ईशाले फेसबुक स्टाट्सबारे दिइन् यस्तो प्रतिक्रिया

काठमाडौँ । रवि लामिछानेकी पूर्व पत्नी ईशाले केही समयअघि फेसबुकमा राखेको स्टाट्स यतिबेला चर्चामा छ । उक्त स्टाट्सलाई आधार मानेर विभिन्न समाचार प्रकाशन हुन थालेपछि उनले यसबारेमा आफ्नो धारणा राखेकी छिन् ।
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि पक्राउ पर्दा आफू र आफ्ना छोरीहरु निकै दुखी भएको बताउँदै एउटा स्टाट्सकै भरमा विभिन्न अड्कलबाजी गरिनु उचित नभएको बताएकी छिन् ।
अनलाइन खबरमा प्रकाशन भएको ईशाको उक्त धारणामा रवि एक इमान्दार र सहयोगी व्यक्ति भएका कारण उनले कसैलाई आत्महत्या गर्न बाध्य पार्छन भन्ने आफूले सोच्न पनि नसक्ने उल्लेख गरेकी छिन्।
उनले भनेकी छन्, ‘अर्को पाटोमा म जस्तै एक स्त्रीको सिउँदो पुछिएको थियो । र उनका श्रीमानले मर्ने बेलामा आफूलाई आत्महत्या गर्न विवश तुल्याएको भन्दै रविको नाम लिइरहेका थिए । भिडियो हेरेपछि म निकै सोचमा परे । धेरै मानिसका लागि भगवान बनेका रविबाट कसैलाई आत्महत्यासम्म धकेल्ने दानवीय कर्म कसरी भयो होला मैले अहिलेसम्म पत्याएकी छैन् ।’
यस मुद्दामा रवि हिरासततबाट निस्केपछि अझै दोषमुक्त नभएको भन्दै उनले सत्यको छानबिन गरेर जतिसक्दो चाँडो रविलाई यस मुद्दाबाट पूर्ण रुपमा छुटकारा दिलाउन पनि आग्रह गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘म त यति मात्रै कामना गर्छु कि भिडियोमा बोलिएको कुरा सत्य सावित नहोस् र रवि निर्दोष प्रमाणित होउन । उनले आफ्नो कामनाले भन्दा पनि उनकै कर्मले जोगाउने भन्दै गलत नगरेको भए नखाएको विष पक्कै नलाख्ने बताएकी छिन् ।’
भिडियोमा रविमाथि मृतक शालिकरामले लगाएको अर्को आरोपले पनि आफूलाई उत्तिकै स्तब्ध बनाएको उनले बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘रविले सिधा कुरा कार्यक्रम चलाउँदा मानिसहरुबाट करोडौं रकम असुल गरेको आरोप मृतकले लगाउनुभएको छ । मैले २५ वर्ष रविसँग दाम्पत्य सम्वन्धमा रहेको अनुभवका आधारमा भन्नुपर्दा उनी यसअघि आफ्नो काममा जहिले पनि इमान्दार र प्रतिवद्ध थिए ।
अमेरिकामा रहँदा पनि धेरै नेपालीलाई निस्वार्थ सहयोग गरेका हुन् । सिधा कुरा जनतासँग मार्फत पनि थुप्रैको उपकार गरेको सुनेकी छु।तर, उनीमाथि उनकै पूर्वसहकर्मीले पैसा खाएको आरोप लगाइरहँदा त्यसले मलाई अचम्म बनाएको छ । रविबाट यस्तो काम भयो होला भन्ने विश्वास लाग्दैन।’
हाल दुई छोरीसहित अमेरिकामा रहेकी ईशाले केही दिनअघि फेसबुक स्टाट्समा लेखेकी थिइन् , ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’
रवि प्रहरी हिरासतबाट रिहा भएलगत्तै उनको यस्तो स्टाट्स सार्वजनिक भएपछि उनको आलोचना भएको थियो। उनले उक्त फेसबुक स्टाट्स रविको विषयमा नभई अर्कै प्रसंगमा लेखिएको प्रष्ट्याएकी छिन् ।