सपनाबिना बाँचेको मान्छेको एउटा पोट्रेट – Janata Live
  • Friday, February 3, 2023

सपनाबिना बाँचेको मान्छेको एउटा पोट्रेट

  • जनता लाइभ
  • चैत २०, २०७५

सपनाबिना बाँचेको मान्छेको एउटा पोट्रेट

सजिलै त के नै पो मजा हुन्छ र ! प्रेमको मिठास नै तड्पनपछिको प्राप्तिमा हुने गर्छ । अलि दिनपछि उनको प्रस्ताव स्वीकार भयो । र यसपछि उनी प्रेमिल भएर निस्किए र कवि पनि भए ।

‘दाइ ! म तपाईंको एउटा फिचर लेख्नुप¥यो !’
‘हन के लेख्छौ हौ ! लाजमर्दो, के छ र त्यस्तो मसँग फिचर लेख्नको लागि ?’
‘त्यही तपाईंसँग केही नभएको कुरा लेख्छु ।’

‘केटाले अप्ठ्यारोमा पो पा¥यो त..(एकछिन सोचेर) लेख्नेभए लेख न त । तर लेख्नकै लागि त्यस्तो खासै केही कुरा चाहिँ छैन है मसँग ।’

मैले उनलाई राजव दाइलाई लगेकै ठाउँमा लगेँ । चाबाहिलको ए–वान क्याफे । उनको हाँसिरहने/जिस्किरहने बानी सुरु भइगयो । वेटरको ज्यान अमेरिकानो कफीको अर्डर बोकेर हिँडिसकेपछि म कुरातिर लम्किएँ ।

सपना : उनको आँखामा कहिल्यै बसेन
सपनाविहीन भएर बाँच्नेहरू सायदै होलान् यो दुनियाँमा । सानो बच्चादेखि वृद्धसम्मका आँखामा आ–आफ्नै किसिमका र हैसियतका सपना सजिएका हुन्छन् । जसलाई पूरा गर्न मान्छे मृत्युको अन्तिम पलसम्म समयको ट्र्याकमा दौड जित्छु भनेर दौडिरहेका हुन्छन् । हरसम्भव कोसिस गरिरहेका हुन्छन् । तर उनले कहिल्यै त्यस्तो कुनै सपना देखेनन् । यही गर्छु भनेर कहिल्यै हिँडेनन् । अगाडि जे पर्छ त्यसैमा तल्लीन रहेर काम गरे । उनीसँग खासै याद छैन कि उनले पनि आम मानिसले जसरी सपना देखे । ‘सपनाविहीन भएर बाँचेको मान्छे हुँ म,’ मुस्कुराउँदै भन्छन्, ‘एसएलसी पास गरेपछि पनि मैले यही गर्छु भन्ने योजना थिएन । तर म जुन काममा लाग्छु एकदमै लगनशील भएर लाग्छु ।’ उनको यो कुरा उनले गर्ने कामले पनि पुष्टि गर्छ । गाउँमा उनी एकदमै राम्रो हलो जोत्ने मान्छे थिए ।

उनलाई कहिलेकाहीँ त थक्–थक् पनि लाग्छ । हुन त छुटेका र बितेका कुराहरू सम्झिएर थक्–थक् नमान्ने मान्छे को नै पो होलान् र ! तरै पनि छुटि त जान्छन् नचाहँदा–नचाहँदै समयको बसस्टपबाट सपनाको झोलाहरू । एउटा यात्राको क्रममा हर पाइला छुट्नु स्वभाविक पनि हो । छुटेन भने त हरकोही गन्तव्यमा पुग्नै सक्दैन नि । ‘सपना देख्न जरुरत छ रैछ । मैले पछि कलेज गएपछि महसुस गरेँ,’ उनी छुटेका दिनहरूलाई सम्बोधन गर्दै भन्छन्, ‘घरमा लाइब्रेरी थियो । टन्नै किताबहरू थिए । तर त्यो किताबमा के छ, कसो छ भनेर कहिल्यै खोजी गरिनँ । मैले त्यो किताबमा सपना हुन्छ भनेर पनि कहिल्यै सोचिनँ ।’

तर पनि उनका त्यति धेरै गुनासा छैनन् । जति सपना देख्ने मान्छेले गर्ने गर्छन् । गुनासोकै कुरा गर्ने हो भने त मान्छेले सास फेर्दा पनि गुनासो गर्छन् होला कि मैले सासको बदलामा सास फाल्न नपर्ने भए हुने । उनले जाँचमा पास गर्नको लागिबाहेक अरू प्रयोजनका लागि बचपनमा किताब कहिल्यै पढेनन् ।

सपना देख्न जरुरत छ तर सपना पूरा गर्नको लागि बाटो पनि हुनुपर्छ । बाटो भएन भने मान्छेलाई गन्तव्यमा पुग्न निकै कठिन हुने गर्छ । उनी यी कुरालाई पुष्टि गर्दै गाउँको बचपनको साथी रमेशचन्द्र राईलाई सम्झन्छन् । जो अनेक सिर्जनशील कामहरू गरिरहन्थे । इन्जिनियर बन्ने सपनासहित कहिले हेलिकोप्टर त कहिले हवाइजहाजलगायत बनाउँथे । तर मान्छेमा अनेक उल्झनहरू आइदिन्छन् ।

समय सधैँ मान्छेको विरुद्धमा हुन्छ । उनको त्यो सपना सपना नै भइदियो । पूरा हुन सकेन । उनी आफैँसँग आस्वस्त हुँदै भन्छन्, ‘बाटो भएन भने मान्छे बिग्रँदो रहेछ । तर कसैले सपोर्ट गरेको भए उनी बन्न सक्थे । सपना पूरा गर्नका लागि बाटो चाहिँदो रहेछ ।’

बाल्यकालः दुःख र सुखको सम्मिश्रण
बाल्यकाल सबैको प्रिय हुन्छ । बाल्यकालमा जोडिएका अनेक घटनाहरू मान्छेले जीवनभर सम्झिरहन्छन् । जीवनसँग हारेको बेला खुसीको कारण पनि बन्छ बाल्यकाल । तर, सबैको उस्तै हुँदैन । फेरि फरक हुनु मान्छेको विशेषता पनि हो । कति कुरा मान्छेले छुटाउँछन् जीवनमा । सानातिना कुरा नै भए पनि सबैभन्दा बढी बाल्यकालसँगै छु्ट्छन् होला मान्छेको सबैभन्दा सुन्दर खुसी र सुन्दर दुःख । तर यति हो कसैको सुख बढी छुट्छ त कसैको दुःख । उनलाई पनि बाल्यकालमा धेरै छुटेको भन्ने लाग्छ । कति रहरहरू थिए जो अपुरै रहे । जो पारीवारिक बाध्यतासँग जोडिएका थिए ।

बचपनमा सबैको बासँगको एक किसिमको सुमधुर आत्मीयता जोडिएको हुन्छ । नजोडिनेहरू अपवादमा होलान् । झनै बा नै भएर पनि नजोडिने त कति कम होलान्–होलान् । त्यही कमभित्र पर्छन् देवान किराती । उनी आँखा चिम्म गरेर केही सोच्छन् र लामो सास तानेर भन्छन्, ‘मसँग बाउसँगको अहिलेसम्म पनि कुनै रमाइलो पल याद छैन । आमासँग गरेको दुःखहरू र खुसीहरू मात्र याद छ ।’ उनीसँग आमासँग जोडिएका संवेदित बनाउने घटनाहरू मात्र छन् । आमासँगै बाझेको छ, काम गरेको छ, पिटाइ खाएको छ, माया पाएको छ । ‘मलाई बाउँसँग सँगै हिँडेको यादसम्म छैन,’ अघिसम्म ठट्टा गरिरहेको मान्छे अहिले गम्भीर हुँदै बोल्छन्, ‘अहिले ठूलो भएपछि सँगै खान्छौँ÷बस्छौँ तर त्यो बचपनमा थिएन ।’

कहाँ कति कुन समस्या परेर बाउसँग बाउ–छोराबीच हुनुपर्ने त्यो आत्मीयता भएन त्यो त उनलाई अहिलेसम्म पनि थाहा छैन । तर कहिलेकाहीँ अझै पनि सम्झिँदा उनलाई कताकता चसक्क दुखेजस्तो पनि हुन्छ । हुन पनि हो, एउटा मान्छेको जीवनमा छुट्नै नहुने समय भनेको बाआमासँगका क्षण हुन् । तर उनले छुटाए । त्यसमा उनी आफैँलाई अभागी पनि ठान्छन् ।अहिले त बाउ–छोरा आत्मिय छन् । तर त्यो समयमा ती कुराहरू महसुस नगर्नुको कारण सायद उनका बा कविता लेख्थे, राजनीति गर्थे ।

यही कारण पनि व्यस्त भएका थिए होलान् भनेर उनी आफूलाई सम्झाउँछन् । ‘पछि गएर सम्बन्ध त रहन्छ तर त्यसको लागि भावनात्मकरूपमा नरम र नजिक रहनुपर्छ,’ उनी आफैँलाई सम्झाउँदै भन्छन्, ‘तर यसलाई द्वेषको रूपमा हेर्न थालियो भने भावनात्मकरूपमा सम्बन्ध पटक्कै पनि रहँदैन । तर भवनात्मकरूपमा नरम हुनको लागि मान्छेमा चाहिने सबैभन्दा ठूलो कुरा चैँ प्रेम हो ।’

संवेदना : आमाका गुन्यूका फेरहरूमा अल्झिएका छन्
हरेक मान्छेका सबैभन्दा बढी बाल्यकालका पल आमासँग गुज्रिएका हुन्छन्, केही अपवादबाहेक । आमाको स्तन चुसेर खान सिक्छ मान्छेले । आमाको औँला समातेर हिँड्न सिक्छ मान्छेले । उनीसँग पनि आमासँग जोडिएका संवेदित बनाउने घटनाहरूको चाङ नै छ । ‘जाँच दिने बेलामा स्कुलमा नाम हुँदैनथ्यो । अनि किन त भन्दाखेरी ‘फि तिरेको छैन तेरो तीन महिनादेखि’ भन्थे,’ उनी आँखीभौँ खुम्च्याउँदै बोल्छन्, ‘अनि आमाले घरको पाठा हुन्छ कि कुखुरा हुन्छ नेवार गाउँमा पु¥याएर बेचेर जोरजाम गरिदिनुहुन्थ्यो । त्यो कुरा न कहिल्यै बाउलाई भनियो न त बाउले थाहा नै पायो ।’ जे पर्दा पनि आमा । जे गर्दा पनि आमा । सायद, यही कारण पनि बाउको माया, प्रेम बचपनमा महसुस गर्न सकिनँ कि भन्ने लाग्छ उनलाई । सम्झिनै पर्दा त्यस्तो संवेदित बनाउने घटना त पारिवारिक घटना हो उनको । उनीसँगै खेल्ने खाने भाइ उनकै अगाडि बित्दामा एकदमै दुःखी भएका थिए उनी ।

उनी बोल्छन्, ‘बाउले यो थाहा पायो भने चित्त दुखाएको रहेछ केटाले भन्ला तर वास्तवमा सत्य यही नै हो । बाउसँग सानोमा सँगै सुतेको पनि याद छैन हौ !’ बाउको स्वभाव पनि त्यस्तै थियो । बाउ बाजेबोजुको एक्लो छोरो । मायाले पुलपुलिएको । डुलेर खाएको । त्यही कारण पनि होजस्तो लाग्छ उनलाई ।

बचपनमा जोकसैको पनि साथीसँगको जीवनकै सबैभन्दा सुन्दर क्षणहरू हरकोहीले व्यतित गरेको हुन्छ । बचपनको साथीसँग नै त हो नि निःस्वार्थ रिस र क्रोध छुटेको हुन्छ । जहाँ ती कुराभन्दा ज्यादा आत्मियता लुकेको हुन्छ, प्रेम लुकेको हुन्छ । साथीहरूलाई सम्झिनै पर्दा किसनचन्द्र राईलाई खुब सम्झन्छन् उनी । सँगै खाने । जे गरे पनि सँगै । एसएलसीपछि धरानमा भावना त्रैमासिकसम्म सफर भयो उनीहरूको । तर त्यहाँदेखि किसनचन्द्रसँग उनको जिन्दगीको बस छुट्यो ! १५ वर्ष भइसक्यो ।

प्रेमः जसबाट आफूलाई अछुत बनाएका थिए
प्रेमबाट केही पनि अछुत रहन सक्दैन । प्रेमले मान्छेलाई हर कठिन यात्रामा सहज महसुस गराउन सहयोग गर्छ । ‘त्यतिबेला प्रेम भन्ने कुरासँग साह्रै लाज लाग्थ्यो,’ उनी खितखिताउँदै भन्छन्, ‘केटी आउँदै गरेको बाटोबाट म भागेर हिँड्थे । म त साह्रै गोक्ते थिएँ ।’ उनी प्रेमको मामलामा अपवाद हुन् ।

प्रेममा पटक्कै ध्यान गएन उनको । कसैले हेरिदेओस्, केहीसँग प्रेम भए पनि हुन्थ्यो भन्ने किशोरावस्थामा हरकोहीलाई लाग्छ । तर उनी किशोरावस्थामा केटीहरूसँग मजाले बोलेनन् पनि । ‘केटीहरू माथिल्लो बाटो गए भने म तल्लो बाटो जान्थेँ,’ उनी फेरि उही पारामा बोल्छन्, ‘भेट नै नहोस भन्ने चाहन्थेँ । म बरु हातमा चप्पल बोकेर कुद्थेँ ।’ प्रेममा परेका मान्छेहरू पनि खुबै थिए । तर उनलाई त्यस्तो कहिल्यै लागेन । ‘हुन त म अलि रुखो मान्छे थिएँजस्तो लाग्छ । बढी व्यवहारले पनि किचेको थियो,’ उनी भन्छन्, ‘तर मन पराउने मान्छेहरू चैँ थिए । अहिले सम्झिँदा त रमाइलो लाग्छ । ती सुन्दर छुट्का समयहरू बेलाबेलामा सम्झन्छु ।’

प्रेमका किस्सा
–१० कक्षामा पढ्दा केटीहरू बाँसघारीमा जुझेछन् । तर त्यो जुझाइमा उनको नाम आएछ । किन जुझेको भन्दा ‘ऊ मेरो हो’ भनेर भनाभन भएछ । तर उनी तिनीहरूसँग कहिल्यै बोल्दिैनथे । त्यो कुरा स्कुलमा राम्रो काण्ड भएछ । उनी लामो हाँसो हाँस्दै भन्छन्, ‘त्यसपछि त म झन् टाप !’

–एसएलसी दिएर हिँडियो । बाउले एक दिन तीनवटा चिठी लिएर आएछन् । सबैको अगाडि पढेर सुनाएछन् । ती चिठीहरू प्रेमपत्र रहेछ । अनि बाउले त्यतिखेर जिस्काएको याद छ उनलाई । उनलाई भने लाजले बेस्सरी घोग्रेठ्याक लगायो । बाउले भनेछन्– तँलाई केटीले मन पराउन थालेछ । तँलाई यो टिनको बाकसमा सामान राखेर ससुराल पठाउँछु अब ।

–पहिलोपटक कलेज गएका थिए उनी । अगाडि खाली बेन्च थियो, त्यसैमा बसे । एउटा केटी आएर उनी छेउमा बसी । यति अप्ठ्यारो भयो । उनलाई चिट्–चिट् पसिना आयो । फेरि दुईजना आएर अर्कोपट्टि छेउमा बसे । र सरले के पढाए । त्यो नि थाहा भएन उनलाई । त्यस दिनदेखि १५ दिनसम्म कलेज गएनन् उनी ।

–आइकम पास गरेर गाउँ जाँदा अर्खौले बजार गए उनी । उनी पहिलोपटक बजार गएका थिए । त्यहाँनेर त्यो केटीसँग भेट भएछ, जसले उनलाई चिठी लेखेकी थिइन् । उनले सोधे, ‘तिमी फल्ना हो ?’ उनले हो भनेपछि ‘तिमी त बूढी पो भइछ्यौ त’ भनेको लजाएर त्यो केटी लाजले हैरान भइछे । उनको बिहे भएर पनि बच्चा पनि भइसकेको रहेछ ।

भाउजूसँगको भेटः जसले जिन्दगीको लामो यात्राको तय गरिदियो
जीवनमा केही यस्ता मान्छे भेटाउने गर्छन् मान्छेले जसले जीवनकोलामो यात्राको निर्धारण गरिदिन्छ । बाध्यताले, विवशताले, रहरले, भूलले, सम्झैताले या प्रेमले अनेक किसिमले मान्छेको लामो यात्राको साथी बन्न आइपुग्छन् केही । तर सबै मान्छेको यात्रा सफल हुँदैन । सफल त त्यस्ताका हुन्छन् जसले सहयात्रीको हर कमजोरीलाई पनि प्रेम गर्ने गर्छ ।

भाउजूसँग धरानमा भेट भयो उनको । पूर्वमा जसकुमार र उनी खुबै चलेका प्रोफेसनल स्टेज प्रोगाम होस्टहरू । २०५८ सालमा रोडियोको कार्यक्रम सञ्चालनको ट्रेनिङताका उनलाई मन प¥यो कोही । कसैको रूपले, बौद्धिकताले बढी नै आकर्षित ग¥यो उनलाई । प्रेमबाट भागिरहने मान्छेलाई प्रेमले पक्डेर प्रेमको कारागारमा थुनिदियो । उनले त्यो कारागार तोड्न सकेनन् र अब त जिन्दगीभर तोड्न चाहँदैनन् पनि । तर उनको प्रस्ताव सजिलै स्वीकार भने भएन । सजिलै त के नै पो मजा हुन्छ र ! प्रेमको मिठास नै तड्पनपछिको प्राप्तिमा हुने गर्छ । अलि दिनपछि उनको प्रस्ताव स्वीकार भयो । र यसपछि उनी प्रेमिल भएर निस्किए र कवि पनि भए । त्यसको तीन वर्षपछि ०६१ साल फागुनमा बिहे गरे ।

प्रेम हुनको लागि हरेक कुराको आवश्यकता पर्छ । प्रेमका लागि अनेक कुराले आफ्नो मूल्य माग्छन् । कतिपय त नाजायज कुराको पनि उपस्थिति हुन्छ । यति हो हामीले सबैलाई मिलाउन सक्नुपर्छ । ‘प्रेम हुनको लागि छनौट ठूलो कुरा हो । कसरी प्रेम गने भन्ने कुरा एक अर्कालाई नजिकबाट बुझ्नुपर्छ,’ उनी आत्मविस्वासका साथ भन्छन्, ‘आफूलाई मनपर्ने मान्छे छनौट गर्नको लागि दिमागको भूमिका ठूलो हुन्छ । अनुभूतिले मात्र जीवन चल्न गाह्रो हुन्छ ।’

१३ वर्षको सम्बन्धमा भाउजूको भूमिका एकदमै ठूलो लाग्छ उनलाई आफू यो ठाउँमा हुनको लागि । हरेक कदम भाउजूबिना अधुरो हुन्छजस्तो लाग्छ उनलाई । हुन पनि हो, यो महसुस भएन भने प्रेमकसरी प्रेमजस्तो हुन्छ र ! भाउजुको कारणले दुःखी भएको अहिलेसम्म याद छैन उनलाई । प्रेममा चाहिने सबैभन्दा ठूलो कुरा सम्मान हो । जतिबेलासम्म एकअर्कालाई सम्मानको नजरले हेरिन्छ, त्यतिबेलासम्म प्रेम फुलिरहन्छ/फक्रिरहन्छ । ‘अहिलेसम्म तँ–तँ र म–म पनि गरेका छैनौँ,’ उनी प्रेमिल भएर भन्छन्, ‘प्रेमलाई दास बनाउनु हुन्न ।’

जीवनः अनौठो संयोजन
जीवन एउटा संयोग हो, जहाँ हर कुराहरू संयोगवश नै हुने गर्छन् । यहाँ जन्म र मृत्यु त संयोग हुन् । झन् यीबीचको जीवन कसरी यसबाट अछुत रहन सक्छ र ! मान्छेको आँखाबाट आँसु खसेन भने त मान्छे शालिकजस्तो बन्छ– संवेदनाहीन । तर उनी अपवाद हुन् जसले खासै धेरै रुनु परेको छैन । भन्छन्, ‘बोजु खस्दा साह्रै रोएको थिएँ ।’ बोजुसँगको उनकोे एक किसिमको अनौठो आत्मीयता थियो ।

बाआमासँग भन्दा ज्यादा । जीवनमा एकदमै खुसी भएको पनि त्यति याद छैन । सायद, उनलाई अलिकति आँसु र अलिकति खुसीले सधैँ साथ दिइरह्यो । र दुवैसँग कम गुनासो रह्यो । तर बिहे गर्दामा उनी एकदमै बढी खुसी भएका थिए । ‘बिहे दुर्घटना होइन,’ उनी जिम्मेवार तर्क गर्छन्, ‘त्यो आवश्यकता हो ।’ उसपछि उनको सबैभन्दा बढी आत्मीयता जोडिएको आमासँग हो ।

समयः हरेक पल उत्सवमय
‘म सधैँ रमाइलो मान्छे । साथीभाइले मेरो खुलस्तपन सधैँ मिस गर्छन् भन्ने लाग्छ ।’ उनी ढुक्क भएर भन्छन्, ‘मैले जे काममा हात हालेको छु, त्यसमा सफल भएको छुँ । त्यही कारण मसँग निराश भएको त्यस्तो कुनै घटना छैन हौ ।’

अधुरा रहर नहुने मान्छे सायदै होलान् । मान्छे हर मृत रहर बोकेर बाँच्ने गर्छन् । तर मन लागेको, सुरु नै नगरेको काम खासै छैन उनको । उनी ढुक्कका साथ भन्छन्, ‘म जे गर्छु मजाले गर्छु । सफल हुनको लागि मिहेनत र आफूलाई विस्वास गर्नुपर्छ ।’

उनी विगत २५ वर्षदेखि लेखनमा सक्रिय छन् । कविताको क्यानभासमा आफूलाई पोट्रेट गरिरहेका छन् । उनलाई आरोप पनि लाग्ने गर्छ– उनी बाउको प्रभावले लेखनमा आएका हुन् । तर यो कुरालाई खण्डन गर्दै भन्छन्, ‘लेखनमा बाउको प्रभावले म साहित्यमा आएकै होइन । साहित्यमा इनर्जेटिक रमाइलो छ र त्योभन्दा ज्यादा समाजमा ठूलो भूमिका हुन्छ । त्यो गम्भीर विषय हो ।’ तर देवान किरातीको पुस्ता त्योसम्म पुग्न नसकेको लाग्छ उनलाई । म लेखक या कवि हुँ भन्नको लागि मात्र लेखिरहेका छन्जस्तो लाग्छ उनलाई ।

लेख्दै गर्दाचाहिँ साह्रै समाजलाई सोच्छन्जस्तो लाग्दैन उनलाई । तर उनी अन्तिममा भन्छन्, ‘पछि त्यसको असर समाजमा पर्छ ।’ उनले लेखक/कविहरूमा जुन किसिमको व्यक्तिगत अहं भेटाए, त्यसले चाहिँ त्यो कुराको पुष्टि गर्छ । भन्छन्, ‘तर म लेखनमा लास्ट बेन्चर हुँ ।’ हुन पनि हो उनी प्रायः अरूजस्तो चाकडी गरेर कविता छपाउँदैनन् । न त माग्ने साथीहरूलाई नै समयमा दिने गर्छन् । उनी बाहिर आउनै चाहँदैनन् । गुपचुप लेख्छन् तर शक्तिशाली लेख्छन् ।

कवि देवान किराती, जो खोटाङको बुइपामा जन्मिए र धरानलाई कर्मथलो बनाए । उनको ‘हुरीमा नचिरहेके ईश्वर’ कविता संग्रह प्रकाशित छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...