भक्तपुरमा ३० करोडका ४० नयाँ योजना – Janata Live
  • Sunday, April 2, 2023

भक्तपुरमा ३० करोडका ४० नयाँ योजना

  • जनता लाइभ
  • साउन २३, २०७६

भक्तपुरमा ३० करोडका ४० नयाँ योजना

भक्तपुर । भक्तपुर नगरपालिकाले चालू आथिक वर्ष ०७६–७७ मा ४० वटा नयाँ योजनाका लागि करिब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले सम्पदा संरक्षण र पुनर्निर्माण, भवन निर्माण, मन्दिर, पाटीपौवा मर्मतसम्भार, खानेपानी, सडकलगायत क्षेत्रका नयाँ योजनामा २९ करोड ७१ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको हो ।

नगरपालिकाले क्रमागत र निरन्तर सञ्चालन भइरहेका योजनासमेतलाई बजेटको व्यवस्था गर्दै ४० वटा नयाँ योजनामा बजेट विनियोजन गरेको हो । चुनावका वेला पार्टीले अघि सारेको घोषणापत्र बमोजिम नगरवासीका माग सम्बोधन गर्ने प्रयास गरिएको मेयर सुनील प्रजापतिले बताए ।

नगरपालिकाले खानेपानी ट्यांकी निर्माण र पाइप व्यवस्थापनका लागि दुई करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । भाज्या पोखरीमा जलेश्वर मन्दिर निर्माण गर्न एक करोड नौ लाख, बहुउद्देश्यीय भवन निर्माण, पुरानो नगरपालिका रहेको (थन्थु दरबार) भवन निर्माण, अरनिको सभा भवन, महेश्वरी खोला पुल र सडक बत्ती विस्तारका लागि नगरपालिकाले एक–एक करोड विनियोजन गरेको छ ।

नगरपालिकाले परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीलाई सहुलियत दिन एक करोड रुपैयाँ छुट्याएको प्रमुख प्रशाससकीय अधिकृत यामलाल अधिकारीले बताए । भैरव मन्दिर जाने ध्वाका पुनर्निर्माण, न्यातापोल मन्दिर मर्मत, इखालाछीं मठ पुनर्निर्माण र आदर निकेतन सञ्चालनका लागि ५०–५० लाख विनियोजन भएको छ ।

कम्पोस्ट मल निर्माण कार्यका लागि ७३ लाख, मधिकर्मी छें निर्माणका लागि ५३ लाख, तरकारी बजार व्यवस्थापनका लागि ३७ लाख र यालाछें उकालोदेखि बालाखु गणेशसम्म ढुंगा छाप्ने कार्यका लागि ६० लाख विनियोजन गरेको छ ।

नगरपालिकाले अव्यवस्थित रहेको तारलाई भूमिगत गर्न ५० लाख रुपैयाँ छुट्याएको छ । पर्ती जग्गा संरक्षण तथा सीमांकन र सांस्कृतिक संग्रहालय निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको प्रशासकीय अधिकृत अधिकारीले बताए ।

क्रमागत योजनामा २८ करोड
नगरपालिकाले अघिल्लो वर्षबाट सुरु भएका क्रमागत योजनाहरूमा २८ करोड ४१ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले ख्वपः अस्पताल निर्माणका लागि मात्रै २० करोड रुपैयाँ व्यवस्था गरेको छ । लिवाली प्लानिङ क्षेत्रमा कालोपत्रेका लागि एक करोड ९४ लाख र एक्सप्रेस बसपार्क कालोपत्रेका लागि एक करोड १८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सिद्धपोखरी खेल मैदानका लागि ७७ लाख, हाडा छें पुनर्निर्माणमा ५४ लाख, लिवाली कवर्ड हल निर्माण, सम्पदा क्षेत्रमा रात्रि बत्ती व्यवस्थापन र सल्लाघारी पर्ती जग्गा संरक्षणमा ५०–५० लाख तथा बारे पुखु खानेपानीका लागि ३० लाख विनियोजन भएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...