ब्यूँतिदै हेलम्बु, विकासमा छलाङ – Janata Live
  • Wednesday, February 8, 2023

ब्यूँतिदै हेलम्बु, विकासमा छलाङ

  • जनता लाइभ
  • बैशाख १९, २०७६

ब्यूँतिदै हेलम्बु, विकासमा छलाङ

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो 
काठमाडौं । हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू ‘तीन महिनाका लागि बेरोजगार’ शीर्षक दिएर केही दिनअघि राजधानी काठमाडौंबाट प्रकाशित हुने एक दैनिक अखबारमा समाचार आयो । यो समाचारले धेरैको ध्यान खिच्यो । समाचारको सार थियो, समयअघि नै विकासका लागि छुट्याइएका सबै बजेटको यथोचित विनियोजन र थप अयोजनाका लागि अतिरिक्त बजेटको अभाव । संघीय सरकारले कुल विकास बजेटको २४ प्रतिशत मात्रै खर्च गर्न सकेको र प्रदेश सरकारहरूले १५ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न नसकिरहेको अवस्थामा कुनै गाउँपालिकाले आर्थिक वर्ष सकिनुभन्दा तीन महिना पहिले नै विनियोजित विकास बजेट सबै खर्च गरिसक्नु भनेको स्थानीय सरकार किन आवश्यक छ भन्ने कुराको गतिलो उदाहरण पनि हो ।

दुर्गम हेलम्बुको विकास कथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोबाट
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेपछि मेरासामु दुईवटा चुनौती खडा भए । पहिलो चुनौती थियो– ‘चुनाव जित्नु ।’ दोस्रो– ‘चुनाव जितेपछि जनताको चित्त बुझ्ने काम गर्दै आफ्नो गाउँपालिकाको मुहार फेर्नु ।’

करिब पाँच हजार घरधुरी रहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा चुनाव जित्न नेपाली कांग्रेसको परम्परागत भोट मात्रै पर्याप्त छैन भन्ने कुरा यसअघिका धेरै चुनावबाट पुष्टि भइसकेको थियो । विगतमा अन्य पार्टीलाई मत हाल्दै आएका जनताको साथ लिनु अनिवार्य थियो । यसका लागि म सबैभन्दा पहिले मेलम्ची खोला पारी रहेको ओडार गाउँ पुगेँ । १९–२० घरधुरी रहेको ओडार गाउँ वर्षको चार महिना अन्य क्षेत्रसँग सम्पर्क्विहीन हुन्थ्यो । त्यसको कारण थियो– ‘मेलम्ची खोला ।’ बर्खायामका चार महिना मेलम्ची खोला तर्न नसकिने भएकाले बालबालिका विद्यालय जानबाट वञ्चित थिए । बिरामीलाई अस्पतालसम्म लैजान सकिने अवस्था थिएन । पुल बनाइदिने भन्दै विगतमा त्यो गाउँकै भोट अन्य दलले पाउने गरेका थिए । गाउँलेहरूलाई जम्मा गरेर मैले भने– ‘यसपटक मलाई भोट दिनुपर्दैन, अरुलाई नै दिनोस्, तर चुनाव हारे पनि म तपाईहरूको गाउँमा पुल बनाउँछु ।’ गाउँलेहरू भने हामीलाई तपाईंप्रति विश्वास छ, यसपटक नै भोट दिन्छौं । चुनाव जितेँ ।

गाउँपालिकाबाट उक्त पुल निर्माणका लागि पाँच लाख मात्रै बजेट छुट्याउन सकियो । ५० लाख रुपैयाँ लाग्ने स्टिमेट आयो । तुरुन्तै काठमाडौं आएँ । एक अन्तर्रा्ष्ट्रिय संस्थाले पुलका लागि २० लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराउने प्रतिबद्धता जाहेर ग¥यो । टेन्डर आह्वान गरी ठेकेदार नियुक्ति ग¥यौं । मैले ठेकेदारलाई भने– ‘यो वर्ष गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ, पुल निर्माण सम्पन्न गर्नु, बाँकी रकम आगामी वर्षको बजेटबाट भुक्तानी दिउँला ।’ ठेकेदार तयार भयो । चार महिनामै पुल निर्माणको काम सकियो । दुई घन्टा लाग्ने बाटो छोटिएर १० मिनेटमा झ¥यो । यसरी काम सम्पन्न भएको देखेपछि सरकारले चालू आर्थिक वर्षका लागि चारवटा झोलुंगे फुल निर्माण गर्न बजेट दियो । बजेट विनियोजित भएकै दिन हामीले टेन्डर आह्वान ग¥यौं । चारैवटा पुल आउने असारअघि नैै पूरा हुन्छन् । जनताले असारभित्र पुलमा हिँड्न नपाए भुक्तानी पाउँदैनौं भनेर ठेकेदारलाई भनेका छौं ।

हेलम्बु गाउँपालिका
सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौताराबाट १४ कोष, कुल क्षेत्रफल १८५.५० वर्ग किलोमिटर ।
पूर्वी सिमाना– साविक बरुवा गाविस, पश्चिम– काठमाडौं, नुवाकोट–रसुवा, उत्तर–तिब्बत र दक्षिणमा इचोक तथा किउल गाविस
गाउँपालिकाको कुल बजेट ३८ करोड ९४ लाख ९३ हजार

कसरी जाने ?
काठमाडौं उपत्यकामा खानेपानी ल्याइने स्थान मेलम्चीबाट नजिकै रहेको हेलम्बु एक दिनमा पुग्न सकिन्छ । चाबहिलबाट हेलम्बु र आमाहेल्मो यातायात कम्पनीका सवारीसाधनले मेलम्ची खानेपानी परियोजनाको केन्द्रीय कार्यालय हुँदै तिम्बुसम्म पु¥याउँछ । आफ्नो सवारीसाधन हुनेका लागि यहाँबाट पनि तार्केघ्याङ जान सकिन्छ ।

कहाँ बस्ने ?
तीन दिनको प्याकेजमा जानेहरूका लागि पहिलो दिन मेलम्चीको सुरुङमार्ग हेर्दै तिम्बुमा बास बस्ने गरी जान सकिन्छ । तिम्बुमा खानपिन र बसोबासको व्यवस्था छ । दोस्रो दिन तार्केघ्याङ गएर बस्न सकिन्छ । यहाँ पुरानो होटल ताक्रेघ्याङ छ । प्रायः घरमा होमस्टेसहित अन्य होटल पनि छन् ।

कहाँ घुम्ने ?
हेलम्बुमा रहेको गुम्बाको अवलोकन गर्दै तार्केघ्याङको सबैभन्दा सुन्दर चिरीगुम्बा जान सकिन्छ । मेलाम्चीघ्याङ, वगाम घ्याङ, सेर्मा थाङ यहाँका पुराना पर्यटकीय ठाउँ हुन् । त्यहाँबाट देखिने जुगल–हिमाल, आमायांग्री पर्वत, मेलम्ची सुरुङमार्गलागायत ठाउँ घुम्न र अवलोकन गर्न सकिन्छ ।

हामीले मुख्य जोड जनताको स्वास्थ्यलाई दिएका छौं, दोस्रो शिक्षा र तेस्रो आयआर्जनको अवसर वृद्धि हो । संघीय सरकारले स्वास्थ्य विमाको कार्यक्रम सुरु गरेको छ । हेलम्बुमा पनि त्यो कार्यक्रम आउला । तर वार्षिक ५० हजार रुपैयाँसम्मको स्वास्थ्य विमा कार्यक्रमले मात्रै थेग्दो रहेनछ । उदाहरणका लागि केही महिनाअघि हेलम्बुकै एकजना अचानक विरामी भए । उनलाई तत्काल हेलिकप्टरको व्यवस्था गरेर काठमाडौं ल्याई ग्रान्डी अस्पतालमा भर्ना गरियो । उनी ठिक त भए, तर खर्च भयो १८ लाख । उनको जायजेथा बेच्दा पनि १८ लाख आउँदैन । अब तिर्ने कसरी ? यो त उदाहरण मात्रै हो । यस्ता घटना हेलम्बु क्षेत्रमा धेरै छन् ।

यो समस्या समाधानका लागि हेलम्बु गाउँपालिकाले नयाँ कार्यक्रम ल्याएको छ । त्यो कार्यक्रम हो– ‘एक लाख रुपैयाँभन्दा बढीको उपचार खर्च गाउँपालिकाले बेहोर्ने । यसका लागि हरेक घरधुरीले वार्षिक एक हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । पाँच हजार घरधुरी रहेकाले वर्षको ५० लाख रुपैयाँ जम्मा हुन्छ । ५० लाख रुपैयाँ गाउँपालिकाले थप्छ । यसरी हरेक वर्ष एक करोड रुपैयाँको दरले कोष जम्मा हुँदै गर्छ । यही कोषबाट एक लाख रुपैयाँभन्दा बढी खर्च हुने विरामीलाई सहयोग गर्ने कार्यक्रम बनाउँदै छौं । यो वर्ष हामीले २० लाख छुट्याइसकेका छौं ।

हेलम्बु गाउँपालिकाभरि स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी गराउने ठाउँ (बर्थिङ सेन्टर) एउटा मात्रै थियो । निर्वा्चित भएर आउना साथ बर्थिङ सेन्टरको निरीक्षण गरेँ । जहाँ वर्षमा पाँचजनाले मात्रै सेवा पाउने गरेका रहेछन् । वडाध्यक्ष, सदस्य तथा स्वास्थ्य स्वयंसेविकाहरूसँग सोधेर डाटा लिएँ । गाउँपालिकाभरि वर्षमा करिब चार सय महिला सुत्केरी हुने रहेछन् । चार सयमध्ये पाँचजनाले मात्रै सुरक्षित सुत्केरी हुने सुविधा लिने भनेको धेरै नै लाजमर्दो कुरा भयो । बर्थिङ सेन्टरमै आएर सेवा लिने अभियान हामीले सुरु ग¥यौं । यसका लागि हामीले बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई सरकारले तीन हजारसहित ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय ग¥यौं । साथै, गर्भवती तथा सुत्केरीका निम्ति बर्थिङ सेन्टरमा बस्न आठवटा बेड भएको नयाँ भवन बनायौं । त्यसपछिको वर्ष बर्थिङ सेन्टरमा सेवा लिनेको संख्या ५४ पुग्यो । यो वर्ष एक सय पुग्ने अनुमान गरिएको छ ।

गाउँपालिकाले विवाह भएदेखि नै हरेक महिलाको अनुगमन गर्ने, गर्भवतीको रेकर्ड राख्ने गरेको छ । गर्भ जाँच गर्ने समय तथा सुत्केरी हुने समयको जानकारी दिने सफ्टवेयर विकास गरेका छौं । गर्भ जाँच गर्ने तथा सुत्केरी हुने समय आउना साथ सम्बन्धित महिला, स्वास्थ्य केन्द्र र गाउँपालिकामा जानकारी दिने प्रणालीको विकास गरेका छौं । सुरक्षित सुत्केरी हुने सेवा हरेक महिलाको पहुँचमा पु¥याउने लक्ष्य राखिएको छ ।

शिक्षकको कार्यक्षमता सुधार र विद्यार्थीको पढ्ने बानीमा विकास नगरी हेलम्बु क्षेत्रको शैक्षिक अवस्थामा सुधार आउन नसक्ने निष्कर्षमा गाउँपालिका पुगेको छ । गाउँपालिकाभरि करिब डेढ सय अस्थायी शिक्षक छन् । पहिलो कुरा त अस्थायी, दोस्रो कुरा जागिरबाट अवकास पाएको दिन रित्तो हात घर फर्कनुपर्ने भएकाले उनीहरू मानसिक तनावमा छन् । आफैं मानसिक तनावमा रहेका शिक्षकले विद्यार्थीलाई आफ्नो भएभरको सामथ्र्य प्रयोग गरेर सिकाउन सक्दैनन् । अस्थायी शिक्षकको सिकाउने क्षमतालाई प्रभावकारी बनाउन गाउँपालिकाले नयाँ कार्यक्रम ल्याएको छ । उनीहरूको तलबबाट मासिक पाँच सय रुपैयाँ संकलन गर्ने र त्यसमा गाउँपालिकाले मासिक पाँच सय रुपैयाँ थप्ने अवधारणा ल्याइएको छ । यसरी उसको मासिक एक हजार रुपैयाँ अतिरिक्त बचत हुन्छ । पाँच वर्ष काम गरेर छाड्नुप¥यो भने कम्तीमा ७०–८० हजार पाउने भयो ।

विद्यार्थीको सिक्ने क्षमता वृद्धि गरी पढाइमा केन्द्रित गराउन अर्को कार्यक्रम पनि ल्याउन लागिएको छ । यसका लागि गाउँपालिकाले आठ सय रोपनी जग्गा व्यवस्था गरेको छ । उक्त जग्गामा सुविधा सम्पन्न विद्यालय भवन, होस्टेल भवनहरू, प्रयोगशाला, खेलमैदान, पौडी पोखरी र करेसाबारीको प्रबन्ध गरिनेछ । गाउँपालिकाभरिका ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यही विद्यालयमा ल्याएर आवासको सुविधासहित पठन पाठनको व्यवस्था मिलाइनेछ । गाउँपालिकाभरि हाल नौवटा माध्यमिक विद्यालय छन् । जहाँ ९ देखि १२ कक्षासम्म अध्यायन गर्ने विद्यार्थीको संख्या पाँच सयको हाराहारीमा छ । यी पाँच सय विद्यार्थीका लागि ४० जना शिक्षक कार्यरत छन्, थप ४० को आवश्यकता छ । यी नौवटै विद्यालयलाई एकीकृत गरी एउटै नमुना विद्यालय बनाइएपछि करिब ६० जना शिक्षकले पुग्छ । एउटा विषयका लागि कम्तीमा पाँचजना शिक्षकको व्यवस्था गर्न सक्छौं । आवासीय हुने भएकाले बिहान बेलुका पनि शिक्षकहरूले विद्यार्थीलाई गाइड गर्न सक्छन् । एउटा होस्टलमा सातजना विद्यार्थी राख्ने र प्रत्येक शिक्षकलाई एउटा–एउटा होस्टलको जिम्मा दिन सकिने प्रारम्भिक आँकडा निकालेका छौं । विद्यार्थीहरूले आफूलाई आवश्यक तरकारी होस्टलकै करेसाबारीमा उत्पादन गर्नेछन् । आफै खाना पकाएर खानेछन् ।

जनताको आयस्तर वृद्धि नगरी समृद्धि हासिल गर्न सकिन्न । हेलम्बु क्षेत्रको सम्भावना भनेको कृषि र पर्यटन नै हो भन्ने निष्कर्षका साथ गाउँपालिका अघि बढेको छ । तर कृषिको हकमा भन्ने हो भने कुनैबेला स्याउ उत्पादन क्षेत्रका नामले परिचित हेलम्बुमा अहिले स्याउ पाइँदैन । तरकारीहरू काठमाडौं पाँचखाल क्षेत्रबाट जान्छ । पहिलो चरणमा तरकारीमा आत्मनिर्भर बनाउने र दोस्रो चरणमा खाद्यान्नमा आत्मनिर्भर बनाउने कार्यक्रम पालिकाले अघि सारेको छ । तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रमअन्तर्गत ‘एक घर एक टनेल तरकारी खेती’को अवधारणा ल्याइएको छ । टनेल र बीउ पालिकाले अनुदानमा उपलपव्ध गराउनेछ । प्रत्येकले त्यो टनेलको प्रमाणपत्र पाउनेछन् । त्यही प्रमाणपत्र नवीकरणको आधारमा पालिकाले वडाको सिफारिसदेखि हरेक सहयोग उपलब्ध गराउनेछ । आफूलाई पुगेर बाँकी रहेको तरकारी बिक्रीका लागि गाउँपालिकाकै पहलमा सहकारी संस्था स्थापना गरेर बित्रीmको प्रबन्ध मिलाउने कार्यक्रम दोस्रो चरणमा गरिने छ ।

हेलम्बु गाउँपालिका खासगरी पर्यटकीय क्षेत्र हो । गाउँपालिकाको सबैभन्दा उत्तरी क्षेत्रमा शेर्पा जातिको बसोवास छ । उनीहरू अल्पसंख्यक हेल्म्यो जातिका हुन् । त्यसपछिको क्षेत्रमा तामाङ तथा गुरुङ जातिको बसोवास छ । बेसी क्षेत्रमा बाहुन–क्षेत्रीको बसोबास छ । छोटो दूरीमा भएको जातीय तथा सांस्कृतिक विविधता हेलम्बु क्षेत्रको विशेषता हो । पालिकामा ७० प्रतिशत जमिन जंगलले ढाकेको छ । राजधानी काठमाडौंमा खानेपानी ल्याउन लागिएको मेलम्चीको मुहान हेलम्बु क्षेत्रमै रहेका कारण जंगल सुरक्षित गर्नु तथा मेलम्चीको शुद्धता कायमै राख्नु पनि पालिकाको कर्तव्य हो ।

नेपालमा रेन्वो ट्राउट माछा पालनको सुरुवात हेलम्बु क्षेत्र हो, तर रेन्बो ट्राउट माछापालन यस क्षेत्रमा अझै पनि व्यावसायिक रूपमा फस्टाउन सकेको छैन । यसका लागि पनि केही गर्नुपर्ने आवश्यकता छ । नेपालका सबैभन्दा पुराना पर्यटकीय ट्रेकिङ रुट अन्नपूर्ण र हेलम्बु नै हुन् । अहिले अन्नपूर्ण विश्वविख्यात छ, तर हेलम्बु ट्रेकिङ रुट करिब करिब तहसनहस भएको छ । यो रुट तहसनहस हुनुका दुईवटा कारण छन् । पहिलो, काठमाडौंबाट धुन्चेसम्म मोटरबाटो पुगेपछि गोसाइँकुण्ड तथा लाङटाङ जाने धेरैजसो पर्यटकहरूले हेलम्बुको पदमार्ग प्रयोग गर्न छाडे । दोस्रो, हेलम्बु पदमार्गमा पुग्ने पर्यटकले माओवादी द्वन्द्वकालमा निकै दुःख पाए ।

हेलुम्बु क्षेत्रको पर्यटकीय अवस्था पहिलेको जस्तै बनाउनु मुख्य चुनौती हो । यसका लागि गुरुयोजना नै बनाएर हामी अघि बढेका छौं । पहिलो कुरा त, राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीको हिमाली पदमार्ग हो हेलम्बु क्षेत्र । दोस्रो, बौद्ध धर्मअन्तर्गतको कग्यु समुदायका कुल देवता मानिने मिलारेपा (धार्मिक गुरुका पनि गुरु) ले तपस्या गरेको स्थान हेलम्बु हो । साथै ञिङमा समुदायले कुलदेवता मान्ने गरेका गुरु रिम्पोछेले पनि तपस्या गरेको ठाउँ हो हेलम्बु । कुनैबेला विश्वभरिकै बौद्ध धर्मगुरु उत्पादन गर्ने केन्द्र रहेको हेलम्बु यतिबेला ओझेलमा पर्नुको कारण प्रचार प्रसारको अभाव पनि हो । बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी र बोधगयापछिको महत्व हेलम्बु क्षेत्रले राख्छ भन्ने यथार्थता प्रचार गर्नु जरुरी रहेको गाउँपालिकाको ठहर छ । यसैगरी सबैभन्दा नजिकबाट सबै भन्दा ठूलो हिमशृंखला अवलोकन गर्न सकिने ठाउँ पनि हेलम्बु हो । हेलम्बुबाट धवलागिरीदेखि कञ्चनजंघासम्मको हिमाली रेञ्ज देख्न सकिन्छ । साभारः तरूण खबर

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...