उपत्यकाबाट मात्रै एक वर्षमा साढे १८ करोडको सुन बरामद – Janata Live
  • Saturday, April 1, 2023

उपत्यकाबाट मात्रै एक वर्षमा साढे १८ करोडको सुन बरामद

  • जनता लाइभ
  • साउन १७, २०७६

उपत्यकाबाट मात्रै एक वर्षमा साढे १८ करोडको सुन बरामद

काठमाडौं । प्रहरीले उपत्यका भित्रिने मुख्य नाका नागढुंगाबाट एक किलो सुनसहित तस्करीमा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ । रसुवा गोसाईकुण्ड–५ का ३२ वर्षीय दिन्डुप तामाङ पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नाकामा नियमति जाँच गर्ने क्रममा उनी पक्राउ परे । बा.९ प २७२६ नं. को २०० सिसीको पल्सर मोटरसाइकलमा सवार उनले सुनलाई चार टुक्रामा विभाजन गरी पेटीमा लुकाई काठमाडौं भित्र्याउँदै थिए । घटनाकोे प्रकृति अध्ययन गर्दा उनले पटक–पटक तस्करी गरेको देखिएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले घटनाको प्रकृति अध्ययन गर्दा पक्राउ अभियुक्त व्यवसायिक तस्कर भएको देखिने बताए । उनले भने, ‘यसले सुनलाई चारवटा टुक्रामा विभाजन गरेको भेटियो । त्यसलाई कालो टेपले बेरेर कम्बरको पेटीभित्र हालेको देखियो । व्यावसायिक तस्करले मात्रै यस्तो विधि अपनाउँछ ।’

अधिकांश सुन विमानस्थलबाट बरामद
प्रहरीले एक वर्षमा काठमाडौं उपत्यकाबाट मात्रै ३३.४९३९२ किलो सुन बरामद गरेको छ । जसमध्ये २४.२९३९२ किलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याइएको हो । जसलाई विमानस्थलस्थित अन्तर्रा्ष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

बाँकी ९.२ किलो सुन भने रसुवा नाका हुँदै भित्रिएका हुन् । उक्त परिणामको सुन भने महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले बरामद गरेको हो । हालको बजार भाउ अनुसार बरामद सुनको मूल्य १८ करोड ५० लाख ५३ हजार रुपैयाँ पर्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले परीक्षण गर्ने प्रणाली वैज्ञानिक नहुँदा सुन तस्करी बढेको बताए । उनले भने, ‘प्रहरीको तथ्यांकमा आएको बरामद भएको सुन मात्रै हो । जुन सूचनाका आधारमा पक्राउ परे । पक्राउ नपर्ने सुन झन् धेरै छ ।

जसको सूचना नै आउँदैन । हामीकहाँ जाँच गर्नै वैज्ञानिक आधार छैन । सबै काम म्यानुअल्ली भइरहेका छन् । जाँचका आधारमा वैज्ञानिक हुँदो हो त बरामद हुने सुनको परिणाम अझ धेरै हुने थिए ।’

भरिया मात्रै पक्राउ
प्रहरीले बर्ष दिनमा सुन तस्करमा संलग्न ९२ जनालाई पक्राउ गरेको छ । जसमध्ये ८७ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परे । बाँकी ५ जना भने रसुवा नाका हुँदै तस्करी गर्नेहरू पक्राउ परे । प्रहरीका अनुसार मुख्य अभियुक्त अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

परिसरका एसपी सिंहले भने, ‘सुन तस्करमा जति पनि पक्राउ परेका छन् । ती सवै भरिया हुन् । मुख्य योजनाकार कोही पनि पक्राउ परेका छैनन् । विमानस्थलबाट पक्राउ परेकाहरू त झन वैदेशिक रोजगारबाट फर्किएकाहरू छन् ।’

मुख्य योजनाकार पक्राउ गर्न मुस्किल
प्रहरीका अनुसार तस्करले तस्करीका लागि सँधै नयाँ तरिका अपनाउँछ । एउता तरिका असफल हुना साथ उसले तुरुन्तै तस्करीको तरिका बदल्छ । तस्करीका लागि उसले सँधै आर्थिक समस्याबाट गुज्रिएकाहरूलाई प्रयोग गर्छ ।

जब तस्करीका लागि उपयुक्त पात्र फेला पर्छ, उसलाई सँधै निजी सुराकी मार्फत निगरानीमा राख्छ । तस्करीमा प्रयोग हुने तरिका मात्र होइन सूचना आदन प्रदानमा प्रयोग हुने मोवाइल, सिमा कार्ड, ढुवानी प्रयोग हुने मोटरसाकइल समेत दोस्रो पटक प्रयोग गर्दैन । जसले गर्दा तस्करीका मुख्य योजनाकार पक्राउ गर्न मुस्किल छ । नयाँ पत्रिका दैनिकबाट

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...