डेंगु नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

काठमाडौं । डेंगुको संक्रमणबाट एक विद्यार्थीसहित ६ जनाको ज्यान गएको छ । झण्डै चार महिनादेखि विस्तारित डेंगु संक्रमण अहिले ६२ जिल्लामा फैलिएको छ । मुलुक डेंगुमय भइसकेको छ ।
अझै तीन महिना डेंगुको संक्रमण देखिन सक्ने चिकित्सकको अनुमान छ ।
तीन सय मिटरसम्म टाढा उड्ने एडिस जातको संक्रमित लामखुट्टेको टोकाइले घरैपिच्छे पीडा दिएको छ। लामखुट्टे पैदा भएको ठाउँ वरपर घुमिरहन्छ ।
यसर्थ पनि डेंगुको उत्पत्ति घरमै पनि भइरहेको छ । घरका सदस्यलाई टोकेर संक्रमण बढाइरहेको छ । संक्रमण भएको एक सातापछि लक्षण देखिन्छन् । लक्षण नदेखिँदासम्म व्यक्ति घुमफिर गर्ने भएकाले डेंगु संक्रमणले विस्तारित रूप लिएको छ ।
सरकारले डेंगु नियन्त्रण गर्न खोज र नष्ट गर (सर्च एन्ड डिस्ट्रोय) अभियान सञ्चालन गरेको छ। टोलटोलमा लामुखुट्टे मार्न औषधि छर्कने (फगिङ) कार्य गरिरहेको छ ।
घरका गमला, सोफामुनि, एयरकन्डिसनरभित्र, छतमाथि राखिएको ड्रम, बट्टालगायतका स्थानमा लामखुट्टेले वासस्थान बनाइरहेको बेला विषादी छर्कने कार्य घरबाहिर भइरहेको छ ।
फलस्वरूप, डेंगु सार्ने एडिस जातको लामखुट्टेको अण्डा, प्युपा र लार्भा नष्ट गर्ने सरकारी अभियान प्रभावकारी हुन सकेको छैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ कीट वैज्ञानिक डा. बीएन नागपालका अनुसार घरघरका कोठाकोठामा फगिङ गर्न सके मात्र प्रभावकारी नतिजा हासिल हुन सक्छ ।
डा। नागपाल भन्छन्, ‘फगिङ महत्वपूर्ण छ । तर, घरका टेबुल, कुर्सी, सोफामुन्तिर लामखुट्टे बसेको हुन्छ । घरबाहिर फगिङ गरेर नतिजा प्रभावकारी हुन सक्दैन । ’
अहिले सातवटै प्रदेशमा डेंगुको संक्रमण विस्तार भएको छ । विगतका वर्षहरूमा तराई–मधेसमा देखा पर्ने डेंगुको संक्रमण पहाडी एवं हिमाली क्षेत्रतर्फ पनि विस्तार हुनुले चिन्ता बढाएको छ । तर, सरकारले भने डेंगु भाइरसको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।