उपनिर्वाचनका लागि दुई दलले गरे उम्मेदवारको नाम सिफारिस – Janata Live
  • Tuesday, March 28, 2023

उपनिर्वाचनका लागि दुई दलले गरे उम्मेदवारको नाम सिफारिस

  • जनता लाइभ
  • कार्तिक ०६, २०७६

उपनिर्वाचनका लागि दुई दलले गरे उम्मेदवारको नाम सिफारिस

बागलुङ । आउँदो मङ्सिर १४ गते जिल्लाको क्षेत्र नं २ (ख) मा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाले सम्भावित उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने अझै उम्मेदवार सिफारिस गर्न सकेको छैन । नेपाली काङ्ग्रेसले महाधिवेशन प्रतिनिधि जीतबहादुर शेरचन, क्षेत्रीय सभापति दोर्ण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्तीको नाम सिफारिस गरेको हो।

क्षेत्रीय समितिबाट आएको नामावलीलाई अनुमोदन गरेर पार्टी केन्द्रमा पठाइएको नेपाली काङ्ग्रेस बागलुङका सभापति दीपेन्द्र थापामगरले बताउनुभयो । “सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छौँ”, उहाँले भन्नुभयो, “उम्मेदवारको अन्तिम टुङ्गो पार्टी केन्द्रले नै लगाउँछ ।”

तीन जनाको नाम सिफारिस गर्नुपर्ने भए पनि आकाङ्क्षी बढी भएपछि काङ्ग्रेसले चार जनाको नाम पठाएको छ। पहिलो नम्बरमा सिफारिस हुनुभएका शेरचन यसअघिको निर्वाचनमा समेत उम्मेदवार हुनुहुन्थ्यो। शेरचन तत्कालीन वाम गठबन्धनबाट विजयी बन्नुभएका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसँग पराजित हुनुभएको थियो।

प्रदेशसभा सदस्य घर्तीको गत वर्ष स्वास्थ्य समस्याका कारण निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । आफ्नै उम्मेदवारले जितेको क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले पनि सम्भावित तीन जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको जिल्ला समिति बैठकले स्वर्गीय प्रदेशसभा सदस्य घर्तीकी पत्नी सुनमाया घर्ती, जिल्ला उपाध्यक्ष धर्मबहादुर कुँवर र जिल्ला सदस्य खिमविक्रम शाहीको नाम सिफारिस गरेको हो। उम्मेदवारको अन्तिम निर्णय पार्टीको केन्द्रीय संसदीय बोर्डले गर्ने राजमोले जनाएको छ।

नेकपाले भने उम्मेदवारबारे बुधबार बस्ने जिल्ला समिति बैठकमा छलफल हुने जनाएको छ। “यही कात्तिक १० गतेभित्रै उम्मेदवारको सिफारिस पठाउन केन्द्रले समयसीमा तोकेको छ”, नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे ‘अनिल’ले भन्नुभयो, “स्थानीय तहको पार्टी संयन्त्रसँगको छलफल र सुझाव लिएर नामावली पठाउँछौँ ।”

नेकपा केन्द्रले एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ। नेकपाबाट उम्मदेवारमा तुलसीराम अर्याल र मोहनलाल रेग्मीको नाम बढी चर्चामा छ । दुवै नेकपाका पुराना नेता हुन्।

जिल्लामा क्रियाशील अन्य दलले पनि उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक गृहकार्य थालेका छन्। उम्मेदवारको निर्णय भएपछि चुनावी अभियानलाई तीव्र बनाउने तयारीमा दलहरु छन्। निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति यही कात्तिक २१ गतेलाई तोकेको छ।

प्रदेशसभा सदस्यसँगै जिल्लाको बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। वडाध्यक्षमा निर्वाचित विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त वडामा पनि उपनिर्वाचन हुन लागेको हो।

गत निर्वाचनमा वाम गठबन्धन बनाएर लडेका नेकपा र राष्ट्रिय जनमोर्चाबीच उपनिर्वाचनमा तालमेल हुनेरनहुने निश्चित छैन। राष्ट्रिय जनमोर्चाले मङ्गलबार नै नेकपालाई चुनावी एकताका लागि प्रस्ताव गरेको छ।

विसं २०७४ को प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमार्चाबीच गठबन्धन बनेको थियो। गठबन्धन बनेपछि जिल्लाका सबै निर्वाचन क्षेत्रमा वाम दलले विजय हासिल गरेका थिए।

प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा एमाले, दुईमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो। यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ (क) मा एमाले, (ख) मा राष्ट्रिय जनमोर्चा, क्षेत्र नं २ (क) माओवादी केन्द्र र (ख) राष्ट्रिय जनमोर्चाले पाएको थियो। उपनिर्वाचनका लागि ३६ हजार ९२६ मतदाताको नामावली टुङ्गिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...