ठप्प भएको १० महिनापछि मेलम्चीको काम शुरु हुँदै

काठमाडौं । १० महिनादेखि ठप्प मेलम्ची खानेपानी आयोजनाको बाँकी काम दुई साताभित्रमा शुरु हुने भएको छ ।
चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङ फिनिसिङ र हेडबक्स निर्माणको ठेक्का पाएसँगै आयोजनाको काम शुरु हुन लागेको हो । गत २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छाडेको थियो । त्यसयता आयोजनाको काम ठप्प बनेको थियो ।
मेलम्ची विकास समिति र सिनो हाइड्रोबीच १२ असोजमा सुरुङ फिनिसिङका लागि ठेक्का सम्झौता भएको थियो । १२ महिनामा सुरुङ फिनिसिङको काम सक्ने गरी सम्झौता भएको छ । सुरुङ फिनिसिङका लागि सिनो हाइड्रोले ८५ करोड एक लाख ९४ हजार चार सय ५८ रुपैयाँमा लिएको थियो ।
यस्तै, गत शुक्रबार समिति र सिनो हाइड्रोबीच हेडबक्स निर्माणको ठेक्का सम्झौता भएपछि आयोजनाको काम शुरु हुन लागेको आयोजना प्रमुख तिरेसप्रसाद खत्रीले जानकारी दिए । उनका अनुसार अबको १५ दिनभित्र काम शुरु हुनेछ । सिनो हाइड्रोले हेडबक्स निर्माणको ठेक्का एक अर्ब दुई करोडमा लिएको छ । हेडबक्स निर्माणको काम १५ महिनामा सक्ने गरी सम्झौता भएको हो ।
दुवै ठेक्कामा बोनस र फाइन
सिनो हाइड्रोले ठेक्का सम्झौताअघि नै काम सके बोनस पाउने भएको छ । यस्तै, समयमै काम सम्पन्न नगरे क्षतिपूर्ति तिर्नुपर्नेछ । समितिसँगको सम्झौताअनुसार साढे ६ महिनामै सुरुङ फिनिसिङको काम सके सिनो हाइड्रोले दैनिक ठेक्का रकमको ०.१५ प्रतिशत अर्थात् १२ लाख ७५ हजार बोनस पाउनेछ । तर, ठेक्का सम्झौताको अवधि १२ महिनासम्म पनि काम नसके सिनो हाइड्रोले फाइन तिर्नुपर्ने खत्रीले जानकारी दिए ।
‘सम्झौता अवधिभन्दा अघि काम सके दैनिक ०.१५ प्रतिशत बोनस पाउने र ढिला भए दैनिक त्यति नै दरमा फाइन तिर्नुपर्ने सम्झौता भएको छ,’ खत्रीले भने । हेडबक्स निर्माणको ठेक्का समेत बोनस र फाइनको व्यवस्था गरिएको छ ।
सरकारले चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रममार्फत गरिसकेको छ । चाँडो काम सके बोनस दिने र ढिलो गरे फाइन तिर्ने गरी सम्झौता भएको हो ।
ठेकेदार कम्पनी आयोजनास्थलमा
ठेक्का सम्झौता भएलगत्तै निर्माण कम्पनी सिनो हाइड्रो आयोजनास्थल पुगेको छ । ‘अहिले निर्माण कम्पनी आयोजनास्थल पुगिसकेको छ,’ खत्रीले भने, ‘आवश्यक तयारी थालेको छ । अब बढीमा १५ दिनपछि काम शुरु हुन्छ ।’ कम्पनीले अहिले उपकरण तयार गर्ने, साइट व्यवस्थापन गर्ने र जनशक्ति जुटाउने काम गरिरहेको आयोजनाले जनाएको छ ।
के–के काम बाँकी छन ?
सिनो हाइड्रोले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायत काम गर्नुपर्नेछ । त्यसका लागि भेन्टिलेसन बनाउने, पाइप आपूर्ति र जडानको काम गरिरहेका ठेकेदारसँग समन्वय गर्नुपर्ने आयोजनाले जनाएको छ ।
हेडबक्सतर्फ पानी थुन्ने इन्टेकको संरचना, पहुँचमार्ग स्तरोन्नति बफर ड्यामको डिजाइन र निर्माण, क्याम्पसाइट मर्मतलगायत काम गर्नुपर्नेछ । आयोजनाका अनुसार हेडबक्सको ठेक्का पाउनेले सोझै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडानको ठेक्का पाउने ठेकेदारसँग समन्वय गर्नुपर्नेछ । यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...