‘अब नेपाल भूपरिवेष्ठित रहन्न’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता उद्घोष गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा उनले यसका लागि दीर्घकालीन र तत्कालका योजनाहरू अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । होटेल सोल्टीमा भएको रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत मन्तव्यपछि सीले ‘नमस्ते’ भन्दै सम्बोधन गरेका थिए ।
‘मैले चिनियाँ भाषामा लेखेको ‘नमस्ते’ राम्रोसँग भन्न जानिनँ होला, सुनिएन होला,’ उनले भने, ‘नेपाल र चीनबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको छ ।’ राष्ट्रपति सीले चीनको सहयोगमा केरुङ–काठमाडौं सुरुङ मार्ग र रेल मार्गसम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्दै आइतबार प्रधानमन्त्री केपी ओलीसँग हुने दुईपक्षीय छलफलमा यसबारेमा थप स्पष्टता आउने पनि बताए ।
हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार पनि अर्को पाटोको रूपमा हामीले व्याख्या गर्न सक्छौं भन्दै यसबाट दुवै मुलुक लाभान्वित हुने उनको धारणा थियो । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६५ वर्षसम्म कुनै समस्या नभएको बताउँदै उनले भने, ‘शरद ऋतुमा नेपालमा सयौं फूल फुलेका छन् । यही मौसममा म पहिलो पटक काठमाडौंमा छु । यहाँ राजनीतिक स्थायित्व छ । पुराना र नयाँ मित्रहरू भेट्दैछु । म हर्षित छु र आशा जागेको छ ।’
उनले सुविधाजनक र रणनीतिक सहकार्य, रेलमार्ग, अरनिको राजमार्गको विकास, सुरुङदेखि सडकमार्ग हुँदै काठमाडौं जोड्ने योजनालगायतले आफू खुशी भएको पनि बताए । उनले हिमालय वारिपारी रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अघि बढाउने पनि बताए । अधिकतम नाका र पुराना सडकको स्तरोन्नतिमा जोड दिने पनि उनले बताए ।
यसले दुई मुलुकका जनताबीचको सहकार्य बढ्ने पनि बताए । नेपाली नेताहरू सहकार्य गरेर यहाँसम्म आइपुगेको सुनाउँदै दुई मुलुक मिलेर सम्बन्धको नयाँ खाका कोर्ने काम भएको पनि उनले बताए ।
‘दुवै मुुलुकका नेताहरू मिलेर बनाएको योजना पूरा गरौं । चीनमा पनि हामीले यस्तै गर्दै आएका छौं,’ उनले भने । उनले राष्ट्रपति भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएको समेत जानकारी दिए ।
सीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अधिकतम सहयोग गर्ने र चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा निस्कन उत्प्रेरित गर्ने बताए । साथै जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्ने धारणा पनि सीको थियो ।
रात्रिभोजमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताले केरुङ–काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको हेर्न चाहेको बताइन् । नेपाली जनताको यो चाहना छिट्टै पूरा हुने आशा समेत उनले व्यक्त गरिन् । उनले नेपालमा चिनियाँ लगानी बढाउन आग्रह गर्दै लगानीको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको धारणा पनि बताइन् ।
राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूभाग कुनै पनि छिमेकी मुलुकविरुद्ध उपयोग हुन नदिने स्पष्ट पारिन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउन चीनको सहयोग आवश्यक रहेको बताउँदै भण्डारीले भनिन्, ‘नेपाल–चीन सम्बन्ध सागरझैं गहिरो र सगरमाथा जस्तै उच्च छ ।’
पञ्चशीलमा आधारित दुई देशको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताउँदै उनले बताइन् । ‘पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ,’ उनले भनिन् ।
रात्रिभोजमा प्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्रीहरू, प्रमुख प्रतिपक्ष दलका नेता, संवैधानिक निकायका प्रमुख, उद्यमी तथा सरकार उच्च अधिकारी उपस्थित थिए । यसअघि चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग राष्ट्रपतिभवन शीतलनिवासमा भेटवार्ता गरेका थिए । त्यहाँ पनि उनीहरूले आआफ्ना धारणा राखेका थिए ।
यो भेट वार्तामा भने उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, अन्य मन्त्री तथा सचिवको उपस्थिति थियो । चीनका तर्फबाट सीसँग विदेशमन्त्री र अन्य उच्च नेतृत्वको सहभागी थियो ।
त्यहाँ पनि सीले नेपाल र चीनबीच आपसी सम्मान र विश्वास उचाइमा लग्दै सहकार्य अघि बढाउन चीनले चाहेको धारण व्यक्त गरेका थिए । उनले राष्ट्रपति भण्डारीसँगको दुईपक्षीय भेटवार्तामा ‘हिमाल झैँ अटल रहेको हाम्रो सम्बन्धको बलियो स्तम्भ पनि हिमाल नै रहेको’ बताउँदै नेपालको विकास कार्यमा चीन सहयोगी बन्ने धारणा व्यक्त गरेका थिए ।
शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तका आधारमा दुवै मुलुक सफलतापूर्वक अघि बढेको भन्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति सीले सुन्दर मुलुक नेपालमा दिइएको न्यानो आतिथ्य र सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको राजनीतिक स्थायित्व र विकास चीनको चाहना रहेको बताए । उनले सहकार्यमा नै विकास अघि बढ्ने भन्दै यसमा नेपालको प्राथमिकतामा अडेर सहयोग र लगानी गर्न चीन तयार रहेको धारणा भण्डारीसँग व्यक्त गरेका थिए ।
राष्ट्रपति सीले सबैको आआफ्नै प्रकारको चासो र प्राथमिकता हुने भन्दै दुवै मुलुकले एकअर्काको विषयलाई दृढताका साथ समर्थन गरिरहेको पनि बताए । भारतमा २३ घण्टा बिताएर काठमाडौं ओर्लेका सी होटेल पुगेर केही बेर आराम गरेलगत्तै समकक्षीसँग भेटवार्ताका लागि राष्ट्रपतिभवन पुगेका थिए। उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, अखण्डताको रक्षा गर्न र मुलुकको अवस्था अनुरूपमा विकास मार्ग अपनाउन नेपाललाई चीनले सधैँ साथ दिने र सहयोगी हात अघि बढाउने बताएको राष्ट्रपति कार्यालयमा वार्तामा रहेका नेपाली अधिकारीले उल्लेख गरेका छन् ।
नेपाल एक चीन नीतिमा देखाएको प्रतिबद्धताप्रति चिनियाँ राष्ट्रपतिले सह्राना गर्दै नेपालको उक्त दृढताको सम्मान चीनले सधैँ गर्ने बताए । चीनले अघि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० अन्तर्गतका परियोजना अघि बढ्दै गर्दा लगानी बढ्ने उनको धारणा थियो । चीनबाट दैनिक औसत आठ उडान हुने गरेको विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गर्दै उनले सहकार्यको माध्यम अनेक रहेको बताए ।
नेपाल–चीन सम्बन्ध सुख र दुःख दुवैमा रहेको पनि उनले उल्लेख गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि चीनले नेपाललाई गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने बताउँदे उनले भने, ‘चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिकाले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयासमा चीनले खुलेर साथ दिनेछ ।’
त्यसका लागि उनले रणनीतिक सञ्चार, व्यावहारिक सहयोग विस्तार, जनस्तरीय आदानप्रदानको व्यापकता र सुरक्षासम्बन्धी सहकार्यमा जोड दिए । चीनले राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवस्था अनुरूपमा विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको पनि बताए।
नेपाललाई साढे तीन अर्ब आरएमबी दिने
राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तारका लागि र नेपालीको जीवनस्तर उकास्न भन्दै सन् २०२० देखि २०२२ सम्मका लागि साढे तीन अर्ब आरएमबी सहयोग उपलब्ध गराउने बताएका छन् । सहयोगसम्बन्धी सहमति आइतबार विहान हुनेछ ।
वर्तमान सरकारले गरेको विकासका लागि शुभकामना दिँदै सम्बन्ध थप बलियो बनाएर अघि बढ्न सीले जोड दिएका छन् । उनले गरिबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव उपयोगी हुने बताएका थिए । हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने आश्वासन राष्ट्रपतिलाई दिएका थिए । चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको पनि बताएका थिए । चीनले नेपालको व्यापार असन्तुलनको विषयलाई पनि अध्ययन गरिरहेको जानकारी दिएका थिए ।
अन्नपूर्ण पोष्टबाट
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...