आधा शताब्दिः उही तेज – Janata Live
  • Friday, February 3, 2023

आधा शताब्दिः उही तेज

  • जनता लाइभ
  • बैशाख १७, २०७६

आधा शताब्दिः उही तेज

वि.सं. २०३२ सालमा पुष्पलालहरूसँग छुट्टिएर मदन भण्डारी, जिवराज आश्रितलगायत नेताहरू फर्किए । जेवीले तिनै नेताहरूले बनारसबाट ल्याएको कोसेलीबापत् केही पुस्तक प्राप्त गरे । जसमा एउटा सानो ‘चरी भरर’ भन्ने पुस्तक थियो । उनी सुनाउँछन्, ‘त्यस पुस्तकभित्र मोदनाथ प्रश्रितलगायत थुप्रै लेखकका रचना थिए । त्यहाँभित्र एकदेव ज्ञवालीको एउटा कविता मलाई साह्रै मन प¥यो । मैले गुनगुनाएँ ।’

उमेरले वृद्ध भत्ता ताक्ने बेला भइसकेका एकजना बूढा भलाद्मी कोट पाइन्ट र ढाका टोपी लगाएर स्टेजमा उक्लन्छन् । कद मध्यम छ । पारा भने फुुर्तिलो छ । उनले संम्बोधन गर्न थालेपछि अगाडि आएका मान्छे आपसमा मुखामुख गर्छन् । उनको आवाजको शक्तिले धेरै मान्छेलाई प्रभाबित बनाएको छ । स्टेजसँगको उनको बसाउठी आम कलाकारको भन्दा फरक छ । नेपाली राजनीतिक मञ्चहरूमा गीत गाएरै उनका कपाल पाके । सँगैका साथी थाके तर उही पचास वर्षअघिको जोशका साथ गीत गाउँछन् उनी । उनी अर्थात्, जेबी टुहुरे, ७४ ।

नागरिकतामा त उनको नाम जुठबहादुर टुहुरे खड्गी छ । तर त्यो नाम उनलाई सरकारी अड्डामा काम चलाउन मात्रै काम लाग्छ । सरकारी अड्डाले उनलाई जुठबहादुर भन्छ । तर मानिसहरू जुठबहादुर चिन्दैनन्, जेबी टुहुरे मात्र चिन्छन् ।

आमा दिदी बहिनी हो कति बस्छौ दासी भई
सुखको सधैँ प्यासी बनेर

यो गीत नेपालको धेरै चर्चित गीतमध्येमा पर्छ । कुनै न कुनै माध्यमबाट यो गीत नसुन्ने नेपाली ज्यादै कम होलान् । विश्लेषक आहुति भन्छन्, ‘यो गीत ३६ सालवरपर लेखिएको देखिन्छ । त्यतिखेर नेपालमा जबरजस्त सामान्तवाद थियो । त्यो समयमा महिलालाई घरबाट बाहिर निस्कन अपिल गरेको छ । जेवी टुहुरेको स्वर हाई नोटमा जाने स्वर हो । साथै लोक संगीतको पक्ष जनस्तरमा नै भिजेको हुने भएकोले गर्दा यो गीत चर्चित हुन पुग्यो ।’

२०२८ देखि सुरु भएको झापा विद्रोह र त्यसपछि सिर्जना भएको आतंकले त्यस्ता धेरै नेता विस्थापित हुन पुगे । टुहुरेहरू भने त्यतै गाउँ गाउँमा गीत गाएर लुकी लुकी हिँडिराखे । उनी सुनाउँछन्, ‘त्यतिखेर म कोशी प्रान्तीय परिषद्मा संगठित थिएँ ।’

हुन त उनले २०२६ तिरै अर्थात्, झापा विद्रोह सुरु हुनुभन्दा दुई वर्षअगाडि नै ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ लगायत गीत गाइसकेका थिए । झापा विद्रोहपछि भने सांगीतिक यात्रा तितरवितर भइरहेको थियो । वि.सं. २०३२ सालमा पुष्पलालहरूसँग छुट्टिएर मदन भण्डारी, जिवराज आश्रितलगायत नेताहरू फर्किए । जेवीले तिनै नेताहरूले बनारसबाट ल्याएको कोसेलीबापत् केही पुस्तक प्राप्त गरे । जसमा एउटा सानो ‘चरी भरर’ भन्ने पुस्तक थियो । उनी सुनाउँछन्, ‘त्यस पुस्तकभित्र मोदनाथ प्रश्रितलगायत थुप्रै लेखकका रचना थिए । त्यहाँभित्र एकदेव ज्ञवालीको एउटा कविता मलाई साह्रै मन प¥यो । मैले गुनगुनाएँ ।’

हुन त यो गीत २०३३ सालदेखि नेपालको कुनाकन्दरामा घन्किन थालेको हो । यो सम्बत सम्झने र इतिहासको थोरबहुत ज्ञान हुने मानिसहरू सहजै कल्पना गरिहाल्छन् । यो गीत गाउन कति अप्ठ्यारो समय थियो त्यो भन्ने । त्यतिखेर पञ्चायत काल थियो । मानिसहरूले आफ्ना अधिकारका कुरा गर्नु अपराधसरह थियो । त्यसै बेला अधिकारकै गीत गाएर मानिसहरूको मनमनमा बस्नु जोखिम थियो । उनी भन्छन, ‘जति सालमा मैले यो गीत गाएँ त्यतिखेर म त्यति नै वर्षको थिएँ । पञ्चायत सोह्र बर्षे जवान ।’ त्यस्तो समयमा पनि उन्को गीत सुन्नका लागि ग्रामीण महिला रातबिहान नभनी आउने गर्थे ।

शान्ति खल्बल्याउन एकजना प्रहरी नै काफी हुने समय थियो । ‘झापा विद्रोह’पछि नेपालको पूर्वी क्षेत्रमा निकै ठूलो आतंक सिर्जना भएको थियो । राज्य पक्ष र विद्रोही पक्ष आ–आफ्नै गतिविधिमा थिए । जनतामा भने एक किसिमको डर थियो । यहीबीचमा गाए जेवी टुहुरेले यो गीत । डरैडरका बीचमा पनि मानिसहरूले एकदमै मन पराए उनको गीत । मानिसहरूले वन जाँदा, खेताला जाँदा, दाउरा घाँस गर्दा गाउन थाले । यो गीत बुझ्न थाले । यसका शब्द मनन गर्न थाले ।

पुस्तक हातमा लिएर टुहुरेले सुरुमा ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई’ को लय तयार गरे । त्यतिखेरको आफ्नो कथा सुनाउँदै भन्छन्, ‘त्यतिखेर धरानको सैनिक भवनमा मैले पहिलोपटक यो गीत गाएको हुँ । विद्यार्थीहरूको कार्यक्रम थियो ।’ त्यस दिनदेखि टुहुरेले यो गीत कतिपटक गाए उनी आफैँलाई हेक्का छैन । यो गीतको शब्दले भने गायक आफैँलाई अप्ठ्यारोमा पारिरह्यो ।

गीतभित्र एउटा प्रसंग छ,
लाली पाउडर घस्न पाई

टेरलिङको झिल्के सारी लाउन पाई मख्ख परी, बुद्धि सबै भ्रष्ट पारी
पुरुषको खेलौना भई जीवनलाई व्यर्थै फाल्यौ, भोगविलासको साधन बनेर ।’

यस गीतको सुरुवाती टुंग्याउनी नै यहीँ थियो । जेवी टुहुरे भन्छन्, ‘महिलालाई होच्याएको शब्दले मलाई मनमा चिसो पसिरह्यो । यो गीतसँग मेरो आफ्नो भने चित्त बुझिरहेको थिएन ।’ तरै पनि यो गीत उनले करिब दुई वर्ष गाउँदै हिँडिरहे ।

२०३५ सालतिर धरानमा भेटिए रामेश । एकै किसिमका दुई गायक भेटिएपछि उनीहरू एक आपसमा गफ गर्दै चतारा लाइनतिर लागे । मौका भने यसै घुमघामको थियो । जेवी टुहुरेले आफ्नो मनको दुःख पोखिहाले । उनी आफ्नो त्यस दिनको कथा यसरी सम्झिन्छन्, ‘मैले रामेशलाई आफ्नो गीतसँग आफैँलाई परेको सकस सुनाइहालेँ । उनले मेरो गाँठो फुकाउने प्रयत्न गरिदिए ।’ भएछ के भने दुईजना मिलेर यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुन्छ कि भनेर घोत्लिन सुरु गरेछन् । निकै लामो घोत्लाईपछि एउटा हल निकाले । अन्तिममा नारीलाई होच्याउने शब्द छ, त्यसैले सुरुमा नारीलाई सम्मान गर्ने शब्द प्रयोग गर्ने । त्यसपछि दुईजनाले आलोपालो शब्द थप्ने क्रम चल्यो । निकै लामो बसाइपछि आलो पालो गरेर सबैभन्दा पहिलाको शब्द दोहा थपियो । त्यसपछि गीतमा थपियो सबैभन्दा अगाडि, अर्थात गीतले उचाइ लिनुभन्दा अगाडि,

आफ्नै पौरख खान्छन्, आफ्नै सिपमा बाँच्छन्
दुःख कष्ट सहेर श्रृष्टि यिनले थाम्छन्
असल महान व्यक्तिहरू यिनैले जन्माउँछन्
ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन् ।
तर पनि अँधेरोमा जीवन बिताउँछन् ।

त्यसपछि उनको गीतसँग सम्बन्धित सकस केही त हल भयो । तर हरेकपटक यो गीत टुंग्याउनीमा मनमा चिसो पस्न भनेर उनलाई सन्चो भएन । तैपनि उनले गाई नै रहे… आमा दिदी बहिनी हो …………..।

महिला नेतृ शान्ता मानवी भन्छिन्, ‘मैले यो गीत एकदेव ज्ञवालीको मुखबाटै सुनेकी हुँ । बनारस बस्दा उहाँले यो गीत सुनाउनुभएको थियो । यस गीतका शब्द पक्षले मलाई साह्रै मन छोएको थियो । पछि जब जेबी टुहुरेको मुखबाट सुनें । त्यहाँ त झन धेरै जीवन्त पक्ष थपिएर आयो ।’ यस गीतका कारणले त्यतिखेर धेरै मान्छे महिला आन्दोलनमा सहभागी भएको कुरामा दुई मत छैन ।

आफ्नो सिर्जना आफैँलाई चिसो पसी पसी गाउनु सकसपूर्ण थियो उनका लागि । ती दिन सम्झिएर अहिले पनि उनको अनुहारमा अलिकति अँध्यारो झल्किन्छ । यसरी आफै खुशी नभई नभई पनि लगातार उनले यो गीत गाई नै रहे । उनी भन्छन्, ‘सुरुमा उठान गर्दा त गज्जबै लाग्थ्यो टुंग्याउनीमा भने चिसो पसिहाल्थ्यो ।’

समय पनि उस्तै थियो । कहिले गाउँदागाउँदै पुलिसबाट लखेटिनुपर्ने । कहिले के हुने । त्यस्तै उस्तै भई नै रहन्थ्यो । यसरी एकातिर पुलिसको डर र अर्कोतिर आफ्नै गीतको शब्दसँग चित्त नबुझ्नु र शब्दबाटै लखेटिनु एकदमै पीडादायक भइरह्यो । तै पनि गाई नै रहे । किनकि यो गीत उनको परिचय बनिसकेको थियो ।

यिनले यो गीत किन पनि छोड्न सकेनन् भने उनलाई चिसो पस्ने शब्दभन्दा अरू शब्द ग्रामीण परिवेशको फोटो खिचेजस्ता थिए । उनी भन्छन्, ‘फेरि अरू शब्द त गाउँ जस्ताको तस्तै छ नि त, ग्रामीण महिलाका दुःख, पीडा जस्ताको तस्तै छ । कलात्मक प्रस्तुति छ । घाँस–दाउरा, पँधेरो, विवाहलगायतका कार्यक्रममा दुना टपरी बुन्ने, पूजाआजका लागि बात्ती कात्ने, चुलोचौको आदि मात्र महिलाहरूको संसार थियो । त्यो साह्रै राम्रोसँग उतारेका थिए नि त एकदेवले ।’

यसरी आफैँले गाएको गीतको टुंग्याउनी शब्दसँग चित्त नबुझी नबुझी पनि जेवी टुहुरेलाई भने मान्छेहरूले मन मनमा राखिसकेका थिए । उनी यसै मेसोमा देशका कुनाकन्दराका गायक बनिसकेका थिए ।

२०३६ सालमा उनी काठमाडौँ आए । त्यसपछि लागे ठहिटी । ठहिटीमा उनका तिनै साथी रामेश बस्थे । उनको गीतको चिसो पनि त्यही समयदेखि बन्द भयो । किनकि त्यहाँ भेटिए कवि वम देवान । जेवी भन्छन्, ‘ठहिटीमा पाँचतल्लामाथि रामेश बस्नुहुन्थ्यो । मैले मेसो पारेर गीतको आफ्नो दुःख पोखेँ ।’ त्यसपछि तिनै कविले हल निकाले । गीतको अन्त्यमा पनि नारीलाई सम्मान गर्ने शब्द थपिदिने । ‘यो त गज्ज्ब भयो,’ उनी हाँस्दै भन्छन्, ‘कवि देवान आशु कवि नै थिए । उनले एकैछिनमा पछाडिको अन्तरा थपिदिए ।’ त्यसपछि मात्र पुरा भयो यो गीत । करिब तीन वर्षपछि । र थपियो अन्तिम अन्तरा,

सामान्तीको कुचक्र यो दुष्ट रीति बुझिको, बुझी सब ब्युँझ अब
ध्वस्त पार्न नारी बन्धन, दुःख अनि जीवनको
युगले आज भन्दछ, नारी पनि मान्छे हो
जाग उठ नारी हो, सिर्जनाको घाम बनेर ।

उनी आफ्नै गीतसँग पहिलोपटक खुसी भए । उनको मनको चिसो मेटियो ।
यस गीतले तत्कालीन ग्रामीण महिलाहरूको दर्दनाक वास्तविकता देखाउँदै त्यसलाई तोड्नलाई जोड दिएको देखिन्छ । युवा राजनीतिज्ञ तथा विश्लेषक विश्वप्रकाश शर्मा भन्छन्, ‘त्यस समयमा मानिसहरूलाई संघर्षमा प्रेरित गर्ने र घरबाट बाहिर निकाल्ने । सामाजिकरूपमा उनीहरूको सहभागितालाई केन्द्रमा राख्ने किसिमको गीत थियो । त्यतिखेरको समाजमा यस गीतले महिलाहरूलाई त जागरुक गराएकै थियो– सँगसँगै त्यतिखेरको समाजको मर्मलाई छोएको थियो । मानवीय भावनालाई एकदमै केन्द्रमा राखेर गाइएको गीत थियो । त्यसैले गीत एकदमै चर्चित भयो ।’

पूर्वक्षेत्रको लोकलयमा संगीत भरिएको यो गीत जब गाउन सुरु गर्छन् तब मान्छेहरू प्रफुल्ल भएर नाच्न सुरु गरिहाल्छन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...