आज नागपञ्चमी मनाइँदै

हिमाली काखको नेपाली सभ्यतामा प्रकृतिका हर उपजको सम्मान छ । यहाँ चरा पुजिन्छन् । वृक्ष पुजिन्छन् । पर्वतको सम्मान छ । नदीको आदर छ । यति मात्र होइन विषधर सर्पप्रजातिलाई यहाँ नागदेवता मानेर पूजा गरिन्छ । नागको सम्मानमा पर्व नै मनाइन्छ ।
नागपञ्चमी पर्वमा घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।
श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम्वाद भएको पौराणिक प्रसंगका आधारमा यस तिथिलाई नागपञ्चमी पर्व मानिएको हो ।
वराहपुराणका अनुसार नागराजले आफ्ना समस्याबारे ब्रह्मासँग संवादगरेपछि विषधर नागहरु शान्तभएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । नागपञ्चमीका दिन घरघरमा नागको तस्वीर बनाई द्वारमाथि टाँसेर पूजा गरिन्छ । नागका अष्टकुल अनन्त वासुकि पद्म,महापदम,तक्षक,कुलीर,कर्कोटक शंख नागको चित्र ढोकामाथि टाँसेर दुईतिर कपासको पिउरी सजाई नाग पूजा गरिन्छ । घरमा नाग पूजा गर्दा दूधदही,अक्षता,दुबो,लावा फलफूल चढाई दूध वा खीरको नैवेद्य लगाउने चलन छ ।
यसरी नागको पूजा गर्नाले घरमा चट्याङ वज्रपात नपर्ने,अग्निभय र सर्पदंसको डर नहुने र शरीरमा रोगव्याधि नलाग्ने धार्मिक मान्यता छ ।
ब्रह्मवैवर्त पुराणका अनुसार भगवान श्रीकृष्णको पदचिह्न कालयि नागले शिरमा धारण गर्ने भएकाले नागलाई मार्न हुँदैन भन्ने विश्वास छ ।
नागपूजा गरेपछि नागपञ्चमीका दिन खेतबारीमा खनजोत गर्नु हुँदैन भन्ने गरिन्छ । खनजोत गरेमा जमिनमुनि बसेका नाग काटिनसक्ने र त्यसो भएमा पाप लाग्ने बताइन्छ । नागको नेपाली समाजमा नागपञ्चमीदेखि हिउँदे प्रभाव देखिने र श्रीपञ्चमीदेखि वर्षे याम शुरु हुने लोककथन प्रचलित छ ।
नाग पञ्चमीका दिन जलमूल तथा ठूला जलाशयमा पनि नागको पूजा गर्ने परम्परा छ । जलमूल, इनार कुवा, पोखरी धारामा नागको निवास मानेर नागपूजा गर्ने परम्परा छ । यस्ता जलाशयमा कपास वा पीठाको नाग बनाई त्यसमा तीलको कत्ला, मासको आँखा र दुवाको जिब्रो बनाउने चलन छ । स्पर्शक्षमतामा तेज मानिने सरिसृप प्राणी नागका दुईवटा जिब्रा हुन्छन् ।
नागपञ्चमीका दिन काठमाडौको केन्द्रस्थलमा पर्ने नक्साल नागपोखरीमा नागको विशेष पूजाआजा गरिन्छ । पोखरीको बीचमा रहेको नागको अग्लो प्रतिमामा नयाँ वस्त्र पहिराई शिरबाट दूधले नुहाइदिएर विधिपूर्वक नागको पूजा गर्ने परम्परा छ । यहाँ नागपञ्चमीका दिन नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।
काठमाडौकै कीर्तिपुर नगरपालिकामा पर्ने चोभार तल रहेको टौदहमा पनि नाग पञ्चमीमा नागपूजा गर्नेको भीड लाग्छ । दहको दक्षिणतिर रहेको धारामा स्नान गरी नजिकै रहेको नाग प्रतिमामा नाग पूजा गरिन्छ । यो दह नागराज कर्कोटकको निवास मानिन्छ । पाटनमा मत्स्येन्द्रनाथको रथयात्रा गर्ने बेलामा यहाँ नागलाई विधिपूर्वक निमन्त्रणा गर्ने चलन छ ।
यसै गरी ललितपुरको धापाखेलस्थित नागदहमा पनि नागपञ्चमीमा नागपूजा गर्नेको भीड नै लाग्दछ । यस दहमा वासुकि नाग निवास गर्ने बताइन्छ । दहको उत्तरपट्टि जलमाथि वासकि नागको मन्दिर पनि बनाइएको छ । दहको पश्चिमी किनारमा पनि एउटा मन्दिर बनाइएको छ । दह निकै सुन्दर देखिन्छ । अझ दह किनारमा फुल्ने श्वेत कमलका फूलले दहलाई मनमोहक बनाएका छन् । तालको वरिपरि खेतको हरियाली र विभिन्न वृक्ष वनस्पति पनि देखिन्छ । दहको किनारबाट मनोरम प्रकृतिले सजिएको धापाखेल नागदहमा वासुकि नाग बस्ने भएकाले दह वरिपरि फोहर फाल्न नहुने, पौडी खेल्ने होहल्ला गर्ने दहका वस्तु घर लिएर जाने गर्न नहुने मान्यता छ ।
तत्कालीन काठमाडौ खाल्डोमा रहेको कालीदह खोल्दा दहमा रहेका नागमध्ये वासुकिलाई धापाखेल दहमा र कर्कोटकलाई टौदहमा बस्नका लागि व्यवस्था गरिएको जनकथन छ ।धापाखेलको जलशोभा र जनआस्था देखेर चिनियाँ यात्री हुयन शाङले आफ्नो यात्रा वृतान्तमा यस दहको पनि नाम उल्लेख गरेका छन् ।
दहमा थुप्रै जलमूलहरु छन् । यो दहको जल खडेरीमा पनि खासै घट्तैन । ग्रामीणजनले यसलाई जलघाटका रुपमा समेत उपयोग गरेका छन् । जलसम्पदाका प्रतीक नाग बस्ने वासस्थानलाई बचाउनु वातावरणीय दृष्टिले पनि महत्वपूर्ण छ । अझ यहाँको दहबाट निस्केको पानीले आसपासका खेतमा धान रोपाइँ गरिन्छ । कृषिका लागि यसको ठुलो महत्व छ । पर्यावरण र पर्यटनमा पनि यसले महत्वपूर्ण योगदान गरेको छ । तर वरपर तालमै गाँसेर बनाइएका होटल, आधुनिक माछा पोखरीले यहाँ शानि सौन्दर्य र शुद्धतामा संकट पार्नसक्ने खतरा पनि बढ्दै छ । वरिपरिबाट फोहर र रसायनयुक्त पानी यहाँ पस्यो भने दहका कमलफूल प्रभावित हुने छन् । जलप्राणीमा प्रतिकूल असर पर्नेछ, जलकुम्भी जस्ता झार भरिने छ । दहको दृश्य र अस्तित्वमा नराम्रो असार पार्ने गतिविधि रोक्नु दह प्रेम हो । प्रकृति प्रेम र जलप्राणीको वास्तविक पूजा हो ।
वैदिक सनातन सभ्यतामा पृथ्वीका सारा जीव र प्राणीप्रति सम्मानभाव छ । उनीहरुको पनि मानिसको जस्तै यस धरामा अधिकार छ भन्ने व्यवहार देखिन्छ । यस सभ्यताका देवताले प्राणीप्रेम गरी आफूसँगै राखेका छन् । भगवान विष्णु समुद्रमा शेषनागको आशन बनाई शयन गर्नुहुने भएकाले उहाँलाई शेषशायी विष्णु भन्ने गरिन्छ । भगवान शिव घाँटीमा नागको माला लगाएर नागेन्द्रहाराय बन्नुभएको छ । गुरुगोरखनाथद्वारा नागबन्धन र मत्स्येन्द्रनाथबाट फुकुवाको प्रसंगमा आधारित काठमाडौको मत्स्येन्द्रनाथ तथा मीननाथको जात्रा पनि नागसँगै गाँसिएको छ ।
योगमा कुण्डलिनी नाग रुपकै उत्थान छ । स्वयम्भूमा पञ्चतत्वको पूजा गर्ने क्रममा पृथ्वीको प्रतीक वासुपुर, वायुको प्रतीक वायुपुर,अग्निपुर, अनन्तपुर र जलको प्रतीक नागपुर बनाई पूजा गरिएको छ । हिन्दू बौद्ध शिख, जैन ओमकार परिवारका सदस्यहरु नाग पूजा गर्छन् । नगधुरीबाट बग्ने नदीकिनारमा नागरिक भएर बसेका हैमसभ्यतामा नागको स्थान र मान महान् छ । नागवंशी नागरिकका समाजमा त झन् यसको अर्थ थप प्रगाढ छ ।
जलमूल तथा जलाशयमा रमाउने नागहरुलाई वातावरण शुद्धिका महत्वपूर्ण संकेतका रुपमा पनि लिने गरिन्छ । यिनीहरुबाट कहिले कहीँ हुने सर्पदंश र विषको दुःख आफैले व्यवस्थापन गर्न जान्नुछ । जानेमा विषबाट विषौधि बनाउन सकिन्छ । मानिसले प्रकृतिका उत्पादनलाई व्यवस्थित गर्न जान्यो भने हर चीज वरदान बन्छन् । अमृत बन्छन् । नागलोकमा अमृत संगृहित रहेको प्रसंगले नाग नै अमृत दिने प्राणी हुन भन्न सकिन्छ । अबको विद्या यसैतर्फको अनुसन्धानमा अग्रसर हुनु जरूरी छ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...