‘मिटर ब्याजी’ श्याम परदेशी पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ आरोपी श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवार पुर्पक्षका लागि कारागार चलान भएका छन्।
सर्लाही जिल्ला अदालतले शुक्रबार साँझ कलवारलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। प्रहरीले कलवार विरुद्द ठगी, अपराधिक लाभलगायत मुद्दा दर्ता गरेको थियो।
जिल्ला प्रहरी कार्यालयको टोलीले कलवारलाई गत भदौ १५ गते साँझ मलंगवाबाट पक्राउ गरेको थियो। लालबन्दी नगरपालिका–४ निवासी रुकमिणी चौधरीले दिएको जाहेरीको आधारमा प्रहरीले कलवारलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही प्रकृया अगाडि बढाएको थियो।
प्रहरीका अनुसार साँढेचार लाख रुपैंया ऋण लिएको र ब्याज सहित पटक पटक गरेर नौलाख रुपैंया तिरिसक्दा समेत अझै १५ लाखको कागज रहेको भन्दै साहले आफू र श्रीमानलाई मुद्दा हाल्ने धम्की दिएको चौधरीको जाहेरीमा उल्लेख छ।
सयौँ जनाबाट चर्को मिटरब्याज असुलेर लाखौँ ठगी गरेको आरोप लागेका प्रदेशीविरुद्ध पीडितहरुले काठमाडौंमै पुगेर प्रदर्शन गरेका थिए।