विश्वका अपराधीको अखडा बन्दै काठमाडौं, ४१ देशका १२ सय नागरिक नेपाली जेलमा – Janata Live
  • Saturday, April 1, 2023

विश्वका अपराधीको अखडा बन्दै काठमाडौं, ४१ देशका १२ सय नागरिक नेपाली जेलमा

  • जनता लाइभ
  • भदौ २२, २०७६

विश्वका अपराधीको अखडा बन्दै काठमाडौं, ४१ देशका १२ सय नागरिक नेपाली जेलमा

काठमाडौं । डिल्लीबजारको कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा हाल चार विदेशी थुनामा छन् । अमेरिका, बंगलादेश, यमन र जोर्डनका ती विदेशी फरक–फरक अपराधमा पक्राउ परेका हुन् ।

चारमध्ये अमेरिकी नागरिक नाथम माओवास्की अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका व्यक्ति हुन् । उनीविरुद्ध इन्टरपोलले समेत रेड नोटिस जारी गरेको थियो । बंगलादेशका मोहिन उद्दिन भारतीय पासपोर्ट बोकेर नेपाल हुँदै दुबई जाने क्रममा समातिएका हुन् ।

यमनका मोहम्मद अल कुरेली र जोर्डनका सेफ अडनन डिबाय खानी पर्यटक भिसामा नेपाल आएर अवैध रूपमा बस्दै आएका हुन् । कुरेली आफ्नो देशमा हिंसा बढेपछि पर्यटक भिसामा नेपाल आएका थिए । यसअघि नै एटिएम ह्याकिङ तथा नेपाली युवती तस्करीमा संलग्न दुई वटा चिनियाँ गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

नेपाल विदेशी अपराधीका लागि सहज ‘सेल्टर’ बनेको यी घटनाले पनि प्रस्ट पार्छ । उदार भिसा नीति, कमजोर नियमन प्रणाली, खुकुलो कानुन, पुरानो प्रविधिको प्रयोग तथा खुला सिमानाका कारण नेपाल विश्वका अपराधीको अखडा बन्दै गएको छ ।

४१ देशका १२ सय नागरिक नेपाली जेलमा
विभिन्न प्रकृतिका अपराधमा संलग्न एक हजार एक सय ९५ विदेशी नेपालको जेलमा छन् । त्यसमध्ये करिब आधा भारतीय रहेको कारागार व्यवस्था विभागका कामु महानिर्देशक वासुदेव घिमिरे बताउँछन् । बाँकी विश्वका ४० भन्दा धेरै देशका नागरिक छन् ।

जसमध्ये पाकिस्तान, भुटान, बंगलादेश, चीन, रसिया, बोलिभिया, सोमालिया, नाइजेरियालगायतका नागरिक धेरै रहेको घिमिरेले बताए । भारतीय नागरिक सबै किसिमका अपराधमा छन् । अफ्रिकी देशका नागरिक धेरैजसो ठगीमा समातिएका छन् । चिनियाँहरू सुन तथा अवैध डलर तस्करी मुद्दामा जेल परेका छन् ।

एक वर्षमा ६ सय विदेशी निष्कासित
आर्थिक वर्ष ०७५/७६ मा अध्यागमन विभागले करिब ६ सय विदेशीलाई नेपालबाट निष्कासन गरेको छ । निश्चित समय नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ । जसमा सबैभन्दा धेरै चिनियाँ छन् । अध्यागमनसम्बन्धी कानुन उल्लंघन गर्ने र अन्य फौजदारी मुद्दामा पक्राउ परेर छुटेका विदेशीलाई विभागले निष्कासन गर्दै आएको छ । निष्कासितको संख्या हरेक वर्ष बढ्दै गएको छ ।

पाँच वर्षमा ३५ सय विदेशी पक्राउ
पाँच वर्षमा प्रहरीले दुई हजार नौ सय ४० विदेशी पक्राउ गरेको छ । त्यस्तै, अध्यागमन विभागले करिब पाँच सय विदेशीलाई पक्राउ गरी कारबाही गरेको छ । विगतका वर्षमा भारतीय बढी पक्राउ पर्ने गरेकामा पछिल्लो समय अर्को छिमेकी चीनसहित विश्वका विभिन्न देशका नागरिक पनि पक्राउ पर्ने गरेका छन् ।

गत आर्थिक वर्षमा मात्र नेपालमा सात सय ९७ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा धेरै सार्वजनिक हितविरुद्धको कसुर र लागुऔषध मुद्दामा छन् । शान्ति–सुरक्षामा असर पुर्‍याउने गतिविधि गरेको आरोपमा एक सय ८४ तथा लागुऔषध मुद्दामा एक सय ७५ पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

७० जना चोरीमा, ५४ ठगीमा, २९ हातहतियार, १७ मानव बेचबिखन र १२ जना नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका छन् । त्यस्तै, ३९ जना बलात्कार, १५ जुवा, सात खोटाचलन र नौजना हत्या मुद्दामा पक्राउ परेका छन् । धर्म परिवर्तन, अपहरण, डकैती, आत्महत्या दुरुत्साहनजस्ता मुद्दामा पनि विदेशी पक्राउ परेका छन् । गत वर्ष विभिन्न अपराधमा जोडिएका ६४ विदेशी अहिलेसम्म प्रहरीको फरार सूचीमा छन् ।

आर्थिक वर्ष ०७४–७५ मा सात सय आठ, ०७३–७४ मा पाँच सय १९, ०७२–७३ मा चार सय ४९ र ०७१/७२ मा चार सय ७१ विदेशीलाई प्रहरीले विभिन्न अपराधमा पक्राउ गरी मुद्दा चलाएको थियो । हरेक वर्ष नेपालमा पक्राउ पर्ने विदेशीको संख्या बढ्दो छ । यसबाहेक अध्यागमनसम्बन्धी अपराधमा गत वर्ष सयभन्दा धेरै विदेशीलाई अध्यागमन विभागले समेत पक्राउ गरेर कारबाही गरेको थियो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘विदेशीमाथि कडाइ शुरु भइसक्यो’

पछिल्लो समय विदेशी नागरिकहरू जसरी नेपालको भूमिमा आएर अपराध गरिरहेका छन्, त्यसमा हामी गम्भीर बनेका छौँ । अन्य देशमा अपराध गरेर नेपाल आउने र ट्रान्जिट बनाएर अन्य देश जाने गतिविधिमा पनि हामी सचेत छौँ ।

अहिले हामीले विदेशीको ट्रयाक रेकर्ड हेर्न थालेका छौँ । नेपाल आएका विदेशी फर्केर गए कि गएनन् भनेर हेर्ने सिस्टम हामीकहाँ छैन । अबको दुई महिनाभित्रमा यो सिस्टम सुरु हुन्छ । एक वर्षदेखि म यसैमा लागेको छु । शंकास्पद यात्रु कसैले बोकेमा एयरलाइन्सलाई समेत कारबाही गर्छौँ । अध्यागमनले आगमनमै कडाइ गर्ने हो ।

शंका हुनेबित्तिकै विमानस्थलबाटै फर्काइदिने गरेका छौँ । अब विदेशीमाथि कडाइ गर्न थालेका छौँ । जुन देशले हामीलाई जस्तो व्यवहार गर्छ, हामी पनि त्यस्तै गर्छौँ । पहिले जस्तो जोसुकैलाई भिसा दिँदैनौ । नेपालमा भिसा सजिलो छैन भन्ने सन्देश पनि दिन आवश्यक छ । पर्यटकको आवरणमा अपराधी नआओस् भन्ने हाम्रो उद्देश्य हो ।

प्रहरी सहप्रवक्ता एसएसपी उमेशराज जोशी भन्छन्–शंकास्पद विदेशीलाई पस्नै नदिने प्रयास गरेका छौँ

नेपालमा विदेशीको आपराधिक गतिविधिले अवश्य पनि चुनौती थपेको छ । त्यसैले शंकास्पद विदेशीलाई देशमा आउनै नदिन हामीले अध्यागमन विभागसँग पनि सहकार्य गरेका छौँ । जसअनुसार केही महिनाअघिदेखि इन्टरपोलको डाटाबेस अध्यागमनले पनि प्रयोग गर्दै आएको छ ।

कतिपय शंकास्पद विदेशीलाई ‘इन्ट्री रिफ्युज’ गरेर विमानस्थलबाटै फर्काइदिने गरेका छौँ ।
नेपालमा बस्ने विदेशीमाथि पनि प्रहरीले निगरानी गरिरहेको हुन्छ । अवैध रूपमा बस्दै आएका विदेशी पक्राउ गर्दै हामीले अध्यागमनमा समेत बुझाउने गरेका छौँ । अन्तरदेशीय अपराध अनुसन्धानमा पनि प्रहरीको क्षमता वृद्धि हुँदै गएको छ ।

बाल यौन दुराचारसम्बन्धी अपराध अनुसन्धानमा नेपालले पाएको सफलताको अन्तर्राष्ट्रिय रूपमै प्रशंसा भएको छ । एटिएम ह्याकर पनि भाग्न नपाउँदै समातिएका छन् । अपराध नियन्त्रण गर्न प्रहरी सक्षम छ । नयाँ पत्रिका दैनिक

Loading...
Loading...
Loading...