मन्दिरको आवरणमा व्यापार, जग्गासहित मन्दिर नै बिक्री

सिरहा । सिरहाको लहान नगरपालिका–२० ब्राह्मण गाउँमा रहेको सार्वजनिक जग्गामा मन्दिर बनाएर भूमाफियालाई जग्गा बिक्री गरेको पाइएको छ ।
स्थानीय विन्देश्वर रामले रघुनन्दन साहुवाला पोखरीको जग्गा अतिक्रमण गरी त्यहाँ कृष्ण मन्दिर बनाएर बिक्री गरेका हुन् । स्थानीय तहको निर्वाचनअघि नै करिब १० धुर सरकारी जग्गामा मन्दिर बनाएर रामले छिमेकी सुगालाल चौधरीलाई बेचेको पाइएको छ ।
लहान नगरपालिका–२० का वडाध्यक्ष गणेशकुमार चौधरीले स्थानीय विन्देश्वर रामले सार्वजनिक पोखरीको पश्चिम डिलमा कृष्ण मन्दिर बनाई बिक्री गरेको जानकारी दिए । ‘कृष्ण मन्दिरसहित ऐलानी जग्गा छिमेकी सुगालाल चौधरीलाई एक लाख २५ हजार रुपैयाँमा बिक्री गरेको पाइयो,’ उनले भने । सुरुमा सरकारी जग्गामा झुपडी बनाएर बस्ने र त्यसमा मन्दिर बनाई पछि भूमाफियालाई बिक्री गर्ने गरेको पाइएको वडाध्यक्ष चौधरीले बताए ।
सरकारी जग्गा अतिक्रमण गरी बिक्री गर्ने काममा रामलाई गाउँकै राजेश रामले साथ दिएका थिए । मोचीले स्थानीय तहको निर्वाचनअगावै पोखरीको चारवटै डिलको सार्वजनिक जग्गा अतिक्रमण गरी बिक्रिनामाको कागज बनाएर स्थानीय केही व्यक्तिलाई बिक्री गरेको पाइएको वडाध्यक्ष चौधरीले बताए । त्यसरी बेचिएको जग्गा सामाजिक निर्णयका आधारमा अहिले वडा कार्यालयको हकभोग कायम गरिएको उनको भनाइ छ ।
मन्दिरको दानपेटिका नै लुटियो
स्थानीय ब्राह्मण कुटीका महन्थ रामनारायण दासले मोचीका बाबुछोराले एक वर्षअघि स्थानीय ब्राह्मण ठाकुर धार्मिक वन क्षेत्रभित्र रहेको मन्दिर परिसरबाट दानपेटिका लुटेर लगेको बताए ।
‘त्यसमा मन्दिरमा आएका भक्तजनले चढाएको करिब डेढ वर्षको दान रकम थियो,’ महन्थ दासले भने । दानपेटिका लुटेको विषयमा स्थानीय बिटोरी महतोले वडा कार्यालयमा उजुरी गरेपछि छानबिन भइरहेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।
सार्वजनिक जग्गामा मन्दिर बनाएर जग्गासहित बिक्री गरेको विषयमा रविया मोचीले सबै कुरा खोल्न नसकिने बताए । ‘उच्च अदालत जनकपुर, राजविराज इजलासमा रिट गरेको छु, फैसला नआएकाले केही बोल्दिनँ,’ मोचीले भने ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको हनुमान मन्दिर हटाएर नजिकै बनाइएपछि उक्त विषय अदालती प्रक्रियामा रहेको थाहा पाएको बताए । ‘अदालतले गर्ने फैसलाका आधारमा स्थानीय समुदाय, वडा कार्यालय र मन्दिर बनाउने व्यक्ति अगाडि बढ्नु पर्छ,’ प्रहरी नायब उपरीक्षक रिजालले भने ।
मन्दिर बनाइएको जग्गामा बर्थिङ सेन्टर र ओभरहेड पानी ट्यांक बनाइने
साबिक ब्राह्मण गोर्छाडी गाविसको भवन अपायक पर्ने भएकाले पोखरीको डिलमा रहेको स्वास्थ्यचौकी भवनको एउटा कोठामा वडा कार्यालय सञ्चालन गरिरहेको वडाध्यक्ष चौधरीको भनाइ छ ।
‘स्थानीय ब्राह्मण, गोर्छाडी, हरिनगरा, मलहनमा गाउँका सेवाग्राही आउने स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी पोखरीको दक्षिण डिलमा बर्थिङ सेन्टर सञ्चालन गर्नेगरी भवनका लागि राजविराजस्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा योजना पेस गरिएको छ,’ उनले भने, ‘दक्षिण–पूर्व कुनाबाट उत्तरतिर ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी बनाउने वडा कार्यालयको योजनामा परेको छ ।’
वडाध्यक्ष चौधरीका अनुसार ओभरहेड ट्यांकीका लागि बोरिङसमेत भइसकेकाले चालू आर्थिक वर्ष ०७६–०७७ मै निर्माणको काम थालनी हुँदै छ । ट्यांकी निर्माणपछि वडा नम्बर २० अन्तर्गतका पाँच गाउँमा स्वच्छ पानीको आपूर्ति सहज हुने उनले बताए । ‘सामुदायिक हितका लागि गर्न खोजिएको काममा अवरोध पु¥याउन व्यक्तिगत रूपमा बनाइएको मन्दिर हटाएर अर्को ठाउँमा बनाउँदा जातीय कुरा जोड्नु राम्रो होइन,’ उनले भने ।
सरकारी जग्गामा जबरजस्ती मन्दिर
ब्राह्मण गाउँका दलित महिलाले पनि केही व्यक्तिले सरकारी जग्गा अतिक्रमण गरी मन्दिरको आवरण दिएर व्यापार गर्न खोजेको आरोप लगाएका छन् । रघुनन्दन साहुवाला पोखरीको दक्षिण–पश्चिम डिलमा वडा कार्यालय र स्वास्थ्य चौकी सञ्चालनमा छ ।
लहानबाट दक्षिण ब्राह्मण गाउँ छिचोलेर पोखरीको उत्तर–पूर्व कुनामा करिब २० फिट मुख छेकेर डिलमै हनुमान मन्दिर बनाइएपछि स्थानीय जनप्रतिनिधि, समाजसेवीको ११ कात्तिक ०७५ बैठकको निर्णयअनुसार मन्दिर हटाएर हनुमानको माटोको मूर्ति पोखरीमा विसर्जन गरिएको नगर कार्यपालिकाकी सदस्यसमेत रहेकी स्थानीय कुस्मीदेवी रामले बताइन् ।
‘वडा कार्यालयले हकभोग गर्दै आएको सार्वजनिक जग्गामा पटक–पटक रोक्दा समेत स्थानीय खुसीलाल मोचीले जबर्जस्ती मन्दिर बनाएका थिए,’ कार्यपालिका सदस्य रामले भनिन्, ‘नगर प्रमुख, उपप्रमुखले समेत स्थलगत निरीक्षण गरी सार्वजनिक जग्गामा मन्दिर निर्माण रोक्न आग्रह गर्नुका साथै वडा कार्यालयले गरेको आग्रह बेवास्ता गरिएपछि सामाजिक निर्णयका आधारमा हटाइएको हो ।’ बाटो छेकेर बनाइएको मन्दिर हटाएपछि स्थानीय समुदायले त्यही छेउमा वडा कार्यालयको सहयोगमा नयाँ हनुमानको मन्दिर निर्माण गर्दै छन् । नयाँ पत्रिका दैनिकबाट
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...