ह्योल्मो समुदायका महिलाहरूको शिर उच्च राख्ने मिङमर – Janata Live
  • Friday, May 14, 2021

ह्योल्मो समुदायका महिलाहरूको शिर उच्च राख्ने मिङमर

  • जनता लाइभ
  • फागुन १८, २०७५

ह्योल्मो समुदायका महिलाहरूको शिर उच्च राख्ने मिङमर

ह्योल्मो समुदायभित्र सामाजिक काममा महिला सक्रिय देखिँदैनन् । शिक्षा र चेतनामा वृद्धि हुँदै जाँदा पछिल्लो समयमा ह्योल्मो समुदायका महिला पनि समाजिक कार्यमा सक्रिय रहेका छन् । त्यसको दरिलो उदाहरण बनेकी छन् नुवाकोट नेङेम्बाकी मिङमर ओमु ह्योल्मो । सामाजिक काममा एउटा उदाहरणीय पात्रका रूपमा चिनिएकी छन् मिङमर ओमु ।

आफ्नो पीडा लुकाएर पनि उनले समाजसेवाको काम गरिरहेकी छन् । सामाजिक काममा दत्तचित्त भएर लागेकी छन् । सम्पन्न परिवारमा जन्मेर पनि विपन्नताबाट बाल्यकाल झेल्नुपरेकी मिङमर ओमुले आज नमुना काम गरिरहेकी छन् ।

बाल्यकाल
मिङमर ओमु ह्योल्मो आपूmले बाल्यकालमा निकै दुःख गरेको सुनाउँछिन् । उनी नुवाकोटका भए तापनि उनको बाल्यकाल बौद्ध काठमाडौंमा नै बित्यो । आमाको मातृवत्सल्यमा उनको बाल्यकाल बित्यो । बुबाको माया कस्तो हुन्छ त्यस कुराको अनुभव मिङमरमा खासै भएन । जब उनी सानै छँदा बुबाले अर्को आमा बिहे गरी आफूबाट दुई साना छोरी र आमालाई छुटाइदिएका थिए । तत्पश्चात् आमाले अनेकौं दुःख गरेर उनलाई हुर्काइन् । उनीसँगै एक जना बहिनी पनि छन् । बहिनी र उनलाई आमाले गलैंचामा काम गरेर भए पनि शिक्षा दीक्षा र राम्रो संस्कार दिलाइन् ।

आफ्ना सन्तानको कसलाई पो माया हुँदैन र ! तर, उनका बुबालाई भने उनीहरूप्रति कुनै माया थिएन । के खाए के गरे भन्ने कुनै चासो नै देखाएनन् । त्यो वेलाको क्षण सम्झँदा आज मिङमरको आँखामा आँसुको पोखरी बन्दछ । उनी भक्कानिन्छिन् । उनका एक जना दाजु थिए । छोरा भएकै कारण दाजुलाई भने उनका बुबाले सँगै राखे शिक्षा दीक्षा दिए तर, दुई छोरी र आमालाई कुनै चासो नै देखाएनन् । अरूका बुबाआमासँगै हिँडेको देख्दा मिङमर निकै गम्भीर हुन्छिन् । किनकि उनको मनमा बाल्यकालमा बुबाको माया नपाएको छाप बसेको छ ।

संघर्ष
बुबाबिना आमासँग उनले संघर्षको जीवन बिताइन् । उनको जीवनमा निकै संघर्ष झेल्नुप¥यो । आमाले गलैंचाको काम गरेर भए पनि बौद्धस्थित श्री महेन्द्र बौद्ध माविमा कक्षा १० सम्म अध्ययन गराइन् । मिङमरले पनि स्कुलको समयमा स्कुल र बिहान बेलुकाको समयमा आफ्नी आमालाई सघाउँदै गइन् । ०५४ सालको उनले एसएलसी परीक्षा उत्तीर्ण गरिन् । एसएलसी पछिको उच्च शिक्षा उनले पढ्न सकिनन् । हुन त डिल्लीबजारस्थित कन्या बहुमुखी क्याम्पसमा भर्ना भइन् । तर, पढाइ खर्च जुटाउन उनलाई निकै गाह्रो भयो । खर्च अभावका कारण उनको पढाइ बीचैमा छोडनुपर्यो ।

उनले पढाइ छाडेर अब केही गर्नुपर्छ आमालाई काममा मात्र होइन खर्चमा पनि सहयोग गर्नुपर्छ भन्ने उनको मनसाय भयो । फलस्वरूप उनले काठमाडौं जोरपाटी नारायणटारस्थित माउन्ट युरल एकेडेमीमा अध्यापन सुरु गरिन् । बालबालिकालाई उनले पढाउन थालिन । त्यही टिचिङ गरेवापत आएको पैसाले घरखर्च चलाउन सहयोग गर्न थालिन् । त्यससँगै सधैं अर्काकोमा काम गरेर हुँदैन भन्दै उनैको सल्लाहमा आमाछोरीले मिलेर एउटा किराना पसल सुरु गरिन् । बिहान बेलुका पसलमा दिउँसो स्कुल उनको दिनचर्या यसरी नै बित्दै गयो । उनकी बहिनी किन्जो ओमु ह्योल्मोले पनि काम गर्थिन् । दुवै जना छोरीले थोरबहुत कमाइ गरेपछि आमालाई पनि राहत मिल्यो ।

विवाह पछिको दाम्पत्य जीवन
छोरी भएपछि बिहे गरेर अर्काको घरमा जानुपर्छ यो नेपाली परम्परा नै छ तर, त्यसैले मिङमरको पनि विवाह गर्ने उमेर भयो । उनी विद्यालय पढ्दा अनि विभिन्न ल्होसारका कार्यक्रमहरूमा सहभागी भइरहँदा सिन्धुपाल्चोकका ठूलोपाखर ३ का बाङगेल लामासँग उनी नजिकिन पुगे । सुरुमा त वाङगेल लामासँग आफ्नो विवाह हुन्छ भन्ने उनले सोचेकी थिइनन् । वाङगेल निकै सहयोगी र मिलनसार थिए । सहयोगी र मिलनसार भएकै कारण उनीहरूबीच सामिप्यता बढदै गयो । दुःखमा हुर्केका वाङगेल मिङमरलाई मन पराउन थाले ।

अन्ततः उनीहरूबीच विवाह भयो । विवाहपछि नयाँ दाम्मपत्य जीवन सुरु गरेकी मिङमर र वाङगेलले किराना पसललाई होससेलमा परिणत गरेर व्यापार व्यवसायमा सक्रिय भए । परिवारमा बाङगेलको आगमन निकै रमाइलो भयो । अहिले पनि उनीहरूको जोडी त्यत्ति नै रमाइलो छ । बाबुको माया नपाए पनि श्रीमान्को माया र ममता पाएर यतिवेला मिङमर निकै खुसी छन् । हाम्रो जोडी भगवान्ले नै मिलाइदिएजस्तो छ उनी भन्छिन् ।

अनाथलाई निःशुल्क शिक्षा
दुःख सुख अनि आँसु हाँसोको संगममा हुर्केकी र आफ्नी आमालाई मुख्य प्रेरणाको स्रोत मान्ने मिङमर यतिवेला विभिन्न संघसंस्थामा लागेर सामाजिक काममा व्यस्त रहेकी छन् । उनलाई समाजसेवा गर्न मन लाग्छ । उनको सोचाइ पनि त्यही छ र गराइ पनि त्यही नै छ । उनले सुरुवातीमा स्वयं सेवकका रूपमा काम गरिन् । विस्तारै काम गर्दै जाँदा बुझ्दै जाँदा उनले धेरै कुरा सिक्ने अवसर पाएको उनी बताउँछिन् । उनको सक्रियतामा सरस्वती फाउन्डेसन नामक संस्थाका प्रबन्धक निर्देशक रही अहिले बेसाहारा, आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका तथा एकल महिलाका बालबालिकाहरूलाई निःशुल्क शिक्षा दीक्षाको व्यवस्था गरिदिएकी छन् । अहिले करिब सय जना बालबालिकाहरूलाई उनले निःशुल्क रूपमा शिक्षा दिँदै आएकी छन् ।

आफ्नो बाल्यकालमा शिक्षा दिने कोही नभए पनि अहिले उनी अरूलाई निःशुल्क शिक्षा दिइरहेकी छन् । उनी समाज सेवामा ह्योल्मो समुदायबाट माथि उठेर सामाजिक काममा सक्रिय भएकी महिलाहरूमा अग्र पङतिमा आउँछिन् । मिङमर आफू पनि सहयोगी भावना र मिलनसार छन् । समाजमा कसैलाई पनि दुःख नहोस् उनको मनमा छ । सबैलाई समान रूपमा हेर्न चाहन्छिन् उनी । तर, आफ्नो समुदायबाट माथि उठेर सामाजिक कार्य गर्नु उनलाई त्यति सहज थिएन । विभिन्न संघर्ष गर्नुपरेको तीतो यथार्थता उनीमा छ ।

ह्योल्मो समुदायका युवा विदेशिने प्रचलन व्यापक रहेको अवस्था र विशेष गरेर महिला सामाजिक काममा त्यति सक्रिय नरहेको अवस्थामा मिङमरले स्वदेशमै बसी सामाजिक कार्य र समाजमा देखाएको सक्रियता नै आउँदो पिढीँका लागि मार्ग दर्शन बन्न थालेको छ । सोचे के सम्भव छैन भन्ने कुरा मिङमरको जीवनीबाटै प्रस्ट पारिदिएको छ । घरभित्रको चुलो र चौकामा महिलालाई सीमित राख्नुपर्छ भन्ने नेपाली समुदायको मानसिकतालाई मिङमरको सामाजिक कामले चुनौती दिएको छ ।

हुन त मिङमरलाई सामाजिक काममा अगाडि बढ्न त्यति सजिलो थिएन । निकै चुनौती नै थियो । घरपरिवारबाट राम्रो साथ पाए पनि उच्च पदमा पुग्नलाई उनले बाह्य चुनौतीको सामना र संघर्ष पनि त्यत्ति नै गर्नुपरेको थियो । राम्रो काम गर्ने मान्छेलाई खुट्टा तान्ने प्रवृत्ति नेपाली समाजमा छ । त्यसको प्रभाव ह्याल्मो समुदायमा पनि परेको छ । उनलाई माथिल्लो पदमा पुगेको नचाहनेहरू पनि थिए । तर, जति अवरोध सिर्जना भए तापनि उनको सामाजिक कार्यले सबैलाई यतिवेला प्रभाव पारिरहेको छ । उनी आफ्नो समाजसेवाको काममा सफल हुनुमा आफ्ना श्रीमान्, दाजु, बहिनी र साथीहरूको साथ र सहयोग रहेको र सदैव कृतज्ञा रहने बताउँछिन् ।

विशेष गरेर जनजातिको हक अधिकार सुनिश्चित गर्न होस् या ह्योल्मो समुदायको छुट्टै पहिचानको आन्दोलनमा होस् उनको सक्रियता नै हुने गर्दछ । विद्यार्थी आन्दोलनमा पनि उनको छुट्टै योगदान छ । तर, विद्यार्थी आन्दोलन भन्दै कुनै पनि पार्टीको सदस्यता भने उनले लिएको छैन । तर, पहिचानको आन्दोलनमा भने उनले संघर्ष गरेकी छन् । कति दिनसम्म त उनले खाजा पनि नखाई आन्दोलनमा हिँडेको अनुभव उनीसँग छ ।

संस्कृतिमा मिङमरको योगदान
मिङमरले भाषा संस्कृति भेषभूषा र पहिचानका विषयमा निकै संघर्ष गरेकी छन् । ०५४-०५५ सालतिर उनले नेपाल ह्योल्मो विद्यार्थी संघको सदस्यमा रहेर काम गरेकी थिइन् । त्यसवेला उनले रेडियो नेपालको कार्यक्रममा सहभागी भई आफ्नो भाषा कला र साहित्यको प्रचारप्रसारसमेत गरेकी थिइन् । उनले सार्क सम्मेलनमा ह्योल्मो समुदायको कला र संस्कृतिसमेत प्रस्तुत गरेकी थिइन् ।विद्यार्थी जीवनदेखि नै समुदायको हित र कला संस्कृतिको जगेर्ना गर्दै हिँडेकी मिङमर अहिले ह्योल्मो महिला संघकी केन्द्रीय कोषाध्यक्षमा रहेर काम गरिरहेकी छन् । उनले राम्रो काम गरेकै कारण दुई कार्यकालसम्म उनी कोषाध्यक्ष बन्न सफल भइन् ।

ह्योल्मो महिलालाई सक्रिय बनाउने र सामाजिक काममा सहभागी गराउने तथा समुदायमा जनचेतना फैलाउने कार्य यस ह्योल्मो महिला संघले गर्दै आएको छ । त्यही संस्थाको कोषाध्यक्षमा रहेर समुदायका महिलाहरूलाई जनचेतना दिन पाउँदा उनी अत्यन्तै खुसी भएको बताउँछिन् । समाजमा रहेका ह्योल्मो समुदायका महिला शिक्षित भएको हेर्न पाउँदा आफूलाई खुसी लागेको र सधैं समाजको विकास हुँदै जाओस् भन्नेमा उनको ध्यानाकर्षण रहेको छ । उनी समाजको विकासका लागि नै हरेक प्रकारले सोच्ने गर्छिन् ।

ह्योल्मो महिलाको हक हित र ह्योल्मो समाजको विकासका लागि मात्र उनले सामाजिक काम गरिरहेकी छैनन् । सामाजिक काम गर्दै जाँदा उनको कामको मूल्यांकन पनि गरिएको छ । जसका कारण उनी यतिवेला आदिवासी जनजाति महासंघमा संघीय परिषद् सदस्यसमेत रहेकी छन् । उनी नेपाल ह्योल्मो समाजसेवा संघमार्फत संघीय परिषद् सदस्यमा चुनिएकी हुन् । उनी ह्योल्मो समाजसेवा केन्द्र (ह्योल्मो गुम्बा) को महासचिवको रूपमा रहेर गुम्बाको संरक्षण र व्यवस्थापनमा सक्रिय छन् । ०६६ सालदेखि उनी कार्यसमितिमा रहेर काम गरिरहेकी उनी पछिल्लो पटक महासचिवमा रहेर काम गर्दै आएकी छन् ।

ह्योल्मो समुदायबाट पहिलो महिला
ह्योल्मो गुम्बा ह्योल्मो समुदायको पहिचान बोकेको ऐतिहासिक आस्थाको केन्द्र हो । यहाँ ह्योल्मो संस्कृतिको प्रचारप्रसार तथा जगेर्ना गर्ने काम काठमाडौंको तीनचुलीमा ३ रोपनी क्षेत्रफलमा ०५० सालमा ह्योल्मो जापसाङ देक्षेन होसाल छ्योलिङ गुम्बा निर्माण गरिएको छ । मिङमर अहिले त्यही गुम्बाको सञ्चालन समितिको महासचिव रहेर काम गरिरहेकी छन् । उनी ह्योल्मो समाजसेवा केन्द्रको पहिलो महिला महासचिवसमेत रहेकी छन् ।

आफ्नो गच्छअनुसार प्रत्येक घरधुरी सदस्यबाट ५ हजार र सोभन्दामाथि आर्थिक सहयोग संकलन गरी अहिले गुम्बा मर्मत भइरहेको छ । यस गुम्बाको उद्देश्य र भावी कार्यक्रमहरूमा ह्योल्मो संस्कृतिको जगेर्ना गर्ने, बुद्ध धर्मसँग सम्बन्धित सम्पूर्ण प्राणी जगतलाई पुण्य लाभको लागि नियमित पूजापाठलाई निरन्तरता दिने, युवाहरूलाई प्रोत्साहन र हौसला दिने, ह्योल्मोका गुम्बाहरूलाई समन्वय गर्दै लैजाने लगायतका नयाँ योजनाहरू रहेको मिङमर बताउँछिन् । उनको सामाजिक काम दीर्घकालीन रूपमा अघि बढी रहोस् हाम्रो तर्फबाट शुभकामना ।

Loading...
Loading...
Loading...

विश्वभर नै नयाँ–नयाँ भेरियन्टको प्रभाव देखिएको छ,यो चिन्ताजनक स्थिति हो : विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख (अन्तरवार्ता)

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको...