‘हत्या उद्योग’ मा नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी – Janata Live
  • Sunday, April 2, 2023

‘हत्या उद्योग’ मा नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी

  • जनता लाइभ
  • असोज ३०, २०७६

‘हत्या उद्योग’ मा नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी

काठमाडौं । नेकपा सांसद पार्वत गुरुङलाई ‘ज्यान मार्ने उद्योग’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको तथ्य बाहिरिएको छ ।

मुद्दा दर्ता भएको एक वर्षपछि पक्राउ पुर्जी (वारेन्ट) जारी भएको रहस्य खुलेको हो । गुरुङलाई पक्राउ पुर्जीको म्याद समेत बुझाइएको छ । जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी दोलखा जिल्ला अदालतमा पठाएपछि गुरुङलाई थमाइएको हो ।

वीरध्वज खड्काको जाहेरीले नेपाल सरकार वादी भएको उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गुरुङसहित सात जनाविरुद्ध ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । अभियोग पत्रमा गुरुङ फरार रहेको भन्दै पक्राउ पुर्जी जारी गर्न मागसहित सरकारी वकिलले ०७५ सालमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले पार्वत गुरुङ नामका व्यक्तिलाई अदालतबाट ०७५ सालमै पक्राउ पुर्जी जारी भएको बताउँदै सांसद नै रहेरनरहेको विषयमा आफूले यकिन गर्न नसक्ने जानकारी दिए ।

‘यो एक वर्ष पुरानो मुद्दा रहेछ । त्यतिबेलै पुर्जी जारी भए जस्तो लाग्छ । फाइल नहेरी सबै भन्न सकिने अवस्था छैन,’ श्रेस्तेदार श्रेष्ठले भने, ‘फरार देखाएर ज्यान मार्ने उद्योगमा अभियोगपत्र दर्ता भएको रहेछ । पार्वत गुरुङ भन्ने व्यक्तिका नाममा पुर्जी जारी भएको देखिन्छ । मुद्दा दर्ता भएपछि सुनुवाइकै क्रममा प्रक्रियाअनुसार पक्राउ पुर्जी जारी हुन्छ ।’

श्रेष्ठले अभियोगपत्रमा गुरुङको वतन र बाबुको नाम उल्लेख हुने भएकाले हेरेपछि यकिन हुने उनले बताए । उक्त मुद्दाका प्रतिवादीलाई आरोप पुष्टि भए मुलुकी फौजदारी संहिताको दफा १८३ (२) मा ज्यानमार्ने उद्योगमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पक्राउ पुर्जीमा दोलखा जिल्ला गौरीशंकर नगरपालिका–५ उल्लेख छ । उक्त मुद्दामा गुरुङसहित मीनबहादुर तामाङ, कारसाङ भनिने कर्ण तामाङ, जीवन तामाङ, उर्मिला धामी, सागर तामाङ र सविन तामाङलाई प्रतिवादी बनाइएको छ ।

जिल्ला अदालत काठमाडौंको मुद्दा दर्ता शाखाका अधिकृत टीकासिंह खत्रीले संहिताको व्यवस्थाअनुसार तीन वर्षभन्दा बढी सजाय हुन सक्ने ‘केस’ मा फरारको हकमा ३५ दिने पक्राउ पुर्जी जारी हुने बताए । ‘यो अभियुक्तलाई हाजिर गराउन रीतबमोजिम जारी भएको पक्राउ पुर्जी नै हो,’ खत्रीले भने ।

स्थानीय तहको निर्वाचन क्रममा गौरीशंकर गाउँपालिका–२, जुँगुका कुलबहादुर तामाङको हत्याको केससँग जोडेर राजनीतिक प्रतिशोध साँध्न जाहेरी हालिएको गुरुङले बताए । ०७४ वैशाख २६ गते राति तत्कालीन नेकपा माओवादी र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा ३३ वर्षीय तामाङको मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार जाहेरवाला पूर्व माओवादी कार्यकर्ता हुन् । सांसद गुरुङले आफूलाई पक्राउ पुर्जी नभई अदालतमा हाजिर हुन म्याद जारी भएको बताए ।

उनले अदालतको सम्मानका लागि हाजिर हुने जानकारी दिए । ‘मेराविरुद्ध त्यतिबेला तत्कालीन माओवादी कार्यकर्ताबाट राजनीतिक प्रतिशोध राखेर जाहेरी दिने काम गरियो । सत्ता र शक्तिको आडमा जाहेरी हाल्ने काम भएको हो,’ गुरुङले भने, ‘म त्यतिबेला दाङमा थिएँ । यो कुरा मैले तत्कालीन सभामुख ओनसरी घर्तीलाई पनि फोनबाट भनेको हुँ । राजनीतिक प्रोपोगान्डा गराइएको छ । म निर्दोष छु । अदालतमा गएर प्रतिवाद गर्छु ।’

उनले प्रहरी प्रभाग गौशालामा जाहेरी नलिएपछि सांसदको परिचय लुकाएर अर्को ठाउँमा जाहेरी हालिएको पनि बताए । सांसदलाई पक्राउ गर्नुपरेमा व्यवस्थापिका संसद् सचिवालयमा जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर मात्र गुरुङलाई पक्राउ गरी अदालतमा उपस्थित गराउने वा अभियुक्त आफैँ अदालतमा समर्पण गर्ने कानुनी विकल्प छ । त्यसपछि मात्र थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउने वा धरौटी र साधारण तारेखमा राख्ने भन्ने विषयमा अदालतमा बहस हुनेछ । अन्नपूर्ण पोष्टबाट

Loading...
Loading...
Loading...