विरोधबीच मेडिकल काउन्सिलले बढायो एमबिबिएस सिट संख्या

काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी चौतर्फी विवाद कायम रहेकै वेला नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरूको सिट संख्या बढाएको छ ।
काउन्सिलले आइतबार दुई प्रतिष्ठानसहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजका लागि एमबिबिएस र बिडिएसको सिट संख्या निर्धारण गरेको हो ।
काठमाडौं स्कुल अफ मेडिसिन धुलिखेलको एमबिबिएस सिट संख्या बढाएर ८५ पु-याइएको छ । गत वर्षसम्म धुलिखेलको सिट संख्या ७५ थियो । त्यसैगरी, देवदह मेडिकल कलेजको पनि १० सिट बढाइएको छ । गत वर्ष ४० सिट दिइएको देवदहलाई यस वर्ष ५० सिट दिएको काउन्सिलले जनाएको छ ।
दुई मेडिकल कलेजबाहेक अरूको सिट नबढेको काउन्सिलका एक सदस्यले नयाँ पत्रिकालाई बताए । अन्य मेडिकल कलेजहरूका लागि गत वर्षकै सिट संख्या निर्धारण गरिएको उनको भनाइ छ ।
पछिल्लो समय चिकित्सा शिक्षा आयोगले एमबिबिएसमा करिब दुई लाख र बिडिएसतर्फ एक लाख रुपैयाँ शुल्क वृद्धि गरेको थियो । तर, वृद्धि भएको शुल्क पनि कम भएको भन्दै कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना नगर्ने बताएका छन् । आयोगले पूर्णता नपाई शुल्कवृद्धि गरेर मेडिकल कलेज सञ्चालकको स्वार्थमा काम गरेको भन्दै चिकित्सा शिक्षा सुधार अभियन्ता डा। गोविन्द केसीले विरोध गरेका छन् ।
त्यस्तै, मेडिकल कलेजले तोकिएभन्दा बढी असुलिएको शुल्क फिर्ता नगरेपछि विद्यार्थीहरू पनि आन्दोलित छन् । यस्तो अवस्थामा आयोगकै आग्रहमा आगामी शैक्षिक सत्रका लागि काउन्सिलले मेडिकल कलेजको सिट बढाएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरूको सिट संख्या भने तोकिएको छैन । काउन्सिलिङ समेत नभएका कारण त्रिविअन्तर्गतका मेडिकल कलेजहरूको सिट निर्धारण नभएको बताइउको छ । विवाद नभएका मेडिकल कलेजहरूको सिट निर्धारण गर्ने र विवाद भएका कलेजको मात्रै रोक्ने विषयमा पटक पटक त्रिवि र काउन्सिलबीच छलफल भएको थियो ।
कसलाई कति सिट ?
बिपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान धरान– एमबिबिएस १००, बिडिएस ५०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान– एमबिबिएस ६५
काठमाडौं स्कुल अफ मेडिसिन
धुलिखेल – एमबिबिएस ८५, बिडिएस ५०
नोबेल मेडिकल कलेज विराटनगर – एमबिबिएस १००, बिडिएस ३५
विराट मेडिकल कलेज विराटनगर – एमबिबिएस ७५
काठमाडौं मेडिकल कलेज
सिनामंगल – एमबिबिएस १००, बिडिएस ५०
नेपाल मेडिकल कलेज जोरपाटी – एमबिबिएस १००, बिडिएस ५०
कलेज अफ मेडिकल साइन्सेज
चितवन – एमबिबिएस १००, बिडिएस ५०
लुम्बिनी मेडिकल कलेज – एमबिबिएस १००
नेपालगन्ज मेडिकल कलेज – एमबिबिएस १००
मणिपाल मेडिकल कलेज – एमबिबिएस १००
देवदह मेडिकल कलेज – एमबिबिएस ५०
कान्तिपुर डेन्टल कलेज – बिडिएस ५०
(नयाँ पत्रिका दैनिकबाट)