वैवाहिक जीवनमा समझदारी

फरक–फरक सोचाइ, विचार, इच्छा, आकांक्षा भएका र संस्कारमा हुर्के बढेर आएका दुई व्यक्तिहरू जब वैवाहिक जीवनमा वाँधिन आइपुग्छन्, त्यसपछि उनीहरूको जीवनमा सानातिना जटिलता, अप्ठ्यारा पक्कै आउँछन् । उनीहरूलाई वैवाहिक जीवनमा समायोजन हुन गाह्रो हुन सक्छ । तर उनीहरू बीचको समझदारीले उनीहरूको लामो वैवाहिक जीवनमा सारथीको काम गर्छ । श्रीमान् श्रीमतीलाई एक रथका दुई पांग्रा मान्ने हो भने उनीहरूको वैवाहिक यात्रामा उनीहरू बीचको समझदारी नै उनीहरूलाई सही गन्तव्यमा पु¥याउने सारथी हुन्छ ।
हाम्रो समाजमा लोग्ने र स्वास्नी बीचको झगडा, खटपटलाई परालको आगोको रूपमा लिइन्छ र यसलाई त्यती महत्व दिइँदैन । पराल कै आगो भए पनि सहमति र समझदारीको वर्षा गराएर यसलाई समयमै निभाउन सकिएन र यसले अर्कै रूप लियो भने साँच्चै नै यसले पुरै वैवाहिक जीवन जलाएर तहस, नहस पार्न सक्छ ।
हाम्रो समाज दिनप्रतिदिन जटिल बन्दै गएको छ । पुरूष प्रधान समाजले महिला माथि दमन ग-यो, महिला माथि थिचोमिचो, अन्याय भयो भन्ने जस्ता गुनासाहरू उठ्न थालेका छन् । महिला अधिकारका नाराले नेपाली आकाश पनि गुन्जिएको छ । यस्तो अवस्थामा दम्पत्तीहरूबीच सहमतीको अभाव खड्किएमा ठूलो समस्या नआउला भन्न सकिँदैन ।
हाम्रो समाजमा श्रीमान् श्रीमतीबीच बढ्दै गएको खटपट, झै–झगडा तथा पारपाचुके जस्तो घटनाहरूले, वैवाहिक जीवनलाई सुखद बनाउन दुवै पक्ष सचेत हुनुपर्ने आवश्यकतालाई औल्याउँछ । एकअर्कामा विश्वासको कमी, एकले अर्कालाई आरोप, प्रत्यारोप लगाउनु, एकअर्काप्रति वफादार नहुनु, प्रेम तथा आत्मियता साटासाटगर्न नसक्नु तथा आपसी समझदारी नहुनु सबै किसिमका पारिवारिक कलहका कारणहरू हुन् ।
प्राय : महिलाहरू आफूलाई श्रीमान्ले माया नगरेको, घरपरिवारलाई समय नदिएको आफ्ना आवश्यकताहरू पुरा गर्न नसकेको आरोप लगाउँछन् । यो सबै हुनुको पछाडि आफ्नो श्रीमान अर्की आइमाइसँग सल्केको हुन सक्ने आशंका समेत गर्छन् । अर्कोतर्फ पुरुषहरू आफ्नी श्रीमती चोथाले सधैँ कचकच गर्ने, झगडिया, अलच्छिना घर गरेर खान नसक्ने जस्ता आरोप लगाउँछन् । साथै अर्कैसँग सल्केको हुनसक्ने शंका समेत गर्न पछिपर्दैनन् । यस्ता आरोप, प्रत्यारोप, आशंका आदिका पछाडि वास्तविकता भन्दा आपसी समझदारीको कमी नै प्रमुख कारण हुनसक्छ । यसतर्फ ध्यान पु-याउनु आवश्यक छ ।
कतिपय अवस्थामा भने, पुरुषप्रधान समाजले महिला प्रति हेर्ने दृष्टिकोण नै समस्याको कारण बन्न सक्छ । श्रीमतीलाई तह लगाएर राख्नुपर्छ । पोथी बासेको राम्रो होइन । घर परिवारका सबै कुरा उनीहरूसँग गर्नु हुँदैन भन्ने जस्ता कुराले महिलाहरूको भावना, चाहना माथि चोट पु-याउँछ । श्रीमतीको कुनै मूल्य नदेख्ने, उसलाई तल्लो स्तरमा राखेर हेर्ने, घरदन्दामा मात्र सिमित राख्ने, उसको कामको कुनै कदर नगर्ने जस्तो व्यवहारले महिलाहरूले आफूलाई दासीको रुपमा हेर्न थाल्छन् । यसले महिलाहरूमा आत्महिनता एवम् तनाव बढाउँछ ।
अर्को तर्फ महिलाहरूमा पनि आफ्नो श्रीमान्लाई पनि मुठ्ठीमा राख्नुपर्छ । रोएर, कराएर, रिसाएर जसरी भए पनि आफूले भनेको गराएरै छाड्नुपर्छ भन्ने जस्ता गलत धारणा पाइन्छ । विवाहपछि महिलाहरू आफ्नो श्रीमान्माथि आफ्नो मात्र हक भएजस्तो व्यवहार गर्न थाल्छन् । सिँगो घर परिवारप्रति पुरुषको ठूलो कर्तव्य र जिम्मेवारी हुन्छ भन्ने कुरालाई बिर्सन पुग्छन् । जसले गर्दा घर परिवारका अन्य सदस्यहरूसँग मनमुटावको स्थिति आउँछ साथै यसको पारिवारिक शान्ति र संरचनामा नै असर पु-याउँछ ।
महिलाहरू स्वभावले कोमल हृदय भएका हुन्छन् । सानो भन्दा सानो कुराले समेत उनीहरूको मनमा चोट पर्न सक्छ । विवाहपछि महिलाले श्रीमानको घरमा समायोजित भएर बस्नुपर्ने भएकाले विवाहपछि शुरुका दिनहरूमा आउन सक्ने समस्याहरूको निराकरणको लागि श्रीमान्ले नै विशेष ध्यान पु-याउनुपर्छ । पुरुषहरू घरायसी काम गर्न त्यती रुचाउँदैन् ,घरायसी काम गर्न नरुचाएकै कारण पनि कतिपय अवस्थामा श्रीमान् श्रीमतीबीच मनमुटाव भएको पाइन्छ । पुरुषहरू सानातिना काम भन्दा कठिन र बहादुरी काम गर्न रुचाउँछन् ।
आफ्नो बहादुरीको प्रशंसा गरेको सुन्न मन पराउँछन् । आफ्नी श्रीमती शुशील, नम्र होस्, आफूले भनेको कुरा स्वीकार गरोस् भन्ने सबै पुरुषको चाहना हुन्छ । यसको विपरीत श्रीमती रिसाहा, झगडागर्ने, मुखाले, भईदिँदा उसको अहं तथा आत्मसम्मान माथि चोट लाग्नजान्छ । श्रीमतीले आफ्नो श्रीमानलाई इख्याउन अर्को पुरुषको बहादुरीको प्रशंसा गर्दै बढाइ, चढाइ कुरा गर्ने गरेको तथा पुरुषले पनि आफ्नी श्रीमतीलाई चिड्याउन अर्की नारीको रुप र सुन्दरताको बखान गर्ने गरेको पाइन्छ । यसो गर्नाले एक आपसमा शंका तथा असमझदारी बढ्ने गर्छ ।
सफल दाम्पत्य जीवनको लागि यस्ता अनेकौँ कुरामा ध्यान पु-याउनुपर्छ । दाम्पत्य जीवनमा यौन सम्बन्धले पनि ठूलो महत्व राख्छ । दैनिक कार्य, व्यस्तता, आर्थिक समस्या, रोगव्याधी आदिका कारण घरपरिवारमा कहिलेकाहिँ भनेजस्तो नहुन सक्छ । सानो भन्दा सानो गल्ती, मनमुटाव, शंका, उपशंका र असमझदारीले सिँगो वैवाहिक जीवनलाई तहसनहस पार्न सक्छ । आगो आगो नै हो । चाहे आगो परालकै किन नहोस् । सबैका आ–आफ्नै कमी कमजोरीहरू गुण अवगुणहरू हुन्छन् । यस्ता कमी कमजोरी गुण, अवगुण तथा बानी व्यहोरालाई केलाएर एकले अर्कालाई दुःखी, निरास बनाउने, एकले अर्कालाई होच्याउने भन्दा प्रोत्साहन, सहयोग र सद्भाव आवश्यक छ ।
विवाहपछि एक दम्पतीले विगतलाई बिर्सिएर, आगामी जीवनका सबै आरोह अवरोहमा एक भएर आगाडि बढ्ने प्रतिज्ञा गर्नुपर्छ । जीवनका अनेकौँ मोडहरू हुन्छन् । ती मोडहरूमा दुवैलाई एक अर्काको साथ चाहिन्छ । एउटा मान्छे आफैँमा कहिले पनि पूर्ण हुँदैन । उसलाई पूर्ण बनाउने काम उसको श्रीमाने वा श्रीमतीले गर्नुपर्छ, चाहे युवा अवस्थामा होस वा चाहे वृद्ध अवस्थामा होस । दाम्पत्य जीवनको सुखद अनुभूतिका निम्ति एक अर्कामा समर्पण र समझदारी आवश्यक छ ।