एक अज्ञात कविको सपना – Janata Live
  • Friday, February 3, 2023

एक अज्ञात कविको सपना

  • असीम सागर
  • फागुन १०, २०७५

एक अज्ञात कविको सपना

मैले यस्तो कुनै ऐना देखेको छैन
जसले सूर्यको प्रकाशलाई च्याप्प समातेर
रातीको लागि घाम साँचेर राखिदेओस्
मैले कुनै चराको गुँडमा भकारी देखेको छैन
जसले महिनौं दिनका लागि चारो साँचेर राखोस्

धन्यवाद छ तिनीहरूलाई
जसले मलाई कार्टुन बनाएर हाँसे
र जन्मिएको हो मभित्र कवि बन्ने सपना
दुर्भाग्य
जब कवि गोष्ठीबाट साँझ घर फर्किन्छु
भुइँमा पछारिन्छ रित्तो थाल
टङरङ टुङरुङ बज्छ कसौंडी
चिसो खरानी काखमा राखेर टुलुटुलु हेर्छ अगेनो
र डालो टक्टकाउँदै भन्छिन् श्रीमती
कवि ज्यु ! तपाईं त कविताले अघाउनुभयो होला
खै के दिउँ म भोकले विलौना गर्दै गरेका
यी केटाकेटीहरुलाई ?

ठिकै छ तपाईं त मरेपछि पनि बाँच्नुहोला
तर म कसरी बचाउँ यी जिउँदै मरेकाहरुलाई ?
एक असल बाउ बन्न सिक्नुस् कवि ज्यु
एक असल बाउ बन्न सिक्नुस्
सन्तान मात्र त कुवाको भ्यागुताले पनि जन्माउँछ

प्रिय अर्धागिंनी !
हो म तिम्रो अयोग्य श्रीमान्
छोरालाई खेलौना किन्नसम्म नसक्ने एक अयोग्य बा
मलाई मेरो गरीबीले
रेटेपनि सपनाको घाँटी
लगाएपनि स्वतन्त्रतामा हतकडी
ठोकेपनि रहरका उन्मुक्त चराहरुलाई गोली
म देख्न छोड्दिनँ विश्वको रंग बदल्ने सपना
यदि घर अँध्यारो भएर संसार उज्यालो हुन्छ भने
म राजी छु अभावको जस्तोसुकै कोर्रा सहन
किनकि म कवि हुँ
कविहरु हँसिया बन्नका लागि हथौड़ा सहन सक्छन्
आगो सहन सक्छन्

कविहरु पागल हुन्छन् भन्नेहरुलाई
कविताले खान दिँदैन भन्नेहरुलाई
बस् म यति भन्न चाहन्छु
दिनभरि ठेलागाडासँग हिँडेर
बेलुकी चुला जलाउने कवि हुँ म
माटोमा औंला रोपेर
सपना उमार्ने कवि हुँ म
ढुंगामा पाखुरा बजारेर
चन्द्रमासँग हाँसोको प्रतिस्पर्धा गर्ने कवि हुँ म
व्यक्त नगरुँला त्यो छुट्टै कुरा हो
बाटो त म छोएरै पत्ता लगाउछु
कि यो बाटो भएर कहाँ पुगिन्छ
किनकि म कवि हुँ
कविहरु माटो सुँघेर देश पत्ता लगाउँछन्

ए जिन्दगी १
मलाई सिलौटामा राखेर
अझै कति पिस्नु छ पिस्
तँ सँग लाप्पा खेल्दै
हाँस्न खोज्नु मेरो दैनिकी हो
म सँग कुनै प्रमाणपत्र नभएर
लोकसेवा आयोग भिड्न नपाएपनि
जंगलमा घाँस दाउरा गर्दागर्दै
सहस्रौं चराका भाषा बुझ्ने भएको छु
झरना र खोलाहरुको गीत बुझ्ने भएको छु
भीर, पाखा र पखेराहरुको आर्त बुझ्ने भएको छु
किनकि म कवि हुँ
कविहरु पैताला च्यातेर भाग्य सिलाउन जान्दछन्

जिन्दगी !
यदि तँ सँग पराजित भएर
कतै भिखारी भएछु भनेपनि
भिखारी शिर्षककै कविता लेखूँला
एक टुक्रा रोटी नपाएर
कतै भोकले मर्न लागेछु भनेपनि
मर्नुअघि मृत्यु शीर्षककै कविता लेखूँला

प्रिय कविता !
म यत्तिकै मर्न चाहन्न
मलाई अझ यस्तो कविता जन्माउनु छ यो धर्तीमा
र हेर्नू छ आकाश च्यातेर अर्को ब्रमाण्ड
पुग्नु छ हालेर चेतनाको पखेटा
पत्ता लाउनु छ स्वर्ग
भेट्नु छ ईश्वर
किनकि म कवि हुँ
कविहरु भुत्ते जिन्दगीबाट धारिला विचार जन्माउँछन्
शब्दको शक्तिबाट सृष्टि निर्माण गर्ने सपना देख्छन् ।

Loading...
Loading...
Loading...

गौतम बुद्धका उत्कृस्ट प्रेरक भनाइ र उपदेशहरू

जिन्दगीमा मौका दिनेवालालाई धोका र धोका दिनेवालालाई मौका कहिले पनि नदिनु आफ्नो दुःख कसैलाई पनि नभन्नु किनकि सबैजना तपाइँसँग खुसी...

ज्याक माका सफलताका १० सुत्र

ज्याक मा अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग...