प्रदूषणमा पिल्सिएका नागरिक – Janata Live
  • Tuesday, August 4, 2020

प्रदूषणमा पिल्सिएका नागरिक

  • डा. यादवप्रसाद जोशी
  • जेठ २९, २०७६

प्रदूषणमा पिल्सिएका नागरिक

काठमाडौंको हावा बिहान, बेलुका र राति प्रायः बहँदैन । त्यतिबेला यहाँको वातावरण बढी प्रदूषित हुन्छ । त्यसैले काठमाडौं उपत्यकाको बढी प्रदूषित ठाउँमा बिहान र बेलुकी हिँड्ने बानी स्वास्थका लागि हितकर मानिँदैन । 

रासायनिक पदार्थ, धुवाँधुलो आदि हावामा मिसिन गई हावा दूषित भएर वायुप्रदूषण हुन्छ । सामान्यातया वायुप्रदूषण भन्नेबित्तिकै ‘हावा’लाई मात्र बुझ्ने गरिन्छ । तर, हावामा हुने विभिन्न किसिमका ग्यास कार्बन–मनोअक्साइड, सल्फर–डाइअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र घातक पदार्थको मात्रा निश्चित मापदण्डभन्दा बढ्न गएमा वायुप्रदूषण हुन्छ । कुन ग्यासको मात्रा कति हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले मापदण्ड तोकेको छ । त्यो भन्दा बढी भएमा स्वास्थ्यमा प्रतिकल असर पर्दछ ।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आ–आफ्नै मापन छ । गत जनवरीमा अमेरिकी विश्वविद्यालयहरू यल तथा कोलम्बियाद्वारा तयार पारिएको ‘इन्भाइरोमेन्ट पर्फर्मेन्स इन्डेक्स’ (ईपीआई) मा विश्वभरका एक सय ८० प्रदूषित देशमध्ये नेपाल एकसय ७६ औं नम्बरमा थियो, जसमा छिमेकी देश भारतको स्थान १७७ मा छ । यसबाट नेपाल र भारतको हावा स्वास्थका लागि हानिकारक छ भन्ने देखाउँछ । तर, वायुप्रदूूषणमा ईपीआई (मापनको मापदण्ड)लाई नै पूर्ण आधार मान्न सकिँदैन ।

प्रदूषणयुक्त हावाले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पारेको हुन्छ । काठमाडौंको विभिन्न स्थानको हावा, विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा धेरै गुणा बढी प्रदूषित छ । दूषित हावाका कारण संसारमा प्रतिवर्ष नौ लाख मान्छेको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको आँकडा छ । त्यसमा पनि घरभित्रको प्रदूषणले ४ लाख र घरबाहिरको प्रदूषणले ५ लाख मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ३७ प्रतिशत फोक्सोको क्यान्सर, ३४ प्रतिशत मस्तिष्कघात र २७ प्रतिशत मुटुको रोगका मुख्य कारक वायुप्रदूषण हुने गरेको छ ।

एक अध्ययन अनुसार, नेपालमा प्रदूषित हावाका कारण वार्षिक ३२ हजारको ज्यान जाने गरेको छ । तर, वायुप्रदूषणबाट हुने प्रभावको यकिन तथ्यांक सरकारसँग छैन । नेपालमा कुन स्थानको वायु कस्तो छ भनेर थाहा पाउन र यसको जनस्तरमा प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न सरकारले वायुप्रदूषण मापन केन्द्र राख्नुपर्छ । अहिले नेपालमा १२ वटा वायु मापन केन्द्र छन् । तीमध्ये ७ वटा काठमाडौंमा र ५ वटा राजधानीबाहिर छन् । त्यति मात्र पर्याप्त होइन ।

भूगोलको हिसाबले काठमाडौं निकै सानो शहर हो । अब काठमाडौंलाई ‘साइकल सिटी’का रूपमा विकास गर्नुुपर्छ । युरोपका थुप्रै शहरलाई साइकल सिटी बनाइएको छ, प्रदूषणबाट बच्नैका लागि ।

काठमाडौं उपत्यकाको हावा देशका अन्य क्षेत्रभन्दा बढी प्रदूषित छ । देशको राजधानी भएकाले यहाँ जनसख्याको चाप अत्याधिक छ । जसका कारण अन्य शहरको तुलनामा बढी प्रदूषित हुन पुगेको मान्न सकिन्छ । उपत्यकाको प्रदूषणको कारक जनजीवनसँग सम्बन्धित छ । यातायात, अव्यवस्थित विकास निर्माण र इँटा उद्योग यसका मुख्य कारण हुन् ।

काठमाडौं उपत्यकाको भू–बनावटले पनि यहाँ बढी वायुप्रदूषण भएको छ । प्रदूषित हावा एक ठाउँबाट अर्को ठाउँमा बहने क्रममा त्यो ठाउँमा भएर बहने वायुको महत्वपूर्ण भूमिका हुन्छ । तर, काठमाडौं उपत्यकाको भू–बनावट ‘कचौरा’ जस्तो भएकाले यहाँको हावा अपराह्न मात्रै बग्ने गर्छ । काठमाडौंको हावा बिहान, बेलुका र राति प्रायः बहँदैन । जसले गर्दा बिहान, बेलुका र राति बढी प्रदूषित भएको पाइन्छ । त्यसैले काठमाडौं उपत्यकाको बढी प्रदूषित ठाउँमा बिहान र बेलुकी हिँड्ने बानी स्वास्थका लागि हितकर मानिँदैन ।

काठमाडौंमा ६० प्रतिशत प्रदूषणको मुख्य कारक यातायात नै हो । नयाँभन्दा पुराना गाडीले बढी धुँवा फाल्छ, जुन धुवाँ विषाक्त हुन्छ । तर, राज्यले पुराना गाडीहरू विस्थापित गर्न सकेको छैन । प्रदूषण चाँजका नाममा यातायातका साधनलाई गरिने सामान्य कारबाहीबाट राज्यलाई आर्थिक लाभ त होला तर, कति प्रदूषण झेल्नुपरेको छ, त्यो जनजीवनका लागि महत्वपूर्ण हो ।

कुनै पनि शहरमा केकति मात्रामा गाडीको चाप राख्ने भनेर मापदण्ड तयार गरिएको हुन्छ । काठमाडौं उपत्यकाको सडकमा मान्छेभन्दा गाडी बढी भइरहेको भान हुन्छ । जामको समस्या उस्तै छ । गाडी जाममा फसेर गति बढाउँदा झन बढी धुँवा फालिन्छ । जसले वायु प्रदूषण गर्छ ।

भारतले २०३० र चीनले २०२५ सम्म इन्धनबाट सञ्चालित सवारीसाधनलाई विस्थापित गर्ने नीति लिएका छन् । यी देशले पछिल्लो समयमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइरहेका छन् । अब नेपालमा पनि विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्छ । राज्यले सोहीअनुरूप नीति अबलम्बन गर्न जरुरी छ ।

भूगोलको हिसाबले काठमाडौं निकै सानो शहर हो । अब काठमाडौंलाई ‘साइकल सिटी’का रूपमा विकास गर्नुुपर्छ । युरोपका थुप्रै शहरलाई साइकल सिटी बनाइएको छ, प्रदूषणबाट बँच्नैका लागि । चक्रपथ ६ लेनसम्मको सडक हो । तर, साइकलका लागि छुट्टै लेन छैन । गाडीलाई मात्र प्राथमिकता दिएर हुँदैन । साइकल र पैदलयात्रुलाई पनि प्राथमिकता दिनुपर्छ । सोहीअनरूपको संरचना पनि बनाउनुपर्छ ।

विकास निर्माण, इँटा भट्टासहित अन्य कारणले काठमाडौं उपत्यकामा वायुप्रदूषण हुने गरेको छ । मेलम्ची खानेपानी आयोजनाका पाइप बिछ्याउने नाममा काठमाडौंका नागरिक २ वर्षदेखि धूलो खान बाध्य छन् । कमभन्दा कम धुलो उडाएर मानव स्वास्थ्यलाई ख्याल गर्दै विकास निर्माण गर्नुपर्ने हो । तर, यहाँ बाटो खनेको महिनौं दिनसम्म कालोपत्रे गरिँदैन । मानवस्वास्थ्यलाई महत्व नदिएको हो कि भन्ने भान हुन्छ । मेलम्ची एउटा उदाहरण हो । बाटो कालोपत्रे गर्ने, विजुली, टेलिफोनका खम्बा गाडने नाममा मात्र होइन विभिन्न प्रकारका पाइप जमिनमुनि बिछ्याउने नाममा धुलो उडाउने गरिएको छ ।

वायु प्रदूषणले मुख्यतः गर्भवती, नवजात शिशु र वृद्धवृद्धाको स्वास्थ्यमा ठूलो क्षति गर्छ । शिशुका लागि सुरुको एक हजार दिन बालमष्तिस्क विकासका लागि महत्वपूर्ण समय हो । यो आवधिमा शिशुलाई स्वास–प्रश्वासका लागि स्वच्छ हावा चाहिन्छ । तर, प्राणवायु नै प्रदूषित भएपछि त्यसको मारमा शिशु पर्ने गरेका छन् । प्रदूषित वायुले मस्तिष्कमा क्षति पु¥याएमा उनीहरूको भविष्यमा के होला भन्ने अनुरत्तरित प्रश्न छ । त्यसैले सरोकारवाला निकायले समयमै सोच्न जरुरी छ ।

हामी सबैले सबैभन्दा बढी माया गर्ने शिशुको भविष्यसँग जोडिएको विषय हो, स्वच्छ हावा । वायु प्रदूषण रोकथामका लागि सबैभन्दा पहिले जनचेतना आवश्यक छ । सरकारले नीति–नियम अबलम्बन गरेर कडाइका साथ लागू गर्न जरुरी छ ।

वायू प्रदूषण सम्बन्धित अनुसन्धानमा जोड दिनु अनिवार्य छ । जसका लागि देशका सम्पूर्ण स्थानको दैनिक वायुप्रदूषणसँग सम्बन्धित कारकको मापन, रोगको किसिम तथा मृत्युको कारण भएको तथ्यांक हुन अनिवार्य छ । विकसित देशहरूमा वायुप्रदूषणको स्वास्थमा प्रभाव थाहा पाउने मुख्य आधार तथ्यांक नै हो । अनुसन्धानबिना कुनै पनि देशको विकास हुन सक्दैन । भविष्यमा अनुसन्धानलाई प्रोत्साहन गर्नका लागि पनि अहिलेदेखि नै यो विषयमा सरोकारवाला निकायले पहल गर्न आवश्यक छ ।

पछिल्लो समय काठमाडौंमा ‘स्वच्छ हावा’ अभियान सञ्चालन भइरहेको छ । ‘स्वच्छ हावा’ काठमाडैंको वायुप्रदूषण न्यून गरी यहाँको वायुलाई स्वच्छ बनाउन सकिन्छ भन्ने विश्वास गर्ने नागरिकहरूद्वारा स्वःस्फूर्त रूपमा आयोजना गरिएको अभियान हो । यसले पनि वायुप्रदूषण रोकथाममा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

(दक्षिण कोरियाको संगक्योनक्वान विश्वविद्यालयबाट वातावरणीय स्वास्थ्यसँग सम्बन्धित विषयमा पीचएडी गरेका जोशी इनभाइरोन्मेन्टल इपोडेमियोलोजिस्ट हुन् ।)

Loading...
Loading...
Loading...

बौद्ध धर्ममा स्तुपको अर्थ, महत्व र इतिहास

त्रिकालको सम्पूर्ण बुद्ध बोधिसत्व र मेरो मूल गुरु श्रद्धेय खेन्पो साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको चरणगमन । हामी सबै प्राणीमा बुद्धताको...