सार्वजनिक शौचालय बनाउन महानगरले जग्गा नै भेटेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा खोजिभइरहेको जनाएको छ । तत्कालका लागि १२ स्थानमा शौचालय निर्माण गर्ने योजनामा रहेको महानगरले उपयुक्त ठाउँमा जग्गा प्राप्त भइनसकेको बताएको छ ।
काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार सार्वजनिक शौचालयको डिजाइन समेत तयार भइसकेको छ । ‘सार्वजनिक शौचालय सबैको आवश्यकता हो । तर, हाम्रो दिमाग सार्वजनिक शौचालय भन्ने बित्तिकै दुर्गन्ध भन्ने परेको छ,’ बस्नेतले भने, ‘सोही कारण आफू बसेको आसपासका स्थानमा सार्वजनिक शौचालय बनाउन इन्कार गर्नेहरू देखिएका छन् ।’
उनले भिडभाड हुने र उपयुक्त स्थान पहिचान गरी शौचालय निर्माण गरिने बताए । ‘मानिसले नदेख्ने ठाउँमा शौचालय बनाउने कुरा हुँदैन । त्यसैले, अहिले हामीले जग्गा खोजिगरिरहेका छौँ,’ उनले भने, ‘जग्गा प्राप्त हुनासाथ शौचालय निर्माणको थालनी हुन्छ ।’ उनका अनुसार निजी क्षेत्रले समेत सार्वजनिक शौचालय बनाउने इच्छा देखाएका छन् । ‘एउटै प्याकेजमा शौचालय निर्माण गर्ने योजना छ । बैंकहरूले समेत इच्छा देखाएका छन् । जग्गा प्राप्त भएपछि टेन्डर प्रक्रिया अघि बढ्छ,’ बस्नेतले भने ।
काठमाडौंमा ५८ सार्वजनिक शौचालय, २८४ आवश्यक
महानगरमा अहिले ५८ वटा सार्वजनिक शौचालय छन् । अहिले भएका शौचालयसमेत व्यवस्थित छैनन्, सार्वजनिक शौचालय शौच गर्न योग्य नभएको गुनासा आइरहेका छन् । सार्वजनिक शौचालय नबनाएको र भएकालाई पनि व्यवस्थित गर्न नसकेको भन्दै महानगरपालिकाको आलोचना हुँदै आएको छ । महानगरले केही समयअघि बनाएको कार्यदलले भने महानगर क्षेत्रमा दुई सय ८४ स्थानमा सार्वजनिक शौचालय आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।
५० रेस्टुरेन्टसँग सहमति
महानगरपालिकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै विभिन्न सपिङ मल र रेस्टुरेन्टहरूसँग सहकार्य गरी शौचालय सुविधा प्रदान गर्ने भएको छ । त्यसका लागि ‘अहिले ५० वटा रेस्टुरेन्ट सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन सहमत भएका छन् । त्यहाँ खाना, खाजा नखाई पनि शौच गर्न सकिन्छ । कसरी प्रयोग गर्ने भन्नेबारेमा छलफलमै छौँ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट