि थिए । माछा, कछुवालगायत लाखौं जलचरहरु पनि थिए । हावा, पानी, रुख, विरुवा, नदीनाला, पहाड, हिमाल सबै सबै नै थिए । आकाशमा बादल मडारिन्थे । पानी पर्दथ्यो । भूकम्प आउँदथ्यो । आकाशमा चन्द्रमा उदाउँदथ्यो, सूर्य उदाउँदथ्यो । ऋतु परिवर्तन हुन्थ्यो । तर, यी सबै वस्तु तथा घटनाहरुलाई चिन्ने, बुझ्ने र ब्याख्या विश्लेषण गर्ने मान्छे भने थिएन । मान्छे नै नभएपछि मान्छेसँगै रहने चेतना हुने कुरै भएन ।

यसबाट पनि के प्रष्ट हुन्छ भने चेतना भनेको त मान्छे आएपछि न विकसित भयो । फेरि मान्छे पनि त्यतिकै बनिबनावट ढङ्गले आकाशबाट खसेको वा जमिनबाट उठेको वा पानीबाट बाहिर निस्केको त होइन । मान्छे त लाखौं वर्ष अगाडिको कुनै अर्कै जीवबाट क्रमशः पुस्तापुस्तान्तरण हुँदै उद्विकसित भएर आएको न हो । त्यसैले के प्रष्ट हुन्छ भने यो पृथ्वीमा मानिस पहिले उद्विकसित भयो र उसमा चेतना पछाडि विकसित भयो । मानव विकासको खोज गर्ने अध्येयता वा वैज्ञानिकहरुले अहिले पुष्टि गरेको सत्य यो रहेको छ ।

भगवान गौतम बुद्ध या तथागतको समयमा मानव ज्ञान र चेतना वर्तमानको गहिराइमा पुगेको थिएन । तर, भगवान गौतम बुद्धले हरेक वस्तु तथा घटना परिघटनालाई तथागत आँखाबाट हेर्ने सिद्धान्तलाई जन्म दिए । तथागत आँखाबाट हेर्नका लागि भगवानको चरित्र नभई हुन्न । किनकि, मानिसमा हुने तृष्णाले गर्दा वस्तु तथा घटना परिघटनाहरुलाई जस्तो छ त्यस्तै देख्न मानिस असक्षम बन्दछ । तृष्णा हुनु भनेको आँखामा रङ्गीन चस्मा लगाउनु जस्तै हो ।

त्यसैले कुनै पनि कुरा जस्तो छ त्यस्तै देख्नका लागि हाम्रा आँखामा कुनै रङ्गीन चस्मा लाउनु भएन । अर्थात् हामीसँग कुनै तृष्णा हुनु भएन । किनकि, कुनै पनि कुरा हाम्रो चेतनाबाट स्वतन्त्र छ । त्यसलाई जस्तो छ त्यस्तै देख्नका लागि तटस्थ अवलोकनको जरुरी पर्छ । तृष्णा रहित मनको जरुरी पर्दछ । यस्तो अवलोकनलाई हामी तथागत अवलोकन भन्न सक्छौं । त्यसैले वस्तु तथा घटना परिघटनालाई सही ढङ्गले देख्न, पढ्न, बुझ्न र चिन्नका लागि भगवान चित्तमा तथागत आँखाले हेर्नु जरुरी हुन्छ ।

कोरोनालाई बुझ्न र लड्न भगवान चित्त र तथागत आँखा

कोविड–१९ को कारक नोेवेल कोरोनाभाइरस शून्यबाट फुत्त बाहिर निस्केको होइन । त्यो पुरानो कोरोना भाइरस उत्परिवर्तन (mutation) भई विकसित भएको हो । नोवेलको अर्थ नयाँ हो । अर्थात् पुरानो कोरोना भाइरसकै नयाँ रुप नोवेल कोरोनाभाइरस हो ।

नोवेल कोरोनाभाइरस कस्तो छ, कसरी आयो ? त्यसले हाम्रो शरीरमा के के हानि पुर्याउँछ ? त्यसलाई निश्क्रिय केले पार्न सकिन्छ ? यी प्रश्नहरुको उत्तर मानव चेतनामा त्यतिकै उब्जिँदैन । किनकि, ती वस्तु, व्यवहार तथा घटना परिघटनाहरु मानव चेतनाबाट स्वतन्त्र छन् । तिनीहरु हाम्रा इच्छाले होइनन्, प्रकृतिका शाश्वत नियमबाट चलायमान छन् । तिनीहरु उत्पन्न हुनु र नष्ट हुनु प्रकृतिको नियम अनुसार मात्र सम्भव हुन्छ । ती नियमहरु के के हुन् त ?

आधुनिक दर्शनको भाषामा भगवान चित्त र तथागत आँखालाई भौतिकवाद भनिन्छ ।

यही त हुन् वैज्ञानिकहरुले अहिले रातदिन मेहनतका साथ खोजिरहेका कुरा । वैज्ञानिकहरुले कुनै आधारहिन कल्पना गरेर नभई नोवेल कोरोना भाइरसको शरीरभित्र रहेका वस्तु तथा संरचनाहरु जस्ता छन् त्यस्तै हेर्न र बुझ्नका लागि विभिन्न वैज्ञानिक विधि, प्रयोग तथा परीक्षणहरु गरिरहेका छन् । धेरै कुरा पत्ता लगाइसकेका पनि छन् । त्यसैका आधारमा वैज्ञानिकहरुले अहिले कोविड–१९ विरुद्धको खोपका विभिन्न परीक्षणहरु गर्दैछन् । बेलायत, रुस, चीन आदि मुलुकका वैज्ञानिकहरुले निकट भविष्यमै सर्वसाधारणको समेत पहुँचमा हुने गरी खोपको तेश्रो चरणका परीक्षणहरु चाँडै गरिसकिनेछन् भनिरहेका छन् ।

आधुनिक विज्ञानको भाषा भिन्नै छ, तर पूर्वीय सभ्यताको भाषामा हामी भन्न सक्छौं कि कोभिड–१९ विरुद्ध काम गरिराखेका वैज्ञानिक डाक्टरहरुले भगवान चित्तमा तथागत आँखाले नोवेल कोरोना भाइरसलाई हेर्ने कोशिस गरिरहेका छन् । हाम्रो भरोसा उनीहरुमा नै छ । किनकि, सही र सत्य कुरो भगवान चित्त र तथागत आँखामा नै हुन्छ । आधुनिक दर्शनको भाषामा भगवान चित्त र तथागत आँखालाई भौतिकवाद भनिन्छ ।

Loading...
Loading...
Loading...

किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा

हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख...

हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने...

हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

वि.सं. २०७८ आश्विन ०९ गते शनिवारकाे राशिफल, जय श्री मनकामना माता, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे, चो, ला,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि...

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?

भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः...

गायत्री मन्त्रको अर्थ थाहा छ ?

धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

हेर्नुहाेस् शुक्रबारको तपाईंको राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा काम गर्न सकिने हुनाले समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइमा प्रगति भएर...