सी जीनपिङको भ्रमणबाट के उपलब्धि ? – Janata Live
  • Wednesday, October 28, 2020

सी जीनपिङको भ्रमणबाट के उपलब्धि ?

  • कृष्णमणि पराजुली
  • कार्तिक १६, २०७६

सी जीनपिङको भ्रमणबाट के उपलब्धि ?

हालै चीनिया राष्ट्रपति सी जीनपिङले भारतको भ्रमण गरी २ दिने नेपालको राजकीय भ्रमण समेत सम्पन्न गरी स्वदेश प्रस्थान गरीसक्नु भएको छ । चीनीया राष्ट्रपति जियान जमिनले सन् १९९६ मा नेपालको राजकीय भ्रमण गरे पश्चात कुनै पनि राष्ट्रपतिको भ्रमण हुन सकेको थिएन । २३ वर्ष पछि भएको यो भ्रमणले निश्चयनै उच्च प्राथमिकता पाउनुको साथै नेपाली जनतामा निकै खुसी पनि छाएको छ ।

यस अवधिमा नेपालका राष्ट्रपति, मन्त्रीहरु र उच्च पदाधिकारीबाट भ्रमण भएपनि चिनीया राष्ट्रपतिबाट भने भ्रमण हुन सकेको थिएन । नेपालमा राजनीति स्थायित्व नभएको र सुरक्षाको कारणले गर्दा पनि उच्च स्तरीय भ्रमण हुन नसकेको हुन सक्दछ । हाल दुई तिहाईको स्थायी सरकार भएको र बिद्रोही शक्ति पनि मूलधारमा आई सरकारमा सामेल भएको हुँदा दुई देशबीच सम्बन्ध सुधार गर्न सहज भएको कारणले गर्दा पनि यो भ्रमण सम्भव भएको भनी राजनीतिबृत्तमा खुबै चर्चा समेत हुन थालेको छ । नेपालले संघीय लोकतन्त्राक गणतन्त्रान्तीक शासन ब्यबस्था अपनाई आउनुको साथै हाल निर्बाचित बहुमतको स्थायी सरकार गठन भएको हुनाले पनि चीनिया सरकारलाई आर्थिक, सामाजिक तथा भौतिक रुपमा सहयोग गर्न सहज हुन गएको छ ।

नेपाल र चीन दुई छिमेकी देश भएका र परापूर्वकालदेखिनै सम्बन्ध जोडिदै आएपनि बितेका वर्षहरु चीनिया उच्च राजनीतिक तहबाट नेपालको भ्रमण हुन नसकेकोमा कता कता दुबै मित्र देशहरुले खल्लो अनुभव गर्दै आएका थिए । चीन बिशाल देश भएकोले यसको चौध ओटा छिमेकी देशहरुसँग सीमा जोडिएको छ । यी सबै देशहरुमा उच्च तहबाट भ्रमण भई सकेको र केवल नेपालमा मात्र भ्रमण हुन सकेको थिएन । तर, नेपालमा किन भ्रमण हुन सकेन भन्ने जुन जिज्ञासा थियो, अब त्यो जिज्ञासा मेटिएको छ ।

चीनिया राष्ट्रपतिको नेपालमा भ्रमण हुनु भनेकै नेपालको लागि ठूलो उपलब्धि हो । नेपालको आलोचना गर्नेहरुको लागि यो भ्रमणले मुखमा बुझो लगाई दिएको छ । विश्वको दोश्रो शक्तिसाली देशले सानो र अविकसित छिमेकी देश नेपालको भ्रमण गर्नुबाट चीनले साना छिमेकी देशसँग पनि राम्रो सम्बन्ध सम्बन्ध एवं मीत्रता कायम गर्दो रहेछ भन्ने सन्देश पनि प्रबाह हुन गएको छ । नेपाल चीन र भारत दुई ठूला छिमेकी शक्तिसाली देशको बीचमा रहेपनि यस प्रकारको चीनिया भ्रमण नेपालको लागि कोसे ढुंगानै हुन गएको छ ।

नेपाल दुई छिमेकी ठूला देशको बीचमा रहेर पनि आफू कतै नढल्किई सन्तुलित सम्बन्ध कायम गर्न सकेकोमा चीन भारत दुबै खुसीनै भएका छन् । चीनको टाउको दुखाई भएको तिब्बतको विषयमा नेपालले जहिले पनि तीब्बत चीनको आन्तरिक मामला हो भनेको छ र एक चीनको नीति पनि अबलम्बन गरी आएकै छ । त्यसै गरी ताईवानलाई एक अभिन्न अंगको रुपमा लिएको पनि छ । बारम्बार नेपालले चीनको बिरुद्धमा आफ्नो भूमि प्रयोग गर्न नदिने पनि बचन दिएको छ । यसरी नेपाल आफू सानै भएर पनि चीन जस्तो ठूलो र बिश्वमन्चमा शक्तिसाली रुपमा देखिएको चीनलाई एक प्रकारले गुन लगाएको देखिन्छ ।

नेपाल र चीन बीच लामो ईतिहास भएपनि हाल सम्म खासै ठूला समस्या देखिएका छैनन् र कुनै प्रकारको बैमनस्य तथा मनमुताब पनि छैनन् । नेपाललाई संकट परेको बेलामा उसले सहयोग पनि गरी आएकै छ । ०७२ सालको भूकम्पले क्षत बिक्षत बनाएको संरचना निर्माण र आपत्कालीन उद्धारको लागि चीनिया टोली नेपालमा आएर उद्धार कार्य गरेर धनजनको क्षति हुन बाट बचाएको थियो । एउटा छिमेकीलाई परेको संकटबाट उतार्न उसले नेपाललाई ठूलो गुन पनि लगाएको छ । यसरी नेपाल र चीनले परंपरादेखि कायम गरी आएको सम्बन्धलाई महामहिम राष्ट्रपति सि जीनपिङको राजकीय भ्रमणले दुई देशको मीत्रतालाई अझ झन् उचाईमा पुर्याएको छ ।

चीनसँगको सम्बन्धको चर्चा गर्दा दक्षिणमा रहेको छिमेकी देश भारतलाई पनि बिर्सनु हुँदैन । भारतले नेपाललाई तीन तीरबाट छेकेको हुँदा नेपाल जस्तो अविकसित देशको लागि भारत झनै महत्वपूर्ण रहेको छ । हाम्रो रोटीबेटीदेखि लिएर धर्म, संस्कृती, लवाई खुवाई, विवाह आदि जस्ता कुराहरु भारतसँग मिल्ने हुँदा भारतलाई अलग्याएर हामी बस्न सक्दैनौ । दक्षिणतीर खुल्ला सिमाना भएको र भूभाग पनि समथल भएकोले हाम्रा अधिकांश आयात निर्यात ब्यापार भारत बाटै हुंदै आएको छ । भारत तर्फ आवत जावत गर्न सजिलो भएको कारणले गर्दा पनि समय समयमा समस्या आईनै रहेका छन् । दुई देश बीच छलफल बाटै हल पनि भईनै रहेका छन् ।

सी जीनपिङको यो भ्रमणले नेपाललाई छिमेकी रुपमा मात्र नहेरी एउटै कोखबाट जन्मिएको कान्छो भाई सम्झेर माया पनि गरेको देखिन्छ । महामहिम राष्ट्रपतिको भ्रमणमा विभिन्न २० वटा समझदारी र सम्झौता भए । तिनीहरुको अध्ययन गर्दा यदि सांच्चीनै तिनीहरुको कार्यान्वयन हुने हो भने नेपालको विकासको कायापलटनै हुन जानेछ ।

चीनका राष्ट्रपति सि जीनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्ताबेजमा हस्ताक्षर गरेका थिए । यसरी राष्ट्र प्रमुखको उपस्थितिमा हस्ताक्षर भएका हुनाले आशा गरौं निश्चयनै तिनीहरुको सफल कार्यान्वयनबाट नेपालले अपेक्षित उपलब्धि हासिल गर्नेनै छ । हस्ताक्षर भई आदानप्रदान भएका दस्ताबेजहरुमा सीमा ब्यबस्थापन, शासन क्षमता अभिबृद्धी, आपराधिक गतिबिधि नियन्त्रण, पर्याबरण संरक्षण, लगानी तथा सहयोग अभिबृद्धि, महाबाणिज्य दूताबासको स्थापना र रेल परियोजनाको संभाब्यता अध्ययन छन् ।
अन्य बूँदाहरुमा भंगिनी सम्बन्ध स्थापना, परंपरागत औषधि उपचार विधि, दैवीप्रकोप नियन्त्रण, महान्यायाधिबक्ता कार्यालय बीच सहयोग स्थापना, कन्फ्युसियस अध्ययन प्रतिस्ठानको स्थापना, अमिला वर्गका फलफूल निर्यात सम्बन्धि दस्ताबेजका बूँदाहरु उल्लेख गरीएका छन् ।

यसरीनै बाँकी बँंदाहरुमा ब्यापार सम्बन्धि समझदारीपत्र, भूकम्प अनुगमन सञ्जाल परियोजना, लगानी सहयोग कार्यदलको गठन, सुरुङ् निर्माण सहयोग सम्बन्धि समझदारी, सीमा सुरक्षा सम्बन्धि उपकरण र काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति परियोजनाको सम्भाब्यता अध्ययन गर्ने भनी निर्णय भएका छन् । यसरी यी समझदारी एवँ सम्झौता कार्यान्वन भएको अवस्थामा नेपालले बिकास निर्माण कार्यमा निश्चयनै आशातित प्रगति गर्नेछ ।

सी जीनपिङको भ्रमणमा केरुङ् काठमाण्डु रेल सेवा संचालन हुने भनी ब्यापक रुपमा प्रचार भएपनि निर्माणको लागि आवश्यक हुने पूर्व संभाब्यता अध्ययन, संभाब्यता अध्ययन तथा बिस्तृत परियोजना प्रतिबेदन तयार भई नसकेको हुँदा निर्माण कार्य अघि बढाउन नसकिएको कुरा सिले नै आफ्नो संबोधनमा भन्नु भएको थियो । केरुङबाट काठमाडौं रेल ल्याउन जटिल कार्य भएपनि असंभव भने नभएको भनेर भन्नु भए बाट ढिलो चांडो उत्तरी छिमेकी देशबाट काठमाडौं सम्म रेल ल्याउने कुरा प्रष्ट भएको छ । उहाँले संबोधनको क्रममा यो पनि भन्नु भएको छकि हामीले जे भन्दछौ त्यो गरेर छोड्छौं । त्यसकारण चीनिया सरकारले रेल ल्याईदिने विषयमा नेपाली जनता ढुक्क हुने अबस्था श्रृजना भएकोेछ ।

बेला बेलामा भारतले नेपाललाई नाकाबन्दी लगाई आएका घटना बाट नेपाली जनताले खेप्नु परेका पीडालाई चीनिया सरकारले बुझी आएका पनि छ । ०७२ सालको नाकाबन्दीलाई सहज बनाउन चीनिया सरकारले यहि केरुङ् नाकालाई प्रयोग गरी पेट्रोलियम पदार्थ लगायत अन्य केही सामान्य ल्याएर नेपाली जनतालाई राहत पुर्याईएको पनि थियो र यातायातको असुबिधालाई मध्यनजर गरी तत्कालको समस्या केही हद सम्म हल भएको पनि थियो । अहिले समय अलि भिन्न छ । भारतले पनि नेपाललाई लगाएको नाकाबन्दी गलत भएको महसुस गरेको हुनालेनै अहिले भारतले नेपाललाई सहयोग गरी आएको छ । उदाहरणको रुपमा पेट्रोलिम पाईपलाईन र रेल सेवाका कार्यहरु भईनै रहेका छन् ।

अन्त्यमा,
नेपालको अहिलेको आबश्यकता भनेको रेल सेवा भन्दा पनि सडक सेवानै हो । केरुङ् देखि काठमाडौं सम्म सडक संचालनमा ल्याउन करीव तीन वर्ष लाग्ने अनुमान रहेकोछ भने निश्चयनै रेल निर्माण निकैनै समयजन्य हुनेछ र लागत पनि बढिनै लाग्नेछ । यस अवस्थामा नेपालको आवश्यकता भनेको जतिसक्यो छिटो सडक निर्माण गर्नुनै हो । यो सडक निर्माण चीनिया सरकारको अनुदानमा हुने भएकोले नेपाललाई ऋणभार पनि बहन गर्नु पर्ने देखिदैन । अर्को तर्फ यो केरुङ् काठमाडौं सडकले नेपालको लागि मात्र फाईदा दिने होईनकी चीनलाई पनि उसको देशमा उत्पादित बस्तु तथा सामान कम लगानीमा नेपाल आई पुग्ने हुंदा दुबै देशलाई फाईदानै हुनेछ ।
(लेखकः नेपाल सरकारका पूर्व उपसचिव हुन्)

Loading...
Loading...
Loading...

कोरोना संक्रमित भएर घरमै बसिरहनु भएको छ ? के गर्ने र के नगर्ने ?

केहि दिन यता कोरोना संक्रमित बिशेष गरेर सामान्य वा लक्षण नभएकाहरुलाई घरमा नै बस्ने नीति सरकारले लिएको देखिन्छ । संक्रमितहरुको...