समाजमाथि एक प्रक्षेपण – Janata Live
  • Sunday, February 5, 2023

समाजमाथि एक प्रक्षेपण

  • सविता थापा
  • चैत १६, २०७५

समाजमाथि एक प्रक्षेपण

मार्च ८ को महिला दिवसको दिन र त्यस लगत्तैका दिनमा सामाजिक सञ्जाल र केही दैनिकीहरूले त्यसदिन पारेर गरिएको ३ बलात्कारविरुद्ध रोष भन्ने आन्दोलनको निकै टिकाटिप्पणी गर्न भ्याए । शहरका डलरवादीलाई लागेको छ महिला दिवस । गाउँका महिलाहरू भारी बोक्दै बस्याछन् ।

जसलाई महिला दिवसको अत्तोपत्तो छैन भन्ने जमातले सामाजिक सञ्जाल र पत्रपत्रिकाका केही अंश ढाके पनि । केही नाम भएका पुरुष र सीमित महिलाहरूले त तुरुन्तै हो मा हो मिलाइहाले । हुन पनि हो, उनीहरूलाई महिला आन्दोलनको आवश्यकता किन पथ्र्यो, यस्ता आन्दोलनको औचित्य किन बुझ्नुप¥यो ? ती जमात तर्क गर्दा हुन् कसैले ‘ अधिकार पाएका छैनौं’ भनेर सडकमा उफ्रन जान्छन् भने त्यो तिनीहरूको समस्या हो, ती डलरवादी हुन्, तिनले गिटी कुटेर जीवन धान्ने महिलालाई देखेका छैनन्, ढाड कुप्रयाउँदै कुटो कोदालो गरिरहेका महिलाहरूलाई भेट्न गाउँघर टेकेकै छैनन् । ‘पढन पाइएकै छ, बाहिर जागिर खाएकै छौं, कहीँकतै रोकटोक छैन’ पनि भन्दा हुन् । कालो चश्मा लगाएर, सडक–सडक चहारेर डलर पचाइहाले, काम सिद्धीहाल्यो भन्दै खिसी नि गर्दा हुन् ।

त्यसो त म पनि पढेलेखेकी महिला हुँ, जागिर खाएकी छु, डलर हैन, पाउण्डमै तलब पनि पकाउँछु । एक्लै देश विदेश कुनाकाप्चा पुग्छु । पुरुष मात्र भएको टेबल वरिपरि एक्लै बहस र विचार राख्ने क्षमता राख्छु । यत्ति हुँदाहँुदै महिला आन्दोलन र त्यसका विषयमा चासो किन लिनुप¥यो भन्ने मेरा घरपरिवार र साथीभाइ थुप्रो छन् । तर पनि म ती आन्दोलनमा जान चाहन्छु, जान्छु र जान नसकेको खण्डमा समर्थन गर्छु । महिलाका हक अधिकारका विषयमा मैले सायदै कुनै डिग्री लिएकी छु या यस विषयसँग मेरो जागिरको कुनै सम्बन्ध छ । तर पनि यो विषय मेरो दिनचर्यासँग र अस्तित्वसँग प्रत्यक्ष जोडिएको छ ।

म मान्छु हाम्रा समाजका धेरैलाई गाउँघरमा रहेका दिदीबहिनी, आमाको नित्य मेलापात , घरधन्दाको खुब दुःख चिन्ता छ । त्यसैले त रक्सीको चुस्कीसँगै दिवस मनाइयो भन्दै सामाजिक सञ्जालमा वाहवाही बटुल्न फोटो पोस्टिन्छन्, डलरवादीलाई गिज्याउन पाएकोमा हर्षबढ्याइँ गर्छन् । तपाईंहरू जोकोही भए नि रक्सी र साथीभाइसँगै मज्जा मस्ती गर्नुस्, डलरवादी अधिकारकर्मीलाई गिज्याउनुस् ।

ती सब गर्न तपाईं स्वतन्त्र हुनुहुन्छ पनि । तर एकचोटी नबिर्सिकन ती महिला अधिकारकर्मी र आन्दोलनका अगुवा र सहभागीहरूलाई धन्यवाद भन्नुहोला । कारण म भन्दैछु–पहिलो, हामीहरू कतिपय महिलाहरू आज स्वतन्त्र महसुस गर्छौं । बोल्न पाएका छौं, जे भन्यो त्यही लाउन पाएका छौं । अन्यायका विरुद्ध आवाज उठाउन सक्ने भएका छौं । तर यी सब स्वतन्त्रता र अधिकार हामीले कमाएका हैनौं, ती अधिकारको माहौल र वाताबरणबीच हामी धेरैजसो जन्मेका हौं । हामी कैयौंका आमा हजुरआमा घरको चार भित्ताभित्र घरपरिवारका सेवा गरी रहँदा कैयौं अरू आमा हजुरामा त्यस्ता भित्ता र साङ्ला तोडेर महिला आन्दोलनमा होमिएका थिए । उनीहरू डलर कमाउन निस्किएका थिएनन् । तपाईं हाम्रो आत्मा स्वतन्त्रताको स्वाद भर्न उर्लिएका थिए ।

आज तपाईंहरूमध्ये कतिपय आफ्ना श्रीमतीसहित परिवार तथा साथीसँग एउटै टेबलमा बसेर लन्च डिनर गर्नुहुन्छ । रक्सी लागेपछि श्रीमतीलाई ‘गाडी तिमीचलाऊ है’ भन्नुहुन्छ होला । श्रीमतीले कति कमाउछिन् भन्दै साथीभाई छरछिमेकमा कुर्लनुहुन्छ होला । आफ्नी आमालाई बुहारीलाई छोरीजस्तै व्यवहार गर्नु भनेर उपदेश पनि दिनुहुन्छ होला । हो, प्रशस्त गर्व गर्ने ठाउँ छन् हाम्रा लागि आज । तर तपाईंलाई त्यसरी गर्व गर्न सक्ने बनाउने न त तपाईंले पाएको शिक्षाले हो न त तपाईं जन्मजात उदार भएर भएको हो । तपाईंभित्र त्यसो गर्ने तागत दिने, सामाजिक वातावरण बनाइदिने त्यही सडक सडकमा घोक्रो फुलाएर आन्दोलन गर्ने महिला अधिकारकर्मी हुन् ।

आज पत्रपत्रिकामा लेख लेख्ने होस् कि फेसबुकमा ट्वीटरमा फोटो पोस्ट गरेर दुई लाइक जम्मा पार्ने होस् कि दुईचार पुरुषबीच वैचारिक बहस गर्ने क्षमता होस् । यी सब सायदै सम्भव हुन्थ्यो होला यदि पचासौं सयौं वर्षअघि अधिकारकर्मीहरूले महिलाको अधिकार र आवाज नउठाइदिएको भए । आज तपार्इंका श्रीमती अनि महिला मित्रहरू जसरी भोजभतेर, ररेस्टुरेन्टमा गफिन्छन् नि ! त्यो सायदै उनीहरू गर्न पाउँथे होलान् यदि विगतमा ती महिलाहरूले त्याग र माग नगरिदिएका भए । तपाईं तिनीहरूका संघर्षमा सामेल हुनुभएन होला, ती बलिदानका बारे थाहा पाउनुभएन होला, बुझ्नुभएन होला वा सरोकार नै छैन होला । तर नभुल्नुस आज पढ्ने लेख्ने सुविधा अनि दुईचार शब्द हामी केही सीमित महिलाको मुखमा हाल्दिने तिनै महिला अधिकारकर्मी हुन् । तपाईंलाई आज ती अधिकारकर्मीले तपाईंका लागि कमाइदिएको अधिकार र स्वतन्त्रतामा रमाउने, बोल्ने, हाँस्ने अधिकार छ । तर ती संघर्षका अगुवा र आजका महिला अधिकारकर्मी वा कार्यक्रमलाई मिथ्या भन्ने, खिसी गर्ने, डलरवादी भन्ने अधिकार तपाईंलाई कतै छैन ।

दोस्रो, जब कोही महिला बोल्ने अवसर खोज्छन्, हिम्मत गर्छन्, हाम्रो घरपरिवार यति काँतरपन देखाउँछ कि महिलाले बोल्नासाथ घर ढल्मलाउँछ । प्रतिष्ठा डग्मगाउँछ । हामी फेरि उही महिला अधिकारकर्मी वा कार्यक्रम वा महिलाको शिक्षालाई दोषी पाउँछौं । हरे ! हामी कस्तो समाजको चित्र, कस्तो सामाजिक संरचनाको कुरा गर्दैछौं यहाँ जुन एउटा महिलाको खुसी, वाक् स्वतन्त्रतादेखि डराउँछ । महिलाले चुपचाप दुःख सुख झेल्नुपर्छ भन्ने मान्यता राख्ने हाम्रो समाजले महिलाले बोल्नासाथ आफ्नो सम्मान गुमेको महसुस गर्छ अनि ‘जान्नेसुन्ने भाकी’ भन्दै तह लागाउन अघि सर्छ । तीन तोला सुनले ढाकिदिएकै छ, दश हजारको सारीमा सजिन पु¥याएकै छ, अरू के चाहियो ? यो कुरा कतिपय हाम्रा महिला दिदीले आफैं भन्ने गरेका पनि छन् ।

हरे ! कति सजिलै, कति हचुवाको भरमा महिलाको खुसीलाई परिभाषित गर्छ हाम्रो समाजले । मैले कति साथी भेटेकी छु जो राति सिरानी भिजाउछन् तर भोलिपल्ट हाँसेको बोलेको नाटक गर्छन् । किनकि उनीहरूलाई भनिएको छ, उनको बनावटी हाँसोमै परिवारको सम्मान लुकेको छ । हामी कस्तो समाजको कुरा गर्दैछौं जो घरकी महिलाको त्याग र बलिदानलाई आफ्नो निकम्मापन हैन त्यसमा आफ्नो प्रतिष्ठा खोज्छ । त्यसैमा बहादुरी देख्छ । स्वतन्त्रताका मुकुण्डो पहि¥याइएका तिनै महिलाका फोटा सामाजिक सञ्जालमा बग्रेल्ती पोस्ट्याउँदै हरेक वर्ष जन्मदिन, एनिभर्सरी र औँसीको बधाई दिनेको कमी पनि छैन हाम्रो समाजमा । फेरि मार्च ८ को दिन कतिपय हामी आफ्नो उही वार्षिक कर्ममा उत्रिहाल्छौं– ‘फेरि आयो डलरवादीको दिन’ भन्दै ।

तेस्रो, तपाईंहरूमध्ये कतिले यौनजन्य हिंसा भोग्नुभको छ ? बसमा यात्रा गर्दा जतासुकै घृणित स्पर्श गर्ने हातहरू चाल पाउनुभाछ अनि ‘छुनै नहुने हो भनि त ट्याक्सी चढ्नू’ भनेर धम्की पाउनुभाछ ? रक्सी खाएको बहानामा पुरुष साथीहरूले उच्चारण गर्ने शब्दहरू र अश्लील हाउभाउको सामना गर्नुभाछ ? आँखालाई सेकाउन जत्ति पनि पाइन्छ भन्ने जमातले दिनदहाड तीघ्रा र छाती औल्याउँदै उच्छृंखल कमेन्ट गरेको देख्नुभाछ ? विश्वास र प्रेम गरेको साथीले सामुहिक बलात्कार गरेको घटना सुन्नुभाछ ? कारबाहीको साटो प्रहरीले मिलोमतो गराउने अनि बलात्कार गर्नेसँगै बिहे गर्न दबाब दिएको खबर पढनुभाछ ? महिलामाथि हुने यौनजन्य हिंसाका न त कुनै ठेगाना हुन्छ, न त कुनै परिधि । यसले न गाउँका महिला भन्छ, न शहरका भन्छ । यसले न ३ महीनाकी बालिकालाई छोड्छ, न ८० वर्षकी वृद्धालाई । यसले न बुर्का लगाउनेलाई छोड्छ, न स्कर्ट लगाउनेलाई छोड्छ । यसले न अँध्यारो गल्ली कुना भन्छ, न त विवाहमार्फत् सुरक्षित पारिएको घरको कोठा भन्छ ।

साँच्चै भनुँ भने महिला आन्दोलनको औचित्य बुझ्न तपाईं हामीलाई तथ्यांकको कहालीलाग्दो भूमरीभित्र पस्नैपर्दैन– शिर्फ महिलाहरू कसरी पिल्सिएका छन् भन्ने महसुस गरे पुग्छ । आज पनि महिलाहरू पुरुष समान तलब, ज्याला सुविधाका लागि संघर्ष गरिरहेका छन् । बच्चा जन्माउने उमेर भएका महिलाहरूलाई जागिर, पेशामा आनाकानी गरेर प्रजनन अधिकार खोसिएकै छ । सार्वजनिक स्थानमा बच्चालाई दूध खुवाउदा अश्लील भए भन्ने सुन्नु परेकै छ । बोक्सीको उपमा पनि भिर्नु परेकै छ । यी सबले नपुगेर मानसिक र शारीरिक यातना पनि भोग्नु नै परेकै छ । छोरीहरूले के गर्न सक्छन् भन्दा पनि कति राम्रा भन्ने कुरा महत्वपूर्ण ठान्ने समाज छम्दैछ । ‘केटा त केटै भै’हाले नि !’ भन्दै छोरालाई उन्मुक्ति दिने घरपरिवार छँदैछन् ।

अन्त्यमा, कतिपयलाई अहिले पनि लाग्दो हो डलरवादी, महिला आन्दोलनकारी साँच्चै उनीहरूका सरोकारका विषय होइनन् । किनकि उनीहरूको घरपरिवार अचाक्ली उदार छ । उनीहरू जन्मजात हर अधिकार लिएर आएका हुन्, उनीहरूलाई ‘डलर’ आन्दोलनमा सहभागी हुनु त झन् छँदै छैन । तपाईं आफ्ना अनि आफूनिकटका महिलाका स्वतन्त्रता र समानताको ‘भूलभुलैयामा’ खुब रमाउनुस् । महिला हक अधिकारका समर्थक र अगुवालाई जेसुकै भन्नुस्, त्यो तपाईंको मानसिकता, सोच हो । तर यति बुझ्नुस्– महिला आन्दोलन हिजोको दिनमा जति महत्वपूर्ण थियो, त्योभन्दा बढी महत्वपूर्ण आजको दिनमा छ किनकि हाम्रो समाजमा केही स्वार्थी जमातको हुल महिला आन्दोलनसँग त्रसित छ, शसंकित छ– पितृसत्ताको धरोहर गुम्ने भयले आत्तिएको छ । म फेरि पनि भन्छु– त्यस्ता समाजका तत्वहरूलाई निरुत्साहित पार्न, समानताको भूलभुलैयाबाट तिनलाई बाहिर निकाल्न र उदारताको मुकुण्डो लगाएर ग्रामीण महिलाका पक्षधर भएको नाटक गर्ने ती जमातलाई घच्घच्याउन पनि महिलाका आन्दोलन जारी रहन्छन् रहनुपर्छ । महिला अधिकार आन्दोलनमा ती नहिडुन्, तर हिँड्नेका लागि तँगारो नबनुन् । प्रकाशितः २०७४ फागुन

Loading...
Loading...
Loading...