डरलाग्दो रुप लिंदै डेंगु : हालसम्म तीनको मृत्यु, चार हजार बढी बिरामी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेंगु परीक्षण तथा उपचार गर्न आउने बिरामीसँग शुल्क नलिन निर्देशन दिएको छ ।
पछिल्लो समय काठमाडौंलगायत देशभर डेंगु रोग प्रकोपका रूपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने अस्पताललाई मन्त्रालयले मंगलबार यो निर्देशन दिएको हो । अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना डेंगु रोगका बिरामी उपचारत छन् ।
स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अस्पतालको मंगलबार निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र यहाँ आएका बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्न समेत निर्देशन दिए ।
उनले डेंगु रोगलगायत अन्य रोगका उपचाररत बिरामीलाई भेट गरी सेवाका बारेमा जानकारी समेत लिएका थिए । अस्पतालमा मंगलबार मात्र ५२२ जनाले डेंगु रोगका बारेमा परीक्षण गराएको निर्देशक चिकित्सक वासुदेव पाण्डेले जानकारी दिए ।
रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेंगु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ । उनले भने, ‘अस्पतालले आजदेखि छुट्टै ‘फिबर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । सो क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेका छौं ।’
यही अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक सुशीलनाथ प्याकुरेलले डेंगु रोग नियन्त्रण गर्न उपचारात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए ।
टेकु अस्पतालका तीन जना डाक्टरलाई डेंगुको संक्रमण
सरुवा रोग अस्पताल टेकुका तीन जना डाक्टरलाई डेंगुको संक्रमण भएको छ । अस्पतालका वरिष्ठ फिजिसियनसहित तीन जना डाक्टरमा डेंगुको संक्रमण पुष्टि भएको अस्पतालका प्रशासकीय प्रमुख रुपनारायण खतिवडाले जानकारी दिए । अरु ८ जना कर्मचारी पनि बिरामी परेका छन् ।
‘बिरामीको जाँच गर्दा गर्दै डाक्टरलाई पनि डेंगुको संक्रमण देखिएको छ’, ‘उनले भने, ‘अरु ८ जना अस्पतालकै कर्मचारी पनि बिरामी छन् । डाक्टरसहित ११ जनाको उपचार भइरहेको छ ।’
डेंगुको संक्रमण हुनेमा डाक्टरसहित कार्यालय सहयोगी, स्वीपरलगायतका कर्मचारी छन् ।
पछिल्लो समय चाप बढेपछि बिरामीको उपचारमा खटिएका डाक्टरलाई समेत डेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख खतिवडाको भनाइ छ । बिरामी डाक्टर र कर्मचारीको नाम भने खुलाइएको छैन ।
एकै दिन ५०९ जनाको रगत परीक्षण
मंगलबार मात्रै टेकु अस्पतालमा ५०९ जनाले डेंगुको परीक्षण गरेका छन । पछिल्लो समय काठमाडौ उपत्यकामा डेंगुको संक्रमण बढेसँगै बिरामी जाँचका लागि टेकु अस्पताल पुग्ने गरेका छन् ।
मंगलबार जाँच गराएको रिर्पोट बुधबार आएपछि बिरामीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अस्पतालमा अहिले २४ जनाको उपचार भइरहेको छ । ९० जना बिरामी उपचारपछि घर फर्किएका छन् ।
अस्पतालले एक हजार ५०४ जनाको रगत परीक्षण गरे पनि एक सय बढीमा डेंगु पुष्टि भएको छ । डेंगुका कारण मोरङ, सुनसरी र चितवनमा गरी ३ जनाको ज्यान गइसकेको छ भने ४ हजार बढी बिरामी छन् ।