‘हिमालको छोरा’ – Janata Live
  • Friday, February 3, 2023

‘हिमालको छोरा’

  • जनता लाइभ
  • फागुन १८, २०७५

‘हिमालको छोरा’

आङछिरिङ शेर्पा
अध्यक्ष, एसियन ट्रेकिङ प्रा.लि

नेपाली पर्वतारोहण क्षेत्रमा विज्ञका रुपमा परिचित आङछिरिङ शेर्पा सोलुखुम्बुको खुम्बु क्षेत्रबाट एसएलसी पास गरी डाकटर बन्ने सपना बोकेर राजधानी आएका थिए । उनले काठमाडौं आएर आनन्दकुटी साइन्स कलेज र अमृत साइन्स कलेजमा आइएससी पढे । आइएसी सकेपछि छात्रवृत्ति पाएर एमबिबिएस पढ्न भारतको दरभंगा मेडिकल कलेज पुगे । उनीसँगै आधा दर्जन नेपाली पनि डाक्टर बन्ने सपना संगालेर दरभंगा हानिएका थिए ।

‘अरू थुप्रैलाई सगरमाथा चढाए पनि उनी आफैं भने सगरमाथाको टुप्पोमा पुगेका छैनन् ।’

शेर्पासँग गएका अन्य सबै डाक्टर बनेर फर्के पनि उनको सपना अधूरै रह्यो । हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्के–बढेका शेर्पाले दरभंगाको गर्मी सहन सकेनन् । बिरामी निको पार्ने डाक्टर बन्न गएका उनी आफैं पटक–पटक बिरामी भएँ । पढाइ सकिन लागेका बेला धेरै बिरामी भएपछि नेपाल फर्के । ‘दरभंगामा पटक–पटक बिरामी भएँ । तीनपटक अपरेसनै गर्नुप¥यो,’ शेर्पा विगत सम्झिन्छन् । उनको बिरामी अवस्था देखेर कलेजकै एकजना गुरुले ‘रोगी डाक्टर भएर जानुभन्दा स्वस्थ मान्छे भएर फर्क’ भनी नेपाल फर्किन सुझाव दिएछन् । त्यसपछि डाक्टर बन्ने सपना दरभंगामै छाडेर शेर्पा नेपाल फर्किए ।

शेर्पाले प्राथमिक शिक्षा प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीले खोलेको खुम्जुङ माविमा पढेका थिए । त्यो स्कुलको पहिलो ब्याचका विद्यार्थी थिए उनी । त्यसपछि सल्लेरी हुँदै ओखलढुंगाबाट शेर्पा एसएलसी पास गरेर राजधानी हानिएका थिए । सर्वोच्च शिखर सगरमाथाको फेदीमा पर्यटक एवम् हिमाल आरोहीको सेवा गरेर जीवन बिताइरहेका सोलुखुम्बुका शेर्पा जातिले मुलुकको सिंगो अर्थतन्त्रमा टेवा पु-याइरहेका छन् । आङछिरिङका बुबा पनि पर्यटन व्यवसायमा थिए । बुबाबाट उनले व्यवसाय सिके । त्यसैले पर्वतारोहणमा उनको सानैदेखि रुचि र जानकारी थियो । खुम्बु क्षेत्रका सबै कुनै न कुनै रुपमा पर्वतारोहणमा संलग्न थिए ।

भारतबाट फर्केर पर्यटन व्यवसायमा होमिएका शेर्पाले सगरमाथाको व्यावसायिक आरोहण मात्र होइन सरसफाइमा पनि ध्यान दिइरहेका छन् । त्यस्तै, नेपाली पर्वतारोहणको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न पनि उनको योगदान महत्वपूर्ण छ । पर्यटन प्रवद्र्धनकै लागि शेर्पाले ३५ वर्षअगाडि एकजना आफन्त र एक बेलायतीसँग मिलेर खोलेका संस्था एसियन ट्रेकिङले अहिले व्यावसायिक पर्वतारोहण र सफाइ अभियान सञ्चालन गरिरहेको छ । ३ लाख रुपैयाँबाट सुरु भएको शेर्पाको व्यवसाय करोडौंमा विस्तार भएको छ ।

‘कसले कुन मितिमा कुन हिमाल चढ्यो र के रेकर्ड बनायो ? शेर्पालाई कण्ठस्थ हुन्छ । हिमाल र पर्वतारोहणसम्बन्धी सबै तथ्यांक राखेका छन् उनले’

ट्रेकिङबाट सुरु भएको उनको व्यवसाय अहिले ट्राभल र होटलमा पनि विस्तारित भएको छ । सगरमाथा क्षेत्रमा सन् १९७६ मै उनले शेर्पा को–अपरेटिभ होटल खोलेका थिए । अहिले पनि सगरमाथा जाने बाटोमा शेर्पाका तीनवटा सुविधासम्पन्न हिमालय चाइना रिसोर्ट सञ्चालनमा छन् । त्यस्तै, राजधानीछेउको लाकुरी भन्ज्याङमा होटल माउन्ट मोनाष्ट्री स्थापना गरेका छन् । यसै वर्ष १७ करोड रुपैयाँ लगानी गरेर होटलको क्षमता विस्तार गर्दैछन् । लाकुरीभन्ज्याङको होटललाई इको–फ्रेन्ड्ली बनाउने शेर्पाको योजना छ । राज्यले रोजगारी दिन नसकिरहेका बेला उनले साढे तीन सय कर्मचारीलाई स्थायी जागिर दिएका छन् । शेर्पाको संस्थाबाट २ सयभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् । व्यवसायलाई अहिले उनका भाइ र छोराले समेत सघाइरहेछन् ।

हालसम्म एसियन ट्रेकिङमार्फत ५ हजार ५ सयभन्दा बढीले सगरमाथा आरोहण गरि सकेका छन् । अरु थुप्रैलाई सगरमाथा चढाए पनि उनी आफैं भने सगरमाथाको टुप्पोमा पुगेको छैनन् । ८ हजार मिटरसम्म पुगेर फर्केको शेर्पा सुनाउँछन् । हिमाल आरोहण शारीरिक रुपमा जति जोखिमपूर्ण छ, आर्थिक रुपमा पनि निकै महँगो छ । सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । तर, समूह बनाएर चढ्ने हो भने आरोहण शुल्क केही सस्तो पर्छ ।

नेपाली पर्वरोहणको प्रवद्र्धन गरिरहेका शेर्पा अन्तर्राष्ट्रि स्तरमा निकै परिचित छन् । हिमालय र वातावरणसम्बन्धी विज्ञका रुपमा उनको अन्तर्राष्ट्रिय स्तरमा माग हुने गरेको छ । महिनाको दुईपटक उनी यस्तै कार्यक्रममा भाग लिन विदेश जान्छन् । ‘मलाई नेपालले भन्दा विदेशले बढी चिनेको छ,’ शेर्पा भन्छन् । हरेक महिना १५ हजारभन्दा बढीलाई उनी नेपाली पर्वतारोहणबारेमा इमेल गर्छन् ।

विदेशी मिडियामा पनि शेर्पा निकै छाउने गरेका छन् । नेपाली पर्वतारोहणबारे कुनै पनि आधिकारिक जानकारी चाहिए उनलाई फोन आउने गरेको छ । शेर्पा अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको माउन्टेन प्रोटेक्सन कमिसनको कार्यकारी सदस्य पनि हुन् । उनी महासंघमा एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्छन् । विदेशमा हुने सबैजसो सभा–सम्मेलनमा नेपालका तर्फबाट पेपर प्रिजेन्टेसन गर्छन् । शेर्पाको विचारमा अहिलेको मुख्य एजेन्डा ग्लोबल वार्मिङ र जलवायु परिवर्तन हो । हिमाली क्षेत्रमा यसको असरबारे उनले विश्व समुदायलाई जानकारी गराइरहेका छन् । जलवायु परिवर्तनले हिमाल चढ्न पनि गाह्रो हुन थालेको शेर्पाको ठम्याइ छ ।

हिमालको पानीमा १ अर्ब ४० करोड मानिस आश्रित भएकाले जलवायु परिवर्तनले पर्वतारोहण मात्र संकटमा पर्ने नभई समग्र मानव जीवन नै खतरामा पर्ने उनको बझाइ छ । हिमाली क्षेत्रमा बस्ने समुदायले यसको असर भोगिरहेको छ र अन्तर्राष्ट्रिय स्तरमा हुने सभा–सम्मेलनमा शेर्पाले यो विषय जोडदार रुपमा उठाउँछन् । ४० वर्षभन्दा बढी समय पर्वतारोहण क्षेत्रमा बिताइसकेका शेर्पालाई नेपाली पर्वतारोहणका इन्साइक्लोपेडिया नै भन्दा पनि अत्युक्ति हुँदैन । आफूलाई अक्षरभन्दा अंक बढी कण्ठ हुने उनी बताउँछन् । कसले कुन मितिमा कुन हिमाल चढ्यो र के रेकर्ड बनायो भन्ने पनि शेर्पालाई कण्ठस्थ हुन्छ ।

पर्वतारोहणसम्बन्धी पुस्तक पायो कि पढिहाल्छन् । हिमाल र पर्वतारोहणसम्बन्धी सबै तथ्याङ्क राखेका छन् उनले । नाम चलेका थुप्रै अन्तर्राष्ट्रिय पत्रपत्रिकामा उनका लेख छापिएका छन् । धेरैले शेर्पालाई पर्वतारोहणबारे पुस्तक लेख्न सल्लाह दिने गरेका छन् । तर समय अभावका कारण पुस्तक लेख्न नसकेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि शेर्पा महत्वपूर्ण समाचार–स्रोत हुन् । आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त सद्भावका कारण यस्तो भएको उनी बताउँछन् । ‘विवादित विषय आयो कि मलाई सोध्छन्,’ शेर्पा भन्छन् ।

आफ्नो सफलताको श्रेय एडमण्ड हिलारीलाई दिन कन्जुस्याइँ गर्दैनन् उनी । हिलारीले नै स्थापना गरेको स्कुलबाट उनले अक्षर सिके । अहिले पनि बेलाबेलामा जन्मथलो र प्राथमिक शिक्षा आर्जन गरेको ठाउँ पुग्ने गर्छन् शेर्पा ।

उनका बुबा हिलारीका साथी थिए । त्यसैले उनले हिलारीलाई नजिकबाट चिने । हिलारीले खुम्बु क्षेत्र र त्यहाँका वासिन्दाको जीवनमा कायापलट नै गरिदिएको शेर्पा सगौरव बताउँछन् ।

सरल स्वभावका उनी मिडिया फ्रेन्ड्ली पनि छन् । नेपाली पर्वतारोहणमा सबैभन्दा जानकारी राख्ने भएकाले देशी–विदेशी सञ्चारमाध्यमका लागि सूचनाको महत्वपूर्ण स्रोत शेर्पा कहिलन पुगेका छन् । उनी आफ्नो संस्थामा काम गर्ने कर्मचारीको सेवासुविधामा पनि त्यत्तिकै ध्यान दिन्छन् । कर्पोरेट कल्चर विकास गरेका छन् आफ्नो कार्यालयमा शेर्पाले ।

६४ वर्षीय शेर्पा भगवानप्रति त्यत्तिकै आस्थावान् छन् । आफ्नो सबै व्यवसाय छोरा दावा स्टेभन शेर्पालाई सुम्पिने सोचाइ बनाइरहेका उनले बाँकी जीवन पनि पर्वतारोहण क्षेत्रमै बिताउने योजना रहेको सुनाउँछन् । ‘मलाई पर्वतारोहणले यहाँसम्म ल्याइपु-याएको हो, बाँकी जीवन पनि यसै क्षेत्रको सेवामा बिताउने लक्ष्य छ,’ शेर्पा भन्छन् । लामो समयसम्म नेपाल पर्वतारोहण संघको नेतृत्व सम्हालेका उनले इको एभरेष्ट एक्सपिडिसनमार्फत सगरमाथा सफाइमा योगदान पु¥याएरहेका छन् । सगरमाथामा फोहोर बढेकामा चिन्ता व्यक्त गर्ने शेर्पा जिम्मेवार पर्वतारोहण गतिविधिमा जोड दिन्छन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...