प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

काठमाडौं । प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।
प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेङ्गु सङ्क्रण भेटिएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात/सात, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेङ्गु सङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।
हिजो बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने दिउँसो सो सङ्ख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो ।
प्रदेशका सबै जिल्लामा डेङ्गुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन् । सङ्क्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।
महोत्तरीको सुदूरउत्तरी क्षेत्रमा डेङ्गु भेटिएको छ । अहिलेसम्म बर्दिवास र यसैसँग सीमा जोडिएको औरही नगरपालिकामा डेङ्गुको सङ्क्रमण तीन जनामा भेटिएको हो ।
दुई वर्ष पहिले २०७४ को हिउँदमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेङ्गु आतङ्क नै छाएको थियो । त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेङ्गु प्रभावित भएका थिए ।
यसैबीच बर्दिवास नगरपालिकाले डेङ्गुविरुद्ध सचेतना र सरसफाइ कार्यक्रम सँगसँगै शुरु गरेको छ । नगरपालिकाले आफ्नै स्वास्थ्य शाखाको संयोजनमा नगरभित्रका सबै स्वास्थ्य संस्था र सामाजिक सङ्घसंस्थालाई अभियानमा परिचालन गरिएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए।
बर्दिवास नगरपालिकाले वडा नं १ का अध्यक्ष चुडामणि पोखरेलको संयोजकत्वमा सरसफाइ अभियान समिति नै गठन गरेर काम थालेको जनाएको छ ।
डेङ्गु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि फूल पार्ने र वरपरका झाडीमा फैलनसक्ने भएकाले घरप्रयोजनको पानी राम्ररी छोप्न र वरपर सफा राख्न बर्दिवास अस्पतालका चिकित्सकले अपिल गरेका छन् । घर वरपर पानी जम्न नदिन र झारपात सफा राख्न सबैको तत्परता आवश्यक भएको अस्पतालले जनाएको छ ।
त्यसैगरी टायर, ट्युबका भित्री कापमा यो लामखुट्टेले फूल पार्ने र लार्भा हुर्कने भएकाले यत्रतत्र फालिएका टायर, ट्युव निश्चित ठाउँमा नष्ट गर्नुपर्ने बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विधानचन्द्र झाले बताए ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...