दशैं लागेसँगै इन्धनको माग ४५ प्रतिशतले बढ्यो – Janata Live
  • Monday, March 20, 2023

दशैं लागेसँगै इन्धनको माग ४५ प्रतिशतले बढ्यो

  • जनता लाइभ
  • असोज १७, २०७६

दशैं लागेसँगै इन्धनको माग ४५ प्रतिशतले बढ्यो

काठमाडौं । अत्यधिक मागसँगै आयल निगमले दशैंको बिदामा पनि इन्धन अभाव हुन नदिन डिपो खुला राख्ने भएको छ ।

आकस्मिक अभाव हुन सक्ने विषयलाई ध्यान दिएर दशैंंको बिदामा पनि डिपोमा तेल लोड–अनलोड गर्ने गरी कर्मचारी राख्ने निर्णय भएको निगमले जनाएको छ । दशैंं नजिकिँदै गर्दा उपत्यकालगायत देशभर इन्धनको माग ४५ प्रतिशतले बढेको छ ।

निगमको थानकोट डिपो प्रमुख विनीतमणि उपाध्यायका अनुसार पछिल्लो तीन दिनयता नियमितभन्दा ४५ प्रतिशत माग बढेको छ । ‘१२ गतेयता बिस्तारै इन्धनको माग बढ्न थालेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

आजभोलि त उच्च बिन्दुमा पुगेर दैनिक ८ लाख ५० हजार लिटर पेट्रोल र सोही परिमाणमा डिजेल बिक्री भइरहेको छ,’ उनले भने । काठमाडौंमा सामान्य अवस्थामा दैनिक ५ लाखदेखि ६ लाख लिटरसम्म पेट्रोल–डिजेल खपत हुने गरेको छ ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले चाडबाडमा इन्धनको अभाव हुन नदिन सबै संयन्त्र परिचालन गरेको बताए । ‘दशैंंलाई ध्यान दिएर इन्धनको आपूर्ति बढाइने छ, मागअनुसार दिन कुनै समस्या हुने छैन,’ उनले भने । निगमले १९ असोजसम्म देशभरका डिपोबाट पम्पमा इन्धन वितरण गर्नेछ । त्यसपछि २३ गतेबाट पूर्ण रूपमा डिपो खुल्नेछ ।

यसबीच बिदाको तीन दिन २०, २१, २२ मा आयल निगमले डिपो खुला राखे पनि नियमित वितरण गर्ने छैन । ‘बिदाको यो तीन दिनमा कतै आपूर्ति कम भएर माग आए डिपोले तेल दिन्छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘तेल लोड–अनलोड गर्न सक्ने गरी प्रत्येक डिपोमा कर्मचारी राखिने छन् ।’ उनका अनुसार १९ गतेबाट नियमित तेल वितरण नगर्ने गरी बन्द हुनुअघिसम्म देशभरका पेट्रोल पम्पलाई मौज्दात राख्न सक्ने तेल वितरण हुनेछ ।

‘बिदाको तीन दिनसम्मको माग धान्ने गरी पम्पलाई तेल दिन्छौँ, उनले भने, ‘त्यसले पुगेन भने डिपोबाट लैजान सक्ने सुविधा हुनेछ ।’ देशभरका पम्पको अन्डर ट्यांकीमा २०–२० हजार लिटरसम्म पेट्रोल–डिजेल भण्डारण गर्ने अन्डर ट्यांकी छन् । अन्डर ट्यांकीमा पूर्ण रूपले मौज्दात राखेको तेलले एउटा पम्पलाई ४–५ दिनसम्म वितरण गर्न पुग्छ ।

तर, सरकारी निकायबाट सञ्चालित केही पम्पले दैनिक १२–१२ हजार लिटरसम्म पेट्रोल, डिजेल वितरण गर्दै आएका छन् । यस्ता पम्पका अन्डर ट्यांकी पनि औसतमा २० हजार लिटरका छन् । त्यसैले बन्द भएको तीन दिनको मागलाई अन्डर ट्यांकीको मौज्दात परिमाणले धान्न नसक्ने देखेपछि निगमले सरकारी निकायका पम्पलाई १–१ वटा ट्यांकर नै राख्न सुझाब दिएको छ ।

‘धेरै तेल वितरण गर्ने पम्पलाई बिदाको समयमा एक–एक ट्यांकर तेल लगेर राख्न सुझाब दिएका छौं,’ गोइतले भने, ‘उनीहरूले माग गरे भने ट्यांकरसहित तेल दिन हामी तयार छौँ ।’ उनले निगमको सबै डिपोमा पर्याप्त भण्डारण रहेको र भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पनि नियमित रूपमा आयात भइरहने भएकाले जति माग बढे पनि आपूर्ति गर्न समस्या नभएको बताए ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...