अनौठो रोग: दुब्लाउन मन लाग्ने  – Janata Live
  • Sunday, April 2, 2023

अनौठो रोग: दुब्लाउन मन लाग्ने 

  • गोपाल ढकाल
  • असोज २५, २०७६

अनौठो रोग: दुब्लाउन मन लाग्ने 

मोटाइएला कि भनी डराउने, डाइटिङ गर्ने र दुब्लाउने अनौठो रोग विशेष गरी युवतीहरुमा देखिने गर्छ। यो पत्याउनै नसकिने खालको रोग हो। खासगरी, १३ देखि २० वर्षका युवतीमा यो रोग बढी पाइन्छ।

यस्ता युवती मोटाइएला भनेर डाइटिङ गर्छन्, मोटो बनिन्छ कि भन्ने ठूलो त्रास लिएर बस्छन्। उनीहरुको विस्तारै–विस्तारै तौल घट्दै जान्छ, शरीर दुब्लो–पातलो देखिन थाल्छ। बिरामी दुब्लो हुन्छ, बारम्बार ऐना हेर्ने गर्छ र आफू दुब्लो–पातलो भए पनि शरीर मोटो भएको अनुभव गर्छ। बिरामीले अझै खाना कम खाने, खाएको पनि बान्ता गरेर बाहिर निकाल्ने गर्छ। बिरामीमा कूपोषणका लक्षणहरु देखिन थाल्छन्।

पातलो शरीर, शरीरमा पानीको भाग कमी तथा अन्य भिटामिन, प्रोटिन लवण आदि तत्वको कमी हुन थाल्छ। बेलैमा होस नपुर्याउने हो भने बिरामीको मृत्यु पनि हुन सक्छ। यो रोगले महिनावारी गडवडी हुने समस्या पनि निम्त्याउँछ। तर, यो रोग लागेको हो भनेर पत्ता लगाउन भने गाह्रो छ।

केही बिरामी खानेकुरा अनियन्त्रित तरिकाले खाने खालका पनि हुन्छन्। खाना खाइसकेपछि चाहिँ धेरै नै खाएँ भनेर चिन्ता लिन्छन्। अनि औँला मुखमा हालेर भए पनि बान्ता गर्नतिर लाग्छन्। यस्ता लक्षण बढी देखिएमा त्यसलाई ‘बुल्लेमिया नेभ्रोसा’ भनिन्छ। जसमा अत्याधिक भोक लाग्ने, अत्याधिक खाना खान मन लाग्ने, लुकीलुकी भए पनि खाने स्वभावसँगै एकै छिनमा धेरै खाएछु भन्ने ग्लानि हुन्छ। धेरै खाने कुरा खाएँ अब बान्ता गर्नुपर्छ, बा पखाला लगाउने औषधि खानुपर्छ भन्ने सोचाइ यस्ता बिरामीको मनमा आउँछ। दिशा गराउने औषधि बढी सेवन गर्न थाल्छन्।

खाने बानीमा हुने परिवर्तनले गर्दा बिरामीको शरीर कमजोर हुने, शरीरमा पौष्टिक तत्वको कमि हुने, कुपोषण हुने, दुब्लाउँदै जाने लक्षण देखिन्छ। यो रोग लागेका बिरामी डिप्रेसनबाट पनि पीडित हुन्छन्। चिन्ता लिइरहने, एक्लै बस्ते, नकारात्मक सोचाइ आइरहने हुन्छ। यस्ता धेरै बिरामीलाई रोग लागेको हो वा बानी नै यस्तै हो भन्ने थाहा हुँदैन। यो रोग पश्चिमा मुुलुकमा बढी पाइएको छ। लामो समय रहिरहने खालको यो रोगका बिरामीलाई औषधिको प्रयोग वा मनोवैज्ञानिक परामर्श तथा उपचारबाट निको पार्न भने सकिन्छ। (लेखकः मनोविद् हुन्)

Loading...
Loading...
Loading...