२५ वर्षदेखि निरन्तर विद्यालयको अध्यक्ष – Janata Live
  • Saturday, April 1, 2023

२५ वर्षदेखि निरन्तर विद्यालयको अध्यक्ष

  • जनता लाइभ
  • असोज ०२, २०७६

२५ वर्षदेखि निरन्तर विद्यालयको अध्यक्ष

नौ महिनाको बाल्यावस्थामा पोलियो रोगले ग्रसित पासाङ तेम्बा लामा अहिले ५९ वर्षका भए । पोलियोका कारण खुट्टा लुला छन् । हिँडडुल गर्न कठिन हुन्छ उनलाई । यद्यपि, काममा भने सधैँ जागरुक छन् । हेलम्बु गाउँपालिकाको मेलम्ची घ्याङनिवासी पासाङ तेम्बा समुदायका लागि उदाहरणीय व्यक्ति हुन् । हालसम्म अविवाहित लामा सामाजिक काममा भने सबैलाई प्रेरणा दिइरहेका हुन्छन्

हेलम्बुमा रहेको मेलम्ची घ्याङ मावि जिल्लाको एक नमुना विद्यालय हो । पासाङ तेम्बा २५ वर्षदेखि यो माविको अध्यक्ष छन् । ०५१ देखि उनी विद्यालयको अध्यक्ष छन् । गाउँका सबैले सधैँ उनैलाई विद्यालयको अध्यक्ष चयन गर्दै आएका छन् । ‘म बुढो भएँ, अरूले नै जिम्मेवारी सम्हाले हुन्छ भनेर गुठियारसँग पटक–पटक कुरा राखेको हुँ,’ तेम्बाले भने, ‘तर, स्थानीय दाजुभाइले मलाई अध्यक्ष बनाउन छोडेनन् । अब चाहिँ बिस्तारै जिम्मेवारी त्याग्छु ।’

जिल्लाकै अब्बल विद्यालय
एक सय ६० घरधुरी आबद्ध मेलम्ची घ्याङ गुठीका कार्यवाहक अध्यक्षसमेत रहेका लामाले विद्यालयलाई जिल्लाभर चिनाएका छन् । विद्यालयमा हाल चार सय विद्यार्थी अध्ययन गर्छन् । सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाका विद्यार्थी पनि सो विद्यालयमा पढ्छन् । एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने मेलम्ची घ्याङ माविलाई यहाँसम्म ल्याउन अध्यक्ष लामा र प्रधानाध्यापक पूर्ण गौतमको महत्वपूर्ण योगदान छ । गौतम पनि २५ वर्षदेखि प्रधानाध्यापक छन् ।

हेलम्बुका कान्छाबाबु शेर्पा म्यानचेस्टर युनिभर्सिटीबाट सर्जिकल डाक्टर भएर अमेरिकामै काम गर्छन् । धेरै डाक्टर र इन्जिनियर भइसकेका छन् । उनीहरूले यही विद्यालयबाट एसएलसी गरेका हुन् । विद्यालयलाई कम्युनिटी एक्सन नेपाल युके, केटाकेटी संस्था बेल्जियम र कारितास नेपाल स्विट्जरल्यान्डले सहयोग गर्दै आएका छन् । लामाकै पहलमा दाताहरू विद्यालय आएका थिए ।

लामा आफैं पनि शिक्षक
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामा आफैँ पनि विद्यालयका शिक्षक हुन् । उनले वृद्धवृद्धा पढ्ने विद्यालय पनि स्थापना गरेका छन् । जहाँ उनी आफैँ बिहान १० देखि दिउँसो ४ बजेसम्म पढाउँछन् । खुट्टा लुला भएकाले उनी बसेरै पढाउँछन् ।

वृद्धवृद्धालाई पढाउन उनले शान्ति विद्यालय स्थापना गरेका छन् । शान्ति विद्यालयमा ४० वर्ष कटेका दुई सय पढ्न आउँछन् । अन्य चार शिक्षकलाई पनि उनले शान्ति विद्यालयमा नियुक्त गरेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बुमा एक र बौद्धको जोरपाटीमा तीन शिक्षकले वृद्धवृद्धालाई पढाउँछन् । ०५९ मा स्थापना भएको शान्ति विद्यालयमा बुद्ध शिक्षा प्रदान गरिन्छ । ‘मानव आचरणसम्बन्धी बुद्ध शिक्षा प्रदान गरिन्छ,’ लामाले भने । विद्यालयमा नेपाली र तिब्बती भाषामा पढाइ हुने गरेको छ । हालसम्म एक लाख वृद्धवृद्धालाई शिक्षा प्रदान गरेर प्रमाणपत्र दिएको उनले बताए ।

विद्यालय नमुना बनाउने पहल
लामाकै पहलमा विद्यालय नमुना बनेको छ । विभिन्न दाता ल्याएर विद्यालयलाई नमुना बनाएकाले स्थानीयले सम्मानस्वरूप उनलाई सधैँ अध्यक्ष बनाउँदै मेलम्ची घ्याङ गुठीका प्रमुख चिनियाँ लामाले बताए ।

विद्यालयको जग्गा गुठीको भएको भन्दै पटकपटक खारेज गर्न अदालतमा मुद्दा चल्यो । शिक्षा हासिल गर्ने पवित्र मन्दिर भएकाले सर्वोच्चबाट मुद्दा जितेको अध्यक्ष लामाले बताए । अहिले मेलम्ची घ्याङ माविलाई सरकारले नै नमुना माविको मान्यता दिएको छ । नयाँ पत्रिका दैनिक

Loading...
Loading...
Loading...