पुडासैनी आत्महत्या प्रकरण : उच्च अदालत हेटौंडा इजलासमा सुनुवाइ शुरु

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै परेको निवेदनमाथि बुधबारबाट उच्च अदालत पाटन हेटौँडा इजलासमा सुनुवाइ शुरु भएको छ ।
न्यायाधीश टेकराज नेपालको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै चितवन जिल्ला अदालतबाट मुद्दासँग सम्बन्धित सक्कल मिसिल कागजात मगाउन आदेश दिएको छ ।
मंगलबार अभियुक्तद्वय रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै निवेदन दिएका थिए । बुधबार लामिछाने र कँडेलको पक्षबाट अधिवक्ता राजेन्द्रप्रसाद सेढाईं र अमृतकुमार लामाले बहस गरेका थिए । बहसपछि अदालतले सक्कल कागजातसहित प्रतिवेदन माग गरेको इजलासका प्रवक्ता अमृत घिमिरेले जानकारी दिए ।
‘प्रतिवेदन प्राप्तपछि पेसीको सूचना सरकारी वकिल कार्यालय हेटौँडालाई दिई कानुनी प्रक्रिया अघि बढाइने छ,’ उनले भने, ‘प्रतिवेदन प्राप्त भएपछि तथा सरकारी वकिल कार्यालयको प्रक्रियापछि अदालतमा आगामी कारबाही अघि बढ्ने छ ।’
मंगलबार लामिछाने र कँडेल स्वयं उपस्थित भएर निवेदन दर्ता गराएका थिए । बुधबार भने उनीहरू उपस्थिति भएनन् । ९ भदौमा चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको मुद्दामा टेलिभिजनकर्मी लामिछानेलाई पाँच लाख र कँडेललाई तीन लाख रुपैयाँ धरौटी लिई रिहा गर्न आदेश दिएको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ७३ तथा न्याय प्रशासन ऐन २०७३ को दफा १५ बमोजिम निवेदन दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए । लामिछाने र कँडेलले निवेदनमा शंकास्पद भिडियोलाई वस्तुनिष्ट प्रमाणको रूपमा लिई आदेश गरिएको र शर्तसहितको थुनछेक आदेशद्वारा धरौटी मागिएको विषयलाई मुख्य बनाइएको छ । नयाँ पत्रिका दैनिक