बौद्ध साहित्यको आधारमा बुद्ध र नागराजाको सम्बन्ध – Janata Live
  • Wednesday, October 28, 2020

बौद्ध साहित्यको आधारमा बुद्ध र नागराजाको सम्बन्ध

  • ताराशोभा राजकर्णिकार स्थापित
  • भदौ १०, २०७६

बौद्ध साहित्यको आधारमा बुद्ध र नागराजाको सम्बन्ध

बौद्ध धर्म अनुसार चार लोकहरु छन् — देव मनुष्य असुर तिर्यक । रुप आकारमा सर्पसंग मिल्ने शक्तिसम्पन्न भएर पनि नागराज तिर्यक जाती अन्र्तगत पर्छ । दिव्य ऐश्वर्य दिव्य विमानयुक्त छ नाग भुमि नाग सयुक्त सद्धिक सूत्र अनुसार जो व्यक्ति शरीर, मन र वचनले पुण्य र पाप गर्छ, नागभुवनको दिव्य सुखको आशागरी अन्न पान, वस्त्र सवारी माला गन्ध विलेपन शैया घर प्रदिप आदि दान गर्छ र कुशल कार्यमा समर्पित भएर पनि जीवनको अन्तिम समयमा उत्पन्न द्वेषयुक्त वा पश्चातापयुक्त चित्तमै देह परित्याग भएमा मरणोपरान्त अण्डज, जलाबुज, संश्वेदज र औपपातिक मध्ये कर्म अनुसार एकमा जन्म हुन्छ ।

यी चार श्रेणीका नागमध्ये औपपातिक नागयोनि श्रेष्ठ मानिन्छ । वोधिसत्व नागराज बाहेक सद्धर्म श्रवण प्रति दर्सिएको श्रद्धाको भाव बुद्ध श्रवण एवं तपश्वीहरुप्रति समय र परिस्थिति अनुरुप नागराजहरुमा देखिएको सेवाको भावना मनुष्यहरुको निम्ति प्रेरणादायी भएको छ ।

बुद्धजीवनी जातक कथा धम्मपद अठ्ठकथा बुद्धजयन्ति स्मारिका, अन्तरवार्ताको आधारमा तिर्यक प्राणि नागराज सर्प र बुद्धको बीच घनिष्ठ धार्मिक सम्बन्ध रहेको पाइन्छ । बौद्ध साहित्य अध्ययन गर्दा नागराजाहरुले विभिन्न समय परिस्थितिमा बुद्ध आर्यपुद्गलहरु श्रमणहरु र ऋषिमुनीहरुको सेवा भावभक्ति गरेको उहाँहरुद्वारा देशित धर्म श्रवण गरेको प्रसंगहरु छन् । महायानी बौद्ध ग्रन्थ ललितविस्तरमा वोधिसत्व सिद्धार्थको जन्म लुम्बिनी वनमा हुँदा नागराज द्वय नन्द र उपनन्द आकासमा आधा शरीर खडा भई तातो र चिसो सुगन्धित जलधार वर्षागरि स्नान गराई सेवा गरेको उल्लेख भएको छ ।

सिद्धार्थले निराहार उरुवेलमा छ वर्षसम्म दुष्कर चर्या गर्दापनि वोधिज्ञान प्राप्त नभएपछि आहार सेवन गर्नुभयो । पाँच प्रकारको स्वप्नबाट सम्बोधि ज्ञान प्राप्त हुने लक्षण देख्नु भएको वोधिसत्वले बैशाख पूर्णिमाको दिन सेनानी गाउँको सम्पन्न सुजाता कन्याले सुवर्ण पात्र सहित दान गरिएको खीर नीरन्जना नदीको तिरमा भोजन गरी खाली भएको पात्र नदीमा बगाउनुभयो । त्यो सुवर्णपात्र नागराजाहरुको सहयोगबाट पानीको उल्टो धारबाट बग्दै पानीको सतहमुनी नागभुवनमा पुर्याइयो । बुद्ध हुने बोधिसत्वले बगाउनु भएको त्यस पात्रको रक्षा गर्ने जिम्मा नागराजबाट भएको थियो ।

चार कल्प एकलाख वर्ष परजनको हित सुखको निम्ति आफ्नो शरीरको अंग प्रत्यंग मात्र

होइन प्राण समेत त्याग गरी वोधिवृक्ष मुनि आसनमा बसी वोधिज्ञान प्राप्त भएपछि त्यस विजय आसन प्रति कृतज्ञ हुनुभई एक हप्तासम्म समापत्ति ध्यानगरी बुद्धले विमुक्ति सुख अनुभव गर्नुभयो । बोधिवृक्षलाई हेरेर दुतिय सप्ताह पूर्व र पश्चिम दिशा हेरी तृतीय सप्ताह देवताहरुव्दारा निर्मित रत्नाघर कुटीमा बसी धर्मको विषय गम्भीर चिन्तनमनन गर्नुभयो ।

पाँचौ सप्ताह अजपाल वृक्षमुनि र षष्टम हप्ता मुचलिन्द वृक्षमुनि धर्मको सुखानुभव गर्नु भएको समय घनघोर वर्षा भएको थियो । त्यस वृक्षमुनि बसेको नागराजाले सात फन्कोले बेरी शिरमाथि छत्र झैँ फण विशाल रुपले फैलाई विमुक्ति सुखानुभव गरीरहनु भएको बुद्धलाई पानीबाट बचाई रक्षा गरी राखे । पानी रोकिएपछि भाव विभोर भई श्रद्धापूर्वक नमस्कार गरी बुद्धको सामु देव रुप धारणगरी उभिरहेको मुचलिन्द नागराजालाई करुणापूर्वक यो गाथा भन्नुभयो ।

सुखी विवेको तुट्ठस्स सुतधम्मस्स पस्सतो

अव्यपज्जं सुखं लोके पाणं भुतेसु संयमो

सुखा विरागता लोके कमान समितिक्कमो

अस्मिमानस्स यो विनयो एतं वे परम सुखति

अर्थात सन्तोषी भएर बस्नु नै सुख हो । धर्म चिनेर बस्नु नै सुख हो । प्राणीहरु उपर संयम राखी व्यापाद रहित भएर बस्नु नै सुख हो । कामादि राग अतिक्रमण गरी वैरागी भएर बस्नु सुख नै हो । म भन्ने अहंकार रहित भएर बस्नु सबैभन्दा ठूलो सुख हो । यी उल्लेखित गाथाबाट नागराज प्रति बुद्धको करुणायुक्त सम्बन्ध झल्किएको छ ताकि बुद्धको अमृत वाणी ग्रहण गरी दुःखगामी नहोस् ।

बुद्धत्व लाभपछि प्रथम पटक बुद्ध कपिलवस्तु पाल्नुहुँदा लुम्बिनी वनमा देवताहरुले सेवा र श्रद्धा समर्पण गरिएको नेपाली जनमानसमा अद्यपि जीवित नै छ । यो प्रसंग जय नमो श्री बुद्ध भगवान लुम्बिनी वनस बिज्यात भन्ने ज्ञानमाला भजनमा उल्लेख भएको छ । यस भजन अनुसार ब्रम्हाले बढार–कुडार गरी भुमि सफा गरे सरस्वतीले पवित्र कपडा बिछ्याइन् कुवेरले धनद्रव्य ओछ्याए । देवराज इन्द्रले छत्र ओढाए, नागराज वरुणले जलधारा वर्षाई भूमि परिशुद्ध गरे शेषनागराजले बहानको सेवा पुर्याएर लुम्बिनी वनबाट कपिलवस्तुसम्म पुर्याइएको थियो । समय र परिस्थिति अनुरुप नागराजहरुले बढो श्रद्धापूर्वक बुद्धलाई सेवा गर्न अग्रसर भएको पाइन्छ ।

सिद्धार्थ कुमार गृहत्यागपछि भिक्षाटनको निमित्त मगधको राजधानी राजगृहमा जानु हुँदा राजा बिम्बिसार शान्तदान्त अति सुन्दर रुपवर्णबाट यति प्रभावित हुनु भयो र उहाँलाई देवता नै ठान्नुभयो । दूत पठाएर उहाँ को हो भनी हेर्न पठाउने क्रममा राजाले भन्नुभयो देवता भए आकाशमा उडेर जानुहुन्छ, नाग भए भूमिमा विलिन हुन्छ मनुष्य भए एकै ठाउँमाबसी भोजन ग्रहण गर्नुहुन्छ । त्यो समयमा पनि सुन्दर मनुष्य रुप धारण गरी नागराजहरु जनमानसमा सम्बन्ध राख्ने गरेको बुझिन्छ ।

धर्मचक्रप्रवर्तन संघ स्थापनाको केहि समयपछि मगधका राजा बिम्बिसारलाई धर्म उपदेश दिने क्रममा उहाँ गयामा पुग्नु भएको थियो । गयामा जटिलहरुको अग्निशालामा उहाँ एकरात बास बस्नु भएको थियो । उहाँले तेजोकृत्स्न समाधि योगद्वारा कष्ट पीडा नहुने गरी संयमित गर्नुभई तीन जटिल काश्यप दाजुभाइहरुको अहंभाव नष्ट गरी धर्माबोध गर्नुभएको थियो ।

तथागत गौतम बुद्धको शासनकालमा सद्धर्म श्रवणबाट धर्म संवेग उत्पन्न भएको एक नागराज मनुष्य रुप धारण गरी शुद्ध ब्रम्हचर्या युक्त उपोसथ शील आचरण अभ्यास गर्न भिक्षुत्व ग्रहण गरी विहारमै बसेको थियो । निदाएको समय जातिय स्वभाव नागकैै रुप हुन गएछ । पृथग्जन भिक्षुहरु विहारमा नागलाई देखेपछि भयभित भएको कारण बुद्धले अमनुष्यहरु भिक्षु हुन नपाउने विनय नियम बनाउनु भएको थियो ।

कुनै एक शक्ति भएको नागराजलाई दमन गर्नमा ख्याति प्राप्त सागत भिक्षु एक समय उपासकहरुले दान दिएको रक्सी सेवन गरी बेहोस भएको थियो । मानिसहरुलाई प्रभाव पार्न सक्ने क्षमता उत्साह सोचन शक्ति रहित बेहोसी बनाउने नसालु पदार्थ भिक्षुहरुले सेवन गर्न नहुने सुरापानाच संयमो तथागतले नागराजकै उपमा दिएर विनय प्रतिपादन गर्नुभएको थियो ।

बुद्धत्वलाभको निम्ति पारमिता गुणधर्म पूरा गर्ने क्रममा वोधिसत्व तीनपटक चम्पेय शंखपाल र भुरिदत्त नागराज भएर नागभुवनमा औपपातिक जन्म भएको थियो । धर्मश्रवण गर्न नपाएको समयमा पनि वोधिसत्व नागराजले तीनवटै जन्ममा जीवनको अस्थिरतालाइ स्वविवेकले जानी अत्यधिक भोग विलास सुख सुविधा सम्पन्न नाग भुवन त्यागगरी परिशुद्ध ब्रम्हचर्यायुक्त उपोसथ शील पालन गर्न उपयुक्त मनुष्यलोक आउनुभएको थियो । मानिसहरुले जतिसुकै सास्ती गरेपनि सर्प राख्ने टोकरीमा राख्दा पनि चारवटा अंगयुक्त उपोसथ ब्रत बिग्रिएला भनी मरणान्त कष्ट वेदनालाइ सहेर रिसलाई सम्हालेर बस्नु भएको थियो ।

जातक कथाको आधारमा वाराणसी ब्रम्हदत्त राजाको समयमा तथागत गौतमबुद्धको अग्रश्रावक सारिपुत्र स्थविर पण्डर नागराज भएर जन्मनु भएको थियो । नागराज पण्डर र वोधिसत्व गरुड अल्प इच्छा भएको श्रमणको रुपमा देखापरेको निवस्त्र श्रमणको सेवा भावभक्ति गर्न समय समयमा जाने गर्नु हुन्थ्यो नागजस्तो विषधारी प्राणि भएरपनि श्रमणको सेवामा समय समयमा पुग्ने आफ्नो जातिलाई शत्रुभयबाट बचाउन विशेष उपाय अपनाउने बुद्धि भएको सद्धर्म जान्न र सुन्न चाहने नागराजको रुपमा पण्डर नागराजलाई लिनसकिन्छ ।

अपदान पालिको आधारमा तथागत अनोमदर्शीको शासनकालमा महाश्रावक मोद्गल्यायन स्थविर वरुण नाग दिव्य ऐश्वर्य सम्पन्न भएर नागभुवनमा जन्मनु भएको थियो । एक समय हिमालय प्रदेशमा विहार गर्नु भएको तथागतलाई वरुण नागराजले दिव्य मनुष्य रुप धारणगरी तुर्यबादन बजाई भावभक्ति समर्पण गर्नु भएको थियो । उहाँ नागराजको निमन्त्रणा स्वीकार गर्नु भई एक हजार क्षीणाश्रव अरहन्त भिक्षुहरु सहित तथागत नागभुवनमा जानुभएको थियो । वरुण नागराजले प्रफुल्ल हृदयले नाग परिषद्का साथ दिव्य भोजन दान गर्नु भएको थियो । तथागत अनोमदर्शीले भविष्यवाणी गर्नु भएको थियो कि चार असंख्य र एकलाख कल्पपछि ओक्काक कुल गौतम गोत्रमा गौतम बुद्ध लोकमा उत्पन्न हुनेछ । सो समय तत्कालीन वरुण नागराज एक धनी ब्राम्हण कुलमा कोलित नामको बालक हुनेछ । उहाँ प्रवजित भई गौतम बुद्धको शासनमा ऋद्धिमा अग्र महाश्रावक हुनेछ ।

तथागत शाक्यमुनि बुद्धको श्राविकाहरु मध्ये ऋद्धिमा अग्र उत्पलवर्णा स्थविरा पद्मोत्तर बुद्धको शासनकालमा विमला नामको नागकन्या थिइन् । तथागतप्रति अति श्रद्धा भएको महानागराजले बुद्ध सहित अभिज्ञालाभी भिक्षु र भिक्षुणी परिषदलाई निमन्त्रणा गरी नागभुवनमा रत्नमय मण्डप र रत्नमय आसन बनाई भव्य स्वागत अभिवादन गरी अनेक व्यञ्जन युक्त भोजन दान गरिएको थियो , तथागतद्वारा आज्ञा पाएको जलजत्तुमा भिक्षुणीले अनेक प्रकारको ऋद्धि प्रातिहार्य देखाउनु भएको थियो । ऋद्धि प्रातिहार्य देखेर प्रभावित विमला नागकन्याले अरुण नामको कमलको फूल चढाई आफू पनि कुनै एक बुद्धको शासनकालमा अभिज्ञालाभी ऋद्धिमा अग्र हुन सकुं भनी प्रार्थना गरिन् । त्यसपछि शाक्य वंशीय गौतम बुद्धको शासनमा उत्पलवर्णा नामकी ऋद्धिमा अग्र भिक्षुणी हुनेछ भनी पद्मोत्तर बुद्धले भविष्यवाणी गर्नु भएको थियो । तिर्यक जातीय प्राणी नागकन्या भएरपनि ऋद्धिमा अग्रगामी हुन सकुं भनी कुशल संस्कारको विजारोपन गर्नु भएको प्रसंग उत्पलवर्णा थेरी अवदानमा उल्लेख गरिएको छ ।

त्रिपिटक अन्र्तगत सुत्तनिपातमा विभिन्न सुत्रहरु उल्लेख भएकाहरु मध्ये महासमय सूत्रपनि एक हो । यस सूत्रको आधारमा अमनुष्य अन्र्तगत विभिन्न दिव्य शक्ति भएका नाग परिषदले तथागतप्रति यक्ष गण्डर्भहरुले झै सम्मान आदर गौरव अभिव्यक्त गरिएको प्रसंग उल्लेख भएको छ । महासमय सूत्र देशना गर्न बुद्ध कुनाल दहबाट पाँचसय अभिज्ञालाभी अरहन्त शाक्यपुत्र भिक्षुहरुका साथ कपिलवस्तुको महावनमा विहार गर्नु भएको थियो । यो समय चार दिशाका लोकपाल रक्षक धृतराष्ट्र, देवराज कुवेर, विरुढक, विरुपाक्ष नागराज, सबैका पुत्रहरु आकासमा वास गर्ने बैशाली निवासी नागहरु यमुनावासी धृतराष्ट्र नाग महानाग एरावत धेरै नाग परिषदहरु प्रशन्न पूर्वक तथागतका साथ भिक्षुहरुको दर्शन एवं श्रद्धा समर्पण गर्न आएको थियो । विशुद्ध दिव्यचक्षु हुने नागराजहरुको बाहन चित्र र सुर्पण भन्ने पंक्षीहरुपनि आकाशमार्गबाट त्यो महावनमा पुगेको थियो । इन्द्रद्वारा पराजित समुद्रमा आश्रित असुर ऋद्धिमान यशश्वी देवराज इन्द्रका भाई बने झैँ त्यहाँ उपस्थित सबै नाग परिषदहरु तथागतको असिम मैत्रीको प्रभावले गरुडहरुसंग परस्पर मिलिजुली बुद्धको शरणमा गएको प्रसंग तथागतको मैत्री बलको कारण उदाहरणकै रुपमा दर्शाएको छ ।

दान पुण्य गर्न अतुलनीय त्याग भावना भएर पनि द्वेष र पश्चाताप मनोभावलाई जित्न नसकेका प्राणी मरणोपरान्त नाग भएर जन्मने भएकोले यी प्राणी विनासकारी विष धारक हुनु स्वभाविक हो । विभिन्न जातका नागराजहरु मध्ये नन्दोपनन्द भुजंग नागराजलाई विविध ऋद्धि शक्ति सम्पन्न विशेष नागराजको रुपमा पाइएको छ । अत्यधिक अमानवीय शक्तिको कारण त्यो नागराजमा ठूलो अभिमान थियो । अरहन्त पुद्गलमा बाहेक अनागामी मार्ग लाभ भएकाहरुमा समेत हुने मान तिर्यक जाती नागराजमा हुनु कुनै आश्चर्यको कुरा होइन । अभिमानलाई दमन गर्न नसकेका सद्धर्म प्रेमीहरु पतन भएको प्रसंग धेरै पाइएका छन् । एक समय बुद्धले आफ्नो दिव्य चक्षुबाट प्रत्यवेक्षण गर्नुहुँदा अति शक्ति सम्पन्न नन्दोपनन्दलाई देख्नुभयो । बुद्ध स्वयं भिक्षुहरुका साथ दिव्य विमानमा दिव्य अमृत भोजनको तयारीमा रहेको नन्दोपनन्द नागले देख्ने गरी उसको शिरमाथिबाट तावतिंस देवलोक जान लाग्नु भयो । भिक्षुहरुको पैतालाको धूलो टाउकोमा परेबाट रिसले चुर भएको त्यस नागले बुद्ध प्रमुख भिक्षुहरुलाई र सुमेरु पर्वतलाई आफ्नो शरीरले सात पटक बेरे । बुद्धबाट वचन पाएपछि महाश्रावक मौद्गल्यायन भयंकर ठूलो नागको रुप लिई त्यस नागलाई चौध पटक फन्दाले बेरी सुमेरु पर्वतमा च्याप्नु भयो । नागले आगोको ज्वाला निकाल्दा उहाँले पनि ठूलो आगोको ज्वाला निकाल्नुभयो । उहाँ थेर भिक्षु रुप धारण गरी उसको पेटभित्र चंक्रमण गरी बाहिर निस्कँदा मार्ने उद्देश्यले नागले धुँवा निकाल्यो । त्यसको प्रतिकार कडा धुँवा निकाल्नु हुँदा भागेको नागलाई गरुड भएर लखेट्नु हुँदा मरण भयबाट मुक्ति पाउन मनुष्य रुप धारण गरी उहाँ थेरसँग क्षमा मागेको थियो । त्यस नागलाई बुद्धकहाँ क्षमा माग्न पठाउनु भएको थियो । बुद्धको असिम मैत्रीको प्रभावबाट नन्दोपनन्द भुजंग अरुलाई दुःख कष्ट नदिने बुद्ध धर्म र संघप्रति श्रद्धायुक्त उपासक बनेको प्रसंग बौद्ध साहित्यमा उल्लेख छ ।

बौद्ध धर्मको अध्ययन गर्दा बुद्ध र नागराजहरु बीच सुमधुर मैत्री करुणा एवं नजिकको अन्तर सम्बन्ध रहेको बुद्ध जीवनीको विभिन्न घटनाबाट जान्न सकिन्छ । काश्यप बुद्धको पालमा बीस हजार एरक नामक घाँसको पात भाँचिन पुग्दा विनय उल्लंघन भएकोमा मनमा असन्तोष भएको थियो । पश्चाताप भएको झण्डै समय देह परित्याग भएबाट पेटले टेकेर हिंड्ने प्राणी एकरपत्त नाग भएर जन्मभएको थियो । यो कुरा नागराज स्वयं श्रोतापन्न उत्तर मानवकको साथ वराणसी सत्तातिरीसक वृक्षको मुनि विराजमान हुनु भएको गौतम बुद्धलाई रुँदै भनेको थियो । एक बुद्धान्तरसम्म मनुष्य योनि प्राप्त गर्न नसकेको धर्म श्रवण गर्न नपाएको र तथागतको दर्शन गर्न नपाएकोमा आफूलाई धेरै दुःख लागेको मनोभाव तथागतलाई एरकपत्त नागराजले व्यक्त गर्यो । बुद्धले नागराजलाई भन्नुभयो मनुष्यत्व प्राप्त गर्न अति दुर्लभ छ सद्धर्म श्रवण गर्न पाउनु पनि अति दुर्लभ छ त्यो भन्दा पनि लोकमा बुद्ध उत्पत्ति हुनु अति नै दुर्लभ छ यस सम्वन्धमा बुद्धले भन्नुभयो मनुष्य योनिमा जन्म लिनु कठिन छ, जन्मेर पनि जीवित रहनु कठिन छ । जीवित रहे पनि धर्म श्रवण गर्नु कठिन छ, त्यो भन्दा पनि बुद्धको जन्म हुनु पनि कठिन छ ।

तथागतया अस्थिधातु नामक किताबको आधारमा अस्थिधातु राखिएको सुर्वण चैत्य नभएको खबर थाहा पाएपछि महाकेल नागराज आफ्ना धेरै परिसरका साथ रत्नमणि चैत्य गर्भमा धातु निदानको निमित्त उपस्थित संघ समक्ष प्रश्न गर्नुभयो । प्राणीप्रति मैत्री करुणा राखी सम्यक सम्बुद्ध हुनु भएको मनुष्यहरुको निम्ति मात्र हो, सर्वज्ञ बुद्धको धातु पूजा भावभक्ति गरी चार अपायबाट मुक्त हुने अधिकार के मनुष्यहरुलाई मात्र छ बुद्धत्व लाभ हुने दिन क्षीर भोजनपछि नदीमा बगाउनु भएको पात्रको रक्षागर्ने बुद्धत्व लाभको छैठौं हप्ता विमुक्ति सुख अनुभव गर्ने क्रममा मुचलिन्द वृक्षमुुनि बस्नुभएको बुद्धलाई शरीरले बेरी फनले ओढाई घनघोर वर्षाबाट सुरक्षित राख्ने नागराज नै होइन आदि अनेक नागहरुको महत्व बताउँदै तर्कयुक्त प्रश्न गरी अस्थिधातु भएको सुवर्ण चैत्य रुँदै महाकेल नागराजले मागिरहेको थियो ।

करुणापूर्ण तथ्ययुक्त कुरालाई संघले स्वीकार गरी नागहरुलाई सन्तोष पार्न केहि अस्थिधातु दिनु भएको थियो । महाकेल नागराजका साथ हजारौं नागहरु अटुट रुपले आएको ठाउँ रत्नमाली चैत्यको पश्चिम दिशामा घेरा लगाई सुरक्षित राखी नागप्रति सम्मान आदर गरिएको बौद्ध संस्कृतिबाट नागराजहरु र बौद्ध धर्मको सम्बन्ध रहेको प्रष्टिएको छ । श्रद्धावान देव मनुष्य सबै प्राणीहरु वन्दना पूजा भावभक्ति गरी पुण्य प्राप्तका भागीदार होउन् भन्ने करुणा राखी तथागतले चार ठाउँमा कहिले नमेटियोस् भन्ने अधिष्ठान गर्नु भई श्रीपाद स्थापना गर्नु भएको मध्ये एउटा नर्मदा नागराजको प्रार्थनामा छोड्नु भएको थियो ।

बोधिसत्व बाहेक विभिन्न नागराजाहरुले तथागत, आर्यपुद्गल ऋषिमुनि पण्डितहरुलाई सेवा सम्मान गरेको बौद्ध जातक कथामा उल्लेख भएको पाइन्छ । विधुर जातकको आधारमा एक समय एकान्त रमणिय उद्यानमा कौरव्य राजा सहित देवराज इन्द्र गरुडराज र वरुण नागराज श्रमण धर्म उपोसथ व्रत बसेको थियो । त्यस समय कसलाई श्रमण भनिन्छ भन्ने विषयमा धेरै वादविवाद भएको थियो । शान्तिको कुरा अल्प आहारको महिमा, कामवासनाको परित्याग, सम्पत्ति भएर पनि साधारण व्यक्ति जस्तो हुने चारगुण सम्पन्नलाई श्रमण भनिन्छ प्रज्ञाव्दारा विधुर पण्डितले शंका निवारण गरेको थियो । विधुर पण्डितलाई वरुण नागराजले मणि अर्पण गरी सम्मान गरेको थियो । बत्तिस लक्षण अस्सी व्यञ्जनयुक्त ६ वटा वर्ण र रश्मि प्रकाश गरी तथागतको शान्त दान्त दिव्यरुप दर्शन गर्ने राजा अशोकको अगाध इच्छा चारवटा बुद्धको दर्शन पाएको काल नागराजबाट पूरा गरिएबाट अमानवीय ऋद्धि भएका नागराजहरु मध्ये कुनै विवेकशील मनुष्यको सदिच्छा पूरा गर्न सहयोगी भएको प्रष्टिएको छ ।

बुद्ध जीवनी बौद्ध साहित्य जातककथाको आधारमा नागराजहरुले समय र परिस्थिति अनुरुप बुद्ध श्रावकहरु एवं ऋषिमुनीहरुलाई सेवा भावभक्ति गरेको धर्म श्रवण उपोसथ शील पालन गर्न उपयुक्त भूमि मनुष्यलोक आउने गरेको देखिन्छ । अमानवीय ऋद्धि शक्तिका धनी नागराजहरु दिव्य ऐश्वर्य दिव्य सुखमा लिप्त नभई मनुष्यलोकमा बसी विर्यपूर्वक सहनशीलमा अधिक भइ शील पालन गरेको प्रसंगले मनुष्यहरुलाई जीवनको महत्व बुझी विलासी जीवनबाट अलग भई शील पालन गर्ने पुण्य कार्य गर्ने प्रेरणा दिएको छ । तथागतको परिनिर्वाणको खबरबाट दुःखी भएको जयसेन नागराज धेरै नागपरिषदका साथ तथागतको अन्तिम दर्शन गर्न कुशीनगर पुगेकोबाट नागराजहरु देव मनुष्य झैं समवेदनशील भएको बुझिन्छ । तथागतको अस्थिधातु दन्तधातु नागभुवनमा लगी भावभक्ति पूजा गरी अपायबाट मुक्त हुने प्रयत्न गर्न जानुबाट उनीहरुको महानता दर्शिएको छ । ऋद्धि शक्ति अहंभावको कारण तथागत एवं महाश्रावकलाई समेत दुःख दिन पछि नपरेको नन्दोपन्द भुजंग नागलाई तथागतले करुणा मैत्रीको बलबाट शान्त संयम धर्मधारक प्राणीमा परिणत गरिएबाट बौद्ध साहित्यमा राम्रो प्रभाव दर्सिएको छ ।

सन्दर्भ ग्रन्थहरुः

१. भिक्षु प्रज्ञानन्द(अनु), विशुद्धि ज्ञान दर्शन, ललितपुर, सुभाष प्रिटिङ प्रेस,२०२३

२. भिक्षु अमृतानन्द, संक्षिप्त बुद्ध जीवनी, सिद्धार्थ नगर, न्यू श्रेष्ठ छापाखाना, २०६२

३. भिक्षु नन्द महास्थविर(से.सं), तथागतया अस्थिधातु, आईडियल प्रिन्टिङ प्रेस

४. भिक्षु शान्ती शास्त्री(अनु), ललितविस्तर, लखनऊ, विनोद चन्द पाण्डे, ई.सं १९९२

५. भिक्षु अनिरुद्ध(अनु), धम्मपद अट्ठकथा भाग ५, काठमाडौं, नेपाल प्रेस, २०४५

६. भिक्षु शरणाकर(अनु), महापरित्राण, काठमाडौं, धम्म एण्ड एशिया, २०६८

७. भिक्षु ज्ञानपूर्णिक(अनु), महान ऋद्धिमती उत्पलवर्णा स्थविरा,ललितपुर, शान्ति सुखावास, २०५०

८. बज्राचार्य दुण्डबहादुर(अनु), जातक भाग ४,५,६, वीरपूर्ण पुस्तक संग्रह, २०६८

९. मानन्धर नानीमैंया(अनु), विधुर जातक, मुनिज बज्र प्रिन्टर्स, २०६२

१०. विनय पिटक ,महावग्ग पाली, इगतपुरी, विपश्यना विशोधन

(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयबाट थेरवाद बुद्धधर्ममा स्नातकोत्तर हुनुहुन्छ)

Loading...
Loading...
Loading...

भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’

मेष – स्वास्थ्य र नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । मान–सम्मानमा ध्यान राख्नुपर्ला...

एक बिहानै मणि भएको नागको दर्शन गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, मनोकामना पुरा हुनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला...

बुद्धको अनमोल वचन, जसले सोच्ने शैली बदल्छ

हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’...

भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ? वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर...

आज मंगलबार, विशेष गरी श्री गणेश भगवानलाई पूजा गर्ने दिन! गणेश भगवानको फोटोलाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष – दिन कार्यमा सफलता दिने खालको रहनेछ । अन्नधन बढ्नेछ । मान पुरस्कारप्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र...

भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’

आजको राशिफल स् कुन राशिका लागि आजको दिन शुभ ? वि.सं.२०७७ साल कार्तिक १० गते । सोमबार । ईश्वी सन्...

आज सोमबार, राम्रो छ यी ६ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले...

भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ? वि.सं.२०७७ साल कार्तिक ०९ गते । आईतबार । ईश्वी सन् २०२० अक्टोबर...