उपनिर्वाचनमा पुरुषभन्दा महिला मतदाता बढी

काठमाडौं । १४ मंसिरमा ५२ पदका लागि हुने उपनिर्वाचनमा पुरुषभन्दा महिला मतदाता धेरै छन् ।
निर्वाचन आयोगले चार लाख ५४ हजार एक सय १४ मतदाता कायम गरेकोमा पुरुष मतदाता दुई लाख २० हजार सात सय १० र महिला मतदाता दुई लाख ३३ हजार चार सय दुई छन् । पुरुषभन्दा महिला मतदाता संख्या १२ हजार ६ सय ९२ जना बढी रहेको आयोग प्रवक्ता गिरिजा शर्माले बताइन् ।
३७ जिल्लाका एक सय ५५ वडामा उपनिर्वाचन हुँदै छ । आयोगको बिहीबार बसेको बैठकले मतदाता संख्या कायम गर्दै अन्तिम मतदाता नामावली समेत स्वीकृत गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
अन्तिम मतदाता नामावली तयार गर्न आयोगले उपनिर्वाचन हुने सबै वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम १ देखि १० असोजसम्म मतदाता नामावली अध्यावधिक (दाबी बिरोध) कार्यक्रम सञ्चालन गरेको थियो ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कहाँ कति मतदाता ?
उपनिर्वाचन हुने प्रतिनिधिसभा सदस्यको एउटा सिट र प्रदेश सभा सदस्यका तीन सिटको पनि मतदाता संख्या छुट्टयाइएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ७१ हजार आठ सय ७१ मतदाता कायम भएका छन् ।
प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर १ (क) मा ४५ हजार १५, बाग्लुङ ३ (ख)मा ३६ हजार नौ सय २६ र दाङ ३ (ख) मा ७३ हजार एक सय ७२ मतदाता रहेको प्रवक्ता शर्माले बताइन् ।
दुई सय ४७ स्थानमा पाँच सय ३७ मतदान केन्द्र
आयोगले प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका प्रमुख तीन, गाउँपालिका उपप्रमुख एक र नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडा अध्यक्ष गरी ५२ पदका लागि हुने निर्वाचनका लागि पाँच सय ३७ मतदान केन्द्र कायम गरेको छ ।
आयोगले दुई सय ४७ स्थलमा पाँच सय ३७ मतदान केन्द्र राख्ने निर्णय गरेको हो । बढीमा एक हजार एक सय मतदाताका लागि एक मतदान केन्द्र रहने व्यवस्था गरिएको प्रवक्ता शर्माले बताइन् ।
आयोगले आठ सय वा सोभन्दा बढी मतदाता रहेका मतदान केन्द्र तीन सय ३७ र आठ सयभन्दा कम मतदाता रहेका मतदान केन्द्र दुई सय कायम गरेको छ । नयाँ पत्रिका दैनिकबाट
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...