वडाध्यक्षको सिफारिसमा भारतीयलाई नागरिकता

लहान । एक जना भारतीय नागरिकले सिरहाको औरही गाउँपालिका–५ मा घर–ठेगाना कायम गरी नेपाली नागरिकता लिएको खुलेको छ ।
भारतको मधुवनी घर भएका महेन्द्र मुखियाले नेपाली नागरिकता लिएका हुन् । औरही–५ घर भई गोलबजार नगरपालिका–५ निपनिया बस्दै आएका ६० वर्षीय दुःखियालाल मुखिया र ५३ वर्षीया शिवरानीवती मुखियालाई नक्कली बाबु–आमा कायम गरी उनले नेपाली नागरिकता लिएको स्थानीयको भनाइ छ ।
मुखियादम्पतीलाई बाबुआमा कायम गरी १० असारमा महेन्द्र मुखिया र राजेन्द्र मुखियाले वडा कार्यालयबाट जन्मदर्ता बनाएका थिए । महेन्द्रले जन्म दर्ता गरेकै दिन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन् । महेन्द्रसँगै जन्मदर्ता बनाउने राजेन्द्रको भने पहिचान खुलेको छैन ।
नक्कली आमा बनेकी शिवरानीबतीले वडाध्यक्ष दिलीपकुमार यादव र सचिव विजयकुमार महतोको सेटिङमा रकमको लेनदेन गरी जन्मदर्ता बनाएको र त्यसकै आधारमा नेपाली नागरिकताको सिफारिस गरिएको छ । वडा कार्यालयको रजिस्टरमा महेन्द्रको जन्म मिति ४ वैशाख २०५४, दर्ता नम्बर १०१०२५ र राजेन्द्रको जन्म मिति २४ साउन २०५६ र द.नं. १०१०२६ उल्लेख छ ।
यसरी खुल्यो कीर्ते
वडा कार्यालयबाट जन्मदर्तासँगै नागरिकताको सिफारिस लिएर सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएका महेन्द्र भारतीय नागरिक रहेको स्थानीय परमेश्वर मुखिया बताउँछन् ।
शिवरानीबतीकै सनाखतमा नागरिकता बनाएको केही दिनमा कागजपत्र मिलाएर पुनः राहदानी बनाउन जिल्ला प्रशासन पुगेका महेन्द्रलाई फाँटवाला कर्मचारीले सोधखोज गर्दा उनले झुक्किएर भारतको मधुवनी घर बताएका थिए । त्यसपछि ‘बाबुलाई लिएर आउँछु’ भन्दै उनी फरार भएपछि कीर्ते धन्दा बाहिरिएको हो ।
गाउँमा कहिल्यै नदेखिएका व्यक्तिको जन्मदर्तासहितका कागजात बनाउँदा नेपाली नागरिकता भएका स्थानीय बासिन्दाले सर्जमिन मुचुल्का चाहिने भए पनि वडाध्यक्ष र सचिव ‘कार्यालयमा सेवाग्राहीको भिडभाडमा झुक्कियौँ’ भन्दै पन्छिएका छन् ।
‘सेवाग्राहीको कागजात बनाउने काम सचिवको हो, उनले जन्मदर्ता बनाई दिएपछि मैले नागरिकताको सिफारिस गरिदिएको हुँ’ वडाध्यक्ष यादवले भने, ‘किर्ते गरेर बनाएको जन्मदर्ताको आधारमा गैरनागरिकले नागरिकता लिएको थाहा पाएपछि जन्मदर्ता बदर गर्न निवेदन गरेका छौँ ।’ नयाँ पत्रिका दैनिकबाट