के–के छन् चिनियाँ राष्ट्रपतिको भ्रमणका एजेन्डा ? – Janata Live
  • Saturday, April 1, 2023

के–के छन् चिनियाँ राष्ट्रपतिको भ्रमणका एजेन्डा ?

  • जनता लाइभ
  • असोज १७, २०७६

के–के छन् चिनियाँ राष्ट्रपतिको भ्रमणका एजेन्डा ?

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले तयारी तीव्र पारेको छ । राष्ट्रपति सी २५ असोज (१२ अक्टोबर) मा नेपाल आउने समयतालिकामा गृहकार्य भइरहेको छ ।

यसअघि २७ असोजमा आउने भनिए पनि पछिल्लो समय दुई दिनअघि नै आउने योजना बनेको छ । सरकारी निकायहरूले गोप्य रूपमा यसको तयारी गरिरहेका समाचार नयाँ पत्रिकामा छापिएको छ । भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीसँग सोझै समन्वय गरिरहेको स्रोतले जनाएको छ ।

‘सुरक्षा, सडकको व्यवस्था, बसोवासको प्रबन्धलगायत सबै विषयमा प्रधानमन्त्री ज्यूले नै प्रत्यक्ष समन्वय गरिरहनु भएको छ,’ जानकार स्रोतले भन्यो, ‘सम्बद्ध सबै निकायले प्रधानमन्त्रीसँगै समन्वय गरिरहेका छन् । अत्यन्त गोप्य रूपमा भ्रमणको तीव्र तयारी भइरहेको छ ।’

राष्ट्रपति सीको भ्रमणका क्रममा रेलमार्गदेखि ट्रान्समिसन लाइनसम्मका एजेन्डा तय भएका छन् । भौतिक पूर्वाधार, ऊर्जा तथा वाणिज्य मन्त्रालयले ती एजेन्डा अर्थ तथा परराष्ट्र मन्त्रालयलाई पठाइसकेका छन् । यद्यपि एजेन्डाबारे औपचारिक रूपमा सरकारी निकायबीच नै छलफल भएको छैन ।

नेपाल चीन समबन्धका जानकार पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले दूरगामी महत्वको रेलमार्गलाई नेपालले विशेष जोड दिनुपर्ने बताए । ‘केरुङबाट काठमाडौं मात्र होइन, लुम्बिनीसम्मको रेलमार्गमा जोड दिनुपर्छ जसले नेपाल दक्षिण एसिया र चीन जोड्ने पारवहन बिन्दु बन्न सक्छ, यो दीर्घकालीन रूपमा नेपाललाई फाइदाजनक छ,’ श्रेष्ठले भने ।

चिनियाँ राष्ट्रपति समक्ष नेपालले उठाउने मुद्दा

मुख्य चासो केरुङ–काठमाडौं रेलमार्गमा
राष्ट्रपति सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरेको छ । उच्च स्रोतका अनुसार यसबारे दुई मोडलमा छलफल भइरहेको छ । पहिलो, चीनले रेलमार्ग निर्माणको घोषणा गरिदिनु पर्ने । दोस्रो, नेपालले सांकेतिक रूपमा १० प्रतिशत सफ्ट लोन लिने र ९० प्रतिशत रकम चीनले अनुदानमा दिनुपर्ने ।

रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनका रेल्वे अधिकारीबीच वार्ता भइरहेको छ । सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आवश्यक लगानी चीनले नै गरिदिओस् भन्ने नेपालको चाहना व्यक्त भइसकेको छ ।

यसमा चीनसँग सहमति भइसकेको छैन । चीनले बराबरी रकममा अध्ययन गर्न प्रस्ताव गरेको छ । ‘डिपिआरको फाइनान्सिङ मोडालिटी (लगानी ढाँचा) टुंग्याउने र चिनियाँ सहयोगमा रेलमार्ग निर्माणको घोषणा हुने विश्वास छ,’ स्रोतले भन्यो ।

टोखा–छहरे सुरुङमार्ग निर्माण
यसअघि पनि चर्चामा रहेको टोखा–छहरे सुरुङमार्ग निर्माणबारे अझै कुनै तहको अध्ययन भएको छैन । यस सुरुङमार्गको सम्भाव्यता वा पूर्वसम्भाव्यता अध्ययन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिकतामा छ ।

‘तर, परराष्ट्र र अर्थ मन्त्रालयले बोलाएर छलफल नगराएसम्म भौतिक मन्त्रालयले तयारी गरेर मात्र कुनै अर्थ छैन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने । सडक विभागका अनुसार यो सुरुङ चारदेखि ६ किलोमिटर लम्बाइको हुने अनुमान छ । विभागमा चिनियाँ कम्पनीहरूले निर्माण गर्ने इच्छा पनि देखाएका छन् । तर, अझै प्रक्रिया अघि बढेको छैन । यो सुरुङ निर्माण भएमा काठमाडौंबाट नुवाकोट जोडिनेछ ।

पोखरा–कोरोला दुई लेनको सडक
नेपालले कोरोलामा सुक्खा बन्दरगाहसँगै पोखरादेखि कोरोला नाकासम्म दुई लेनको सडक निर्माणमा सहयोग गर्न समेत प्रस्ताव गर्ने भएको छ । खासगरी वाणिज्य मन्त्रालयले यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत आग्रह गर्ने भएको हो ।

‘कोरोला नाकालाई नेपाल–चीन व्यापारको एक प्रमुख नाकाका रूपमा विकास गर्ने विषयमा नेपाल र चीनको मतैक्य भएको सन्दर्भमा सो प्रयोजनका लागि भरपर्दो सडक सञ्जाल विकास गर्न आवश्यक छ,’ भौतिक पूर्वाधार मन्त्रालय स्रोतले भन्यो ।

व्यापार र लगानीका लागि स्थायी संयन्त्र
नेपाल–चीनबीच व्यापार तथा लगानीका मुद्दा सल्टाउन सचिवस्तरीय स्थायी संयन्त्रसमेत निर्माण गर्ने तयारी गरिएको छ ।

व्यापार र लगानीका लागि अन्तरसरकारी समिति निर्माण गर्न दुवै मुलुक सकारात्मक रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए । ‘भारतसँग रहेको आइजिसीजस्तै संयन्त्र चीनतर्फ समेत बनाउने प्रयास हो,’ उनले भने, ‘राष्ट्रपतिको भ्रमणमा यस्तो संयन्त्रण निर्माणको घोषणा समेत हुन सक्नेछ ।’

ऊर्जा सहकार्यसम्बन्धी फ्रेमवर्क सम्झौता
दुई मुलुकबीच ऊर्जा सहकार्यसम्बन्धी फ्रेमवर्क सम्झौता हुने एजेन्डासमेत तय गरिएको छ । ‘नेपाल–चीन ऊर्जा सहकार्यसम्बन्धी समझदारी कार्यान्वयन गर्न फ्रेमवर्क सम्झौताको विषयमा छलफल हुन सक्नेछ,’ ऊर्जा मन्त्रालयका सहसचिव (प्रवक्ता) प्रवीणराज अर्यालले बताए ।

‘ऊर्जा सहकार्यसम्बन्धी समझदारी कार्यान्वयनका लागि नेपाल–चीन ऊर्जा संयन्त्र गठन भई सचिव तथा प्राविधिक स्तरमा दुईवटा बैठकसमेत भइसकेको छ,’ उनले भने, ‘त्यसलाई अझ सक्रिय रूपमा अघि बढाउनबारे छलफल हुन सक्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको ७ देखि १० असार ०७५ मा भएको चीन भ्रमणका क्रममा ऊर्जामन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो ।

कोरोला नाकामा सुक्खा बन्दरगाह
राष्ट्रपति सीको नेपाल भ्रमणमा कोरोला नाकामा सुक्खा बन्दरगाह निर्माणको घोषणा हुने सम्भावना पनि छ । कोरोला नाकाको चीनतर्फमा व्यापार पूर्वाधार निर्माण भइसकेको छ । नेपालतर्फ भने कुनै संरचना बनेका छैनन् । वाणिज्य मन्त्रालयले चिनियाँ पक्षलाई कोरोला नाकामा सुक्खा बन्दरगाह निर्माणमा अनुदान सहयोगका लागि आग्रह गरेको थियो । यसमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।

नुवाकोट–रसुवागढी–केरुङ प्रसारणलाइन प्राथमिकतामा
नुवाकोटको रातामाटे–केरुङ प्रसारणलाइन आयोजना अघि बढाउन विभिन्न चरणमा नेपाल विद्युत् प्राधिकरण र स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाबीच छलफल भइसकेको छ । यस आयोजनाका लागि नेपालतर्फको भूभागमा लाइन निर्माणका लागि विद्युत् विकास विभागसँग अनुमति लिने, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट सर्वेक्षण अनुमति लिनेजस्ता काम सकिसकेको छ ।

विगतका वार्ताहरूमा उक्त प्रसारणलाइन बनाउने नेपालले जिटुजी (सरकार–सरकार सहकार्य) मोडल अपनाउन जोड गरिरहेको भए पनि चीनले भने व्यावसायिक मोडललाई प्राथमिकता दिइरहेको थियो ।

नेपालले उसलाई नेपाली भूभागमा पर्ने ७० किलोमिटरमा पनि अनुदानमा उक्त लाइन निर्माण गरिदिन आग्रह गर्दै आएको भए पनि यसबारे चीनले ठोस निर्णय दिइसकेको छैन । तिब्बतको ल्हासादेखि नुवाकोटको रातामाटेसम्म प्रसारणलाइनको कुल लम्बाइ झन्डै आठ सय ८० किलोमिटर हुन्छ ।

त्यस्तै, जलविद्युत् आयोजनामा लगानी गर्नका लागि यसअघिबाट नै दूधकोसी, फुकोट कर्णाली जस्ता चार जलविद्युत् आयोजना विकासका एजेन्डा समेत अघि बढाउने तयारी भइरहेको पनि मन्त्रालयसम्बद्ध एक कर्मचारीको भनाइ छ । तर, ऊर्जा क्षेत्रका जानकारहरू भने ऊर्जा, सडकलगायत क्षेत्रमा धेरै आयोजनामा छलफल गर्नुभन्दा रसुवागढी–केरुङ प्रसारणलाइन तथा रेलमार्गलाई ठोस एजेन्डाका रूपमा अघि बढाउँदा उपयुक्त हुने बताउँछन् ।

चिनियाँ विमानको परीक्षण उडान
राष्ट्रपति सी आउँदा करिब एक घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य कुनै उडान र अवतरण हुने छैन । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नोटाम जारी गरिने स्रोतले बताएको छ ।

विमानस्थलको धावनमार्ग, पार्किङलगायतबारे बुझ्न तथा परीक्षण उडानका लागि गत बुधबार नै राष्ट्रपति सी चढ्ने गरेको विमान काठमाडौं आएको थियो । बेइजिङबाट ६ घन्टाभन्दा बढी उडेर भारतको आकाश हुँदै चाइना एयरको बोइङ ७४७–८९ एल विमानले बुधबार काठमाडौंमा अवतरण गरेर उडानको पूर्वाभ्यास गरेको थियो । यही वा यही श्रेणीको अर्को विमानमा राष्ट्रपति सी नेपाल आउने छन् ।

तीन तहको सुरक्षा घेरा
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हाल्नेछ । पाँच अति विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी सेनाको हुने प्रचलनअनुसार सीको भ्रमणमा पनि नेपाली सेनाबाटै पिएसओ खटिने छन् । सेनाकै नेतृत्वमा सुरक्षा योजना बनिरहेको छ । यद्यपि, राष्ट्रपति सीको पहिलो सुरक्षा घेरामा भने चिनियाँ सेना नै हुनेछ ।

दोस्रो घेरामा नेपाली सेना, तेस्रोमा नेपाल प्रहरी र चौथोमा सशस्त्र प्रहरीले स्कर्टिङ गर्नेछन् । साथै, राष्ट्रिय अनुसन्धान विभाग पनि उनको सुरक्षामा खटिने छ । चारै सुरक्षा निकायबीच सीको भ्रमणको विषयलाई लिएर केन्द्रीय सुरक्षा समितिमा पटक पटक छलफल भइसकेको छ ।

रातारात टालिँदै छन् काठमाडौंका सडक
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंका मुख्य सडकको मर्मत कार्य तीव्र पारिएको छ । सडक विभागका अनुसार दशैंको टीकाअघि काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण मुख्य सडकको मर्मत सकिने छ ।

यसका लागि विभागले काठमाडौंमा मात्रै एक अर्बभन्दा धेरै रकम खर्च गर्नेछ । सो रकमबाट काठमाडौंमा ६० किमिभन्दा धेरै सडक मर्मत हुँदै छ । यद्यपि विभागका प्रवक्ता शिवहरि सापकोटाले राजधानीका सडक कलोपत्रे गरिनु र चिनियाँ राष्ट्रपति जिनपिङको भ्रमण हुनु संयोग मात्रै भएको बताए । मनसुन ढिलासम्म रहेकाले सडक मर्मतमा समय लागेको उनको बताए ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...