अकासियो सुनको मूल्य ! कारण यस्तो ! – Janata Live
  • Saturday, April 1, 2023

अकासियो सुनको मूल्य ! कारण यस्तो !

  • साउन २४, २०७६

अकासियो सुनको मूल्य !  कारण यस्तो !


काठमाडौं । बहुमुल्य पहेँलो धातु सुनको मूल्य दैनिक बढ्दै गइरहेको छ । आखिर किन ? नेपालमा पछिल्ला तीन दिनअघि सुनको भाउ प्रतितोला ६८ हजार रुपैयाँ थियो भने बुधबार ६९ हजार ५०० भयो । बिहीबार ७० हजार पुगेको थियो । कारण के हो त ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले बाह्रखरीसँगको कुराकानीमा भने,“यसको बृद्धिमा हाम्रो कुनै हात हुँदैन । यो सबै विदेशमा भइरहेका गतिविधिको कारणले हुने हो ।”

निश्चयपनि अन्तर्राष्ट्रिय असर नै नेपालमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको अवस्थामा यहाँ पनि बढ्ने विश्वकर्मा बताउँछन् । सुन ल्याउँदा कति कर लिइएको छ, राष्ट्र बैंकले के कस्तो नियम ल्याएको छ सोही आधारमा नै मूल्य तोकेर नेपालमा सुन व्यवसायीले कारोबार गर्ने गरेका छन् । अमेरिका र चीनबीचको व्यापारिक विवाद मात्रै होइन कि इरान र अमेरिकाबीचको विवाद र अहिले पछिल्लो समयमा भारतको काश्मीरमा भएको घटनासम्मले यसमा प्रभाव पारेको विश्वकर्मा बताउँछन् ।

उनको भनाइ थियो, “यसको मूल्य सेयर बजारको जस्तै उतारचढाव हुने हो । त्यहीअनुसार नै यसको मूल्य बढेको हो ।”

उनले अझै पनि सुनको भाउ बढ्न सक्ने समेत बताए । चीन विश्वकै सबैभन्दा बढी सुन उत्पादक राष्ट्र मानिने गरेकोे छ । सोही राष्ट्रको अहिले अमेरिकासँग व्यापारिक तनावको अवस्था हुँदा त्यसको असर सुनमा पर्नु अस्वाभाविक नरहेको सम्बद्ध जानकारहरुको तर्क रहेको छ ।

उनीहरुका अनुसार अन्य व्यापारको क्षेत्रमा भन्दापनि सुनमा लगानी गर्न खोजिएका कारण पनि यसरी मूल्य बृद्धि हुन लागेको हो । अमेरिकाले हालै मात्रै चीनलाई आउँदो सेप्टेम्बर महिनादेखि सामानमा कर बढाउने घोषणा गरिसकेको छ । यसको असर सुनमा अहिले नै देखिइसकोको छ भने अझै देखिन समेत सक्नेछ ।
अन्तर्राष्ट्रिय मिडियामा आएको एक तथ्यांकअनुसार अहिले विश्वका मानिस मध्ये ५० प्रतिशतले सुनलाई गहनाको रुपमा प्रयोग गरिरहेका छन् । ४० प्रतिशतले लगानीका लागि यसको प्रयोग गरेका छन् भन् १० प्रतिशतले उद्योगका रुपमा यसको प्रयोग गरिरहेका छन् ।

नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण ४० किलोसम्म पुग्छ ।

Loading...
Loading...
Loading...