बी.पी. को सम्पूर्ण पक्षको आधार जनता – Janata Live
  • Sunday, February 5, 2023

बी.पी. को सम्पूर्ण पक्षको आधार जनता

  • पुरुषोत्तम बस्नेत
  • फागुन ११, २०७५

बी.पी. को सम्पूर्ण पक्षको आधार जनता

बी.पी. कोइराला देश र जनताको हितमा आफूलाई सधैं समर्पित गरेर, अनेक दुःख–कष्ट र ठूला–ठूला जोखिमको अगाडि आफूलाई होमिदिने एक राजनेता । उहाँले जनतालाई अग्रगामी परिवर्तनको वाहकको रुपमा अघि सर्न हमेशा प्रेरणा गरिरहनु भयो । उहाँ एक चिन्तक, मनोविश्लेषक, विचारक र एक साहित्यकार । साहित्यमा उहाँको एक बेग्लै र अति विशिष्ट योगदान रहेको छ । मान्छेको बाहिरी तहलाई मात्र होइन, उभित्र छरिएर रहेका आरोह–अवरोह तथा त्यससित जेलिएका यावत पक्षलाई विश्लेषण गरेर, तिनीहरुलाई बी.पी. ले नेपाली साहित्यमा प्रवेश गराउनु भयो । उहाँले मान्छेको भित्र–भित्रसम्म पुगेर उसको अन्तरमनको उद्वेलन, द्वन्द्व, हर्ष, विस्मात, उसका— सुख–दुःखलाई सुक्ष्म रुपले हेर्नु भयो । उभित्र विभिन्न आकृति लिएर रहेका उसका हरेक अंग–प्रत्यंगलाई छाम्नु भयो । उसको सुसुप्त आकांक्षाका अनेक पक्षलाई उद्घाटन गर्नु भयो । उसभित्रका ग्रन्थीहरुलाई केस्रा–केस्रामा छुट्याएर केलाउनु भयो । उहाँले नै नेपाली साहित्यलाई परम्परागत शैली र भावधारबाट उठाएर आधुनिक साहित्यको पंक्तिमा पु¥याएर उभ्याउनु भयो । तर साहित्य सिर्जनामा उहाँले धेरै समय दिन सक्नु भएन । आफू ६ वर्ष पुग्दा नपुग्दै सरकारी स्कूल बहिष्कारको आन्दोलनमा निस्किएर, जीवनको अन्तिम क्षणमा आइपुग्दासम्म, मृत्युदण्डको अगाडि उभिएर उहाँले आफ्नो सम्पूर्ण समय राजनीतिमा दिनु भयो । लामो समयसम्म जेलमा रहन नपरेको भए— ‘दोशी चश्मा’ पछिको उहाँका अरु उत्कृष्ट साहित्यिक रचनाहरु शायद आउने थिएनन् ।

टीठलाग्दो भोको पेट र नांगो शरीर लिएर, कामको खोजीमा, खान र लाउनको खोजीमा भौतारिन विवश निरपेक्ष गरीवीको अवस्थामा बाँचेका नेपाली जनताका प्रति संवेदनशील भएर पिताजी कृष्णप्रसाद कोइरालाले सिराहाको माडरबाट चन्द्र शम्शेरलाई उनीहरुले लगाएका झुत्रो कपडाको पार्शल पठाइदिनु भयो, सिंहदरबारमा । उहाँले चन्द्र शम्शेरलाई उनीहरुको त्यो दयनीय अवस्थाको सुधारको निमित्त केही गर्न आग्रह पनि गर्नुभएको थियो । पार्शल पाएको केही पछि चन्द्र शम्शेरले सिंहदरबारबाट विराटनगरका बडाहाकिम जितबहादुर खत्रीलाई एउटा गोप्य आदेश पठाए । त्यसमा— कृष्णप्रसाद कोइराला, उनका सबै परिवार र उनका सबै सहयोगीहरुलाई तुरुन्त पक्राउ गरेर, भाग्न–उम्कन नपाउने गरी, अड्डासार गरेर काठमाडौं पठाउनु भनिएको थियो । चन्द्र शम्शेरको आदेश विराटनगरमा आएको पिताजीले थाहा पाउनु भयो र पक्राउ गर्नु भन्दा पहिले नै पिताजी, उहाँको सम्पूर्ण परिवार तथा उहाँको सहयोगीहरु समेतको एउटा ठूलो जत्था भारतमा निर्वासित हुन पुग्यो । त्यही जत्थामा बाल शरणार्थी भएर बी.पी. ले निर्वासनमा रहन प¥यो ।

तिनै झुत्रे कपडा लगाएका बिहान खाए बेलुका के खाने भन्ने समस्यामा अल्झिरहेका असंख्य जनताको निरिह अवस्थाले बी.पी. लाई सधैं उद्वेलित गरिरह्यो । तिनै जनतालाई कसरी सुखी बनाउन सकिन्छ, कसरी खान र लाउन पुग्ने अवस्थामा पु¥याउन सकिन्छ, उनीहरुले गरीवीको यो असहनीय स्थितिलाई बेहोर्नु परेको कारण के हो ? कसरी यसको निराकरण गर्न सकिन्छ ? कसरी मान्छे माथि मान्छेको शोषण, दमन, थिचोमिचो र भेद्भावको अन्त्य गर्न सकिन्छ ? राजनीतिमा बी.पी. को चिन्तन, संकल्प र गन्तव्य यसैमा अन्तरनिहित थियो । त्यसैको निमित्त उहाँले अनेक कष्ट, यातना र ठूला जोखिमहरुमा आफूलाई सम्पूर्ण तवरले समर्पित गरिदिनु भयो । यसैको निमित्त उहाँले १६ वर्ष भन्दा बढी समयसम्म भारत र नेपालको जेलमा रहन प¥यो । अनेकपटक मृत्युको आमन्ने–सामुन्ने उभिनु प¥यो । बी.पी. ले धेरैपटक स्पष्ट शब्दमा भन्नुभएको छ—

जब म नेपालको कल्पना गर्न थाल्छु, त्यसबेला तिनै गरीब दाजु–भाइ, दिदी–बैनीहरुको तस्वीर मेरो अगाडि आउँछ— मैलो लुगा लगाएको, खान नपाएको र रोगी अनुहारको तस्वीर । अनि मलाई लाग्छ, यो रोगी, खान नपाएको अनुहार पो त हाम्रो देश हो । त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जावस्, हाँस्न नपाएको ओठमा हाँसो आवस्, केटाकेहीहरुले पढ्न पाउन्, रोगी छन् भने औषधी मूलोको व्यवस्था होस् भनेर नै हामीहरु राजनीतिमा लागेका हौं । मन्त्री हौंला, ठूला–ठूला कुुर्सीमा बसौंला भनेर राजनीतिमा लाग्या होइनौं ।

बी.पी. को चिन्तनको केन्द्र देश थियो, जनता थिए । देशलाई कसरी सुदृढ, सम्मानित र समुन्नत पार्न सकिन्छ, जनतालाई कसरी सुखी, स्वस्थ र आत्मनिर्भर बनाउन सकिन्छ, उहाँ त्यसैमा निरन्तर लागिरहनु भयो । जनतालाई क्षणिक आकर्षण गर्ने र सस्तो लोकप्रियताको निमित्त कृत्रिम बोली बोल्ने उहाँले कहिल्यै गर्नु भएन । उहाँले जनतालाई कहिल्यै काल्पनिक आश्वासन बाँड्नु भएन । जहिले पनि उहाँले जनताका सामु आफूलाई कतै नलुकाई, खुला रुपमा पेश गर्नु भयो ।

२०१४ को भद्र अवज्ञा आन्दोलनले राजा महेन्द्रलाई आम चुनाव गराउन बाध्य पा¥यो । २०१५ को फाल्गुण ७ देखि देशमा पहिलोपटक आम चुनाव हुन लागेको थियो । चुनाव प्रचार अभियानको सन्दर्भमा, २०१५ को माघ संक्रान्तिको अघिल्लो दिन बी.पी. पश्चिम नेपालको रिडीमा पुग्नु भयो । संक्रान्तिको दिन त्यहाँ ठूलो मेला लाग्थ्यो । त्यो पश्चिम नेपालको एक ठूलो धार्मिक स्थल थियो । त्यहाँ बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा र गुल्मीको मात्र होइन, अरु पनि धेरै तिरका, धेरै मानिसहरुको ठूलो जमघट हुन्थ्यो । बी.पी. को उपस्थितिले त्यहाँ भीड अझ धेरै बढेको थियो । संक्रान्तिको दिन बिहान बी.पी. काली गण्डकीमा नुहाउन जान लाग्दा, नेपाली कांग्रेसका धेरैले देखे— उहाँले जनै लगाएको थिएन ।

त्यसबेला नेपाली कांग्रेसको प्रमुख प्रतिद्वन्द्वी गोरखा परिषद थियो । उसको चुनावको एक मात्र मुद्दा नेपाली कांग्रेसको विरोध थियो । नेपाली कांग्रेसका प्रति जनतामा भ्रम सिर्जना गरेर कांग्रेसको प्रभावलाई खण्डित पार्ने थियो । त्यसैले कांग्रेसमाथि गोरखा परिषदका अनेक अनर्गल आरोपहरु थिए । नेपाली कांग्रेस— धर्म, जात, परम्परा, रीतिरिवाज केही मान्दैन । उनीहरुलाई भोट दिए समाज बिथोलिने छ, सबै मान्यताहरु ध्वस्त हुने छन् । यही भनाइलाई गोरखा परिषद आफ्नो हरेक सभा र जमघटहरुमा दोह¥याउने गथ्र्यो ।

बी.पी. कोइराला नेपाली कांग्रेसको सभापति । उहाँकै नेतृत्वमा नेपाली कांग्रेसको संगठनको आधार खडा भएको थियो । उहाँकै वचन र कर्मले नेपाली कांग्रेसको गन्तव्य निर्धारण गथ्र्यो । उहाँ एक उपाध्याय ब्राह्मण । धर्म, जात, परम्पराहरुलाई नेपाली कांग्रेसले सम्मान गर्छ भन्ने सन्देश दिन पनि उहाँको काँधमा जनै हुनै पर्छ । अन्यथा गोरखा परिषदको आरोप जनताको अगाडि पुष्टि हुन सक्छ । त्यसले त्यस भागको आठ–दश वटा क्षेत्रमा मात्र होइन, देशको अरु भागमा पनि नकरात्मक प्रभाव पर्न सक्छ र चुनाव जित्न अप्ठ्यारो पर्छ । नेपाली कांग्रेसका धेरैको भनाइ यही थियो । काशीनाथ गौतम त्यो भागको नेता, उहाँ गुल्मी पूर्व क्षेत्र नं. ९२ को उमेदवार हुनुहुन्थ्यो । क्षेत्र नं. ९१ बाट नेपाली कांग्रेसका नेता सुवर्ण शम्शेरलाई जिताउने दायित्व पनि उहाँले बहन गर्नु भएको थियो । यहाँले हतार–हतार बी.पी. को अगाडि आएर भन्नु भयो— विश्वेश्वर बाबु, तपाईले जनै लगाइदिनै पर्छ । होइन भने गोरखा परिषदको प्रचारलाई बल पुग्छ । हामी धेरै ठाउँमा पराजित हुने छौं ।

तुरुन्त सुकिलो जनै आयो । जनै लगाएर केही कदम अगाडि काली गण्डकीको किनारमा आइपुग्दा बी.पी. लाई लाग्यो— के मैले कहिल्यै जनै लगाएको थिएँ ? आज जनतालाई देखाउनका लागि मात्र, एउटा नाटकको अभिनय जस्तो गरेर मैले जनै लगाउने ? अनि नाटकको एक पात्र बनेर जनतासित भोट माग्ने ? के जनतालाई नाटक हेर्न आएका जमातको रुपमा सम्झने ? जनै, जसमा मेरो विश्वासको कुनै निकटता छैन । त्यसैलाई जनतासित भोट माग्ने आधार बनाएर उभिनु इमान्दारिता होइन । मैले यथार्थ र आफ्नो विश्वासमा उभिएर जनता समक्ष प्रस्तुत हुनु पर्छ । अनि उहाँले हजारौं जनताको अगाडि, भरखरै लगाएको सेतो जनै झिकेर नदीमा प्रवाहित गरिदिनु भयो ।

बी.पी. ले निशंकोच जनै प्रवाहित गरिदिनु भयो । यसलाई धार्मिक मेलामा आएको त्यो ठूलो भीडले देख्यो । अनि उनीहरु सबैलाई लाग्यो— यथार्थमा एउटा र अरुको सामु अर्को भएर नआउने, जनता र आफ्नो बीचमा कतै, कुनै आवरण नराखीकन खूला रुपमा उभिने नेता बी.पी. कोइराला हो । वास्तवमा बी.पी. ले कहिल्यै पनि आडम्वरको आड लिनु भएन । उहाँले जनतालाई सधैं सर्वाधिक महत्व दिनु भयो । आदर र सम्मान दिनु भयो । उहाँले आफ्नो प्रत्येक कार्यमा पहिले जनतालाई हेर्नु भयो । जनताको सुख र समुन्नतिलाई हेर्नु भयो । ती जनतलाई उहाँले कहिल्यै यथार्थबाट पर राख्नु भएन । जनै, त्यो उहाँको निमित्त यथार्थ थिएन । त्यसैले त्यसलाई नदीमा प्रवाहित गरिदिनु भयो र जनताप्रति सम्मान व्यक्त गर्नु भयो ।

Loading...
Loading...
Loading...

गौतम बुद्धका उत्कृस्ट प्रेरक भनाइ र उपदेशहरू

जिन्दगीमा मौका दिनेवालालाई धोका र धोका दिनेवालालाई मौका कहिले पनि नदिनु आफ्नो दुःख कसैलाई पनि नभन्नु किनकि सबैजना तपाइँसँग खुसी...

ज्याक माका सफलताका १० सुत्र

ज्याक मा अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग...