आमदब्लमको काखबाट सगरमाथाको दर्शन – Janata Live
  • Sunday, February 5, 2023

आमदब्लमको काखबाट सगरमाथाको दर्शन

  • फागुन १०, २०७५

आमदब्लमको काखबाट सगरमाथाको दर्शन

पुस महिनाको ठन्डी । झिसमिसे उज्यालो । एयरपोर्ट पुग्दा बिहानको सातमात्र बजेको थियो । अरू साथीहरूलाई खोजेँ । म नै पहिला पुगेछु । हामी लुक्ला जाँदै थियौँ । पर्यटन वर्षको उद्घाटन गर्न आमदब्लम हिमालमा दीप प्रज्ज्वलन कार्यक्रम तय भएको थियो । त्यही कार्यक्रममा भाग लिन १० जना आरोही टोलीका साथ हामी केही पत्रकार त्यता लागेका थियौँ ।

लुक्ला भन्नेबित्तिकै एकपल्ट मुटु ढक्क फुल्यो । त्यहाँ मौसमको भर हुँदैन भनिन्थ्यो । आखिर त्यही भयो । फ्लाइट पछि सारियो । झन्डै १० बजेतिर मात्रै मौसममा सुधार आएपछि प्लेन उड्ने भयो ।
लुक्लामा धेरै हवाई दुर्घटना भएका छन् । सबैभन्दा डरलाग्दो हवाई यात्राको रूपमा यसैलाई लिने गरिन्छ । त्यसैले पनि यति बिघ्न डर लाग्यो । प्लेनमा एक्लै भएँ । अरू साथीहरू अर्काे प्लेनतिर लागे । मेरो प्लेनमा आरोही टोलीका तीन सदस्यमात्र थिए ।

प्लेन चढ्ने बेला झन् डर लागेर आयो । ससाना शेर्पा भाइबहिनीसँग कुरा गर्दै डरलाई भुलाउने प्रयास गरेँ । मौसम पनि सफा थियो । त्यसैले डर थिएन । बाहिरका सुन्दर दृश्यमा रमाउँदै थिएँ, एक्कासी प्लेन हल्लियो । यतिजोडसँग हल्लियो कि ती भाइबहिनी आत्तिएर रुन थाले । कोही चाहिँ ‘ओम माने पेमे’ भन्दै प्रार्थना गर्दैथिए । मेरो भने सातोपुतलो उड्यो । प्लेन झन् उत्तानो होलाजस्तो गरी ढल्मलाउँदै थियो ।

दुई पाइलट कानेखुसी गर्न थाले, थरीथरीका बटन थिच्न थाले । तर पनि प्लेनको हालत सुध्रिएन । मैले पनि मनमनै भगवान्लाई सम्झिएँ । अरूबेला भगवान्माथि विश्वास नगर्ने मान्छे, मर्छु भन्ने लागेपछि भने गुहार्न पुगेछु । जिन्दगीमा थुप्रै अनुभव नगरी मर्ने भइयो भन्ने चिन्ता लाग्यो । सोलुबाट फर्केपछि राम्रो रिपोर्ट बनाउँछु भन्ने थियो । त्यो पनि अधुरो रहने भयो ।

मरिन्छ नै भन्ने लागेपछि एकपल्ट सबैको अनुहार हेरेँ । सबैका फोटो खिचेँ, अन्तिमपल्ट घरपरिवार, साथीभाइ, अफिस सम्झेर आँखा चिम्लिएँ । तर बिस्तारै प्लेनको कम्पन कम हँुदै थियो तर अचानक प्लेनले फन्को मा¥यो । सोचे, अबचाहिँ साँच्चिकै मर्ने भइयो, आन्द्रा बाहिर निस्केलाझैँ पेट बटारियो । आँखा खोल्दा त लुक्ला एयरपोर्ट आइपुग्न लागेको रहेछ ।

ल्यान्ड गर्न नसकेपछि प्लेनलाई एक फन्को घुमाइएको रहेछ । जे होस् सुरक्षित अवतरण भयो । बल्ल चैनको सास फेरे । यस्तो भौगोलिक जटिलताका बावजुद आत्मविश्वास र धैर्यका साथ जहाजलाई सुरक्षित अवतरण गराउनु चानचुने थिएन । मैले ती पाइलटहरूको साहसलाई एकपल्ट सलाम गरेँ ।
लुक्लादेखि आमदब्लम बेस क्याम्प हिँडेर पुग्नु थियो । त्यसैले समय खेर नफाली कम्मर कस्यौँ । यति धेरै उचाइमा हामी पत्रकारको पहिलो यात्रा थियो । पहाडमा हिँडेजस्तो यहाँ हुँदैनथ्यो । टोलीमा एबिसी टेलिभिजनका लाला दाइ, हिमालयन टेलिभिजनका साथी शिव, तराई टेलिभिजनका अमन अधिकारी, म र अन्य सहयोगीसहित ६ जना थियौँ । आरोही टोलीका टिम लिडर पेम्बाछिरी शेर्पाले हामी सबैलाई कसरी हिँड्ने, हिँड्दा के के ध्यानदिने भनेर ब्रिफिङ गरे । सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गरी गिनिज बुकमा नाम लेखाइसकेका पेम्बाको ब्रिफिङपछि यात्रा सुरु भयो ।

आरोही टोलीमा गिनिज बुकमा नाम लेखाइसकेका सगरमाथाका कान्छा आरोही तेम्बाछिरी शेर्पा, समावेशी महिला सगरमाथा आरोहण टोलीकी संयोजक सुस्मिता मास्के र नुवाङफुटी शेर्पा र अन्य शेर्पा साथी पनि थिए । टोली पूर्ण सन्तुलित थियो ।

टम्म ज्याकेट, हातमा लट्ठी, आँखामा कालो चश्मा भिरेका हामी निक्कै उत्साहित थियौँ । साथीहरू अघि लागे, पछि पछि थियौँ म, लाल दाई र शिव । बल्ल बल्ल त्यति नजिकबाट हिमाल देख्न पाएका हामी स्वर्ग पुगेजस्तो लाग्यो । घरीघरी हिमालको दृश्य हेर्दै मख्ख पर्दै, फोटो खिच्दै हामी अगाडिी बढ्यौ । तर यसो अरू साथीहरूलाई हेरेको त उनीहरू भने डाडो काटीसकेका रहेछन् । त्यसपछि हामी पनि के कम भन्दै दौडन थाल्यौँ । तर लुक्ला छाडेको एक घन्टामै मेरो खुट्टा दुख्न थाल्यो । जुत्ता सानो भएछ । अगाडिको नङ ठोक्किएर हिँड्नै सकिनँ । सबैजना अगाडि पुगिसकेका थिए । पाइला चाल्नै मानेन । नया ज्त्ता लाउँदै नलगाई सानो भएछ भनेर रीस पनि उठ्यो तर हिँड्नैपर्ने । बाँकीको ३ घन्टा जसोतसो घस्रिदै फाक्दिङ पुगियो । कतिखेर प्गेर जुत्ता फाल्दिऊँ भएको थियो पुग्नेबित्तिकै जुत्ता फुकालेर खोलातिर हु¥याइदिएँ । बल्ल खुट्टाले आराम पायो । पहिलो रात हामी फाक्दिङमै बस्यौँ ।

चिसो निक्कै थियो । हतार हतार आगो ताप्न अगेनातिर झुम्मियौँ । एकजना शेर्पा दाइ कराउँदै आइपुगे । हइना यसरी आगो ताप्न हुँदैन । उनले सबैलाई अगेनाबाट पर हटाउँदै भने लेक लाग्यो भने गाह्रो ह्न्छ । हामी पर पर स¥यौँ । एक आरी आलु उसिनेर ल्याइदिए शेर्पा दाइले । न्न खुर्सानीसँग सोलको आलु । वा क्या मिलेको । मिजासिला र ठट्टा गरीरहने शेर्पा दाइलाई हामीले नाम सोध्यौँ । तर उनी त रहेछन् क्षत्री पाण्डे । अनिल पाण्डे । पाण्डे दाइको घर त्यहीँ रहेछ । फाक्दिङको स्थानीय होटलमा खाना पकाउने काम गर्दा रहेछन् । वर्षौं भएछ फाक्दिङ बसेको । चिसो ठाउँ र शेर्पा बस्तीमा घुलमिल भइसकेका उनको गाला चिसोले रातै भइसकेका थिए भने आँखा पनि चिम्सा चिम्सा । हेर्दा ठ्याक्कै शेर्पाजस्तो लाग्ने । फेरि बोली शेर्पाकै जस्तो । हामी त एकछिन झुक्कियौँ पनि । वरिपरिको वातावरणले मान्छेलाई कति धेरै परीवर्तन गर्दो रहेछ भन्ने उदाहरण यी पाण्डे दाइलाई हेरे पुग्थ्यो ।

अझै तीन दिन हिँड्नु थियो । त्यसैले मचाहिँ अर्का शेर्पा साथी दाकिप्पासँग जुत्ता किन्न लागे । ५ सयमा पाइने जुत्तालाई फाक्दिङमा १५ सय रुपैया लगाएर खुट्टाभन्दा लामो जुत्ता किनेर ल्याएँ, अनि त्यो रात ढुक्कले निदाएँ ।

लेक लागेपछि सास फुल्यो

दोस्रो दिनको यात्रा नाम्चेसम्मको थियो । त्यहाँ पुग्न हामीजस्तालाई दिनभर लाग्ने टिम लिडर पेम्बाले बताए । ओहो दिनभर ? आत्तियौँ । कसरी पुग्ने हो । हामी पत्रकार मुखामुख ग¥यौँ । तर पुग्नु त थियो नै । त्यसैले हतार गर्दै नाम्चेतिर लम्कियौँ । आज त जुत्ताले दुखाएको पनि थिएन । बेला बेलामा साथीहरूले १५ सयको जुत्ता दुखेको छैन होला भनेर जिस्काउँदै पनि थिए । ढाडमा खाद्यान्नलगायतका सामान चुली बनाएर हिँडेका चौरीहरू सँगसँग हामी पनि उकालैउकालो हिँडिरह्यौँ । लाला दाइको भुँडीले हिँड्न डिस्र्टभ गरीरहेको थियो । म र शिव, लाला दाइ पर्खिंदै बिस्तारै बिस्तारै हिँड्यौ ।

बल्ल बल्ल मन्जु भन्ने ठाउँ पुगियो । दिउँसोको खाना खायौँ । फापरको ढिँडो, साग र टिमुरको अचार । भोकको सुरमा यति मिठो भयो कि थालमा ढिँडोको केही अंश पनि बाँकी रहेन । यात्राको मज्जा पनि यही हो । स्थानीयखाना होस् वा रहनसहन प्रत्यक्ष देख्न र महसुस गर्न पाइने ।

ढिँडोले ताकत दिएपछि उकालो लगालग हिँड्यौ । बाटोमा ठूल्ठूला ढुंगामा कुँदिएका मानेहरू भेटिए । त्यसलाई दाहिने पारेर छिचोल्यौँ । नाम्चेको आधा बाटो पनि पुगेका थिएनौँ । लखतरान भयौँ । तर पनि थकानलाई आँखैअगाडिका हिमालले मेटाइदिन्थ्यो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज बाटोमा पर्ने भएकोले विभिन्न पशुपंछी देख्न पायौँ । डाँफे त कति हो कति । हिँड्दाहिँड्दै मेरो सास फुलेर आयो । स्वाँस्वाँ हुन थालेपछि हिँड्नै सकिनँ । थचक्क भुइँमा बसँे, झन् सास बढ्यो । मलाई लेक लागेछ । लेक लाग्न नदिन बिस्तारै हिँड्नुपर्ने रहेछ र प्रशस्तै पानी पिउनुपर्ने । लुक्लामा नेपाल माउन्टेनरिङ एसोसियसनका अध्यक्ष जिम्बा जाम्बुले भनेका थिए, दुई लिटर खाएर एकलिटर फ्याक्नु । तर भनेजस्तो हुन्छ र ? पानी त खाइया थ्यो तर जान्ने भएर छिटो छिटो हिँडिएछ । तातो पानी खाएपछि केही कम भयो । लखतरान भएर बल्लतल्ल नाम्चे पुगियो । बिहान ६ बजेतिर हिँडेका हामी नाम्चे पुग्दा साँझको सात बज्न लागेको थियो ।

३ हजार ४ सय ४० मिटरको उचाइमा रहेको नाम्चे व्यावसायिकरूपले लुक्लापछि सोलुखुम्बुको दोस्रो ठूलो केन्द्रविन्दु हो । लुक्लाको तुलनामा नाम्चेमा पर्यटनका पुर्वाधारहरू धेरै रहेछन् । स्तरीय होटल, पब, रेस्टुरेस्ट, डिस्को सबै छन् । रातमा पनि नाम्चेले युरोपको कुनै स्तरीय ठाउँको आभास दिलायो । पसलहरु पनि निक्कै राम्रा राम्रा । डाँडाको खोचमा रहेको यो सानो बस्तीमा काठ र ढुंगाले चिटिक्क पारेर घरहरू बनाइएका । काठमाडौँको पाँचतारे होटलमा बस्नु र यहाँको एउटा सामान्य होटलमा बस्नु उस्तै लाग्यो । सिजन नभएकाले नाम्चे केही सुनसान देखिन्थ्यो । अफ सिजनमा त्यका मानिसहरू घुम्नलाई र व्यापारको लागि काठमाडौँ तिब्बत र भारतलगायतका ठाउँमा जाने गर्दा रहेछन् ।

नाम्चेबाट बिहानको सूर्याेदयसँगै सगरमाथा, ल्होत्से, थाम सेर्कु र आमदब्लम हिमाल एकै साथ हेर्न सकिने रहेछ । त्यसैले टेलिभिजनका साथीहरू भने भोलिपल्ट बिहानै भ्यु पोइन्टतिर लागेछन् । आफूले त थाहा पाइएन, सुतेकोस्तै भइएछ । ७ बजेतिर उठेर नाम्चेमा एक फन्को मारियो । हामीले जाडोमा लगाउने केही लुगाफाटो किन्यौ । हिमालयन टेलिभिजनका साथी शिवले भने एउटा टोपी किनेछन्, भालेको सिउरजस्तो । उनको नाम शिवबाट भाले भयो । उनी पनि के कम कराउन थाले कुखुरी काँ गर्दै ।

आरोहीहरूले पर्खेनन्

नाम्चेमा एक दिन बिताएपछि पाङबोचे जाने तयारी चल्यो । सबैजना स्वस्थ थिए । त्यसैले बाँकी यात्रा अझ रमाइलो होला भन्ने लाग्यो । पाङबोचे पुग्न पनि एक दिन हिँड्नुपर्ने रहेछ । त्यसमाथि हामी हिमालतिर कहिल्यै नहिँडेका प¥यौँ । आरोहण टोलीका सबैजना एकैछिनमा डाँडो काटिसकेका हुन्थे, हामी भने फेदमा घिस्रिरहेका हुन्थ्यौँ । उनीहरू ओझेल परे, हामीलाई पर्खेनन् । त्यै पनि घिस्रिँदै हिँडेको हिँड्यै ग¥यौँ । तर जता हे¥यो त्यत ैहिमाल देखेपछि वर्षाैँदेखि हिमाल हेर्ने इच्छा पूरा भयो । बाटोमा एकजना वृद्ध सहयोगको बाकस लिएर बसिरहेका भेटिए । पुसको चिसोको पनि उनलाई कुनै पर्वाह थिएन । त्यसरी सहयोग लिनुका कारण हामीले सोध्यौँ । उनले भने नाम्चेदेखि पाङबोचेको बाटो राम्रो थिएन ।

आमदब्लम बेस क्याम्प गन्तव्य थियो । त्यसैले आमदब्लमलाई नजिकैबाट नियाल्ने रहर झन् झन् चुलिँदै थियो । बाटैभरि सेतै थुप्रिएका हिउँ, चारैतिर हिमाल, चौँरी र याकको ओहोरदोहोर अनि ससाना शेर्पा बस्तीले त्यतिलामो यात्रा रोचक बनेको थियो । लेक लाग्ने डरले हामी बिस्तारै हिँड्यौ । त्यसैले नाम्चेबाट पाङबोचे पुग्दा पूरै दिन कट्यो । आरोही साथीहरू भने पहिले नै पुगेर आराम गरिरहेका रहेछन् । भोलिपल्ट पनि पाङबोचेमै बस्ने टुंगो लाग्यो ।

भोलिपल्ट हामीले होटलमै आराम ग¥यौँ । हामी बसेको होटलमा काम गर्ने सबैजना महिला कर्मचारी थिए । त्यसरी उनीहरुलाई काम गरेको देख्दा निक्कै खुसी लाग्यो । तर गाउँमा काम गर्ने छोरा मान्छे रहेनछन् । भएकाहरू पनि सबै काममा बाहिरै हुँदा रहेछन् । त्यसैले सबै काम छोरी मान्छेले नै गर्दा रहेछन् ।

कुहिरोले छोपियो सगरमाथा

हाम्रो यात्राको अन्तिम अर्थात् पाँचौ दिन, आमदब्लम बेस क्याम्प पुग्दै थियौँ । अघिल्लो दिन नै आरोही टोलीका एक–दुईजनाबाहेक सबै आमदब्लम बेस क्याम्प पुगिसकेका थिए । हामी पत्रकार टोली र पेम्बाछिरी शेर्पा मात्रै पाङबोचेमा थियौँ । पाङबोचे पुग्न कम्तीमा ५ घन्टा लाग्ने पेम्बाले जानकारी दिए ।

छिट्टो हिँड्ने सल्लाहअनुसार हामी सबै उकालो लाग्यौँ । नाक ठोक्किने उकालै उकालो हिँड्दै गर्दा सगरमाथा बल्लतल्ल देख्न पाइयो । छिनछिनमै मौसम परिवर्तन हुने भएकोले सगरमाथालाई कुहिरोले छोपिहाल्ने रहेछ । विश्वको सर्वाेच्च शिखर सगरमाथालाई प्रत्यक्ष देख्न पाउँदा खुसीले मेरो आँसु छचल्कियो । एकछिन त्यहीँ बसेर सगरमाथालाई नियालिरह्यौँ । समय घर्किंदै थियो । त्यसैले फेरि सुरु भयो लेफ्टराइट । झन्डै ६ घन्टा लागेछ बेस क्याम्प पुग्न तर हिँडेको पत्तै भएन । हिँड्दै जाँदा आमदब्लम झन् आँखैनजिक आइपुग्यो । खुसीले हामी चिच्चायौँ र उफ्रिँदै नाच्न थाल्यौँ । बेस क्याम्पमा साना साना चिटिक्क परेका रंगीबिरंगी टेन्टमा बुरुक्क उफ्रिँदै हामी टेन्टभित्र घुस्रियौँ । आमदब्लम नियाल्दै पाँच दिनको दुःख कष्ट हामीले चटक्कै बिस्र्याैँ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...