पर्यटक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक छ – Janata Live
  • Friday, May 14, 2021

पर्यटक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक छ

  • जनता लाइभ
  • फागुन २३, २०७५

पर्यटक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक छ

आङ छिरिङ शेर्पा
अध्यक्ष, नेपाल पर्वतारोहण संघ
नेपाल पर्यटकीय हिसाबमा विश्वकै उत्कृष्ट गन्तव्यभित्र पर्छ । नेपाल सरकारले उचित पहल गर्न नसक्दा नेपालको पर्यटन विकास हुन सकिरहेको छैन । नेपालको पर्यटन विकासका लागि विभिन्न संघ संस्था पनि खुलेका छन् । नेपालको पर्यटन विकास गरेर देशलाई आर्थिक समृद्ध बनाउने उद्देश्यले खोलिएको संस्था हो नेपाल पर्वतारोहण संघ । यस संस्थाका अध्यक्ष हुन् आङ छिरिङ शेर्पा । उनी ४२ वर्षदेखि निरन्तर रूपमा पर्यटन विकासका क्षेत्रमा लागिरहेका छन् । त्यसमा पनि उनी नेपालका उच्च हिमाली क्षेत्रको विकास र सम्भावनाको खोजीमा लागेको पनि वर्षा भइसकेको छ । ०२६ सालमा सोलुखुम्बुको खुम्जुङमा जन्मिएका शेर्पा विश्व पर्वतारोहण महासंघको मानार्थ सदस्य तथा एसियन पर्वतारोहण महासंघको निवर्तमान अध्यक्षसमेत हुन् । प्रस्तुत छ, लामो समयदेखि हिमाली क्षेत्रको संरक्षण र प्रवर्धनमा क्रियाशील शेर्पासँग गरेको कुराकानी:

पछिल्लो समयमा नेपालको पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
भूकम्प, नाकाबन्दी लगायतका विविध कारणले केही वर्ष नेपालको पर्यटनले विकास गर्न सकेन । जति पर्यटनक अरूवेला आउने गर्थे, त्यो घट्यो । अहिले धेरै सुधार भइसकेको छ । सन् २०१६ मा ८५ प्रतिशत सुधार आएको छ । कति सुधार आयो भन्ने तथ्यांक त छैन । अझै सुधारका क्रममा छ । सन् २०१७ मा शतप्रतिशत सुधार हुनेछ भन्ने विश्वास लिएका छौं ।

अहिलेको जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा परिरहेको छ । त्यसलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौं ।

नेपालमा गत वर्ष आएको महाविनाशकारी महाभूकम्पले नेपालको पर्यटनलाई कस्तो प्रभाव पा¥यो ?
पछिल्लोपटक १२ वैशाख ०७२ मा आएको विनाशकारी महाभूकम्पले धेरै ठूलो असर पारेको छ । भूकम्प आएपछि ९५ प्रतिशत पर्यटक नेपाल आएनन् । अहिले सुधार भइरहेको छ । त्यसका अलावा मधेस आन्दोलनका क्रममा भएको नाकाबन्दीले पनि ठूलै असर पु¥यायो ।

अहिले पर्यटकको आगमन चाहिँ कस्तो छ ?
भूकम्पपछि पराकम्पन आउने क्रम जारी नै छ । तैपनि पर्यटक नेपाल आउने क्रम बढेको छ । तर, पछिल्लो समयमा युरोपियन मुलुकले नेपालको आन्तरिक उडानमा सुधार नभएसम्म नेपाल नजान परिपत्र जारी गरेको छ । यसले नेपालको पर्यटनलाई ठूलो असर पु¥याउँछ । त्यसका लागि नेपालले पहिले नेपालको हवाई सुरक्षामा ध्यान दिन जरुरी भइसकेको छ । नेपालको आन्तरिक हवाई सुरक्षाको व्यवस्था नगरेसम्म युरोपियन मुलुकका पर्यटक नआउन सक्छन् । त्यसकारण कसरी ती मुलुकलाई नेपालको हवाई उड्डयनमा सुरक्षा दिलाउन सकिन्छ भनेर सोच्नुपर्छ । नेपाल एअरलाइन्स उनीहरूको नजरमा कालोसूचीमा परेको छ । ती मुलुकले अरू थप कडा कदम चाले भने नेपालका लागि खतरा हुन सक्छ । त्योभन्दा पहिले नै सरकार, नेपालका एअरलाइन्स र सरोकारवालाले विशेष ध्यान दिनुपर्छ । होइन भने नेपालको पर्यटन व्यवसाय पनि नरहन सक्छ ।

सरकारले सन् २०१८ मा पर्यटन वर्ष मनाउने तयारी गरिरहेको छ । यदि सरकारले हवाई सुरक्षामा सुधार नगरे त पर्यटन वर्ष सफल हुने आशंका देखियो नि होइन ?
यदि सरकारले हवाई सुरक्षाको प्रबन्ध मिलाउन सकेन भने पर्यटन वर्ष मनाउन गाह्रो हुन्छ । सफल बन्न सक्दैन । जब युरोपियन मुलुकले नेपालको हवाई सुरक्षामा चासो देखाएका छन् भने त्यसलाई सुधार गर्न सक्नुपर्छ । नेपाल सरकारले पर्यटन वर्ष मनाउन घोषणा गरेको भए पनि त्यसको तयारी राम्रोसँग गरेको पाइएको छैन । किनभने सन् २०१७ लागिसकेको छ । अव एक वर्ष मात्रै बाँकी छ । यो अवधिमा पर्यटन वर्षबारे त्यति प्रचारप्रसार भइरहेको छैन । घोषणा गर्दैमा मात्रै सफल हुँदैन, त्यसका लागि पूर्वाधारको पनि विकास गर्न सक्नुपर्छ । पर्यटन व्यवसाय बढाउन नीतिगत सुधार पनि गर्नैपर्छ ।

नेपालको पछिल्लो राजनीतिक अवस्थाले गर्दा नेपालमा पर्यटक आउन अप्ठ्यारो मानेको अवस्था छ । सधैं भइरहने बन्द र हडतालका कारण पर्यटक आफूले चाहेको ठाउँमा पुग्न र सेवा लिन पाउँदैनन् । त्यसकारण पनि राजनीतिक स्थायित्व आवश्यक छ ।

पर्यटन वर्ष सफल बनाउन तपाईंले चाहिँ के पहल गर्नुभएको छ ?
हामीले नेपालको पर्यटनको विकास गरेर व्यवसायमा परिणत गर्नुपर्छ । त्यसको लागि व्यवसायिक सुरक्षा पनि हुनुपर्छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल पार्नु हाम्रो पनि दायित्व हो । त्यही भएर विभिन्न देशमा पर्यटकलाई नेपाल आउनुस्, पर्यटनका लागि उच्चस्तरीय गन्तव्य नेपाल हो र नेपाल तपाईंहरूका लागि सुरक्षित छ भनेर भनिरहेका छौं । त्यसको अलावा हामीले विभिन्न देशका पर्यटकीय व्यवस्थापनका लागि लागेका विभिन्न संघसंस्थासँग पनि लविङ गरिरहेका छौं । तर, सरकारले चाहिँ त्यति प्रचारप्रचार गर्न सकिरहेका छैनन् । सरकारले यसको प्रचारप्रसारमा ध्यान दिनुपर्छ । सरकारले नै पहल नगरेसम्म यो पूर्ण रूपमा सफल हुन सक्दैन ।

तपाईं नेपाल पर्वतारोहण संघको अध्यक्ष पनि हुनुहुन्छ । संघले अरू के काम गरिरहेको छ ?
त्यहीअनुसार नेपाल पर्वतारोहण संघले जतिसक्दो धेरै दक्ष जनशक्ति उत्पादनका लागि लाग्नुपर्छ भनेर त्यसैमा ध्यान दिएको छ । नेपालमा पर्यटनसम्बन्धी तालिम दिइरहेका छौं । आधारभूतदेखि उच्चस्तरीय रेस्क्यु तालिम, स्पोटर्स क्लाइम्बिङ तालिम दिइरहेका छौं । सन् २०२० मा जापानमा हुन लागेका ओलम्पिक खेलमा होल क्लाइम्बिङ खेललाई पनि समावेश गरेको छ । त्यसमा नेपालका आरोहीहरूलाई प्रवेश पाउन सकून् भनेर तालिम दिइरहेका छौं । सो ओलम्पिकमा भाग लिन केही क्राइट एरिया तोकेको छ । त्यसलाई पूरा गर्ने कोसिसमा लागेका छौं । अहिलेको जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा परिरहेको छ । त्यसलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौं । साथै महाविनाशकारी भूकम्पपछि पर्यटकीयस्थल पुग्ने बाटो भत्किए । त्यसलाई विश्व खाद्य कार्यक्रमसँग मिलेर बनाइरहेका छौं । धेरै स्थानमा काठे पुल पनि बनाइसकेका छौं । सुख्खा पहिरोका कारण समस्या आएका कारण त्यसलाई पनि बनाइसकेका छौं । नेपाल क्लाइमेक्स संघ र नेपाल पर्वतारोहण संघले अहिलेसम्म ७२ वटा काठे पुल बनाइसकेका छौं । १२ सय किलोमिटर जति ट्रेकिङ रुट बनाइसकेका छौं । पहिले भत्किएका बाटोलाई डोजर लगेर सफा गर्न काम पनि गरिरहेका छौं । भूकम्पले धेरैजसो मध्य उत्तर, मनास्लु क्षेत्रमा बढी असर पारेको थियो । त्यहाँको बाटो बनाउने काम पनि गरिरहेका छौं ।

नेपालको पर्यटन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन तपाईंहरूले के काम गरिरहनुभएको छ ?
नेपालको पर्यटन व्यवसाय व्यवस्थित र सुरक्षित हुनुपर्छ भनेर हामीले लामो समयदेखि आवाज उठाउँदै आउका छौं । धेरैजसो हामी अहिले तालिममै ध्यान दिइरहेका छौं । नेपाल पर्वतारोहण संघ प्राविधिक संघ भएकाले यसमा संलग्न हुन दक्ष बन्नुपर्छ । नीति नियम र पर्यटन ऐन कस्तो बनाउनुपर्छ ? व्यवसाय मैत्री, पर्यटनमैत्री कसरी बनाउन सकिन्छ ? भनेर सरकारलाई समयसमयमा सल्लाह दिइरहेका छौं । मैले कार्यभार सम्हालेको दुई वर्ष ८ महिना बित्न लागेको छ । तर, दुर्भाग्य यो अवधिमा ६ जना मन्त्री र ५ जना सचिव परिवर्तन भइसके । पहिले पर्यटन महाशाखा थियो, अहिले विभाग बनिसक्यो । यो अवधीमा ६ ना डाइरेक्टर नै परिवर्तन भइसके । हामीले पर्यटन विकासका लागि जे सल्लाह र सुझाव दिन्छौं, त्यो कुरा बुझी नसक्दै सरकार र मन्त्री परिवर्तन भइसक्छन् । अहिलेसम्म हामीले ६ वटा सुझाव पेस गरिसकेका रहेछौं । यसले पनि समस्या पारिरहेको छ । आशा गरौं राजनीतिक स्थायित्व होस । नेपालको दिगो पर्यटनको परिकल्पना गर्ने हो भने राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमलाई जबसम्म मजवुद बनाउन सक्दैनौं, तबसम्म पर्यटन विकासको सफल परिकल्पना गर्न सक्दैनौं । जतिवेला नेपाल एअरलाइन्स जापान पुग्थ्यो, त्यतिवेला ४९ हजार जर्मनी नेपाल आउँथे । नेपाल एअरलाइन्स जापान २७ हजारभन्दा कम भइसकेको छ ।

तपाईं पर्वतारोहण संघको अध्यक्ष मात्रै नभएर अपरेटर पनि हुनुहुन्छ । कसरी ज्वाजावहाक एअरलाइन्सको विकास गर्न सकिएला ?
बाहिरबाट अपरेटर ल्याउँदा धेरै खर्च लाग्छ । उनीहरूले पनि बाहिरको भन्दा पनि नेपालकै अपरेटरसँग विश्वास गर्छन् । उनीहरू जुन एयरलाइन्समा आयो, त्यसैबाट आफ्नो देश फर्कन चाहन्छन् । त्यसका लागि नेपालको ध्वजाबाहक एयरलाइनसको विकास गर्न सक्नुपर्छ ।

नेपालमा पर्यटन विकासको प्रशस्त सम्भावना हुँदा पनि सरकार र सरोकारवाला ध्यान दिन सकेनन् भन्ने आरोप छ नि ?
यो आरोप मात्रै होइन, यथार्थ पनि हो । नेपालको दुर्भाग्य नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ । विदेशी पर्यटकले ठूला विमानमा धेरै पर्यटक आउन खोज्दा पनि नेपालको विमानस्थलले थेग्दैन, नेपालको एयरपोर्ट बिग्रन्छ । त्यही भएर सानो लिएर आउनुस् भन्नुपर्ने अवस्था छ । अर्काेकुरा दिउँसो एयरपोर्टमा खुट्टा हाल्ने ठाउँसम्म हुँदैन । राति एक जना पनि मान्छे हुँदैन । यस्तो अवस्थामा कसरी विकास हुन सक्छ ? २४ घण्टा पर्यटकका लागि सुविधा दिने हो भने मात्रै पर्यटकलाई नेपाल ल्याउन सकिन्छ । साथै नेपालको पर्यटन विकासका लागि सरकारले गर्ने अन्य काम पनि गर्नुपर्छ । किनभने सरकारले नै विशेष योजना नबनाएसम्म निजी क्षेत्रको भरमा केही हुँदैन । त्यसकारण अहिलेसम्म जसरी सरकार र निजी क्षेत्रले पर्यटनको विकासका लागि जति काम गरे, त्यसलाई तेब्बर बनाएर नेपालको आर्थिक विकासका लागि पर्यटन क्षेलाई प्रयोग गर्नुपर्छ । अर्काे कुरा नेपाल आउने पर्यटकले सबैभन्दा बढी इन्सुरेन्सको समस्या पर्ने गर्छ । इन्सुरेन्सको शुल्क पनि बढी भयो । त्यसलाई घटाउने हो भने पनि नेपालमा पर्यटक धेरै ल्याउन सकिन्छ ।

पर्यटन विकासका लागि नेपालको पछिल्लो घटना क्रमले कत्तिको प्रभाव पारेको छ ?
पर्यटन व्यवसाय भनेको यस्तो व्यवसाय हो, जहाँ नेपालको एक मुठी माटो नबेची पनि अर्बाैं रकम ल्याउन सक्छौं । यो व्यवसाय संवेदनशील व्यवसाय पनि हो । यदि नेपाल आएका पर्यटक काठमाडौंमा कुनै आपतकालीन अवस्था आए एअरपोर्टबाटै फर्कन सक्छ । तर, अहिलेसम्म कुनै त्यस्तो व्यवस्था छैन । नेपालको पछिल्लो राजनीतिक अवस्थाले गर्दा नेपालमा पर्यटक आउन अफ्ठ्यारो मानेको अवस्था छ । सधैं भइरहने बन्द र हडतालले पर्यटकले चाहेको ठाउँमा पुग्न र सेवा लिन पाउँदैनन् । त्यसकारण पनि राजनीतिक स्थायित्व आवश्यक छ ।

तपाईं शेर्पा समुदायको जिम्मेवार व्यक्ति पनि हुनुहुन्छ । पर्यटन विकासका लागि लाग्ने शेर्पा समुदायको संरक्षणका लागि के पहल गरिरहनुभएको छ ?
शेर्पा समुदायका अधिकांश व्यक्ति पर्वतारोहणमै आबद्ध हुन्छन् । मैले यो संघमा आएपछि नेपालमा जति आरोही छन्, उनीहरूको सुरक्षाका लागि केही व्यवस्था गर्नुपर्छ, हिमाल चढ्दा उसको मृत्यु भएमा उसका बालबच्चाको पालन पोषण र शिक्षाको व्यवस्था गर्ने, उनीहरूलाई सीपमूलक बनाउने आदि काममा ध्यान दिएको छु । मैले व्यक्तिगत तवरले पनि आरोहीका सन्तानका लागि छात्रवृति दिन कोषको स्थापना गरेको छु । सो कोषमा २ करोडभन्दा बढी पैसा जम्मा पनि भइसकेको छ । त्यही पैसाले ५९ जना बच्चालाई पढाइरहेका छौं । आरोहणका क्रममा अपांगता भएका आरोहीलाई पनि सहयोग गरिरहेका छौं अझै पनि त्यो कोषमा धेरै पैसा जम्मा गर्न सके वृद्ध अवस्थामा केही सहयोग गर्न सकिन्छ कि भन्ने योजना बनाएका छौं । -प्रकाशितः २०७३ पुस १८ सोमबार

Loading...
Loading...
Loading...

विश्वभर नै नयाँ–नयाँ भेरियन्टको प्रभाव देखिएको छ,यो चिन्ताजनक स्थिति हो : विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख (अन्तरवार्ता)

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको...